“आमसञ्चार माध्यम सम्बन्धी विधेयक २०७५ –नमूना ऐनको मस्यौदा” – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

“आमसञ्चार माध्यम सम्बन्धी विधेयक २०७५ –नमूना ऐनको मस्यौदा”

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले नेपाली आम संचारलाई अझ व्यवस्थित, विश्वसनीय र उत्तरदायी बनाउने उद्देश्यले आमसञ्चार माध्यम सम्बन्धी नमूना ऐनको मस्यौदा तयार पारेको छ । डा. सुरेश आचार्यको संयोजकत्वमा गठित समितिले सो मस्यौदा तयार पारेको हो । मस्यौदा तयार गरेर पत्रकार महासंघले गत साता बिहिबार संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटालाई बुझाएको छ ।

मन्त्रालयमा उक्त मस्यौदा बुझ्दै मन्त्री बाँस्कोटाले सो मस्यौदा सही समयमा आएको र यसले सम्पूर्ण आम संचार माध्यमहरुलाई मर्यादित र व्यवस्थित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । प्रस्तुत छः–आमसञ्चार माध्यम सम्बन्धी विधेयक २०७५ नमूना ऐनको मस्यौदा

आमसञ्चार माध्यम सम्बन्धी विधेयक २०७५
प्रस्तावनाः संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सुसूचित हुन पाउने हकलाई सुनिश्चित गर्न स्वतन्त्र, पारदर्शी र व्यावसायिकआमसञ्चार माध्यमको दीगो विकास, प्रबद्र्धन र नियमनमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नवाञ्छनीय भएकाले, संघीय संसदले यो ऐन बनाएको छ ।
परिच्छेद–१
प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः
(१) यस ऐनको नाम ूआमसञ्चार माध्यमसम्बन्धी ऐन, २०७५रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा–
(क) “अध्यक्ष” भन्नाले प्राधिकरणको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “अन्य पत्रपत्रिका” भन्नाले समाचारपत्र र समाचारबाहेक कला, साहित्य, विज्ञान, पर्यटन, चलचित्र लगायतका विभिन्न विधालाई समेटी प्रकाशन हुने पत्रपत्रिका सम्झनु पर्छ ।
(ग) “आमसञ्चार माध्यम” भन्नाले सूचना तथा सन्देश संप्रेषण गर्ने उद्देश्यले स्थापना भई प्रकाशन तथा प्रसारण हुने विद्युतीय तथा छापातथा अनलाइन सञ्चारमाध्यम सम्झनुपर्छ ।
(घ) “आमसञ्चार संस्था” भन्नाले कुनै पनि आमसञ्चार माध्यम सञ्चालन गर्ने संस्थालाई सम्झनु पर्छ ।
(ङ) “इजाजतपत्र” भन्नाले दफा २४बमोजिम प्राप्त गरेको इजाजतपत्र सम्झनु पर्छ ।
(च) “एफ एम ९ँचभत्रगभलअथ ःयमगबितष्यल०” भन्नाले भी.एच. एफ. व्याण्डको ८७.५ मेगाहर्जदेखि १०८ मेगाहर्जसम्मको फ्रिक्वेन्सीमा गरिने प्रसारणलाई सम्झनुपर्छ ।
(छ) “कर्मचारी” भन्नाले दफा १९ बमोजिम नियुक्त कर्मचारीलाई जनाउनेछ ।
(ज) “कार्यक्रम” भन्नाले श्रव्य वा श्रव्यदृश्यको माध्यमद्वारा प्रसारण हुने जुनसुकै किसिमको कार्यक्रम सामग्री सम्झनुपर्छ ।
(झ) “केबुल” भन्नाले कुनै निश्चित प्रसारण केन्द्रबाट तारको माध्यमद्वारा प्रसारणसामग्रीहरू विभिन्न ग्राहक, सदस्य वा उपभोक्ता समक्ष पु¥याउने प्रविधि सम्झनु पर्छ । यस ऐनको प्रयोजनका लािग यो शब्दले डी.टी.एच. प्रणालीलाई समेत जनाउनेछ ।
(ञ) “तोकिएको वा तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।
(ट) “नियामक निकाय” भन्नाले राष्ट्रिय आमसञ्चार प्राधिकरणलाई जनाउनेछ ।
(ठ) “पत्रकार” भन्नाले सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकार प्राप्त गरेको व्यक्ति बाहेक सञ्चार सम्बन्धी व्यावसाय वा सेवालाई प्रमुख व्यावसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधान सम्पादक, सम्पादक, संवाददाता, स्ट्रिञ्जर, समाचारवाचक, कार्यक्रम निर्देशक, अनुवादक, डिजाइनर, प्राविधिक, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेरामेन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादक जस्ता समाचार तथा समाचारमूलक कार्यक्रमसँग सम्बन्धित व्यक्ति समेतलाई जनाउँछ ।
(ड) “पत्रपत्रिका” भन्नाले समाचार तथा विचार प्रकाशन गर्ने छापा माध्यमलाई सम्झनुपर्छ ।
(ढ) “प्रतिष्ठान” भन्नाले आम सञ्चार प्रशिक्षण प्रतिष्ठान सम्झनु पर्नेछ ।
(ण) “प्रसारण” भन्नाले, इन्क्रीप्ट (भलअचथउत) गरिएको वा नगरिएको, सर्वसाधारण वा निश्चित क्षेत्र वा वर्गका जनताले जानकारी पाउन सक्ने गरी पठाइने श्रव्य वा दृष्य, श्रव्यदृष्य, कार्यक्रम, डाटा वा सूचनालाई रेडियो फ्रिक्वेन्सी, इण्टरनेट प्रोटोकल वा अन्य विद्युतीय वा विद्युत प्रकाशीय (यउतष्अब)िे माध्यमबाट गरिने प्रसारण सम्झनुपर्छ ।
(त) “प्रसारक” वा “प्रसारण संस्था” भन्नाले कार्यक्रम प्रसारण गर्न इजाजतपत्र प्राप्त व्यक्ति वा संगठित संस्था सम्झनुपर्छ ।
(थ) “प्राधिकरण” भन्नाले दफा ३ बमोजिमस्थापना भएको राष्ट्रिय आमसञ्चार प्राधिकरण सम्झनु पर्छ ।
(द) “प्रेस रजिष्ट्रार” भन्नाले प्राधिकरणका नियुक्त गरेको प्रमुख प्रशासक सम्झनु पर्नेछ ।
(ध) “फ्रिक्वेन्सी मोडुलेशन प्रसारण प्रणाली भन्नाले फ्रिक्वेन्सी मोडुलेशन प्रसारण प्रविधि प्रयोग गरी प्रसारण संस्थाले रेडियो वा टेलिभिजन प्रविधिका लागि तोकिएको च्यानलबाट गरिएको प्रसारण सम्झनु पर्छ ।
(न) “भू–उपग्रह प्रसार केन्द्र (अर्थ स्टेशन)” भन्नाले स्याटेलाईट मार्फत प्रसारण कार्यक्रम आदान प्रदान गर्न पृथ्वीको धरातलमा स्थापना गरिने केन्द्र (स्टेशन) सम्झनुपर्छ ।
(प) मन्त्रालयू भन्नाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्झनुपर्छ ।
(फ) “सञ्चालक” भन्नाले आमसञ्चार सञ्चालन गर्न प्रमाणपत्र पाएका व्यक्ति वा संस्था सम्झनु पर्छ ।
(ब) “सम्पादक” भन्नाले आमसञ्चार सञ्चालन संस्थाको समाचार वा समाचारमूलक कार्यक्रमको उत्पादन तथा प्रकाशन वा प्रसारण अधिकार र उत्तरदायित्व बहन गर्ने सम्पादक, प्रधान सम्पादक वा समाचार प्रमुखसम्झनु पर्छ ।
(भ) “समाचार एजेन्सी”भन्नाले सञ्चार माध्यमहरुलाईसमाचार सेवा उपलब्ध गराउने उद्देश्यले कानून बमोजिम गठित संस्था सम्झनु पर्नेछ ।
(म) “संविधान” भन्नाले नेपालको संविधान २०७२ सम्झनु पर्छ ।
(य) “स्याटेलाइट” भन्नाले विभिन्न प्रसारण सामग्री प्राप्त गर्न वा अन्यत्र पठाउनको लागि अन्तरिक्षमा अवस्थित भू–उपग्रह सम्झनुपर्छ ।
परिच्छेद–२
राष्ट्रिय आमसञ्चार प्राधिकरणको स्थापना, उद्देश्य, गठन, काम, कर्तव्य र अधिकार

३. राष्ट्रिय आमसञ्चार प्राधिकरणको स्थापनाः
(१) प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सुसूचित हुन पाउने नागरिक हकलाई सुनिश्चित गर्न आमसञ्चारमाध्यमको विकास, प्रबद्र्धन र नियमनका लागि राष्ट्रियआमसञ्चार प्राधिकरण स्थापना गरिनेछ ।
(२) प्राधिकरणको मुख्य कार्यालय काठमाडौं उपत्यकामा र प्रदेश कार्यालय प्रदेश राजधानीमा रहनेछ । यसले आवश्यकता अनुसार अन्य कार्यालय स्थापना गर्न सक्नेछ ।
(३) प्राधिकरणलाई अंग्रेजीमा नेशनल मास मिडिया अथोरिटी ९ल्बतष्यलब िःबकक ःभमष्ब ब्गतजयचष्तथ० भनिनेछ ।
४. प्राधिकरण स्वशासित र संगठित संस्था हुनेः
(१)प्राधिकरण अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ ।
(२) प्राधिकरणको काम कारबाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) प्राधिकरणले व्यक्ति सरह चल÷अचल सम्पत्ति प्राप्त गर्न, उपयोग गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) प्राधिकरणले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र प्राधिकरण उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।
(५) प्राधिकरणले व्यक्ति सरह करार गर्न, करार बमोजिमको अधिकार प्रयोग गर्न तथा दायित्व निर्वाह गर्न सक्नेछ ।
५. प्राधिकरणको उद्देश्य ःप्राधिकरणको उद्देश्य देहाय बमोजिम हुनेछः–
क) संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि सञ्चारमाध्यमको संरक्षण, विकास र प्रबद्र्धन गर्ने,
ख) सञ्चार माध्यमको स्वतन्त्रता र मर्यादा माथिकोे हस्तक्षेप वा अवरोध हुन नदिने र कार्यगत स्वतन्त्रता सुनिश्चित गर्ने,
ग) स्वतन्त्र, व्यावसायिक र जनउत्तरदायी मिडियाको संस्थागत विकासका लागि स्वतन्त्र, निष्पक्ष र स्वायत्त रूपमा अभिलेखिकरण, इजाजत तथा नियमन प्रणालीको विकास गरी लगानी र संचालनको पारदर्शिता एवं उचित श्रम अभ्यासको वातावरण बनाउने,
घ) मिडिया बहुलता र समावेशीताको प्रबद्र्धनका लागि आवश्यक सहयोग प¥याउने ।
६. प्राधिकरणको गठनः
(१) प्राधिकरणमा उपदफा (३) बमोजिमको सिफारिस समितिको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्ले नियुक्ति गरेको अध्यक्ष र अन्य चार जना सदस्य रहनेछन् ।
(२) उपदफा (१) बमोजिम अध्यक्ष र सदस्य नियुक्ति गर्दा छापा माध्यम, प्रसारण माध्यम, सूचना प्रविधि,कानून र व्यवस्थापन क्षेत्रबाट प्रतिनिधित्व हुने गरी समानुपातिक समावेशी सिद्धान्तका आधारमा गर्नु पर्नेछ ।
(३) प्राधिकरणको अध्यक्ष र सदस्यको नियुक्तिका लागि दफा ७बमोजिमका योग्यता पुगेका व्यक्ति मध्येबाट सिफारिस गर्न देहाय बमोजिमको एक सिफारिस समित रहनेछः– (क) प्रतिनिधिसभाका सभामुख –अध्यक्ष
(ख) राष्ट्रियसभाका अध्यक्ष वा उपाध्यक्ष (महिला) –सदस्य (ग) नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्री वा राज्यमन्त्री–सदस्य
(घ) प्रतिनिधि सभामाप्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक –सदस्य (ङ) नेपाल पत्रकार महासंघका अध्यक्ष –सदस्य
७. योग्यताः प्राधिकरणका अध्यक्ष र सदस्यको पदमा नियुक्ति हुन देहाय बमोजिमको योग्यता पुगेको हुनुपर्नेछ ः–
(क) नेपाली नागरिक,
(ख) पैंतीस वर्ष उमेर पुरा भएको तरपैसठ्ठी वर्ष उमेर ननाघेको,
(ग) मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक तहको उपाधि हासिल गरेको,
(घ) पत्रकारिता वा आमसञ्चार वा सूचनाप्रविधि वा कानूनका क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव हासिल गरेको,
(ङ) सरकारी वा सार्वजनिक संस्थाको वहालवाला कर्मचारी नरहेको,
(च) नैतिक पतन देखिने फौजदारी कसूरमा सजायँ नपाएको,
(छ) नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको,
८.पदावधिः प्राधिकरणको अध्यक्ष तथा सदस्यको पदावधि पाँच वर्षको हुनेछ ।
९. अध्यक्षको काम, कर्तव्य अधिकार
१. प्राधिकरणको नीति र योजना तयार गर्ने, गराउने ।
२. प्राधिकरणको योजना, निर्णयहरु एवं निर्देशनहरु कार्यान्वयन गर्ने, गराउने ।
३. प्राधिकरणको वार्षिक कार्यक्रम तथा बजेट तयार गर्ने, गराउने ।
४. विभिन्न निकायहरुबीच समन्वय गर्ने, गराउने ।
५. प्राधिकरणको उद्देश्य प्राप्तिका लागि आवश्यक पर्ने अन्य कार्य गर्ने ।
१०. सदस्यहरुको काम, कर्तव्य, अधिकार
१. विधागत क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
२. अध्यक्षको कार्यमा सहयोग गर्ने ।
३. तोकिए बमोजिम अन्य कार्य गर्ने ।
११. अध्यक्ष र सदस्यलाई पदबाट हटाउन सकिनेः
(१) देहायको अवस्थामा अध्यक्ष वा सदस्य पदमा रहिरहनु उपयुक्त छैन भनी प्रतिनिधिसभाको सूचना तथा सञ्चारसँग सम्वन्धित समितिको सम्पूर्ण सदस्यसंख्याको कम्तीमा दुई तिहाई सदस्य उपस्थित भई बसेको बैठकको दुई तिहाई बहुमतबाट निर्णय भएको प्रस्ताव प्रतिनिधिसभाको बैठकको बहुमतबाट पारित भएमा अध्यक्ष र सदस्य पदबाट नेपाल सरकारले हटाउन सक्नेछ ।
(क) कार्यक्षमताको अभाव भएमा,
(ख) खराब आचरण भएमा,
(ग) ईमानदारीपूर्वक आफ्नो पदीय कर्तब्य पालना नगरेमा,
(घ) मानसिक सन्तुलन ठीक नभएमा वा मगज विग्रेमा, वा
(ङ) आमसञ्चारसँग सम्वन्धित व्यवसायमा स्वामित्व वा लगानी भएमा ।
(२)उपदफा (१) बमोजिम अध्यक्ष र सदस्यलाई पदबाट हटाउनु पूर्व निजलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिइनेछ ।
१२. अध्यक्ष र सदस्यको पद रिक्त हुनेव्यवस्थाः
देहायको अवस्थामा अध्यक्ष तथा सदस्यको पद रिक्त भएको मानिनेछ ः–
(क) नेपाल सरकार समक्ष दिएको लिखित राजिनामा स्वीकृत भएमा,
(ख) दफा ११बमोजिम निजलाई पदबाट हटाइएमा,
(ग) दफा ८ बमोजिम निजको पदावधि पूरा भएमा,
(घ) नैतिक पतन देखिने कसूरमा अदालतबाट कसूरदार ठहरेमा,
(ङ) ६५ वर्ष उमेर पूरा भएमा,
(च) निजको मृत्यु भएमा ।
१३. पारिश्रमिक र सुविधाः
(१) अध्यक्ष र सदस्यको पारिश्रमिक, सुविधा र सेवा शर्तहरु तोकिए बमोजिम हुनेछ ।
(२) अध्यक्ष प्राधिकरणको प्रमुख कार्यकारी हुनेछ ।
(३) अध्यक्ष र सदस्यले पूरा समय काम गर्नेछन् ।
१४. प्राधिकरणको बैठक र निर्णयः (१) प्राधिकरणको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(२) प्राधिकरणको बैठक अध्यक्षले तोकेको स्थान, मिति र समयमा बस्नेछ ।
(३) प्राधिकरणको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा कार्यवाहकको अख्तियारी पाएको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(४) प्राधिकरणको वैठकमा अध्यक्ष र दुई जना सदस्य उपस्थित भएमा बैठकको लागि गणपुरक सङ्ख्या पुगेको मानिनेछ ।
(५) प्राधिकरणको बैठकमा बहुमतको राय प्राधिकरणको निर्णय मानिनेछ तर मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ ।
(६) प्राधिकरणको बैठकको निर्णय अध्यक्षद्वारा प्रमाणित गरिनेछ र त्यस्तो निर्णय प्राधिकरणको प्रशासकीय प्रमुखले सबै सदस्यहरुलाई उपलब्ध गराउनेछ ।
(७) प्राधिकरणको बैठक सम्वन्धी अन्य कार्यविधि समिति आफैले बनाउन सक्नेछ ।
१५. प्राधिकरणको काम, कर्तव्य र अधिकार ः प्राधिकरणको काम, कर्तब्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) प्राधिकरणको वार्षिक नीति, कार्यक्रम, बजेट तयार गर्ने,
(ख) रेडियो, टेलिभिजन र केबुल वितरक सञ्चालनको अनुमतिपत्र प्रदान गर्ने, नवीकरण गर्ने र नियमन गर्ने,
(ग) पत्रपत्रिका, अनलाइन सञ्चारमाध्यम, रेडियो, एफ.एम., सामुदायिक रेडियो, टेलिभिजन, केबुल टेलिभिजन र केबुल वितरकको अभिलेख राख्ने,
(घ) रेडियो र टेलिभिजनका लागि फ्रिक्वेन्सी योजना निर्माण गर्ने, त्यसको म्यापिङ गरी सङ्घ, प्रदेश र स्थानीय तहमा वितरणगर्ने,
(ङ) एफ एम रेडियो र टेलिभिजनले प्रयोग गरेको फ्रिक्वेन्सी सम्बन्धी विवाद समाधान गर्ने,
(च) आमसञ्चार प्रविधिको प्रयोग र विकास प्रबद्र्धनका लागि आवश्यक कार्य गर्ने,
(छ) आमसञ्चारका माध्यम र पत्रकारलाई दिइने सुविधाका सम्वन्धमा नीतिगत सुझाव दिने,
(ज) प्राधिकरणकोे वार्षिक प्रतिवेदन तयार गरी संसद समक्ष पेश गर्ने,
(झ) तोकिएका अन्य कार्य गर्ने ।
(ञ)आमसञ्चार माध्यमसम्बन्धी हकको संरक्षण, प्रचलन र प्रवद्र्धन गर्ने गराउने ।
१६.कार्यक्षेत्रः प्राधिकरणको कार्यक्षेत्र नेपालभर हुनेछ ।
१७. कार्यालयः प्राधिकरणको मुख्य कार्यालय काठमाडौं उपत्यकामा र प्रदेश कार्यालय प्रदेश राजधानीमा रहनेछ । यसले आवश्यकता अनुसार अन्य कार्यालय स्थापना गर्न सक्नेछ ।
१८. प्राधिकरणको कोषः (१) प्राधिकरणको एउटा छुट्टै कोष रहनेछ ।
(२) प्राधिकरणको कोषमा देहाय बमोजिमको रकम हुनेछ ः–
(क) राष्ट्रिय बजेट मार्फत प्राप्त रकम,
(ख) प्राधिकरणलाई विभिन्न स्रोतबाट प्राप्त रकम ।
(३) प्राधिकरणको लेखा र अन्तिम लेखा परीक्षण प्रचलित कानून बमोजिम हुनेछ ।
१९. प्राधिकरणका कर्मचारीः (१) प्राधिकरणको प्रशासकीय प्रमुखको रुपमा नेपाल सरकारको राजपत्राङ्कित विशिष्ठ श्रेणीको अधिकृत प्रेस रजिष्टार पदमा रहनेछ ।
(२) प्राधिकरणका लागि आवश्यक पर्ने अन्य कर्मचारी नेपाल सरकारले उपलब्ध गराउनेछ ।
(३) यदि माग गरेको ६ महिनाभित्र नेपाल सरकारले कर्मचारी उपलब्ध नगराएमा आवश्यक कर्मचारी प्राधिकरण आफैले नियुक्त गर्न सक्नेछ ।

(४) प्राधिकरणले आवश्यक पर्ने विज्ञ कर्मचारी वा विशेषज्ञ सेवा तोकिए बमोजिमको प्रक्रिया अपनाईलिन सक्नेछ ।
परिच्छेद–३
पत्रपत्रिका सम्बन्धी ब्यवस्था
२०. पत्रपत्रिकाको अभिलेखीकरण गराउनु पर्नेः (१) कुनै व्यक्ति वा संस्थाले नेपालभित्र पत्रपत्रिका प्रकाशन गर्न चाहेमा पत्रपत्रिकाको नाम, किसिम, भाषा, आकार, पृष्ठ संख्या, छापिने संख्या र प्रकाशित हुने स्थान समेत खुलाई सम्बन्धित स्थानीय तहमा अभिलेखीकरण गराउनु पर्नेछ र स्थानीयतहले त्यस्ता पत्रपत्रिका सुचीकरणका लागि प्राधिकरणमा पठाउनु पर्नेछ ।
तर नेपाल सरकारको कार्यालय, नेपाल सरकारको स्वामित्व भएको संगठित संस्था, विश्वविद्यालय, नेपाल सरकारको स्वीकृति प्राप्त शिक्षण संस्था, प्रचलित कानूनबमोजिम स्थापित संघ संस्था, फर्म, कम्पनी वा कुनै राजनैतिक दल वा संगठनको मुखपत्रको रूपमा प्रकाशित हुने पत्रपत्रिकालाई यस दफा बमोजिम अभिलेखीकरण गराउन आवश्यक पर्ने छैन ।
(२) उपदफा (१) बमोजिमको दरखास्तमा उल्लिखित पत्रपत्रिकाको नामसित मिल्ने गरी अर्को कुनै पत्रपत्रिका प्राधिकरणमा अभिलेखीकरण भैसकेको रहेछ भने प्राधिकरणले दरखास्त दिएको ७ दिनभित्र दरखास्तवालालाई सो को जानकारी गराउने छ ।बिना कुनै कारण वा सूचना निरन्तर पाँच वर्षदेखि प्रकाशन नरहेको पत्रपत्रिकाकोे नाममा अरु कसैले प्रकाशन गर्न चाहेमा साविक पत्रिकाको अभिलेख यथावत राखी नाम प्रयोग गर्न दिनसकिनेछ । त्यस्तो प्रकाशनको प्रकाशक व्यक्ति जीवित रहेको वा कम्पनी खारेज नभएको अवस्थामा सो को जानकारी गराइने छ । तर त्यस्तो साविकको पत्रिकाको प्रतीकचिन्ह डिजाइन र बौद्धिक सम्पत्तिको अधिकारमा असर पर्ने अन्य कुनै वस्तु प्रयोग गर्न पाइने छैन । (३) उपदफा (१) बमोजिम अभिलेखीकरण भएको अभिलेख सम्बन्धित तहबाट मागेको बखत उपलब्ध गराउनु पर्नेछ ।
(४) पत्रपत्रिकाको नाम, किसिम र भाषा परिवर्तन गर्नुपर्ने भएमा वा कुनै पत्रपत्रिका एकभन्दा बढी भाषामा प्रकाशित गर्नु परेमा वा एक प्रदेश स्तरबाट प्रकाशित भइरहेको पत्रपत्रिका अन्य प्रदेश वा एकभन्दा बढी प्रदेशबाट प्रकाशित गर्नु परेमा वा स्वामित्व परिवर्तन गर्नु परेमा वा अन्य विवरण परिवर्तन गर्नु पर्ने भएमा सम्बन्धित निकायले अभिलेख सच्याउनका लागि प्राधिकरणमा जानकारी पठाउनु पर्नेछ ।
(५) उपदफा (१) बमोजिम अभिलेखमा रहेकापत्रपत्रिकाको प्रकाशन बन्द गरेमा सो बन्द गरेको सूचना सम्बन्धित निकायले प्राधिकरणलाई दिनु पर्नेछ ।
२१. पत्रपत्रिकामा उल्लेख गर्नु पर्नेः पत्रपत्रिकामा प्रकाशक, सम्पादक, मुद्रकको नाम तथा प्रकाशन वर्ष र अंक तोकिएबमोजिम स्पष्ट बुझिने गरी उल्लेख गर्नु पर्नेछ ।
२२. पत्रपत्रिकाको आकार र पृष्ठ संख्याः (१) दफा २० बमोजिम अभिलेखीकरण भई प्रकाशित हुने पत्रपत्रिकको न्यूनतमआकार र पृष्ठ संख्या तोकिएबमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको आकार र पृष्ठ संख्या भन्दा कम हुने गरी प्रकाशित हुने पत्रपत्रिकालाई वर्गीकरणमा समावेश गरिने छैन ।
२३. पत्रपत्रिकाको प्रकाशनः प्रकाशकले पत्रपत्रिकाको प्रत्येक संस्करण दफा २०बमोजिमकोअभिलेखीकरण किताबमा उल्लिखित विवरणमा फरक नपारी प्रकाशन गर्नु पर्नेछ ।

परिच्छेद–४
प्रसारण सम्वन्धी व्यवस्था
२४. इजाजत लिनु पर्नेः (१) यस ऐन बमोजिम प्रसारण संस्थाले कुनै पनि कार्यक्रम प्रसारण, सिग्नल वितरण, भू–उपग्रह प्रसारण केन्द्रको स्थापना र कुनै पनि प्रकारको विद्युतीय नेटवर्क मार्फत कार्यक्रम अपलोड वा प्रसारण तथा डाउनलिङ्क गर्नु परेमा इजाजत लिनु पर्ने छ ।
(२) कुनै विशिष्ट अवसर र घटनाको अवस्थामा प्राधिकरणको पूर्व सूचना दिई कुनै विदेशी सञ्चार माध्यमले अल्पकालिन रूपमा गरेको कुनै प्रत्यक्ष प्रसारण बाहेक नेपाल बाहिर प्रसारण केन्द्र राखी नेपालमा रहेको स्टुडियोबाट आंशिक वा पूर्णकालिक रुपमा यथासमय प्रसारण गर्न पाइने छैन ।
२५. इजाजतपत्रको लागि प्राधिकरणमा निवेदन दिनुपर्नेः
(१) कुनै प्रसारक संस्थाले कार्यक्रम उत्पादन गरी तोकिएको कुनै माध्यमबाट आफैले वा उपदफा (३) बमोजिम इजाजतपत्र प्राप्त कार्यक्रम वितरक संस्था मार्फत उपभोक्ता समक्ष श्रव्य, श्रव्यदृश्य प्रसारणगर्न चाहेमा तोकिएको दस्तुर सहित तोकिएको ढाँचामा प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ ।
(२) कुनै प्रसारक संस्थाले कार्यक्रम उत्पादन गरी फ्रिक्वेन्सी मोडुलेशन, रेडियो प्रसारण प्रणालीर डिजिटल रेडियो प्रसारण प्रणाली वा स्थानीय वा अन्तर्राष्ट्रिय नेटवर्क मार्फत श्रब्य कार्यक्रम नेपालको जुनसुकै भू–भागमा प्रसारण गर्न चाहेमा तोकिएको दस्तुर सहित तोकिएको ढाँचामा प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ ।
(३) कार्यक्रम प्रसारण संस्थाले टेलिभिजन प्रविधिका लागि उत्पादन गरेका कार्यक्रम वा उपदफा (५) बमोजिम डाउनलिङ्क गर्न अनुमतिपत्र प्राप्त गरेका विदेशी प्रसारक संस्थाको कार्यक्रम तोकिएका कुनै माध्यम प्रयोग गरी ग्राहक, सदस्य वा उपभोक्ता समक्षनेपालको जुनसुकै भू–भागमावितरण गर्नको लागि तोकिएको दस्तुर सहित तोकिएको ढाँचामा प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ ।
(४) कुनै प्रसारक संस्थाले स्याटेलाइट तथा केबुल टेलिभिजन सम्बन्धी भू–उपग्रह प्रसारण केन्द्र स्थापना गरी वा नेटवर्क मार्फत कुनै कार्यक्रम नेपालको जुनसुकै भू–भागमा प्रसारण गर्न चाहेमा तोकिएको दस्तुर सहित तोकिएको ढाँचामा प्राधिकरण समक्ष निवेदन दिनुपर्नेछ ।
(५) कुनै विदेशी प्रसारण संस्थाले आफ्नो मुलुकबाट प्रसारण भएको कुनै कार्यक्रम डाउनलिङ्क गरी नेपालभित्र प्रसारण गराउन चाहेमा तोकिए बमोजिम दस्तुर सहित तोकिएको ढाँचामा प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ ।
(६) कसैले नेपाल भित्र नेटवर्क मार्फत कुनै कार्यक्रम संचालन वा प्रसारण गर्न चाहेमा तोकिएको ढाँचामा प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ ।
(७) प्रसारण सम्बन्धी कुनै पनि नयाँ प्रविधिको विकास भई आएमा प्राधिकरणले तत्काल सूचना प्रकाशन गरी तोकेको ढाँचामा निवेदन दिई प्राधिकरणको स्वीकृतिमा मात्र तोकेबमोजिम त्यस्तो प्रविधिको उपयोग गर्न सकिनेछ ।
२६. विदेशी कार्यक्रम प्रसारणका लागि इजाजत लिनु पर्नेःविदेशी प्रसारण संस्थाबाट उत्पादन भएको कार्यक्रम नेपाल भित्र प्रसारण गर्न वा पुनः प्रसारण वा रिले प्रसारण गर्न वा सिग्नल वितरण गर्न र फ्रिक्वेन्सी प्राप्त गर्न प्राधिकरणबाट इजाजतपत्र लिनु पर्नेछ ।
२७. इजाजतपत्र सम्बन्धी व्यवस्थाः
(१) दफा २५बमोजिम पर्न आएका निवेदन उपर प्राधिकरणले आवश्यक जाँचबुझ गरी तोकिएको शर्तहरु पालना गर्ने गरी निवेदकले गर्न पाउने कामको विवरण खुलाई तोकिएको ढाँचामा इजाजतपत्र दिने छ ।
(२) सामुदायिक प्रसारकले कूल प्रसारित सामाग्रीको ८० प्रतिशत आफैं वा समुदायको उत्पादन प्रयोग गर्नु पर्नेछ ।
२८. इजाजतपत्रको नवीकरणः
(१) इजाजतपत्रप्रत्येक आर्थिक वर्षमा नवीकरण गर्नुपर्नेछ ।
(२) इजाजतपत्र प्राप्त संस्थाले आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिना भित्र तोकिएको नवीकरण दस्तुर तथा रोयल्टी रकम सहित प्राधिकरणमा निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र नवीकरण नगराएमातोकिए बमोजिम जरिवाना सहित नवीकरण गरिनेछ ।
२९. इजाजतपत्र रद्द गर्न सकिनेः
(१) इजाजतपत्र प्राप्त संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरित कुनै कार्य गरेमा प्राधिकरणले निजले प्राप्त गरेको इजाजतपत्र रद्द गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्र रद्द गर्नु अघि प्राधिकरणले त्यस्तो संस्थालाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ । संस्थाले पेश गरेको सफाईमा चित्त नबुझे प्राधिकरणको दुई तिहाई बहुमतले रद्द गर्न सक्नेछ ।
३०.विज्ञापन रहित कार्यक्रम प्रसारण गर्न शर्त तोक्नेः (१) प्राधिकरणले विदेशी प्रसारण संस्थाले प्राधिकरणको स्वीकृतिलिई नेपालमा कार्यक्रम उत्पादन गरी नेपालभित्र प्रसारण गर्न वाडाउनलिङ्क गरी प्रसारण गर्न अनुमति प्रदान गर्न सक्नेछ । यस्तो अनुमति प्रदान गर्दा विज्ञापन रहित हुनु पर्ने शर्त तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको शर्त स्वीकार नगर्ने विदेशी प्रसारक संस्थाको कार्यक्रम प्रसारण गर्न प्राधिकरणले रोक लगाउन सक्नेछ ।
(३) यो ऐन प्रारम्भ हुनु अघि विज्ञापन सहित प्रसारणको अनुमति लिएका प्रसारण संस्थालाई प्राधिकरणले निश्चित समयावधि तोकी विज्ञापन रहित हुन निर्देशन दिन सक्नेछ । यसरी दिएको निर्देशन बमोजिम विज्ञापन रहित प्रसारण प्रारम्भ नगर्ने प्रसारण संस्था वा टेलिभिजनको डाउनलिङ्क अनुमति प्राधिकरणले खारेज गर्नेछ ।
३१.प्रसारण माध्यमको वर्गीकरण र प्रसारणको लागि अपनाउनु पर्ने प्रक्रिया ः (१) प्रसारणमाध्यमलाई सार्वजनिक सेवा प्रसारण, सामुदायिक प्रसारण र निजी एवम् व्यापारिक प्रसारणको रुपमा वर्गीकरण गरिनेछ ।
(२) प्रसारण माध्यमलाई वर्गीकरण गर्दा प्रसारकको स्वामित्व, लगानी, पूर्वाधार, जनशक्ति, पहुँच, सम्पादकीय नीति जस्ता आधारमा गरिनेछ ।
(३) सार्वजनिक प्रसारण संस्था, सामुदायिक प्रसारण संस्था र व्यापारिक प्रसारण संस्था सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।
३२. फ्रिक्वेन्सी सम्बन्धी व्यवस्था ः
(१) रेडियो तथा टेलिभिजनको फ्रिक्वेन्सीलाई राष्ट्रिय स्रोत मानी सोही आधारमा वाँडफाँड तथा वितरणको योजना बनाईप्राधिकरणले फ्रिक्वेन्सी वितरण गर्नेछ ।
(२) रेडियो र टेलिभिजनका फ्रिक्वेन्सीलाई सार्वजनिक सेवा प्रसारण, सामुदायिक सेवा प्रसारण, निजी तथा व्यापारिक प्रसारणका लागि बाँडफाँड गरिनेछ ।
(३) उपदफा (२) बमोजिम वितरण गरिएको फ्रिक्वेन्सीको अवधिपन्ध्र वर्ष हुनेछ ।
(४) प्राकृतिक प्रकोप, महामारी र मानवीय संकटको अवस्थामा उद्धारको जानकारी र सूचना प्रवाहको लागि विशेष आकष्मिक फ्रिक्वेन्सीको व्यवस्था गरिनेछ ।
(५) प्राधिकरणले प्रसारण माध्यमलाई प्रसारण पहुँच क्षेत्र, लगानी, भौतिक पूर्वाधार, जनशक्ति, उद्देश्य जस्ता आधारमा राष्ट्रिय, प्रादेशिक र स्थानीय प्रसारकको रुपमा वर्गीकरण गर्नेछ । त्यस्ता प्रसारकले आफू कुन प्रकृतिको प्रसारक हो भन्ने कुराको जानकारी खुल्ने गरी प्रसारण गर्नु पर्नेछ ।
३३. अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने ः केबुल, डी.टी.एच., एम.एम.डी.एस., इण्टरनेट, भू–उपग्रह वा अन्य कुनै माध्यमबाट अन्य प्रसारकको कुनै श्रव्य, दृष्य वा श्रव्य–दृष्य प्रसारण कार्यक्रम वितरण गर्न चाहने व्यक्तिले तोकिए बमोजिमको ढाँचामा प्राधिकरण समक्ष वितरण अनुमतिपत्रको लागि निवेदन दिनु पर्नेछ ।
तर यी माध्यमबाट वितरकको मात्र काम गर्ने संस्थालाई यो ऐनको अन्य शर्त आकर्षित हुनेछैन ।
३४. वितरण अनुमतिमा बन्देजः (१) कुनै प्रसारण संस्था सञ्चालन गरिरहेको कुनै व्यक्ति, संस्था वा व्यापारिक समूहले प्रसारण कार्यक्रमको वितरण सम्बन्धी कम्पनी संचालन गर्न चाहेमा त्यस्तो कम्पनीमा ४९ प्रतिशतभन्दा बढि शेयर राख्न पाउने छैन ।
स्पष्टिकरणः यस दफाको प्रयोजनको लागि “व्यक्ति” भन्नाले त्यस्तो व्यक्तिको नजिकको नातेदारलाई समेत जनाउनेछ ।
(२) प्रसारण कार्यक्रम वितरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

परिच्छेद–५
अनलाइन सम्बन्धी व्यवस्था
३५.अनलाइन सञ्चारमाध्यमको अभिलेखीकरण ः
(१) कुनै व्यक्ति वा संस्थाले अनलाइन सञ्चारमाध्यम मार्फत अनलाइन पत्रकारिता सञ्चालन गर्न चाहेमा अनलाइन संचार माध्यमको नाम, किसिम, भाषा, आकार र कार्यालय रहने स्थान समेत खुलाई सम्बन्धित स्थानीय तहमा अभिलेखीकरण गराउनु पर्नेछ र स्थानीय तहले त्यस्ता अनलाइन संचार माध्यमसुचीकरणका लागि प्राधिकरणमा पठाउनु पर्नेछ र प्राधिकरणले सूचिकरण गर्नुपर्नेछ ।
(२) कुनै पनि आम सञ्चार संस्थाले अनलाइन सञ्चारमाध्यम मार्फत अनलाइन पत्रकारिता गर्न चाहेमा उपदफा (१) बमोजिम प्राधिकरणमा अभिलेखीकरण गर्नुपर्ने छ ।
३६.विवरण राख्नु पर्नेः अनलाइन सञ्चारमाध्यमले देहायका विवरण आफ्नो वेवसाइटको मुख्यपृष्ठ (होमपेज) मा राख्नु पर्नेछ ः–
(क) अभिलेखीकरणको नम्बर, आर्थिक वर्ष, सञ्चालकको नाम, ठेगाना, सम्पर्क फोन नम्बर,
(ख) सञ्चालक, सम्पादक र समाचार प्रमुखको नाम,
(ग) तोकिएका अन्य विषयहरु ।
३७.विदेशबाट सञ्चालित अनलाइन मिडिया ः नेपाल बाहिरबाट डोमेन लिई विदेशबाट सञ्चालित हुने अनलाइन मिडियामा प्रकाशित वा प्रसारित कुनै सामग्री दफा ५८विपरीत रहेको पाइएमा प्राधिकरणले त्यस्तोसामग्रीलाई नेपालभित्र प्रकाशन वा प्रसारणमारोक लगाउन सक्नेछ ।

परिच्छेद–६
समाचार एजेन्सीसम्बन्धी व्यवस्था
३८.कानुन बमोजिम कुनै पनि संस्थाले विभिन्न सञ्चार माध्यमहरुलाई समाचार सेवा उपलब्ध गराउने उद्देश्यले समाचार एजेन्सी सञ्चालन गर्न सक्नेछ ।
३९. समाचार एजेन्सी संचालन गर्न चाहने संस्थाले उपलब्ध गराउने सेवाको प्रकार, भाषा, प्रयोग हुने प्रविधि, मुख्य कार्यालय रहने स्थान तोकी अभिलेखिकरणका लागि प्राधिकरण समक्ष पेश गर्नेछ । त्यसरी अभिलेखिकरण भएका समाचार एजेन्सीको अभिलेख राख्नुपर्नेछ ।
४०. हरेक वर्ष समाचार एजेन्सीले लेखा परीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन प्राधिकरणमा बुझाउनु पर्नेछ ।

परिच्छेद–७
प्रशिक्षण प्रतिष्ठानसम्बन्धी व्यवस्था
४१.आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना ः पत्रकारहरुको क्षमता विकास, सिप विकास र सञ्चार माध्यमको व्यवसायीक विकासका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिनेछ ।प्रतिष्ठान स्वायत्त निकाय हुनेछ ।
४२. आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको गठन ः (१) समावेशी समानुपातिक सिद्धान्तका आधारमा आमसञ्चार माध्यम र पत्रकारिताका विधागतक्षेत्रको प्रतिनिधित्व हुने गरी देहाय बमोजिमको २३ सदस्यीय प्रतिष्ठान सञ्चालक परिषद गठन गर्ने छ ः
(क) प्रत्येक प्रदेशवाट पत्रकारिता, प्राध्यापन, वकालत वा प्रसासनिक क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेका मध्येवाट नेपाल सरकारले मनोनित गरेका १÷१ जनाका दरले –७ जना
(ख) प्राधिकरणले तोकेका विश्वविद्यालयका पत्रकारिता विभागमा प्राध्यापनरत व्यक्तिमध्येबाट सम्वन्धित विश्वविद्यालयले मनोनित गरेका –३ जना
(ग) प्राधिकरणले मनोनित गरेका विषयविज्ञ –७ जना
(घ) प्रेस काउन्सिल नेपालका अध्यक्ष –१ जना
(ङ) नेपाल पत्रकार महासंघका अध्यक्ष –१ जना
(च) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रथम श्रेणीका कर्मचारी प्रतिनिधि –१ जना
(छ) प्राधिकरणले तोकेको प्राधिकरणका सदस्य – १ जना
(२) प्रतिष्ठानको निम्न अनुसारको एक सञ्चालक समिति रहने छ ।
(क) नेपाल सरकारले तोकेको पत्रकारिता विषयमा स्नातकउतीर्ण भई पत्रकारिता, पत्रकारिता तालिम वा प्राध्यापनमा १५ वर्ष योगदान पु¥याएको व्यक्ति कार्यकारी अध्यक्ष ……………………………१
(ख) प्रतिष्ठान सञ्चालक परिषदले आफ्ना सदस्यहरुमध्येबाट चयन गरेका सदस्यहरु ……………………………४
(ग) नेपाल सरकारले तोकेको पत्रकारिता विषयमा स्नातक उतीर्ण गरी पत्रकारिता तालिम, प्राध्यापन, प्रशासनको क्षेत्रमा निरन्तर १०वर्ष काम गरेको व्यक्ति कार्यकारी निर्देशक ………१
कार्यकारी निर्देशक संचालक समितिको सदस्य सचिव रहनेछ ।
(घ) कार्यकारी अध्यक्ष,सदस्य र कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा र सेवा शर्तहरु प्रतिष्ठान सञ्चालकपरिषदले तोके बमोजिम हुनेछ ।
४३. आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको काम, कर्तव्य र अधिकार ः (१) आम सञ्चार प्रशिक्षण प्रतिष्ठानको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) प्रशिक्षणद्वारा सञ्चारकर्मीहरुको सीप तथा क्षमता आमवृद्धि गर्ने,
(ख) आमसञ्चार सम्बन्धी अध्ययन अनुसन्धान गर्ने,
(ग) उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्ने,
(घ) सूचना तथा आमसञ्चार क्षेत्रका महत्वपूर्ण ऐतिहासिक सामाग्रीको सङ्कलन र संरक्षण गर्ने,
(ङ) तोकिएको अन्य कार्य गर्ने ।
(२) आमसञ्चार प्रशिक्षण प्रतिष्ठानले आफ्नो कार्यविधि आफैं बनाई लागू गर्नेछ ।
४४.कार्यक्षेत्रः आमसञ्चार प्रशिक्षण प्रतिष्ठानकोे कार्यक्षेत्र नेपालभर हुनेछ । ४५. कार्यालयः आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा र प्रदेश कार्यालय प्रदेश राजधानीमा रहने छ ।
४६. प्रतिष्ठानको कोषः (१) प्रतिष्ठानको एउटा छुट्टै कोष रहनेछ ।
(२) प्रतिष्ठानको कोषमा देहाय बमोजिमको रकम हुनेछ ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) प्रतिष्ठानलाई विभिन्न स्रोतबाट प्राप्त रकम ।
(३) प्रतिष्ठानको लेखा र अन्तिम लेखा परीक्षण प्रचलित कानून बमोजिम हुनेछ ।
४७. प्रतिष्ठानको कर्मचारीः (१) प्रतिष्ठानको कार्यकारी निर्देशक नेपाल सरकारको राजपत्राङ्कित प्रथमश्रेणीको अधिकृत सरह हुनेछ ।
(२) प्रतिष्ठानले आवश्यक पर्ने विज्ञ कर्मचारी तोकिए बमोजिमको प्रक्रिया अपनाई लिन सक्नेछ ।

परिच्छेद – ८
पत्रकारिता प्रवद्र्धन तथा विकास कोषसम्बन्धी व्यवस्था
४८.प्राधिकरणले आमसञ्चार तथा पत्रकारिता अध्ययन, अनुसन्धान र प्रवद्र्धन गर्नका लागि एक पत्रकारिता प्रवद्र्धन तथा विकास कोष स्थापना गर्नेछ । कोषको गठन, रेखदेख र सञ्चालन प्राधिकरणले तोके बमोजिम हुनेछ ।

परिच्छेद – ९
आमसञ्चार माध्यम सम्बन्धी अन्य व्यवस्था
४९.स्वनियमनको व्यवस्थाः (१) आमसञ्चार माध्यमले स्वनियमनको सिद्धान्त लागू गर्नेछन् ।
(२) आमसञ्चार सञ्चालक संस्थाले प्रकाशन वा प्रसारणको स्वनियमन र स्वमूल्याङ्कनका लागि सम्बन्धित विज्ञहरु रहेको एक आमसञ्चार स्वनियमन समिति गठन गर्नेछ ।
(३) उपदफा (२) बमोजिम गठन भएको समितिले सम्वन्धित आमसञ्चार संस्थाको आचार संहिता निर्माण, गुणस्तर सुधार र आमसञ्चारको प्रभावकारिता कायम राख्न तथा सार्वजनिक जवाफदेहीता पालना गर्न गराउन स्वनियमन र स्वमूल्याङ्कन गर्नेछ ।
(४) उपदफा (२) बमोजिम समिति गठन गर्दा त्यस्तो आमसञ्चार संस्थाले समितिमा आफ्नो संस्थासंग असम्बद्ध र कुनै स्वार्थ नरहेको स्वतन्त्र विज्ञ व्यक्तिहरु राख्नु पर्नेछ ।
(५) उपदफा (२) बमोजिमको समितिको गठन तथा सञ्चालन सम्बन्धी अन्य व्यवस्था सम्वन्धित आमसञ्चारसंस्थाले तोके बमोजिम हुनेछ ।
(६) आमसञ्चारसंस्थाले समिति गठन गरी प्राधिकरणलाई प्रकाशनवा प्रसारणशुरु भएको एकमहिना भित्र समितिका पदाधिकारीको नामावली सहितकोजानकारी दिनुपर्नेछ र त्यसको विवरण सार्वजनिक गर्नु पर्नेछ ।
(७) आम सञ्चार संस्थाले आफ्नो संस्थाको आय व्ययको विवरण, स्वनियमन विवरण तथा कर्मचारी विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र प्राधिकरणसमक्ष पेश गर्नुपर्नेछ र त्यस्तो विवरण सार्वजनिक समेत गर्नुपर्नेछ ।
५०. सम्पादकको नियुक्तिः(१) आमसञ्चार संस्थाले प्रकाशन तथा प्रसारण गर्ने समाचार सामग्री छनौट र सम्पादनको अधिकार र उत्तरदायित्व बहन गर्न तोकिएको योग्यता पुगेको व्यक्तिलाई सम्पादकको रूपमा नियुक्त गर्नुपर्नेछ ।
(२) सम्पादकमा नियुक्त व्यक्तिलाई सम्पादकीय स्वतन्त्रता हुनेछ ।
५१.लगानी सम्बन्धी व्यवस्थाः कुनै आमसञ्चारमाध्यममा पचास प्रतिशतभन्दा बढी लगानी गरी सञ्चालन गरेका ब्यक्ति, परिवार वा समूहलाई अन्य प्रकाशन वा प्रसारण माध्यमको स्वामित्वमा ४९ प्रतिशतभन्दा बढी हिस्सा हुने गरी लगानी गर्न पाउनेछैन । तर यो व्यवस्थाले त्यस्तो व्यक्ति, संस्था वा व्यापारिक समूहलाई अन्य प्रकृतिका प्रकाशन वा फरक भाषा, विधा वा आवधिक प्रकाशनको अनुमतिपत्र प्राप्त गर्न बन्देज लगाएको मानिने छैन ।
५२.संपरिक्षण समिति ः(१) आम सञ्चार माध्यमको वर्गीकरण गर्नका लागि एउटासंपरिक्षण समिति रहने छ ।
(२) उपदफा (१)बमोजिम समितिमा देहाय बमोजिमका सदस्यहरू रहनेछन् ।
(क) प्राधिकरणले तोकेको सदस्य …………………..अध्यक्ष
(ख) प्रतिनिधि, प्रेस काउन्सिल नेपाल ………………..सदस्य
(ग) प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ……….सदस्य
(घ) प्रतिनिधि, नेपाल विज्ञापन संघ…………………..सदस्य
(ङ) प्रतिनिधि, चार्टर्ड एकाउन्टेन्ट संघ……………….सदस्य
(च) पत्रपत्रिका प्रकाशक, अनलाइन संचार माध्यमका संचालक, एफ.एम रेडियो सञ्चालक र टेलिभिजन सञ्चालकहरुको संस्थामध्येबाट प्राधिकरणले तोकेका दुईप्रतिनिधि…..सदस्य
स्पष्टीकरण ः यस उपदफाको प्रयोजनको लागि संस्था भन्नाले सम्बन्धित क्षेत्रका व्यक्तिहरूको संघ, संगठन, समाज आदि संगठित स्वरूपलाई जनाउनेछ ।
(३) प्राधिकरणले तोकेको अधिकृत समितिको सचिव रहनेछ ।
५३.समितिको काम, कर्तव्य र अधिकार ः(१) समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः—
(क) पत्रपत्रिका वितरण स्थितिको आधारमा प्रकाशन संख्या निर्धारण गर्ने र त्यसको अध्यावधिक अभिलेख राख्ने,
(ख) पत्रपत्रिकाको प्रकाशन संख्याको आधारमा तोकिए बमोजिमको मापदण्ड अनुसार पत्रपत्रिकाको वर्गीकरण गर्ने ।
(ग) पत्रपत्रिका प्रकाशन संस्थाको भौतिक पूर्वाधार, जनशक्ति, लगानी, उद्देश्य, स्वामित्व, पहुंच क्षेत्र र अन्य तोकिएको आधारमा राष्ट्रिय, प्रादेशिक र स्थानीय पत्रपत्रिकाकोरूपमा वर्गीकरण गर्नेछ ।
(घ) एफ एम रेडियो तथा टेलिभिजनको वर्गीकरण तोकिएको मापदण्ड अनुसार गर्ने ।
(ङ) एफ एम रेडियो तथा टेलिभिजनको वर्गीकरण गर्दा स्वामित्व, लगानी, पूर्वाधार, जनशक्तिलाई आधार मानिने छ ।
(२) उपदफा (१) मा लेखिए बाहेक समितिको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
५४. आमसञ्चार माध्यमलाई सुविधाहरू ः
(१) आमसञ्चार माध्यमले आफ्नो श्रेणी र उद्देश्यको आधारमा तोकिए बमोजिमका मान्यता र सुविधा प्राप्त गर्न सक्नेछन् ।
(२) पब्लिक लिमिटेड अन्तर्गत आमसञ्चार माध्यम संचालन गर्न चाहेमा विशेष सुविधा दिनसक्नेछ ।
५५. पत्रकार र आमसञ्चार माध्यमको सुरक्षा ः(१) पत्रकार तथा आमसञ्चार माध्यमको सुरक्षा राज्यको जिम्मेवारी हुनेछ ।
(२) प्रेस तथा प्रेस उपकरणलाई आवश्यक वस्तु संरक्षण ऐन, २०१२ बमोजिम आवश्यक वस्तु मानि सो अनुसार सुरक्षा प्रदान गरिने छ ।
(३) अनुमति प्राप्त प्रसारक वा वितरकले प्रसारण गर्ने स्थान, प्रसारण केन्द्र, कार्यक्रम उत्पादन गर्ने स्टुडियो समेत आवश्यक बस्तु संरक्षण ऐन, २०१२ बमोजिम आवश्यक बस्तु मानिनेछ । त्यस्तो स्थानमा कुनै प्रकारले हुलदङ्गा वा अशान्तिबाट कुनै किसिमको हानि नोक्सानी हुने सम्भावना भएमा त्यसको सुरक्षाको व्यवस्था नेपाल सरकारले गर्नेछ ।
(४) समाचार एजेन्सीसँग सम्बन्धित उपकरण, स्थान र भौतिक सामाग्रीहरुको समेत आवश्यक वस्तु संरक्षण ऐन, २०१२ बमोजिम आवश्यक वस्तु मानि सुरक्षा गरिनेछ ।
५६.आमसञ्चारको स्वामित्व हस्तान्तरणः (१) यस ऐन बमोजिम अभिलेखीकरण भएको आमसञ्चार संस्थाको स्वामित्व कानून बमोजिम हस्तान्तरण भई कसैले प्राप्त गरेमा सो प्राप्त गर्ने ब्यक्तिले सात दिन भित्रमा त्यसको जानकारी तोकिएको ढाँचामा प्राधिकरणलाई दिनु पर्नेछ र प्राधिकरणले तत्सम्वन्धी विवरण अभिलेखमा राख्नु पर्नेछ ।
(२) यो ऐन लागू हुँदा कुनै व्यक्ति वा व्यापारिक संस्थाको निजी लगानीमा स्थापित भएको कुनै प्रसारण संस्थालाई यो ऐन लागू भएको मितिले १ वर्षभित्र त्यस्तो व्यक्ति वा संस्थाले सामुदायिक वा सहकारी प्रसारकको रुपमा रुपान्तरण गर्न वा कुनै गैरसरकारी, सहकारी वा सामाजिक संस्थाको स्वामित्वमा हस्तान्तरण गर्न चाहेमा प्राधिकरणको अनुमति लिई हस्तान्तरण गर्न सक्नेछ ।
(३) कुनै प्रसारण माध्यम एकीकरण वा विभाजन भएको कारण प्रसारण माध्यमको स्वामित्वमा विवाद भएमा वा हस्तान्तरण गर्नुपर्ने अवस्था आएमा यो ऐनको अधीनमा रही प्राधिकरणलेयसको छिनोफानो गर्ने छ ।
५७.आमसञ्चारमाध्यम सञ्चालन सुरु भएको तथा बन्द भएको जानकारी दिनुपर्नेः (१) आमसञ्चार माध्यमले प्रकाशन तथा प्रसारण शुरु भएको लिखित जानकारी प्राधिकरणलाई दिनुपर्नेछ ।
(२) प्राधिकरणमा अभिलेखीकरण भएका आमसञ्चार माध्यम कुनै कारणले सञ्चालन गर्न नसकेमा वासञ्चालन भई बन्द गर्नु परेमा सोको जानकारी प्राधिकरणलाई गराउनु पर्नेछ ।
५८.प्रकाशन तथा प्रसारण गर्न नहुनेः (१) देहायका कुराहरु कुनै पनि स्वदेशी, विदेशी आमसञ्चारको माध्यमबाट प्रकाशन, प्रसारण गर्न तथा सञ्चार सामाग्रीको उत्पादन र प्रवाह गर्न हुँदैनः–
(क) नेपालको सार्वभौमसत्ता भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय इकाइबीचको सु–सम्बन्धमा आँच आउने ।
(ख) विभिन्न जात, जाति, धर्म वा सम्प्रदाय बीचको सु–सम्बन्धमा खलल पर्ने ।
(ग) राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन गर्ने ।
(घ) सार्वजनिक शिष्टाचार, नैतिकताको प्रतिकूल हुने ।
(ङ) श्रमप्रति अवहेलना गर्ने,
(च) जातीय छुवाछूत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने,
(२) उपदफा (१) बमोजिम प्रसारण गर्न नहुने सम्बन्धी व्यवस्था विदेशी प्रकाशनको नेपाल संस्करण वा मुद्रण र अन्य प्रसारण पुनः प्रसारण रिले प्रसारणमा समेत लागु हुनेछ ।

परिच्छेद–१०
सजाय र पुनरावेदन
५९.अनुमतिपत्र रद्द हुन सक्ने ः (१) देहायको अवस्थामा प्रतिष्ठानले प्रसारकको अनुमतिपत्र रद्द गर्न सक्नेछ ः–
(क) इजाजतपत्र लिएको दुई वर्षसम्म प्रसारण प्रारम्भ नगरेमा
(ख) कुनै मनासिव कारण बेगर १ बर्ष भन्दा बढी समयसम्म प्रसारण बन्द गरेमा,
(ग) दफा २८बमोजिम नवीकरण नगरेमा
(२) उपदफा (१) बमोजिम कारवाही गर्नुपूर्व नियामक निकायले प्रसारकलाई तोकिए बमोजिम सुनुवाईको मौका प्रदान गर्नु पर्र्नेछ ।
६०.थप सजायको व्यवस्थाः
(१)देहायबमोजिमको कसुर गर्ने व्यक्तिलाई प्रचलित कानूनले हुने अन्य सजायँका अतिरिक्त थप एक वर्षसम्म कैद सजायँ वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुनेछ ः—
(क)पत्रकारलाई पत्रकारितासम्बन्धी कार्यको सिलसिलामा कसैले आवागमन वा सूचनाको पहुँचमा बाधा व्यवधान पु¥याएमा वा कुनै समाचार प्रकाशित गर्न वा नगर्न वा समाचार प्रकाशित गरे वा नगरे बापत कुनै दवाव, डर, धाक, धम्की दिएमा वा सम्पत्ति वा शरीरमा आक्रमण गरेमा,
(ख) कुनै समाचार प्रकाशित गरे वा नगरे बापत प्रकाशक, व्यवस्थापक, कर्मचारी वा कामदारलाई कुनै दवाव, डर, धाक, धम्की दिएमा वा सम्पत्ति वा शरीरमा आक्रमण गरेमा वा प्रकाशन संस्थाको भौतिक सम्पत्तिमाथि क्षति पु¥याएमा,
(२) कसैले दफा २४बमोजिम इजाजतपत्र नलिई कार्यक्रम उत्पादन, वितरण तथा डाउनलिङ्क गरेमा त्यस्तो व्यक्तिलाई इजाजतपत्र दस्तुर वापत लाग्ने दस्तुर वरावर रकम असुल उपर गरी सो बरावरको रकम जरिवाना हुनेछ ।
(३) कसैले दफा ५८ बमोजिम प्रकाशन तथा प्रसारण गर्न नहुने कुरा गरेमा विषयको गाम्भीर्यता हेरी पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(४) कसैले उपदफा (२) र (३)मा लेखिएको बाहेक यस ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम गर्नु पर्ने कार्य नगरेमा वा गर्न नहुने कार्य गरेमा प्राधिकरणले कसूरको मात्रा हेरी पाँच हजारदेखि पच्चिस हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
६१.सफाईको मौका दिनु पर्नेः यस ऐन बमोजिम कारवाही र जरिवाना गर्नु अघि प्राधिकरणले सफाईको मौका दिनु पर्नेछ ।
६२. पुनरावेदनः यस ऐन बमोजिम प्राधिकरणले गरेको अनुमती रद्द तथा सजाय उपर पैतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन लाग्नेछ ।
६३.मुद्दा हेर्ने अधिकारीः दफा ५८ बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको शुरु कारवाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई हुनेछ ।
६४. नेपाल सरकार वादी हुनेः दफा ५८ बमोजिमको कसूर गरेको मुद्दामा नेपाल सरकार वादी हुनेछ ।

परिच्छेद ११
विविध
६५.अभिलेख अद्यावधिक गर्नुपर्ने ः यो ऐन प्रारम्भ हुनु अघि प्रकाशन तथा वितरण हुँदै आएका पत्रपत्रिका तथा प्रसारण हुँदै आएका प्रसारण संस्थाको विवरण तथा अनलाइन मिडिया सम्बन्धी विवरणको अभिलेख राख्ने दायित्व प्राधिकरणको हुनेछ । सम्बन्धित निकायले आफूसँग भएको विवरण अभिलेखका लािग प्राधिकरणसमक्ष पठाउनु पर्नेछ ।
६६. नियम बनाउने अधिकार ः यो ऐन कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमबनाउन सक्नेछ ।
६७. विनियम बनाउने अधिकार ः यो ऐन कार्यान्वयन गर्न ऐन र नियम प्रतिकूल नहुने गरी प्राधिकरणले आवश्यक विनियमबनाउन सक्नेछ ।
६८. खारेजी र बचाउः
(१) देहायका ऐनहरु खारेज गरिएको छ ः– (क) छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८
(ख) राष्ट्रिय प्रसारण ऐन, २०४९
(२) उपदफा (१) बमोजिमका ऐन बमोजिम भए गरेका काम कारबाहीहरु यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।

सम्बन्धित समाचार

लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
  • २०७५ असार २५, ०९: ४५

काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत स्थापना भएको लायन्स अफ नेपाल जर्नालिष्ट क्लबले स्थापना कालदेखि विभिन्न...

तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
  • २०७५ असार २५, ०९: ४५

काठमाडौं । असार महिना धान रोपेर किसानहरु रमाउने महिना, किनकी मानो रोपेर मुरी फलाउने कृषि प्रधान देश नेपाल यतिबेला, पहाडमा...

कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
  • २०७५ असार २५, ०९: ४५

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टीको विधानका बारेमा छलफल सुरु गरेका छौं भन्दै १५औं महाधिवेशनले छोपी सकेको...