लुम्विनीका मुख्यमन्त्री केसीले लिए विश्वासको मतः विपक्षी एमालेद्वारा सदन बहिस्कार – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

लुम्विनीका मुख्यमन्त्री केसीले लिए विश्वासको मतः विपक्षी एमालेद्वारा सदन बहिस्कार


नयाँ विकल्प ।


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। लुम्विनी प्रदेशसभाको सोमबारको बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ मत पाएसँगै मुख्यमन्त्री केसीले विश्वासको मत पाएका हुन्। विपक्षमा भने शून्य मत पर्यो।

सभामुख पूर्णप्रसाद घर्तीले मत बराबरी नभएकोले मतदान गर्नु परेन भने उपसभामुख कृष्णी थारु तटस्थ बसिन्। सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री केसीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।

लुम्विनी प्रदेशसभाका ८० सांसदमध्ये सोमबार मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुँदा सभामुखसहित ४३ जना प्रदेशसभा सदस्यमात्र उपस्थित थिए। मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक भने प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको थियो। त्यसैले विपक्षमा मत नपरेको हो।


माओवादी केन्द्र लुम्विनी प्रदेश संसदीय दलका नेता केसीलाई नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । केसी साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

विश्वासको मत माग्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको आवधिक योजना व्यवहारमा देखिने गरी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले समृद्ध प्रदेश खुशी जनताको नारा जनताले अनुभूति गर्ने गरी काम गर्ने बताए।

नेकपा एमालेले भने मुख्यमन्त्रीलाई समर्थन गर्ने अजय शाही र विमलाकुमारी खत्री वली एमाले दलको सांसद रहेको दावी गर्दै उनीहरुले दलको ह्वीप नमानेकोले निष्कासनको कारबाही गरी पदमुक्त गर्न प्रदेशसभामा जानकारी गराएका थिए। तर, सभामुख पूर्णबहादुर घर्तीले उनीहरु एमाले सांसद रहेको पुष्टि नभएको भन्दै कारबाही गर्न अस्वीकार गरेका थिए।

एमालेले भने उनीहरुलाई कारबाही नगरेसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने बताएको छ। २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका अजय शाहीले नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका थिए। उनी तत्कालिन राष्ट्रिय जनता पार्टी छाडेर हृदयेस त्रिपाठी समूहमा लागेका थिए।

त्यस्तै २०७६ को उपनिर्वाचनमा दाङबाट तत्कालिन नेकपाकी उम्मेदवार विमलाकुमारी खत्री वलीले पनि सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेकी थिइन्। सोही कारण एमालेले उनीहरु आफ्नो दलको सांसद भएको दावी गरेको छ। तर शाहीले नेकपा एमाले र माओवादी केन्द्र अलग भएपनि आफूले माओवादी केन्द्र रोजेको दावी गरेकी छन्।

एमालेले अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेको विरोधमा लगातार सदन अवरोध गरिरहे पनि सभामुखले तीनपटक स्थगित गर्दै चौथोपटक बैठक आव्हान गरेका हुन् । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसद छन् भने एमाले ३८ जना सांसद छन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ भाद्र ७, १७: ४३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ भाद्र ७, १७: ४३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ भाद्र ७, १७: ४३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...