कांग्रेस महामन्त्रीमा प्रदिपको घोषणाः विश्वप्रकाश र गगनसँग भाले भिडन्त ! – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper
गगन कसको प्यानलबाट उठ्ने भन्नेमा अलमल

कांग्रेस महामन्त्रीमा प्रदिपको घोषणाः विश्वप्रकाश र गगनसँग भाले भिडन्त !


काठमाडाैं ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रारम्भ वडा अधिवेशनबाट हुँदै गर्दा पार्टीको केन्द्रीय कार्यकारी पद महामन्त्रीमा पार्टीका लोकप्रीय केन्द्रीय सदस्य प्रदीप पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन्।

उनले नयाँ विकल्पसँग भने ‘म कसको प्यानलबाट महामन्त्री उठ्ने भन्ने कुरा पछि थाहा होला, तर यत्ति हो कि म महामन्त्रीमा उम्मेदवार बन्छु।’ तार्किक र बौद्धिक क्षमताका युवा नेता पौडेल जति चर्चा र लोकप्रीय छन, त्यति नै पार्टीको आन्तरिक गृहकार्य र व्यवस्थापनमा काविल मानिन्छन्।

नेपाली कांग्रेसको मेरुदण्ड मानिएको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको महाधिवेशनमा आफ्ना प्रतिद्वन्दीभन्दा करिव दोब्बर मत ल्याएर सभापित निर्वाचित भएका पौडेल पार्टीको १३औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार हुँदा पाँचौ नम्वरमा लोकप्रीय मत प्राप्त गरेका थिए।

नेपाली कांग्रेसको नियमावली मस्यौदा समितिदेखि लिएर क्रियाशिल सदस्यता छानबिन केन्द्रीय समितिको सदस्य तथा पार्टीले गठन गरेका अनेकौं कार्यदलमा बसेर आफ्नो क्षमता र कार्यकुसलता देखाएका पाैडेलकाे प्रतिवद्ध भएर काम गर्ने शैलीबाट पार्टीका शिर्ष नेताले सितिमिति टिप्पणी गर्ने गरेका छैनन्।


युवा नेता पौडेल बैचारिक रुपमा पार्टीमा तेश्रो धारको नेतृत्व गरिरहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग एकीककृत छन भने पार्टी नेतृत्वको कमी कमजोरी सुधार्नेदेखि लिएर पार्टीले लिनु पर्ने राजनीतिक योजना र कार्यदिशा औंल्याउने गरी भएका सार्वजनिक कार्यक्रममा पुरानो संस्थापन पक्षसँग निकट छन्। उनले अघि सार्ने एजेण्डा, रणनीति र योजनालाई संस्थापनइत्तरको नेतृत्व गरिरहेका नेता रामचन्द्र पौडेलले समेत आत्मसाथ गरिरहेका छन्।

युवा नेता पौडेलको लगनसिलता र मिहनेत देखेर पार्टी सभापति शेरबहादुर देउवाले पौडेलाई आफ्नो समूहमा नजिक राख्न पाए हुन्थ्यो भन्ने सल्लाह गरिरहेका छन्। देउवाले युवा नेता पौडेलको सुझाव र सल्लाह केन्द्रीय सदस्य रमेश लेखक र पूर्वरक्षा मन्त्री भिमसेनादास प्रधानमार्फत लिएर आफूसँग सहकार्य गरेर अघि बढ्ने प्रस्ताव नगरेका पनि हाेइनन्।

त्यसैले होला पौडेलले कुन समूहमा लागेर महामन्त्रीमा उम्मेदवार हुने भन्ने निष्कर्ष ननिकाले पनि युवाहरुको पक्षमा काम गरेर पार्टीलाई गतिशिल, जुझारु र सबैले अपनत्व महसुस गर्ने गरी काम गर्न आफू महामन्त्री पदको उम्मेदवार बनेको दाबी गरे।

१३औं महाधिवेशनमा तत्कालिन संस्थापन पक्षको सहयोग र समर्थनमा केन्द्रीय सदस्य प्यानलमा बल्ल बल्ल परेका पौडेललाई सिटौला समूहको पनि सहयोग र समर्थन थियो भने शेरबहादुर देउवा समूहका धेरै महाधिवेशन प्रतिनिधिले पौडेललाई रोजेका थिए ।

धेरैले उनलाई सिटौला प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्न लागेको अड्कलाबाजी पनि गरेका छन्। पार्टी भित्रको संगठनात्मक संरचना निर्माण, बिबाद समाधान र अन्तरपार्टी समन्वय तथा सम्वन्ध बिस्तार गर्न ‘लो प्रोफाईल’ मा बसेर काम गर्ने सिटौलाले पौडेल जुन समूहमा गए पनि समर्थन र साथ दिने र उनकाे राजनीतिक भविश्य सफल बनाउने प्रतिवद्धता जनाइसकेकाे स्रोतले बतायो।

यता १३औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवार बनेका गगनकुमार थापाले सिटौलालाई धोखा दिँदै नेता रामचन्द्र पौडेल गुटको भेला र सार्वजनिक कार्यक्रममा गएको र सिटौलासँग सल्लाह नै नगरी महामन्त्रीमा उम्मेदवारी दिएको घटनाले कांग्रेस भित्र निकै चर्चा हुन थालेको छ।

कहिले सभापतिमा उम्मेदवार दिन्छु भन्ने त कहिले सिटौला समूह भनेको बैचारिक समूह भएकाले यसलाई झन ठूलो, बृहत र शक्तिशाली बनाउने घोषणा गर्दै हिँड्ने थापा सिटौलाको सिफारिसमा देउवा नेतृत्वको सरकारमा जान नपाउने भएपछि सिटौला समूह छाडेको चर्चा छ।

१३औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएर विजयी भएका डा. शेखर कोइरालाले गगन थापालाई मेरो प्यानलको महामन्त्री बनाउँछु भनेर पाँच महिनाअघि घोषणा गर्दा थापा मौन बसेका थिए। थापाले भदौ १४ गते भने आफ्नै निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ताको भेला बोलाएर महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका थिए।

भदौ १७ गते पौडेलले संस्थापनइत्तर समूहबाट सभापतिको आकांक्षी बनेका नेतालाई राखेर आफूहरुमध्येबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने भन्ने घोषणा सभामा थापालाई पनि सँगै मञ्चमा राखेका थिए।

पौडेलले आयोजना गरेको सभापतिको उम्मेदवार सहमतिको आधारमा एक जना मात्र हुने भनी पत्रकारलाई सुनाई रहँदा थापा पनि मञ्चमा देखेपछि पौडेल समूहबाट महामन्त्रीको उम्मेदवारको दाबेदारी गरिरहेका डा. मिनेन्द्रप्रसाद रिजाल, दिलेन्द्रप्रसाद बढु, धनराज गुरुङ र बलबहादुर केसी पौडेलको क्रियाकलापबाट शसंकित बनेका छन्।

रामचन्द्र पौडेलले आफूलाई महामन्त्रीको उम्मेदवार बनाउने प्यानलमा नराख्ने निश्चित भएपछि युवा नेता कल्याण गुरुङले पत्रकार सम्मेलन गरी आफू सभापतिमा कुनै पनि हालतमा उम्मेदवार हुने भनी घोषणा गरेका थिए।

गगन थापाले एक साता अघि आफू महामन्त्रीको उम्मेदवार हुने भनेर घोषणा गर्ने र त्यसको एक साता नवित्दै रामचन्द्र पौडेल प्यानलबाट भएको गुटगत पत्रकार सम्मेलनमा थापा देखिनुबाट पौडेल–कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बन्न दाबेदार डा. चन्द्र भण्डारी, डा. नारायण खड्का र महेश आचार्यले पनि गगनलाई आफूहरुको प्यानलबाट कुनै पनि हालतमा आधिकारिक रुपमा महामन्त्रीको उम्मेदवार बन्न नदिने भनेर आन्तरिक छलफलमा जुटेका छन्।

युवा नेताहरु थापा र पौडेलले महामन्त्रीको उम्मेदवार हुने घोषणा गरिरहँदा पार्टी संस्थापन पक्षका युवा नेता तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवार बन्नको लागि भित्र भित्रै गृहकार्य गरेका छन्।

पार्टी प्रवक्ता शर्माले सार्वजनिक रुपमा आफू महामन्त्रीको उम्मेदवार हुने घोषणा नगरे पनि आफू निकटका केन्द्रीय महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु मोहनबहादुर बस्नेत, भिष्मराज आङदम्वे, मिन विश्वकर्मा, केशवकुमार बुढाथोकी लगायतका नेतासँग सल्लाह गरी आन्तरिक गृहकार्यमा जुटेका छन्।

स्रोतका अनुसार प्रवक्ता विश्वप्रकाश शर्माले यही भदौ २४ गते आफू महामन्त्रीमा उम्मेदवार हुने बारेमा औपचारिक घोषणा गर्ने भएका छन्।
नेपाली कांग्रेस विधानअनुसार महामन्त्री पदका २ सिट छन भने दुई उपसभापति र एक सय ६८ सदस्यीय केन्द्रीय समिति सदस्य निर्वाचित हुने व्यवस्था छ ।

१३५ सदस्यीय केन्द्रीय सदस्यको चयन निर्वाचन प्रक्रियाबाट हुन्छ भने ३३ जना मनोनित हुने व्यवस्था छ। महामन्त्री पदमा तीन युवा नेताबीच भाले भिडन्त हुने भए पनि अन्य दोश्रो तहका नेताहरु भने कुन प्यानलबाट उम्मेदवार बन्ने होला भनेर सोचमगन बनेका छन् । सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा कांग्रेसका बैद्धिक नेता प्रदीप गिरी पछि थापा, शर्मा र पौडेलको विचार र अभिव्यक्ति लोकप्रीय मात्र होइन, भाईरल हुने गर्छन्।

युवा नेताको महामन्त्री दुई पदमा यसरी दाबेदारी प्रस्तुत हुन थालेपछि महामन्त्री पदमा पार्टी संस्थापन पक्षबाट आकांक्षा राख्ने गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँण, कानून मन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेविसंघका पूर्वअध्यक्ष एनपी साउद, अर्का नेता रमेश लेखक पनि आन्तरिक गृहकार्य र पार्टीका जिल्लास्तरिय नेतासँगको अन्रतक्रिया, छलफल सम्पर्कमा नियमित क्रियाशिल हुन थालेका छन्।

महामन्त्री पदका लागि संस्थापन पक्ष र इत्तर पक्षबाट समेत आकांक्षी धेरै भए पछि तीन गुटको नेतृत्व गर्दै आएका सभापति देउवा, नेता पौडेल र सिटौलालाई ति नेता व्यवस्थापनको सकस पर्ने निश्चित छ । यस्तो अवस्थामा महामन्त्रीको प्यानलमा तीन वटै समूहमा नपरेका नेताहरु उपसभापति विमलेन्द्र निधी र युवा नेता कल्याण गुरुङले नेतृत्व गरेको समुहमा जाने सम्भावना पनि बढेर गएको छ।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०७८ भाद्र २१, १६: २५

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०७८ भाद्र २१, १६: २५

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

नेपाल दक्षिण अफ्रिकासँग पराजित
नेपाल दक्षिण अफ्रिकासँग पराजित
  • २०७८ भाद्र २१, १६: २५

काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...