
सरकारले निर्वाचन आचार संहिता विपरित दर्जनौं काम गरेर सत्तारुढ दल नेकपाका उम्मेदवारप्रति जनतालाई प्रभावित गरे पनि आशातित सफलता पाउन सकेन । यसको ज्वलन्त उदाहरण विगत ६० वर्षदेखि आफूले जित्दै आएको पूर्वी नेपालको आधुनिक शहर धरानमा कांग्रेसका उम्मेदवार तिलक राईले उपमहानगरको प्रमुखमा विजयी हुनुलाई लिन सकिन्छ ।
अढाइ वर्षअघि धरानमा भएको निर्वाचनमा तत्कालिन नेकपा एमालेको तर्फबाट उम्मेदवार भएका तारा सुब्बाको नेतृत्वमा वहुसँख्यक सिट प्राप्त गरेको थियो । तर, सुब्बाको निधनपछि रिक्त रहेको धरान उपमहानगरको उपनिर्वाचनमा तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपाका उम्मेदवारले यो उपनिर्वाचनमा पराजय भोग्नुले स्वतन्त्र राजनीतिक विश्लेषकहरुले नेपालमा बर्लिनको पर्खाल ढले झैं कम्युनिष्टको लाल किल्ला ढलेको टिप्पणी गरेका छन् ।
२०१६ सालमा भएको धरान नगरपञ्चायतको चुनावदेखि २०७४ सालसम्म भएका सबै निर्वाचनमा विभिन्न कम्युनिष्ट घटकले एकछत्र कब्जा गर्दै आएका थिए । नेपाली कांग्रेसले हालसम्म पराजय बेहोर्दै आएको धरानमा यस पटक लालकिल्ला ढाल्ने नेतृत्व युवा नेता तिलक राईले गरेका हुन् । धरानमा नेकपाको पराजयलाई कतिपय राजनीतिक विश्लेषकहरुले आश्चर्यको रुपमा लिएका छन् ।
धरानमा बर्तमान पुस्ताले लगातार बामपन्थीहरुलाई कम्युनिष्ट पार्टी, जनपक्षिय उम्मेदवार, नेकपा एमाले, माओवादी हुँदै नेकपाको रुपमा जनप्रतिनिधिको रुपमा विजय बनाउँदै गए । धरानले जति जननिर्वाचित प्रतिनिधि नगरदेखि संसदसम्म पु¥यायो, ति सोही पार्टी र धरानवासी हुन सकेनन् । २०१६ सालमा नगरपञ्चायतमा विजयी भएका अधिकांस कम्युनिष्ट पार्टीका जनप्रतिनिधिहरु कालान्तरमा पञ्चायतमा प्रवेश गरे ।
२०४८ सालमा धरानले प्रतिनिधि सभा सदस्यमा निर्वाचित गरेको मनोमोहन अधिकारी धरानका वासिन्दा थिएनन भने सोही स्थानबाट सांसद भएकी कुन्ती शर्मा राजनीतिमा त्यति विघ्न जम्न सकिनन् ।
२०४८ सालमा प्रधानमन्त्री भएपछि गिरिजाप्रसाद कोइरालाले कांग्रेस विरोधी जनधारणालाई बदल्न धरानमा नेपालकै पहिलो निजी क्षेत्रको चिकित्सा शिक्षा प्रतिष्ठान स्थापना गरे । ब्रिटिस लाहुरेको लागि छनोट स्थल र क्याम्पको रुपमा रहेको घोपामा स्थापना भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले धरानको पहिचानलाई उजिल्याउने र प्राण भर्ने काम गरे ।
धरानबाट पूर्वको प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्र र चतरा जाने बाटो स्तरउन्नति कांग्रेस नेतृत्वको सरकारले गरे पनि धरानका जनताले कांग्रेसलाई सँधै ठग्दै आएका थिए । धरानमा भएको खानेपानी अभावलाई पूर्ती गर्न र प्रदेश नम्वर एकको राजधानी धरानलाई घोषणा गर्न वर्तमान नेकपाको नेतृत्वले इन्कार गरेपछि छ दशकपछि आएर धरानका जनताले मन बदलेका हुन् ।
आज धरानदेखि हेटौंडासम्मको बाटो अधिकांस पिच भइसकेको छ भने केही भागको ट्रयाक खोल्ने काम भएको छ । यो वाटो निर्माणको शुरुआत कांग्रेसले गरे पनि ओली नेतृत्वको सरकारले यही वाटोलाई मदनमण्डारी मार्ग नामाकरण गरिसकेको छ ।
समग्र उपनिर्वाचनको परिणामलाई हेर्ने हो भने तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुटै दलको रुपमा दुइ वर्षअघि २०७४ साल बैशाख, असार र भदौमा भएको निर्वाचनमा प्रतिस्पर्धा गरेको चुनावमा भन्दा हालै मंसिर १४ गते सम्पन्न भएको निर्वाचनमा दुई पार्टी मिलेर प्रतिस्पर्धा गर्दा झन कमजोर भएको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा दाहाल पुत्री रेणु महानगर प्रमुख भएको भरतपुरको वडा नं १६ मा कांग्रेसले विजय हासिल गर्नु सत्तारुढ दलप्रति चरम असन्तुष्टीको नमुना हो । २०७४ सालको स्थानीय निर्वाचनमा भरतपुर १६ मा पराजित कांग्रेसले अहिले तत्कालिन एमाले र माओवादी नेकपाको रुपमा एक भएर चुनावी प्रतिस्पर्धामा आउँदा समेत सफलता पाएको छ ।
गत असार १४ गते सभामुख पदबाट राजिनामा दिएका कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल निर्वाचित भएको घोराही उपमहानगरपालिका १६ मा भएको उपनिर्वाचनमा समेत कांग्रेसले यसअघि नेकपाले जितेको वडा आफ्नो पोल्टामा पार्न सफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली स्थायी वसिन्दा भएको भक्तपुरको जिल्लाको निर्वाचन क्षेत्र १ को प्रदेशसभा निर्वाचन क्षेत्र क मा भएको निर्वाचनमा समेत कांग्रेसले नेकपालाई पराजित गरेको छ । यसअघि नेकपा एमाले, माओवादी, कांग्रेस र नेमकिपाका उम्मेदवारहरु प्रतिष्पर्धी रहेको यो प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरेका थिए ।
तर यो पटक एमाले र माओवादी एकीकृत भएर नेकपाको रुपमा चुनावी प्रतिष्पर्धामा उत्रिए पनि कांग्रेसले विजय हात पारेको छ । यो विजयलाई आगामी तीन वर्षपछि हुने निर्वाचनमा सत्तारुढ दललाई निकै धक्का दिने निश्चित छ ।
यो निर्वाचनलाई धेरेले मिनी जनमत संग्रहको रुपमा समेत लिए । त्यसैले सरकारले जनतामा सत्तारुढ दलप्रतिको जनताको विश्वास घटेको छैन भनेर देखाउन चुनाव जित्ने रणनीति नलिएको होइन । तर, ति सबै रणनीति असफल भएका छन् ।
प्रदेश नं १ को पाँचथर जिल्लाको तीन स्थानीय तहमा उपनिर्वाचन भएको थियो पाँचथरमा तीन स्थानीय तहमा भएको निर्वाचनलाई प्रभावित गर्न आचारसंहिता विपरित सात वटा प्रदेशका प्रदेश प्रमुखलाई अनाहकमा एक्कासी हटाउने र नयाँ सात जना नेकपाका सक्रिय नेतालाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष दबाब पनि दिए ।
निर्वाचनमा उम्मेदवारहरु भोट माग्दै गर्दा भौतिक पूर्वाधार मन्त्रीको रुपमा बसन्तकुमार नेम्वाङलाई नियुक्त गरेर चुनाव प्रभावित गर्ने काम गरेका थिए ।
प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री टंक आङ्बो र संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले चुनावको मुखमा निर्वाचन हुने फिमिम, फाल्गुनन्द र हिलिहाङमा गएर हरेक गाउँ जाने बाटो बनाउन बजेटको घोषणा गर्दै मतदातालाई प्रभावित पारेका थिए ।
यसरी उपनिर्वाचनको मत परिणालाई हेर्ने हो भने नेकपाको मत विगतको नेकपा एमाले र माओवादीको भन्दा घटेको पाइन्छ । यो निर्वाचनमा कांग्रेसले करिव ८ प्रतिशत मत बढाउन सफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् ।
कतिपय स्थानीय तहमा नेकपाले जित्नुको पछि तत्कालिन नेकपा एमाले र माओवादीबीचको एकता पनि हो । तर समग्रमा कांग्रेसको मत हरेक स्थानीय तहको निर्वाचनमा बढेको देखिन्छ ।
नेकपाले आफूले विगतमा जितेको भक्तपुर क्षेत्र नं १ को क, धरान उपमहानगरपालिका, भरतपुर र घोराहीको महानगर र उपमहानगरको वडा गुमाएको छ । तर कांग्रेसले पाँचथरको फाल्गुनन्द गाउँपालिका प्रमुख, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुख र अन्य गाउँपालिकाको वडा मात्र गुमाएको छ । मतदाताको आधारमा हेर्ने हो भने कांग्रेसले मत बढाएको छ तर नेकपाले घटाएको छ ।
नेकपाले जित्दै आएको प्रतिनिधिसभाको एक र प्रदेश सभाको दुई पद पनि मतदातासँग सहानुभूतिको आधारमा प्राप्त गरेको छ । काश्की क्षेत्र नं दुईमा प्रतिनिधिसभाको लागि भएको निर्वाचनमा सत्तारुढ नेकपाकाले तत्कालिन नेकपाका नेता तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनकै श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो ।
त्यस्तै, दाङमा भएको प्रदेशसभा निर्वाचनमा समेत श्रीमान उत्तर कुमार ओलीको निधन भएपछि श्रमिती कमला ओलीलाई चुनावी मैदानमा उतारिएको थियो ।
पति गुमाएका पत्नीलाई उम्मेदवार बनाएर सहानुभूतिको सहायताले चुनाव जितेको नेकपाले आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्नको लागि बागलुङमा विपक्षी दलको भूमिकामा रहेको राष्ट्रिय जनमोर्चासँगको गठबन्धन गरेको थियो । रोल्पाको थवाङ्मा भएको निर्वाचनमा १६ प्रतिशत मत खसेको र सोही विषयलाई लिएरु आत्मरतीमा सत्तारुढ दलका कतिपय नेताहरु रमाउने गरेका छन् ।
तर कतिपय नेताले ८४ प्रतिशत जनतालाई १६ प्रतिशतले निर्वाचित गरेका जनप्रतिनिधिले शासन गर्न लागेको भनेर टिप्पणी पनि गरिएको थियो ।
गत मंसिर १४ काश्कीको २ नम्वर क्षेत्रमा प्रतिनिधिसभा सदस्य, दाङ, वाग्लुङ र भक्तपुरमा प्रदेशसभा सदस्य तथा पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पपरा गाउँपालिकाको अध्यक्ष र हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो ।
निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर १ मा पाँचथरको फिदिम नगरपालिका–१ र हिलिहाङ्ग गाउँपालिका–७, मोरङको धनपालथान गाउँपालिका ं–२, सुनसरीको धरान उपमहानगरपालिका वडा नं–७, संखुवासभाको खाँदवारी नगरपारिका –३, खोटाङको साकेला गाउँपालिका –३ मा वडाध्यक्षको निर्वाचन भएको थियो ।
यस्तै प्रदेश २ मा सप्तरीको छिन्नमस्ता गाउँपालिका – ७, सिराहाको कल्याणपुर नगरपालिका –१२, महोत्तरीको बलवा नगरपाकिलका –८ र २ तथा मटिहानी नगरपालिका– ६, सर्लाहीको हरिपूर्वा नगरपालिका–१, रौतहटको गढीमाई नगरपालिका –२, बाराको बारागढी गाउँपालिका –१ र पर्साको सखुवा प्रसौनी गाउँपालिका –५ मा वडाध्यक्ष पदमा निर्वाचन भएको थियो ।
प्रदेश– ३ मा रामेछापको उमाकुण्ड गाउँपालिका –५, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका –८, काभ्रेको धुलिखेल नगरपालिका –२, काठमाडौँ दक्षिणकाली नगरपालिका –३, चितवनको खैरहनी नगरपालिका –४ र ५ मा समेत निर्वाचन भएको थियो ।
गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित सुन्दरबजार नपा –२, बाग्लुङ्ग बडिगाड गाउँपालिका –२ र नवलपरासी (पूर्व) बैदीकाली गाउँपालिका –५मा, प्रदेश– ५ को गुल्मीमा रुरुक्षेत्र गाउँपालिका –६, अर्घाखाँचीको मालारानी गाउँपालिका –३, प्युठानको प्यूठान नगरपालिका –२, प्यूठान ऐरावती गाउँपालिका – १ र २, रोल्पाको थावाङ गाउँपालिका –१, कपिलवस्तु शिवराज नगरपालिका –१०, घोराही उपमहानगर–१६, बाँकेको कोहलपुर नगरपालिका – ६ मा, कर्णाली प्रदेशमा सल्यान कुमाख गाउँपालिका –५ को वडाध्यक्ष पदमा निर्वाचन भएको थियो ।
सुदूरपश्चिम प्रदेशको बाजुरास्थित त्रिवेणी नगरपालिका –१, अछामको मेल्लेख गाउँपालिका –५, डोटीको आदर्श गाउँ पालिका –२, कञ्चनपुरको पुर्नवास नगरपालिका –३, बैतडीको पुचौंडी नगरपालिका –४, सुर्नया गाउँपालिका –१ र दोगडाकेदार गाउँपालिका –४ मा वडाध्यक्ष चयनका लागि मतदान भएको थियो ।
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...
धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...