पौडेल, कोइरालासहित असन्तुष्ट नेताले बैठक बहिस्कारसँगै छुट्टै भेला – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पौडेल, कोइरालासहित असन्तुष्ट नेताले बैठक बहिस्कारसँगै छुट्टै भेला

१४औं महाधिवेशनले कांग्रेसमा रडाको मच्चियो

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहित असन्तुष्ट नेताहरुको बहिस्कारका बावजुद केन्द्रीय कार्यसमितिको बैठकबाट पार्टीका सबै तह र पदाधिकारीको कार्यकाल एक वर्ष थप गर्ने निर्णय गरेको छ ।

यसबाट पार्टीमा विगतदेखि झाँगिएको पार्टी संस्थापन पक्ष र असन्तुष्ट पक्षको गुटबन्दी चरम र जटिल बनेको छ । पार्टी सभापति शेरबहादुर देउवा र उनी पक्षधर केन्द्रीय सदस्य र पदाधिकारीको उपस्थितिमा भएको विभिन्न नौं बुँदे प्रस्ताव पारित गर्दै भएका विविध निर्णय नमान्ने असन्तुष्ट पक्षको अडानपछि कांग्रेसको बिबाद सतहमा आएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बेलुकी ५ बजे बसेको बैठकले पार्टीको सबै तह र पदाधिकारीको पदावधि एक वर्ष थप्नु परेकोले १४ औं महाधिवेशनव पनि एक वर्षपछि अर्थात २०७७ साल फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय समेत गरेको थियो ।

बैठकले भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन ६ महिना भित्र गरिसक्ने म्याण्डेड सहित कार्यकाल पनि ६ महिना थप गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकमा पार्टी विधानको दफा संशोधन गरी केन्द्रीय विभागको संख्या २८ बाट बढाएर ४१ पुर्याउने प्रस्ताव गरिएको थियो । तर शुक्रबा केन्द्रीय कार्यसमितिको बैठकले विभागको सख्या २८ बाट बढाएर ४७ बनाउने निर्णय गरेको छ । मंसिर २६ गते पेश गरेको विभागको सख्या भन्दा शुक्रबारकोबैठकले थप ६ वटा विभाग गठन गर्ने गरी विधान संशोधन गरेको छ ।

नेपाल विद्यार्थी संघको विषयमा भने केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले कुनै निर्णय गर्न सकेको छैन । शुक्रकार दिउँसो १ बजेको लागि बोलाइएको बैठकमा असन्तुष्ट पक्ष उपस्थित हुने सम्भावना नदेखेपछि बेलुका पाँच बजे शुरु भएको थियो । सभापति देउवाले पार्टी बैठकमा पेश भएका एजेण्डामा सहमति खोज्नकै लागि भन्दै मंसिर २९ गते र पुस १, ४ र १० गतेको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेका थिए ।

सहमतिको लागि देउवाले उपसभापति विमलेन्द्र निधिलाई वार्ताको लागि जिम्मेवारी दिएका थिए । तर, सहमति गर्न निधि असफल भएपछि असन्तुष्ट पक्षले शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठक पनि बहिस्कार गरेको थियो ।

असन्तुष्ट समूहको तर्फबाट नेता पौडेलले ५–८ मंसिर २०७७ मा १४ महाधिवेशन गर्नु पर्ने प्रस्ताव गरेका थिए । संस्थापन पक्षधर एक नेताका अनुसार पार्टी केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बेलुकी ५ बजे बस्नुअघि सभापति देउवाले नेता पौडेललाई सम्पर्क गरेका थिए । पौडेलले नेपाल विद्यार्थी संघको विषयमा आफूहरुको रिजर्भेसन रहेको भन्दै अन्य विषयमा आफ्नै तरिकाले अघि बढ्न सुझाव दिएका थिए ।

असन्तुष्ट पक्षलाई वार्ताद्वारा सहमतिमा ल्याउने प्रयास समेत असफल भएपछि शुक्रबार बोलाइएको बैठकमा पौडेल पक्षधर केन्द्रीय सदस्यको अनुपस्थितिमा बैठक बसेको थियो । असन्तुष्ट पक्षबाट वार्ता गर्न पूर्वमहामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद दवाडी र हृदयराम थानीलाई जिम्मेवारी दिएको थियो ।

संस्थापन पक्षले प्रस्ताव गरे बमोजिम केन्द्रीय विभागको सख्या २८ बाट ४७ बनाउने, नेविसंघको महाधिवेशन आयोजक समिति वा तदर्थ समिति बनाउने र नेपाल तरुण दलको कार्यकाल ६ महिना थप गर्ने विषयमा समेत असहमति भएपछि पौडेल पक्षले बैठक बहिस्कार गरेको हो ।

विभागमा असन्तुष्ट पक्षलाई ४० प्रतिशत, नेविसंघमा अध्यक्ष संस्थापन पक्षले लिएर महामन्त्रीसहित सदस्यहरु ४० प्रतिशत र तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीमाथि गरिएको कारबाही फिर्ता गर्न असन्तुष्ट पक्षले माग गरेको थियो । तर संस्थापन पक्षले नमानेपछि कांग्रेस भित्र बिबाद पनि गहिरिँदै गएको हो ।

संस्थापन पक्षले असन्तुष्ट पक्षमाथि भागबण्डा खोजेका कारण सहमति नजुटेको आरोप लगाउँदै आएको छ भने असन्तुष्ट पक्षले संस्थापन पक्षले विधान विपरित विभागको सख्या थप्ने र महाधिवेशनको कार्यतालिका नल्याएर कार्यकाल बढाउन खोजेको आरोप लगाउँदै आएको छ । असन्तुष्ट पक्षले गत मंसिर २६ गतेको केन्द्रीय कार्यसमिति बैठकमा भने महाधिवेशनको कार्यतालिका पेश नगरेसम्म बैठकमा सहभागी नहुने बताउँदै आएको थियो ।

पछि सभापति देउवाले उपसभापति विमलेन्द्र निधिलाई वार्ता गर्न खटाएपछि तरुण दल, नेविसंघ, र विभागको भागबण्डा मिलाउने लगायतका विषयमा प्याकेजमा सहमति खोज्न वार्ता केन्द्रीत भएको थियो ।

केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिन संस्थापन पक्षका केन्द्रीय सदस्यरु केन्द्रीय कार्यालय सानेपातर्फ गइरहँदा असन्तुष्ट पक्षका नेताहरु भने महामन्त्री डा. शशांक कोइरालाको निवासमा छलफलमा व्यस्त थिए । शुक्रबार आफूहरुलाई अलग गरी केन्द्रीय कार्यसमिति बैठकमार्फत गरिएका निर्णयप्रति असन्तुष्ट कांग्रेसका नेताहरुले आपत्ति जनाएका छन् ।

शनिबार महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकले सभापति शेरबहादुर देउवाले पार्र्टीलाई संकटमा धकेलेको निष्कर्ष समेत निकालेको छ ।

बहुमतका नाममा पार्टीको विधि विधान उल्लंघन गरी निर्णय भएको भन्दै उनीहरुले त्यस्तो निर्णयलाई नमान्ने चेतावनी समेत दिएका छन् । शुक्रबारको निर्णयले पार्टीलाई थप धरासयी बनाएको भन्दै उनीहरुले देशभरका कांग्रेस कार्यकर्ता सचेत हुन आव्हान समेत गरेका छन् । महामन्त्री डा. कोइरालाले महासमिति बैठकपछि संशोधन गरिएको पार्टी विधानको धज्जी उडाउने काम सभापति देउवाबाट भएको आरोप लगाउन समेत पछि परेनन् ।

महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने नाममा आफुखुशी विधानका दफा निलम्बन गरिएकोमा महामन्त्री कोइरालाले आपत्ति समेत जनाए । उनले पार्टी विधानको व्यवस्था निलम्बन गर्ने कुरा बहुमतबाट हुन नसक्ने भन्दै त्यसमा सहमति नखोजिएकोमा आपत्ति प्रकट गरे  । नेपाली कांग्रेसको विधान संशोधन वा निलम्वन गर्ने कार्य पार्टी केन्द्रीय कार्यसमितिवको बहुमतबाट गरिएको यो इतिहासमै पहिलो पटक हो ।

पूर्वमहामन्त्री एवं वार्ता टोलीका संयोजक प्रकाशमान सिंहले सहमतिका पक्षमा आफुहरू हुँदाहुँदै पनि सभापति देउवा पक्षले बहुमतको दम्भ देखाएको आरोप लगाउँदै वार्ता गर्दा धेरै विषयमा सहमति नजिक पुगे पनि सहमति भन्दा वार्ताका नाममा अल्मल्याउने मात्र काम भएको टिप्पणी गरे । नेता सिंहले बहुमतबाट गरेको निर्णयमा आपत्ति जनाउँदै सो निर्णय स्विकार गर्न नसकिने वताए ।

पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आधारमा पार्टी विधान संशोधन गरेको घटनाप्रति आपत्ति जनाउँदै युवा नेता गुरुराज घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् —‘आजवबाट हाम्रो पार्टीमा परम्परा, संस्कार र मर्यादाको अन्त्य भयो । संस्थापक नेता बीपी, गणेशमानका परिवार, रामचन्द्र पौडेल र अन्य बरिष्ठ नेताहरुलाई नजरअन्दाज गरी निर्णय गर्ने परिपाटीको प्रारम्भ गर्नु साच्चै ठूलो दुर्भाग्य ! बिनाश काले विपरित बुद्दी !!’

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७६ पुष १४, ०७: ४८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७६ पुष १४, ०७: ४८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७६ पुष १४, ०७: ४८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...