
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा) ले आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको १८ पदमा हुने निर्वाचनमा उम्मेदवारको नाम टुंगो लगाएको छ । उसले १८ मध्ये १६ स्थानमा उम्मेदवार खडा गर्ने निर्णय गरेको छ । १६ जना उम्मेदवारमध्ये अधिकांस संघीय संसद र स्थानीय तहको निर्वाचनमा पराजितहरु रहेका छन् । ति मध्ये कतिपय समानुपातिक सूचीमा नाम भएर पनि सांसद हुन नपाउनेहरु पनि छन् ।
नेकपा सचिवालयको निर्णय अनुसार प्रदेश २ मा राजपासँग तालमेल गर्दै दुई कोटामा भने राजपाका उम्मेदवारलाई समर्थन गर्ने भएको छ । नेकपाका प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ २०७४ सालको संघीय संसदको निर्वाचनमा गोरखा २ बाट तत्कालीन नयाँ शक्तिका संयोजक तथा हालको समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग ६ हजार ८ सय ७४ मतले पराजित भएका थिए ।
उनी राष्ट्रिय सभाका उम्मेदवार भएसँगै २०७८ सालमा हुने संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने झन्जटबाट भने श्रेष्ठ मुक्त भएका छन् । अहिले निर्वाचित हुने सवै सदस्य ६ वर्षको लागि निर्वाचित हुन्छन् । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका नेता तथा प्रधानमन्त्रीको पूर्व सल्लाहकारको भूमिकामा रहेका देवेन्द्र दाहाल प्रदेश नं १ बाट अन्य कोटाबाट उम्मेदवार भएका छन् ।
उनी २०५६ सालमा झापा क्षेत्र नं ६ र २ बाट प्रतिनिधिसभामा ओली निर्वाचित भएपछि छोडेको क्षेत्र नं ६ बाट उपनिर्वाचनमा उम्मेदवार हुँदा कांग्रेसका डा.गोपालप्रसाद कोइरालासँग पराजित भएका थिए । उनी तत्कालिन नेकपा एमालेका झापा इन्चार्ज हुन भने पुन भएको अधिवेशनमा पूर्वसांसद रविन कोइरालासँग झापाको अध्यक्षमा प्रतिष्पर्धा पराजित भएका थिए ।
त्यस्तै राष्ट्रिय सभामा गण्डकी प्रदेशबाट उम्मेदवार बनेकी भगवती न्यौपाने २०७४ सालको स्थानीय तहको निर्वाचनमा तनहुँको भानु नगरपालिका मेयरमा उम्मेदवार भएर पराजित भएकी थिइन् । उनलाई नेपाली कांग्रेसका उदयराज गौलीले हराएका थिए । प्रदेश ५ बाट अपाङ्गता कोटामा उम्मेदवार भएका जगप्रसाद शर्मा प्रदेश सभाको दाङ को क्षेत्र नम्वर ३ को (क) बाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनी पराजित भएका थिए ।
उनलाई नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरीले पराजीत गरेका थिए । प्रदेश १ बाट नेकपाले उम्मेदवार बनाएको गोपी अछामी प्रतिनिधि सभा सदस्यको समानुपातिक सूचिमा थिए । उनी संविधान सभाको पहिलो निर्वाचनमा मोरङ ८ बाट विजयी भएका थिए । २०७४ मंसिरको प्रतिनिधिसभा निर्वाचन उनको नाम समानुपातिक सूचीमा थियो ।
कर्णाली प्रदेशबाट राष्ट्रिय सभाको उम्मेदवार बनेकी सुमित्रा बिसी प्रतिनिधि सभा सदस्यमा समानुपातिक सूचिकी उम्मेदवार भएकी थिइन तर उनी सांसद हुन सकेकी थिइनन् । प्रदेश ५ बाट नेकपाले उम्मेदवार उठाएका जगप्रसाद शर्माबाहेक विमला घिमिरे र गोपाल भट्टराई नयाँ अनुहार हुन् । कर्णाली प्रदेशबाट उम्मेदवार हुनेमा सुमित्रा बिसीसहित मायाप्रसाद शर्मा पनि हुन । माया प्रसाद नेकपाको कर्णाली प्रदेश कमिटी सचिव हुन् ।
प्रदेश ३ बाट उम्मेदवार भएका वेदुराम भुसाल नेकपाको स्कुल विभागको उपप्रमुख हुन् भने गंगा वेलवासे पूर्वमन्त्री स्वर्गीय धनिराम पौडेलकी धर्मपत्नी हुन् । नेकपाका १६ उम्मेदवारमध्ये ९ जना तत्कालीन नेकपा एमाले निकट र ७ जना तत्कालीन नेकपा माओवादी केन्द्र निकटका रहेका छन् । भुसाल र भट्ट नेकपाभित्र माधव नेपाल निकट हुन् भने सातजना पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका हुन् ।
तत्कालीन माओवादी केन्द्रका ७ जनामध्ये गंगा बेलवासे नारायणकाजी श्रेष्ठकै समुहका हुन् भने माया प्रसाद शर्मा गृहमन्त्री राम बहादुर थापा वादल निकटका हुन् । जगप्रसाद, तारामान र र गोपी भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकटका हुन । नेकपाले समानुपातिक सूचीका उम्मेदवारलाई राष्ट्रिय सभामा टिकट दिने बताएपनि निर्वाचन आयोगले भने बन्द सूचीबाट नाम फिर्ता नलिएसम्म उम्मेदवारी दर्ताका लागि योग्य नहुने बताएको छ ।
‘समानुपातिकको बन्द सूचीमा भएकाले अन्य निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनन् । कुनै दलले उम्मेदवार बनाउने निर्णय गरेछन् भने पहिला बन्द सूचीवाट नाम फिर्ता लिएर त्यसको प्रमाणपत्र सम्वन्धित दलले लिनुपर्ने हुन्छ ।
यी हुन, नेकपाले छानेका उम्मेदवारहरु
प्रदेश १ बाट इन्दु गौतम, गोपी अछामी र देवेन्द्र दाहाल, प्रदेश–२ मा तुलसा दाहाल र राधेश्याम पासवान, प्रदेश ३ मा गंगा वेल्वासे र वेदुराम भुसाल, गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै, नेकपाले प्रदेश ५ बाट विमला घिमिरे, जगप्रसाद शर्मा र गोपाल भट्टराई, कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा र सुमित्रा बिसी, सुदुरपश्चिमबाट तारामान स्वार र शारदा भट्टलाई उम्मेदवार बनाएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...