काठमाडौं । राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सदस्यको लागि भएको निर्वाचनमा सत्तासीन नेकपाले आफ्ना १६ उम्मेदवारलाई विजयी बनाएको छ । उसले दुई सिटमा भने विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)सँग सहकार्य गरेको थियो ।
प्रत्येक दुई वर्षमा एकतिहाइ सांसदको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार १८ सांसदको लागि माघ ९ गते बिहीबार निर्वाचन भएको थियो । एक सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गर्ने प्रावधान छ । कांग्रेसका सात र नेकपाका नौ सांसदसहित १९ जना सांसदको कार्यकाल फागुन २० मा सकिँदै छ । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको कार्यकाल फागुन २० बाट सुरु हुनेछ ।
निर्वाचन आयोगका अनुसार प्रदेश १ बाट नेकपाका गोपी अछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भए । अच्छामी दलिततर्फ, गौतम महिला र दाहाल अन्य समूहबाट निर्वाचित भएका हुन् । प्रदेश २ मा नेकपा–राजपा गठबन्धनका उम्मेदवारले जितेका छन् ।
महिला समूहतर्फ नेकपाकी तुलसाकुमारी दाहाल र दलिततर्फ नेकपाकै राधेश्याम पासवान विजयी भए । अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फ राजपाका शेखरकुमार सिंह र अन्यतर्फ राजपाकै मृगेन्द्रकुमार सिंह यादव निर्वाचित भए ।
बागमती प्रदेशमा महिला समूहतर्फ गंंगाकुमारी बेल्वासे र अन्यतर्फ वेदुराम भुसालले विजयी भए । गण्डकीमा महिला समूहतर्फ भगवती न्यौपाने र अन्यतर्फ नारायणकाजी श्रेष्ठ निर्वाचित भए । प्रदेश ५ मा गोपाल भट्टराई, विमला घिमिरे र जगप्रसाद शर्मा निर्वाचित भए । कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा र सुमित्रा बीसी निर्वाचित भए ।
सुदूरपश्चिम प्रदेशबाट महिला समूहतर्फ शारदादेवी भट्ट र अन्यतर्फ तारामान स्वाँर निर्वाचित भएका छन् । यो निर्वाचनसँगै ५९ सदस्यीय राष्ट्रियसभामा नेकपाका ५० जना (सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित तीन जनासमेत) सांसद हुनेछन । १३ सदस्य रहेको प्रमुख विपक्षी कांग्रेस अब ६ सिटमा खुम्चिएको छ भने राजपाले दुई सदस्य सुरक्षीत गरेका छ । समाजवादी पनि दुई सांसदबाट एक जना सांसदमा खुम्चिएको छ ।
नेकपाका आठ, कांग्रेसका सात, राजपाका दुई, समाजवादीका एक र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री डा. युवराज खतिवडा)को कार्यकाल फागुन २० मा सकिन लागेको हो । राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । नेकपाले आठ सिट सुरक्षित राख्दै थप आठ सिटमा कब्जा जमाएको हो ।
नेकपासँग तालमेल गरेर राजपाले दुई सिट सुरक्षित गरेको हो । कांग्रेससँग गठबन्धन गरेको समाजवादीले एक सिट गुमाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभाका सांसद र स्थानीय तह (गाउँपालिका÷नगरपालिकाका) का प्रमुख र उपप्रमुखले मतदान गरेका थिए । ७ सय ५३ स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद मतदाता थिए ।
स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदले दिने मतको भार भने फरक हुन्छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेश सांसदको मतको भार ४८ निर्धारण गरिएको छ । दुवै तहको मतभार ५३ हजार ५ सय ८ छ ।
राष्ट्रियसभा निर्वाचन प्रणाली एकल संक्रमणीय हो। यसपटक भने प्रत्येक प्रदेशबाट (क्लस्टर)मा एक÷एक जना मात्र निर्वाचित हुने हुँदा प्रत्यक्षजस्तै भएको छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले सांसद निर्वाचित हुन्छन् । तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन्छन्। स्थायी सदन राष्ट्रियसभाका लागि पहिलो पटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो । एकतिहाइ सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ । अब निर्वाचित हुनेको कार्यकाल ६ वर्षकै हुनेछ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...