ओलीले पुल्पुल्याएका बाँस्कोटाको भित्री रहस्य खुल्दा तिलमिलायो सरकार – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

ओलीले पुल्पुल्याएका बाँस्कोटाको भित्री रहस्य खुल्दा तिलमिलायो सरकार

७० करोडको बार्गेनिङ्गमा प्रधानमन्त्री शंकाको घेरामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका अति विश्वास पात्र समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पुल्पुल्याएर पूर्णरुपमा विश्वास गर्दा प्रधानमन्त्रीको पद नै शंकाको घेरामा परेको छ ।
सरकारले लामो समयदेखि खरिद गर्न खोजेको सेक्युरिटी प्रेसको लागि स्वीस एक कम्पनीको नेपालस्थित एजेण्टसँग ७० करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीको नैतिकतामा समेत गम्भीर प्रश्न खडा भएको छ ।

आफ्नै मन्त्रिपरिषद्का एक सदस्यले खरिद प्रक्रियामा ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि ओली धर्मसंकटमा परेका हुन् । बाँस्कोटाले एक वर्षअघि सेक्युरिटी प्रेस खरिदका लागि स्वीस कम्पनिका नेपालस्थित एजेण्टसँग ७० करोड रुपैयाँ कमिसनको वार्गेनिङ गरेको अडियोको विषयमा प्रधानमन्त्री ओलीलाई समेत थाहा भएको दाबी गरिएको छ । तर, प्रधानमन्त्री ओलीले सो प्रकरणलाई ढाकछोप वा सामसुम पार्न चुप लागेर बसेको हो भने प्रधानमन्त्रीमाथि नै नैंंतिक संकट आइलाग्ने देखिन्छ ।

ओली सरकारका प्रवक्ता समेत रहेका मन्त्रि बाँस्कोटाले गरेको यस्तो कमिसनको विषयमा आफूलाई थाहा भएको वा नभएको विषयमा प्रधानमन्त्रीले केही पनि बोलेका छैनन् । तर, अडियो आमसंचार माध्यमबाट सार्वजनिक भएपछि विपक्षी दलले मन्त्रीलाई बर्खास्त गर्न माग गरेको, राष्ट्रिय सभामा र प्रतिनिधिसभामा विपक्षी दलले संचारमन्त्रीकै राजिनामाको माग गर्दै सदनको नियमित काम कारबाही अवरुद्ध गरेको थाहा हुँदाहुदै बर्खास्त नगरी बिहीबार बेलुकी ४ बजे राजिनामा माग्नुले प्रधानमन्त्रीलाई समेत शंका गर्ने सुविधा आमनागरिकले पाएका छन् ।

नत्र बिहीबार दिनभरी कन्चनपुर जिल्लाका विभिन्न स्थानमा कार्यक्रम गर्दै माला पहिरिँदै हिँडेका मन्त्री बाँस्कोटाको राजिनामा लिनुको सट्टामा किन बर्खास्त गरिएन ? यदि प्रधानमन्त्रीलाई संचारमन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँको वार्गेनिङ्ग गरेर सरकारको बद्नाम गराउने भूमिका खेलेको भन्ने शंका लाग्दालाग्दै किन बर्खास्त गरेनन् भन्ने गम्भिर प्रश्न खडा भएको छ ।
प्रधानमन्त्री ओलीको विश्वास र आडभरोसामा पार्टीका शीर्ष नेतालाई होच्याउने र आलोचना सार्वजनिक रुपमा गर्ने बाँस्कोटाले सरकारको आलोचना गर्नेलाई सिधै सरकारको तारो बनाउने गर्दथे ।

यतिसम्मकी प्रधानमन्त्री ओलीले सोमबार काभ्रेभञ्ज्याङमा मदन भण्डारीको पूर्णकदको शालिक उद्घाटन र धुलिखेल नगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्रिपरिषद्का २३ जना सदस्यलाई होच्याउने गरी बाँस्कोटाको प्रशंसा गरेका थिए ।

त्यसबेला प्रधानमन्त्री ओलीले काभ्रे जिल्लाले पनि प्रतिभा जन्माउने गरेको भन्दै आफ्नो मन्त्रिपरिषद्का सारा सदस्यलाई एकातिर र गोकुललाई अर्कोतिर तुलामा राख्ने हो भने गोकुल ति सबैभन्दा ओजनदार भएको भन्दै प्रशंसा गरेका थिए । तर, प्रधानमन्त्री ओलीको यो प्रसंशा गरिएका प्रतिभाको इज्जत र प्रतिष्ठा गुम्न चार दिन नै कुर्नु परेन । सरकारको विरोध गर्नेहरु पनि गोकुलको अनुहार हेरेर चुप लाग्ने गरेको प्रधानमन्त्रीले बताएका थिए ।

सरकारको विरोध गर्नेलाई जाइलाग्नको लागि प्रधानमन्त्री ओलीले भनेका अभिव्यक्तिको व्याख्या समेत बाँस्कोटाले गर्ने गर्दथे । बाँस्कोटाको ७० करोडको कमिसन अडियो प्रकरणले सत्तारुढ नेकपा भित्र पनि खैला बैला भएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत कम्युनिष्टहरु सत्तामा जाँदा यसरी सिद्विने बताएका छन् । आफूलाई घुस खान नआउने भन्दै राष्ट्रिय सभाको बेठकमा सेक्युरिटी प्रेसको विषयमा उठाइएको प्रश्नको जवाफ दिएका थिए ।

भ्रष्टाचारबिरुद्ध सरकारले शुन्य सहनशिलता अपनाएको, सरकार आफू भ्रष्टाचार नगर्ने र अरुलाई गर्न पनि नदिने भन्दै बाम्बार आफ्नो भाषण र मन्तव्य दिने बाँस्कोटाले आफूमाथि लागेको आरोप पत्रकारसम्मेलन मार्फत सार्वजनिक पनि गरेनन् । नेकपाको सरकारका संचारमन्त्री बाँस्कोटामाथि लागेको कमिसनको गम्भीर आरोपपछि नेकपा सचिवालयले बाँस्कोटाको अडियो टेपको विषयमा अध्ययन र छानबिन गर्न लगाउने भएको छ ।

नेकपा सचिवलायको शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकले सञ्चारमन्त्रीबाट राजिनामा दिएका गोकुल बाँस्कोटाको अडियो प्रकरणमा छानविनका लागि केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जिम्मेवारी दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा बाँस्कोटाले मन्त्रालयमा तहका अन्य ठूला प्रोजेक्टमा हात हाल्ने, कमिसन खोज्ने र कमिसन नपाए भइसकेका ठेक्का पनि रद्द गर्ने गरेका घटनाहरु वाहिर आउन थालेका छन् ।

उनले सेक्युरिटी प्रेस खरिद गर्ने, देशभर टेलिकमको फोरजी सेवा पु¥याउने, स्याटलाइट राख्ने, सामुदायिक विद्यालयहरूमा कम्प्युटर ल्याब स्थापना गर्ने, अप्टिकल फाइबर बिच्छ्याउने, आधिकारिक बिक्रेताभन्दा बाहिरबाट भित्र्याइएका मोबाइल नचल्ने बनाउन मोबोइल डिभाइस म्यानेजमेन्ट सिस्टम खरिद गर्ने लगायतका अर्बौं लगानी हुने आयोजनामा आफ्नो प्रत्यक्ष संलग्नता खोज्ने गरेका थिए ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष सम्बन्ध भएका कारण मुख्यमन्त्रीदेखि संचार मन्त्रालयका सचिवलाई समेत आफ्नै इसारामा चलाउन खोज्ने वाँस्कोटाको गल्ति वा कमजोरी प्रधानमन्त्रीसमक्ष बोल्न सक्ने कोही पनि थिएनन् । प्रधानमन्त्री ओली विरामी भएर अस्पताल ल्याउँदा उनको स्वास्थ्य स्थितिको विषयमा, डायलसिस गरेको, एपेण्डिसाइटिसको उपचार गरेको लगायतको विषयमा वाहिर केही पनि कसैलाई बोल्न नदिएका बाँस्कोटाको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले भने विरोध गरेका थिए । तर, बाँस्कोटाको कमजोरी वा टिप्पणी प्रधानमन्त्री ओलीसमक्ष गर्ने हिम्मत कसैले पनि राख्दैन थिए ।

संचार मन्त्रालयसँग जोडिएका अर्बौंंका परियोजना र कार्यक्रम निर्माण, ठेक्काको स्पेसिफिकेसन, मूल्यांकन लगायत हरेक चरणमा सार्वजनिक खरिद प्रक्रिया वाँस्कोटाले उल्लंघन गर्दै आएको बुझिएको छ । नेपाल टेलिकम्युनिकेसन एनटीसीलाई नाफामा लैजान सफल एनटीसीकी महाप्रबन्धक कामिनी राजभण्डारीलाई बिनाकारण गलहत्याउने, बद्नाम प्रशासकको रुपमा चिनिएका दिगम्भर झालाई नेपाल दूरसंचार प्राधिकरणको प्रमुख बनाउने, पारदर्शीता र प्रतिस्पर्धाको आधारमा अप्टिकल फाईवर बिछ्याउने ठेक्का दिने लगायतका विवादास्पद काममा बाँस्कोटाले हात हालेको यस अगाडि पनि चर्चाको विषय थियो ।

यसर्थ मन्त्रीपरिषद्का सदस्यको समेत जिम्मेवारी कार्यपालिका प्रमुख प्रधानमन्त्रीले नै लिनुपर्ने भएको हुँदा बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री स्वयमनै शंकाको घेरामा तानिएका हुन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७६ फाल्गुन १२, ०७: ०४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७६ फाल्गुन १२, ०७: ०४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७६ फाल्गुन १२, ०७: ०४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...