काठमाडौं । आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ सांसदको लागि हुने निर्वाचनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका आकांक्षीहरुको प्रतिष्पर्धा देखिएको छ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यका लागि हुने निर्वाचनमा सत्ता गठबन्धनका दलहरुबीच नै तालमेल हुने र मतभार सातवटै प्रदेशमा बहुमत भएकाले कांग्रेसमा आकांक्षीहरु धेरै देखिएका हुन् ।
आगामी फागुन २० गतेदेखि कांग्रेसका ४ र एमालेका ८ सहित १९ सांसदको ६ वर्षे कार्य समाप्त हुँदैछ । गठबन्धन दलहरुबीच नै १९ सिटमध्ये कति कति सिट लिने भन्ने विषयमा छलफल भइसकेको छैन् । तर पनि सबैभन्दा बढी मतभार भएको नेपाली कांग्रेसले १९ सिटमध्ये ९सिटमा, नेकपा माओबादीले ४सिट, नेकपा एसले ३ सिट, जसपाले ३ र लोकतान्त्रिक समाजबादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले कम्तीमा एक सिटमा दाबी गरेका छन् ।
ठूला दलहरुबीच सहमति भएमा साना दललाई कुनै भाग नदिन सक्छन् । राष्ट्रिय सभामा आकांक्षी व्यवस्थापन गर्न सत्ता गठबन्धनलाई कठिनाइ भइरहेको बेला, सत्तारुढ नेपाली कांग्रेस भित्र दाबी गर्नेको सङ्ख्या झन धेरै देखिएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको ६ वर्षे कार्यकाल पनि यही फागुन २० बाट सकिने भएकाले कांग्रेसका प्रभावशाली नेताको दाबी राष्ट्रिय सभा सदस्यमा देखिन्छ ।
संवैधानिक निकायका पदाधिकारी सिफारिस गर्ने संवैधानिक परिषद्को ६ सदस्यमध्ये कांग्रेसबाट कसैको पनि प्रतिनिधित्व छैन । त्यसैले परिषद् सदस्य समेत रहने राष्ट्रिय सभाको अध्यक्षमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको दाबी स्वभाविक छ । कांग्रेसभित्र अध्यक्ष बन्नका लागि पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, कांग्रेसको समानुपातिक सूचीमा नाम रहेका र हालै हटाएका गोपालमान श्रेष्ठ र केन्द्रीय सदस्य मीनेन्द्र रिजालको नाम चर्चामा छ ।
गत निर्वाचनमा रिजाललाई टिकट दिन र समानुपातिकबाट समेत वञ्चित गरिएको थियो । पार्टीका सहमहामन्त्रीद्वय फरमुल्ला मन्सुर, मानबहादुर विश्वकर्मा, चित्रलेखा यादव, पद्मनारायण चौधरी, चीनकाजी श्रेष्ठलगायतका एक दर्जन केन्द्रीयस्तरकै नेता राष्ट्रिय सभाको सदस्य बन्न आकांक्षा देखाएका छन् । एक महिनाअगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्थाका कारण रिक्त स्थान पूर्तिका लागि माघ ११ मा हुने निर्वाचनका लागि सो निर्वाचनमा भाग लिने दलहरुले आइतबारसम्म दल दर्ता गरिसकेका छन् ।
राष्ट्रिय सभामा रिक्त भएको एक पदमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान छ । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालसहित एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र १ छन् । एमालेका अहिले १७ सांसद राष्ट्रय सभामा छन् । नौ सांसद गुमाएमा एमालेको हैसियत ८ सांसदमा सिमित हुने देखिन्छ ।
राष्ट्रिय सभामा आउन आकांक्षा देखाएर प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारबाट राजिनामा दिएका हरिबोल गजुरेल, महासचिव देव गुरुङ, नेताहरू लीलामणि पोखरेल, चक्रपाणि खनाललगायतका नेता राष्ट्रिय सभामा आउन खोजिरहेका छन् । प्रदेशका ५ सय ५० सांसद र ७ सय ५३ पालिकाका प्रमुख तथा उपप्रमुखको मतभारका आधारमा राष्ट्रिय सभा सदस्य चुनिन्छन् र २०७८ को जनगणनाको प्रतिवेदनका आधारमा निर्वाचन आयोगले प्रदेश सांसदको ५३ र पालिकाका प्रमुख÷उपप्रमुखको १९ मतभार कायम गरेको छ ।
७ सय ५३ पालिकाका १५ सय ६ जना प्रमुख÷उपप्रमुख र सातवटै प्रदेशका ५ सय ५० सांसदको समेत गर्दा कुल मतभार ५७ हजार ७ सय ६४ हुन्छ । करिब ५८ हजार मतभार रहेकामा चार दलीय गठबन्धनको मात्रै ३४ हजार ६ सय ११ मतभार छ । यो भनेको ६० प्रतिशत हो । प्रमुख प्रतिपक्ष एमालेको कुल मतभार १७ हजार २६ छ । निर्वाचन आयोगका अनुसार सात प्रदेशमध्ये वाग्मतीमा ४, सुदूरपश्चिम, कर्णाली र गण्डकीमा ३/३, कोशी, मधेश र लुम्बिनी प्रदेशमा २/२ जनाका लागि निर्वाचन हुँदै छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...