प्रधानसेनापतिको भाष्यले सत्ताधारीमा बजेको ढ्याङ्ग्रो, गैरजिम्मेवार सरकार र संसदमाथि अनिष्टको संकेत – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रधानसेनापतिको भाष्यले सत्ताधारीमा बजेको ढ्याङ्ग्रो, गैरजिम्मेवार सरकार र संसदमाथि अनिष्टको संकेत

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा विश्वास गर्ने संसदबादी दल, दलका नेता र सत्ताधारीको अकर्मण्यता र जिम्मेवारीवोध नहुँदा नेपालको राजनीतिमा अनिष्टका संकेतहरु देखिएका छन् । आर्थिक सूचकहरुको संकुचनले समाजमा हुँदा खाने बर्गमा दविएको आक्रोस र पीडालाई सत्ताधारीहरुले संवोधन गर्न नसके वर्तमान राजनीतिक अवस्थामाथि नै गम्भिर अनिष्टका संकेतहरु देखिएका छन् ।

मेडिकल व्यवासय संचालन नै लक्ष्य लिएका एक व्यवसायी दुर्गा प्रसाईंलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनावश्यक प्राथमिकता दिँदा उनको महत्वकांक्षा बढेको थियो । उनी जस्ता कमजोर राजनीतिक धरातल भएका व्यक्तिले प्रमुख प्रतिपक्षी दल र सत्ताका बिरुद्ध मात्र होइन्, वर्तमान राजनीतिक परिवर्तन र संविधान विपरितका माग लिएर राजधानीमै प्रतिकुल समयमा मंसिर पहिलो साता आयोजना गरेको आन्दोलनले पाएको चर्चालाई लिन सकिन्छ ।

प्रसाईं एक पात्र मात्र हुन्, प्रसाईँ त के यहाँ जस्तासुकै भूँइमान्छेले राज्यको बेथितिका बिरुद्ध आवाज उठाउँदा वा विरुद्ध आव्हान गरिने कार्यक्रममा सर्वसाधरणको साथ, सहयोग र समर्थन प्रचुर देखिन्छ । बेमौसममा दुर्गा प्रसाईंले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालबिरुद्ध नै गरेको विरोध कार्यक्रममा त आमसर्वसाधरणको अपार समर्थन देखिन्थ्यो ।

त्यसलाई सरकारले नजरअन्दाजको रुपमा लिएको हो भने गम्भीर भूल हुने देखिन्छ । गाउँमा हलो जोत्ने किसानदेखि मेडिकल व्यवसाय गर्ने दुर्गा प्रसाईँ मात्र होइन्, मुलुक र नेपाली नागरिकको सुरक्षाको जिम्मेवारी पाएको देशको प्रमुख अङ्ग नेपाली सेनासमेत सरकार र संसदको कारबाहीाट पटक्कै सन्तुष्ट छैन । त्यसका उदाहरणहरु वग्रेल्ति भेट्न सकिन्छ । आर्थिक सुधारका कदम प्रधानमन्त्री र मन्त्रीका भाषणमा प्रचुर हुने तर त्यसलाई गतिसिलता दिने काम भएका छैनन् ।

सरकारमा बसेका मन्त्रीहरुलाई संचारमाध्यम, सामाजिक सञ्जाल र पार्टी भित्रबाटै प्रसंशा भएन भन्ने गुनासो मात्र छ । नेपाली नागरिकका चाहना र आकांक्षा पहाड जस्ता छन् तर सरकारको काम फर्सीको गट्टो आकारमा छ । प्रधानमन्त्री दाहाल स्वयम् सरकारले राम्रो काम गरेको एक, वा दुई कामको बारम्बार हवला दिने गर्छन । त्यसमा कुनै नविनता छैन । कर्तव्य र निरन्तरता दिने दायित्व पुरा गर्दा समेत प्रधानमन्त्रीले प्रशंसाको अपेक्षा सार्वजनिक रुपमा गर्ने गरेको छन् ।

पछिल्लो समय यही पुस ४ गते प्रतिनिधिसभा मातहतको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै प्रधानसेनापति प्रभुराम शर्मालाई समेत छलफलको लागि बोलाएर निकै चर्चा बटुल्ने प्रयास गर्यो । संसदका समितिहरुमा राम्रो र उपलब्धीमूलक काम भन्दा पनि मिडिया कभरेज कति महत्वका साथ हुन्छ भन्ने मनोदसाबाट ग्रसित छन् ।

त्यसैले होला आवश्यकता र औचित्य नै नबुझि राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री दाहालसँगै प्रधानसेनापति शर्मालाई छलफलका लागि बोलायो । प्रधानसेनापतिमाथि संचारकर्मीहरुलाई खुल्ला गरिएको बैठकमा चो।री औंला ठड्याउँदै प्रश्न तेर्याउने, शंका गर्ने र उसको प्रतिष्ठामाथि नै धुमिल बनाउने प्रश्न गरियो । निकै चर्चामा आउन पाउने अभिलासा बोकेका सांसदलाई प्रधानसेनापति शर्माले यति तथ्य र तर्कपूर्ण प्रस्तुति दिएकी त्यसले समितिका सभापति, सदस्य, मन्त्री, प्रधानमन्त्रीदेखि संसद सचिवालयलाई समेत गतिलो झापड हुन पुग्यो ।

बेथिति, बिकृति र कुसाशनको चाङ्मा सत्तामा बस्नुलाई नै सफलता ठान्ने सत्ताधारी, कर्मचारीदेखि लिएर सांसदलाई समेत प्रधानसेनापतिले पाठ पढाए । उनको प्रस्तुतिपछि सांसदहरुले प्रतिपष्न समेत गर्न सकेनन् । ठूला दल प्रमुख र प्रभावशाली नेताहरु सेनाले बनाउँदै गरेको काठमाडौं –तराई÷मधेश फाष्ट ट्र्याकको विषयलाई लिएर निकै जिज्ञासा राख्ने र प्रश्न गरेर आफूहरुलाई अब्बल देखाउँथे ।

तर प्रधानसेनापतिको भाष्यले सांसदहरुले कर्तव्य पुरा गर्न भाका नटिपेको संकेत गरे । विधायकी अधिकार लिएरका बसेका सांसदले विकासको एजेण्डामा प्रवेश गर्नुअघि ति योजना सम्पन्न गर्न कुने कानुनी अड्चन फुकाउने वारेमा कहिल्यै चिन्तन गरेको पाइँदैन । खाली परिणाम मात्र खोज्ने गरेका छन् ।
संविधान बमोजिम निर्माण गर्नु पर्ने मौलिक हकसम्वन्धी कानून बनाउन नसक्ने, संघीयता कार्यान्वयनसँग सम्वन्धित निजामति कर्मचारीदेखि लिएर प्रदेश प्रहरी ऐन समेत निर्माण गर्न नसक्ने तर राज्यका फरक फरक निकायलाई निर्देशन र आदेश दिएकै भरमा चलाउन खोज्ने यथास्थितिवादी र तदर्थवादी चिन्तन बोकेका दलका सांसदलाई प्रधानसेनापतिको प्रश्न र भनाईले सांसदको कर्तव्य पढाईरहेको भान हुन्थ्यो ।

राज्य व्यवस्था समितिमा प्रधानसेनापतिले सांसदलाई प्रधानमन्त्री दाहालकै अघि दिएका जवाफ र गरिएका कतिपय प्रश्नको जवाफ अनुत्तरित छन् । उनको एउटा जिज्ञासा थियो – फास्ट ट्रयाकमा ४ रुख कटानको फाइल ९ महिनासम्म किन भएन सदर? फास्ट ट्रयाकको निराशाजनक कामप्रति सांसदले गरेका प्रश्नको जवाफ दिँदै उनले कानुनमा रहेको कमजोरीले ४ वटा रुख ९ महिनादेखि काट्न नसकेको र यस्तो त्रुटिपूर्ण कानुन नसच्याएकोमा आक्रोश पोखे । उनको आक्रोस जायज समसामयिक र कर्तवोधक पनि थियो ।

उनले प्रधानमन्त्री दाहाललाई ब्रिफिङ गर्दा समेत समस्याको समाधान हुन नसकेको सुनाए । फास्ट ट्रयाक थपिएको म्यादभित्र सकिन्छ कि सकिँदैन भनेर प्रश्न सोधेर चर्चा कमाउने चाहाना वोकेका केही सासदप्रति लक्षित गर्दै प्रधानसेनापतिले भनेका थिए – कानुन संशोधन नगरे २०८३ चैतसम्म पनि बन्दैन ।
सेनाले रुख कटानको स्वीकृतिका लागि गत जेठ २२ गते वन तथा वातावरण मन्त्रालयमा फाइल पेस गरेको तर त्यो फाइल अहिलेसम्म सदर नभएपछि रुख काट्न पाएको थिएन । ती चार रुख महादेव डाँडाको सुरुङमार्ग पस्ने दायाँपट्टिको भीरमा छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख ५ गते निर्माणाधीन फास्ट ट्रयाकका विभिन्न स्थानको स्थलगत निरीक्षण गर्दा सेनापति शर्माले सो रुख देखाएको थिए । उनले रक्षा मन्त्रालयको जिम्मेवारी समेत पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई पनि समस्या उब्जाउने ती रुखहरु देखाएका थिए । ती रुख काट्न नपाउँदा समयमा काम नभएको भन्दै निर्माण कम्पनीले क्षतिपूर्ति मागिरहेको बेला प्रधानसेनापति संगठनप्रति गरिएको शंकालाई उजागर गरेका थिए । ती चार रुख काट्ने बाहेकको सेनाको फाइल पनि वन मन्त्रालयमा छ ।

सेनाले मकवानपुर खण्डको ३५ किलोमिटरदेखि ४९ किलोमिटरसम्म पर्ने रानीसेरा तथा बुदुने खण्ड प्याकेज ६ र ७ सम्मको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन गत असोज १८ गते वन मन्त्रालयमा पठाएकामा स्वीकृत भएको छैन । बन मन्त्रालयका कर्मचारीहरु एउटा रुख कटानको अनुमति पाउन न्युनतम पनि एक वर्ष लाग्ने बताउँछन् ।

बन मन्त्रालयमा पुगेको सेनाको फायल अधिग्रहण गरी निर्माण गरिएको सडकले ओगटेको जमिन बराबर अर्को जमिन उपलब्ध गराई बृक्षरोपण गर्नु पर्ने वा बृक्षारोपणका लागि रकम उपलब्ध गराउन ढिलाए भएको, रुख कटानको जिम्मेवारी प्रदेश सरकार मातहतको डिएफओ कार्यालयले गर्ने, केही फायलहरु मन्त्रीपरिषद्मै अड्किएको, बन विभागका महानिर्देशक र सचिवहरु कोप २८ भन्दै त्यसकै तयरी र सम्मेलनमा भाग लिन रुची राख्ने गरेका कारण सेनाको फायल सद्धर नभएको स्रोतले बतायो ।

प्रधानसेनापति शर्माले नेपाली सेनाको रेकर्ड सिस्टममा कुनै त्रुटि नरहेको दावी समेत गरे । भावी प्रधानसेनापतिको रोलक्रममा ल्याउने गरी रथीमा बढुवा गर्न लागेका बेला ताराध्वज पाण्डेले उमेरमा विवाद देखिएपछि राजिनामा दिएका थिए । जन्ममितिमा पनि कुनै त्रुटि नभएको प्रधानसेनापति शर्माले दाबी गरे । उनले नेपाली सेनालाई कमजोर बनाउन गिरोह लागेको भन्दै अरु निकायमा जस्तै सेनामा पनि जागिर खाने क्रममा उमेर प्रमाणित गर्न एसएलसीको प्रमाणपत्र, नागरिकता र क्यारेक्टर सर्टिफिकेटलाई हेर्ने गरिएको बताए ।

‘सम्बन्धित निकायले नलिई नेपाल आर्मीले न्वारान गर्दैन । नेपाल आर्मी न्वारान गर्ने संस्था होइन ।’ उनले बढुवा सिफारिस गर्नुअघि पनि त्यही तीन कागजमा भएको उमेर पुनः परीक्षण गरिएको जनाए । पाण्डेको नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयमा दुई पटक चिठ्ठी लेखेर सोधेको जनाउँदै उनले भने ‘जिल्ला प्रशासन कार्यालयले पूरै ठिक छ भनेर पठाएको छ ।’

सबैतिरबाट ठीक छ भनेर आएपछि पनि नेपाली सेनामा भर्ना हुने क्रममा लेखेको फारमसँग पनि भिडाएर हेरेको उनले सुनाए । तर कलेजको रजिस्टरको एउटा अंशलाई देखाएर उमेर विवाद उछालेको उनको दावी छ । २०७६ सालदेखि कसैले उपलब्ध गराएको अधुरो कागज देखाएर विवाद सिर्जना गरेको भन्दै सेनापति शर्माले भने, ‘पछाडिसम्म भएको संशोधित मिति समेत भएको कोसित छ ? त्यो देखाउन म च्यालेन्ज गर्छु ।’

प्रधानसेनापति शर्माका अनुसार नेपाली सेनामा व्यक्तिगत गुण, बोली, कार्यसम्पादन, नेतृत्व क्षमता, पेशागत क्षमता, कार्यकुशलता हेरिन्छ । हरेक वर्ष मेडिकल जाँच हुन्छ । त्यो सबै मिलेमा मात्र प्रमोसन हुन्छ । उनले भनेका थिए – ‘सोल्टी होटलमा जाँड खाएर झगडा गरेको थियो कि ? त्यो पनि हेरिन्छ । माननीयज्यूहरुसँग झगडा गरेको छ कि ? आफ्नै सिपाहीसँग राम्रो व्यवहार गरेको छ कि छैन हेरिन्छ, उनले भने, ‘त्यसै गर्दैनौं ।’

उनका अनुसार उपरथी पाण्डेलाई बोलाएर यस्तो विवादित भएपछि भोलि चिफ भएपछि कसरी चलाउन सक्छौ भनेर सोधेको र उनले यस्तो विवादित रहेर बस्दिनँ भनेर राजीनामा दिएका हुन् । ‘आफूले पाण्डेलाई रातभरि राखेको नभइ आधा घण्टा राखेर यस्तो विवादित भएपछि भोलि चिफ भएपछि कसरी चलाउन सक्छौ भन्दा तपाईं मेरो बाबु जस्तो मान्छे, मैले सक्दिनँ । यस्तो विवादित रहेर बस्दिनँ, छोड्छु भनेर गएको हो ।

प्रधानसेनापति शर्माले सिग्देलको दुई नागरिकता भएको सत्य भएको जनाए । पाण्डेको राजीनामापछि रथीमा बढुवा भएका अशोक सिग्देलको नागरिकता विवादमा पनि उनको दुई वटा नागरिकता भएको दावी सही भएको उनले बताए । उनले रुपन्देहीबाट लिएको नागरिकता हराएपछि जाजरकोटबाट अर्को लिएको र दुवैमा उमेर १७ वर्ष उल्लेख रहेको भन्दै उनले भने, ‘प्रतिलिपिमा पनि वर्ष १७ छ । त्यहाँ ढाटेको भए पो मैले समाउने ।’ उनले आफूले ल्याएका दुवै नागरिकताको प्रतिलिपि बैठकको अध्यक्षता गरेका राज्य व्यवस्था समितिका सभापतिलाई देखाएका थिए ।

सेवामा प्रवेश गर्दा नै जन्ममिति उल्लेख गर्दा आफूहरुले गल्ती गरेको भन्दै त्रिभुवन विश्वविद्याललयले दिएको पत्र पेश गरेको उनले सुनाए । जिल्ला प्रशासन कार्यालय, जाजरकोटलाई सोधेको र एसएलसीको प्रमाणपत्र पनि परीक्षा नियन्त्रण कार्यालयबाट पुनः प्रमाणित गरेको भन्दै उनले सेनाले गरेको काम नदेखेको गुनासो गरे । बढुवाका बेला आफूले पेश गरेको कागजमा कुनै ढाँटेको भए कारबाही भोग्न तयार छु भनेर कागज समेत गराउने गरिएको जानकारी दिंदै सेनापति शर्माले भने, ‘यति गर्दा पनि कहिलेकाहीं गाल खाइने रहेछ । यसलाई मैले प्रभुराम शर्मालाई होइन, मेरो कुर्सीलाई गरेको हो भन्ने मानेको छु ।’

सेनाको बेइज्जत गर्ने गरी एकोहोरो प्रचार गरिएको र, यसको उद्देश्य सेनाको रेकर्ड सिस्टम राम्रो छैन भनेर देखाउने भएको उनले बताए ।
प्रधानसेनापति शर्माले अनावश्यक विवाद गर्नेलाई कारबाही गर्ने कानुन बनाउन समेत माग गरे । उनले भने, ‘जसले विवाद ल्यायो, नेपाली सेनालाई बर्बाद गर्न खोज्यो, उनीहरुलाई कारबाही गर्ने कानुन पनि ल्याउनुपर्यो ।’

प्रधानसेनापति शर्माको यो अधिव्यक्तिमा सरकारको प्रमुख प्रधानमन्त्री कार्यकारी भएकाले उनीसँग आग्रह गर्दा पनि समस्या समाधान नभएको, जटिल कानूनका कारण भौतिक संरचना र ठूला आयोजना बन मन्त्रालयको अवरोधले रोकिँदा समेत सांसदहरुले कानून संशेधन वा परिमार्जनमा ध्यान नदिएको, त्रिभुवन विश्वा विद्यालयमा शैक्षिक योग्यता सम्वन्धी विवरण अद्यावधिक नभएका, जिल्ला प्रशासन कार्यालयले वितरण गनेृउ नागरिकताको प्रमाण पत्रमा धेरै त्रुटि भएको जस्ता गुनासो गरेका थिए । प्रधानसेनापति शर्माको यो गुनासो मात्र नभएर आक्रोस पनि थियो ।

जसले गर्दा भोलीका दिनमा सरकार र व्यवस्थाप्रति हुन सक्ने विरोधको आकार बृद्धि हुँदै जाँदा नेपाली सेनाले कस्तो कदलम कसरी चाल्छ वा मौन बस्छ भन्ने प्रष्ट देखिएको छ । नेपाली सेनालाई एक ढिक्का बनाइ राख्न र संस्थामाथि आएको आरोपलाई खण्डन गरेर शर्माले आफ्नो नेतृत्व र कमाण्डिङ क्षमतालाई उजार गरेका छन् । तर कतिपय सेनापति शर्माको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री र प्रभावशाली नेता सांसद सदस्यअघि दिएको अभिव्यक्तिको अर्थ दुरगामी हुन सक्ने वा अनिष्ठ निम्तिन सक्ने संकेतको रुपमा लिइएको छ ।

००००००००००००००००००००००००००००००००००नयाँविकल्प साप्ताहिकबाट…

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष ११, ०८: ४४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष ११, ०८: ४४

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष ११, ०८: ४४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...