गोदाममै थन्कियो ७१ मेट्रिक टन मल – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

गोदाममै थन्कियो ७१ मेट्रिक टन मल

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारी) ले नलगेपछि गोदाममा थन्किएको जनाएको छ ।
जिल्लाका नौ बिक्रेता संस्थाले युरिया र डिएपी मल नलगेकाले गोदाममा ७१ मेट्रिक टनभन्दा बढी थन्किएको लिमिटेडका प्रमुख नरहरि पोखरेलले जानकारी दिए । उनका अनुसार हिउँदे बाली गँहु, तोरी, मसुरो तथा उखुका लागि ल्याइएको मल थन्किएको हो ।

‘धेरैपटक पत्राचार गर्दा पनि सहकारी संस्थाले मल लिन नमानेपछि उहाँहरुको भागमा परेको मल गोदाममै राख्नुपरेको छ’, पोखरेलले भने, ‘जिल्लामा रहेका सबै पालिकाले आ–आफ्नो पालिकाभित्र रहेका बिक्रेता संस्थाको नामसहित निश्चित परिमाणमा मल दिने भनेर कृषि सामग्री कम्पनीलाई पत्र पठाएको थियो ।’

उक्त पत्र अनुसार लिमिटेडले बिक्रेता संस्थालाई मल वितरण सुरु गरेको थियो । नौ बिक्रेताका नाममा रहेको मल उनीहरुले नलगेपछि करिब ७१.३ मेट्रिक टन गोदाममा थन्किएको छ ।
प्रमुख पोखरलेका अनुसार रामग्राम नगरपालिकाभित्र रहेका परासी आदर्श बहुद्देश्यी, त्रिदेव बचत तथा ऋण, पाल्हीनन्दन बचत तथा ऋण, र साना किसान कृषि सहकारी संस्था, सुनवल नगरपालिकाका स्वाठी र प्रतापपुरको रामजानकी कृषि सहकारी संस्था, पाल्हीनन्दन गाउँपालिकाको कुश्मा बचत, परासिया कृषि बचत तथा ऋण र सनही कृषि सहकारी संस्था गरी नौ संस्थाले मल उठाउन बाँकी रहेको जनाइएको छ ।

कम्पनीले अहिलेसम्म चार पटक गरी मल वितरण गरेको छ । प्रतापपुरको रामजानकी संस्थाले हालसम्म एक पटक पनि मल नलगेको प्रमुख पोखरेलले बताए । ‘रामजानकी संस्थाका सागर यादवले आन्तरिक तनावले मल उठाउन ढिलो भएको बताउनु भएको छ’, उनले भने, ‘यादवले पुस मसान्तभित्र मल लगेर किसानलाई वितरण गर्नुहुनेछ ।’

कृषि सामग्री लिमिटेडले साउनदेखि अहिलेसम्म एक हजार छ सय ३९ दशमलव चार मेट्रिक टन मल वितरण गरिसकेको जनाएको छ । जिल्लामा हिउँदेखेती करिब १९ हजार हेक्टर क्षेत्रफल हुने गरेको कृषि ज्ञान केन्द्र नवलपरासीले जनाएको छ । हिउँदेबाली लगाइसकेका किसानले अहिले युरिया छर्ने समय हो ।

 

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २२, १६: ०३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २२, १६: ०३

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २२, १६: ०३

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...