संवैधानिक परिषद्मा पदाधिकारीको अनुपस्थिति रोक्न संसदीय समितिमा नयाँ प्रस्ताव – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

संवैधानिक परिषद्मा पदाधिकारीको अनुपस्थिति रोक्न संसदीय समितिमा नयाँ प्रस्ताव

काठमाण्डौं । संवैधानिक परिषद्मा पदाधिकारीको अनुपस्थिति रोक्न संसदीय समितिमा नयाँ प्रस्ताव आएको छ । सत्ता दाउपेचले राजनीतिक रिक्तता बढ्दा परिषद्ले पदाधिकारीको अनुपस्थितिमा निर्णय गर्न नसकेको नजिरलाई हेर्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले पदाधिकारीलाई उत्तरदायी बनाउन कानुनमै प्रबन्ध गर्नुपर्ने प्रस्ताव ल्याएका हुन्  ।
प्रधानन्यायाधीश तथा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक परिषद् रहने व्यवस्था संविधानमा छ । जसको सदस्यमा सभामुख, प्रधानन्यायाधीश, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख हुन्छन् ।
संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐनको दफा ६ मा बैठक बस्न अध्यक्ष र कम्तीमा चारजना सदस्य उपस्थित हुनुपर्ने व्यवस्था रहेकामा गणपूरक संख्या नपुगेर पटकपटक बैठक स्थगित हुँदै आएको छ । विगतमा बैठकको कोरमसमेत नपुगेर निर्णय प्रक्रिया प्रभावित भई लामो समयसम्म संवैधानिक निकायले प्रमुख तथा पदाधिकारी पाउन नसकेका उदाहरण छन् ।
यस्तो परिस्थितिमा तत्कालीन प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष केपी ओलीले ०७७ मा अध्यादेशमार्फत अध्यक्ष र तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएर बैठक बस्ने र निर्णय गर्ने व्यवस्था लागू गराएका थिए । त्यतिवेला विपक्षी दलका नेता र सभामुख अनुपस्थित भइरहँदा ओलीले आफू र प्रधानन्यायाधीश तथा राष्ट्रिय सभा अध्यक्षसहित बैठक राखेर विभिन्न नियुक्तिहरू गरेका थिए । त्यतिवेला उपसभामुख पद रिक्त थियो ।
सदनमा नपुग्दै अध्यादेश निष्क्रिय भएपछि सरकारले बैठकको कार्यविधिसम्बन्धी व्यवस्था गर्न १२ चैत ०७९ मा प्रतिनिधिसभामा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी संशोधन विधेयक ल्याएको थियो । १५ वैशाख ०८० मा राज्य व्यवस्था समितिमा आएको सो विधेयकमा आइतबार छलफलका क्रममा सांसदहरूले पदाधिकारीको उपस्थितिलाई बाध्यकारी बनाउन निश्चित सीमादेखि दण्डसम्म तोक्ने प्रस्ताव गरेका हुन् ।
रास्वपा सभापति रवि लामिछानेले अनुपस्थितिको सीमा तोक्नुपर्ने बताए । ‘संवैधानिक परिषद्का ६ ठूला मान्छेले ठीक निर्णय गर्दैनन् भन्ने ठाउँमा पु¥याइयो । एक–अर्काप्रति विश्वास छैन ।
प्रधानमन्त्री नआए के हुने, विपक्षी दलको नेता आइदिएन भने के गर्ने ? उनले आफ्नो मान्छे चाहे के गर्ने ? यो व्यवस्था ऐनमा गर्नुपर्छ,’ उनले भने । कुनै पनि पदाधिकारीको कार्यकाल कहिले सकिन्छ भन्ने परिषद्लाई पहिल्यै जानकारी हुने भएकाले टाइमलाइन बनाउनुपर्ने उनको भनाइ थियो ।‘कार्यकाल सकिनु ६ महिना पहिले टाइमलाइनभित्र काम गर्ने, पदाधिकारीकाले काम नगरेमा स्वतः उसको भोट कायम हुने वा नहुने व्यवस्था हुन जरुरी छ । तीनपटकसम्म अनुपस्थित भएमा स्वतः पक्षमा सहमति दिएको मानिने व्यवस्था गर्नुपर्छ,’ उनले भने । सञ्चारमन्त्री रेखा शर्माले अनुपस्थितिको सन्दर्भमा एउटा व्यवस्था गरेर जाँदा उपयुक्त हुने बताइन् । ‘कतिपटकको अनुपस्थितिलाई स्वाभाविक मान्ने, कतिपटककोलाई बाध्यकारी बनाउने व्यवस्था कसरी गर्ने भन्ने सोच्नुपर्छ,’ उनले भनिन्, ‘तर, अनुपस्थितलाई पनि उपस्थित मान्ने उपयुक्त हुँदैन । अनुपस्थित भएपछि त्यहाँ के गर्ने भन्ने सोच्न सकिन्छ ।’ साथै, अध्यक्षले बैठक नै बोलाएन भने के गर्ने भन्ने पनि सोच्न सकिने उनको भनाइ थियो ।
सांसद सुमना श्रेष्ठले परिषद्को बैठकमा उपस्थित नहुने सदस्यलाई दण्ड–जरिवानाको व्यवस्था गर्नुपर्ने बताइन् । लोसपाका सर्वेन्द्रनाथ शुक्लले लगातार अनुपस्थित भएमा उपस्थिति मान्ने कुरा उपयुक्त भएको बताए । तर, दण्डको व्यवस्था राख्न नहुने धारणा राखे ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २३, १४: ५२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २३, १४: ५२

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २३, १४: ५२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...