खोटाङमा भूमिहीनलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण सुरु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

खोटाङमा भूमिहीनलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण सुरु

खोटाङ । खोटाङमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरणको काम सुरु गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा भूमि प्राप्तिका लागि परेका निवेदनलाई लगत प्रणालीमा प्रविष्ट गर्ने काम सकिएलगत्तै निस्सा वितरणको काम थालिएको हो ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, लफ्याङ र सोल्माका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी गरी ६ जनालाई निस्सा वितरण गरेको छ । पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढीमा ५१ भूमिहीन सुकुम्बासी, १६ भूमिहीन दलित र दुई सय अव्यवस्थित बसोबासी छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सात सय ९२ जना लाभग्राही रहेको राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष सुरेश राईले जानकारी दिए । “निस्सा प्राप्त गर्ने भूमिहीनलाई वडा कार्यालयले ऐलानी तथा पर्ती जग्गा पहिचान गरेर भूमि आयोगलाई जानकारी दिएपछि नाप जाँच गरेर पुर्जा वितरण गरिनेछ”, उनले भने, “निस्सा वितरण गरेपछि वडा कार्यालयले सात दिने दाबी विरोध सम्बन्धी सूचना जारी गर्छ । कसैको पनि दाबी विरोध नभए पुर्जा वितरण थालिनेछ ।”

जिल्लाभर एक सय ५२ भूमिहीन सुकुम्बासी, ४९ भूमिहीन दलित र पाँच सय ९१ अव्यवस्थित बसोबासी छन् । खोटेहाङ, जन्तेढुङ्गा, बाराहापोखरी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लाभग्राहीको नाममा जग्गा छ,छैन भनी जग्गा प्रमाणीकरणको काम सम्पन्न गरिसकेको अध्यक्ष राईले बताए ।
खोटेहाङमा आठ भूमिहीन सुकुम्बासी, पाँच भूमिहीन दलित र १० अव्यवस्थित बसोबासी, केपिलासगढीमा ६ भूमिहीन दलित र ६ अव्यवस्थित बसोबासी, जन्तेढुङ्गामा १५ भूमिहीन सुकुम्बासी र ३१ अव्यवस्थित बसोबासी, हलेसी तुवाचुङमा १४ भूमिहीन सुकुम्बासी, आठ भूमिहीन दलित र एक सय ४० अव्यवस्थित बसोबासी तथा बाराहापोखरीमा १८ भूमिहीन सुकुम्बासी र ३७ अव्यवस्थित बसोबासी रहेका छन् ।

यस्तै रावाबेँसी गाउँपालिकामा १५ भूमिहीन सुकुम्बासी र ४२ अव्यवस्थित बसोबासी, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १९ भूमिहीन सुकुम्बासी, चार भूमिहीन दलित र ५२ अव्यवस्थित बसोबासी, एेसेलुखर्कमा ६ भूमिहीन सुकुम्बासी र चार भूमिहीन दलित तथा साकेला गाउँपालिकामा ६ भूमिहीन सुकुम्बासी , ६ भूमिहीन दलित र ७३ अव्यवस्थित बसोबासी छन् । खोटेहाङले सम्पूर्ण वडामा लाभग्राहीलाई निस्सा वितरण गरेर सात दिने दाबी विरोधसम्बन्धीको सूचना जारी गरेको छ ।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा प्राप्तिबापत राजस्व नलाग्ने तर अव्यवस्थित बसोबासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोबासको मूल्याङ्कन लगायत सम्पूर्ण सुविधालाई ध्यानमा राखेर मापदण्ड निर्धारण गरिएको आयोगले जनाएको छ । भूमिहीन दलित र सुकुम्बासीका लागि हिमाल र पहाडमा आवास निर्माणका लागि १० आना दुई पैसा तथा खेतीपाती गर्न पाँच रोपनी १४ आना एक पैसा जग्गा उपलब्ध गराइने आयोगले जनाएको छ ।

 

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २६, १५: २१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २६, १५: २१

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २६, १५: २१

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...