देश–विदेश घुमेर गाउँ फर्किएका ७० वर्षीय तुलाचन घुम्ती गोठमै रमाउँछन् – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

देश–विदेश घुमेर गाउँ फर्किएका ७० वर्षीय तुलाचन घुम्ती गोठमै रमाउँछन्

म्याग्दी (बेनी) । शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय छन् ।

उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उनको जिन्दगी भने भकारीले छाएका गोठमा हिमपात, वर्षा र चिसोसँग सामना गर्दै बित्ने गरेको छ ।

गोठमा भैँसीलाई चरनखर्कमा चराउने, घाँस दाउरा काट्नेदेखि बिहान–बेलुका गोठमा वस्तुभाउको स्याहारसुसार, कुँडो–भकारोको काम उनको नियमित दैनिकी हो ।

जीवनको अधिकांश समय गोठमा बिताएका उनको भैँसीगोठमा अहिले नौ वटा भैँसी छन् । उनले परम्परागतरूपमा घुम्तीगोठ राखेर भैँसीपालन गर्दै आएका छन् । बर्खायाममा लेकाली बुकीहरूमा पुर्‍याउने घुम्तीगोठ हिउँदयाममा भने बेँसी फाँटसम्म ल्याउने गरिन्छ ।

घुम्तीगोठलाई यहाँका पशुपालक किसानले रुवाचौर, एकराते, नेपाने, नयाँवन, च्यामली, रुरुलगायतका लेकाली बुकीहरूमा गोठ सार्ने गर्छन् ।

गाउँको फेदीबाट बग्ने कालीखोलाको किनारमा रहेको काफलडाँडाको फाँटमा गोठ राखेका किसान तुलाचनको गोठमा रहेका भैँसीमध्ये एक दुहुनो र तीनवटा ब्याउने भैँसी छन् । ‘म सानैदेखि गोठमै हुर्किएको हुँ, बुवाआमा पनि गोठमा बस्नुहुन्थ्यो, हुन त देश–विदेश पनि घुमेँ, भनेजस्तो नभएपछि गाउँ फर्किएर पुर्खाकै पेसा अँगालेर गोठाला बनेको हुँ’, उनले भने ।

रोजगारीका लागि कोरिया गए पनि ६ महिनामै फर्कनुपरेको र पुनःजापान जाने तयारी गरेपनि सफल नभएपछि गाउँ फर्किएको उनको भनाइ छ ।

गाउँ आएपछि सुरुमा कास्कीको नौडाँडाबाट म्याग्दी सदरमुकाम बेनीसम्म सामान ढुवानी गर्नेगरी खच्चड व्यवसाय सुरु गरेका तुलाचनले दुई महिनामै आफ्नो पुर्ख्यौली पेसा घुम्तीगोठमा पशुपालन सुरु गरेको विगत स्मरण गरे ।

परिवारमा छ दाजुभाइ रहे पनि अन्यले काठमाडौं, बुटवल, थाक खोलालगायतका ठाउँमा व्यापार व्यवसाय गरे पनि आफूले पुर्ख्यौली घुम्तीगोठलाई निरन्तरता दिएको उनको भनाइ थियो ।

करिब १५ वर्षसम्म भेडाबाख्रापालन गरेका तुलाचनले दुई दशकदेखि भने भैँसीपालन गर्दै आएका छन् ।

बीस–पच्चीसवटा सम्म भैँसी पाल्ने गरेका उनले उमेर बढ्दै र कामको दौडधुप गर्ने शक्ति घट्दै गएपछि भैँसीको सङ्ख्या घटाउँदै लगेको जानकारी दिए ।

गोठबाट दूध दिने भैँसी, राँगा र घिउ बिक्री गरेर हुने आम्दानीबाट आफ्नो घर खर्च चलेको उनले बताए ।

बेनीमा होटल व्यवसाय गर्ने आफ्नो छोरीसँगै श्रीमती पनि बजारमा बस्न थालेपछि तुलाचन भने गाउँकै घुम्तीगोठमा रमाएका छन् । ‘मलाई पनि गोठ नबस्न परिवारले भन्दै आएका छन्, तर तल बजारमा गएर म बस्नै सक्दिनँ, बजारतिर त रोग पनि के–के हो के–के लाग्ने, गाउँकै चिसो हावापानीमा बस्दा मलाई खुसी मिलेको छ, मेरो तागतले भ्याएसम्म म गोठमै उकाली–ओराली गर्ने सोचमा छु’, उनले भने ।

घुम्तीगोठ भएकाले खर्क र बुकीमा गोठ सारिरहनुपर्ने र यसका लागि काम गर्ने व्यक्तिलाई ज्याला दिनुपर्दा गोठको दुःख आफूलाई आम्दानी जति गोठलाई हुने गरेको उनले बताए । ‘एक ठाउँमा गोठ बनाउन, तीन–चार जना मानिस चाहिन्छ, ठाउँ–ठाउँमा सरकारले घुम्ती गोठको अस्थायी टहरा बनाइदिए सहज हुने थियो, हामी गोठालाको कुरा कसले सुन्ने’, उनले दुखेसो पोखे ।

गाउँबाट घुम्ती गोठ रित्तिन थालेका छन् । बढ्दो वैदेशिक रोजगारका कारण गोठमा युवापुस्ताको आकर्षण छैन । गोठ बस्ने दौँतरी गाउँ र सहर पसेपछि साथी भेट्नसमेत मुस्किल पर्ने गरेको उनी गुनासो गर्छन् ।

तुलाचनको उमेरका गोठ बस्ने व्यक्ति अहिले गोठमा भेटिन कठिन हुने मल्कबाङका भेडापालक किसान देवान छन्त्यालले बताए ।

उनले गोठमा गरिने परम्परागत पशुपालन व्यवस्थित र व्यावसायिक नहुँदा युवापुस्तालाई यो पेसाले आकर्षण गर्न नसकेको जानकारी दिए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ २३, ११: ३२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २३, ११: ३२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २३, ११: ३२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...