
धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण पठनपाठन प्रभावित बनेपछि विद्यार्थीहरु अनशनमा बसेका छन् ।
पढ्न पाउने संवैधानिक अधिकार हनन् नगर्न र यथाशीघ्र पढाइ सुरु गर्न माग गर्दै विद्यार्थीहरू २४सै घण्टा रिले अनशनमा छन् ।
‘विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा’ नारासहित जारी रिले अनशनमा बसेका विद्यार्थीहरूको पूर्ण क्षमतामा पठनपाठन र परीक्षाका गतिविधि चाँडै सञ्चालन गरिनुपर्ने एक सूत्रीय माग छ ।
मेडिकल शिक्षाजस्तो मानव स्वास्थ्यसँग जोडिने संवेदनशील विषयमा गम्भीर बन्न आग्रह गर्दै एक सातादेखि रिले अनशन जारी रहे पनि कतैबाट सुनुवाइ नभएको प्रतिष्ठानस्थित विद्यार्थी कल्याण समाजका अध्यक्ष डा.ओम शान्ति रजकले बताए ।
प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सक विगत २५ दिनदेखि बढुवा माग गर्दै आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानको स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम प्रभावित बनेको छ ।
आन्दोलनका कारण विद्यार्थीको पढाइ र परीक्षामा समेत असर पर्ने भएपछि ध्यानाकर्षण गराउन रिले अनशन जारी राखिएको समाजका अध्यक्ष डा.रजकको भनाइ छ ।
उनी भन्छन् “पठनपाठन सुरु नभए हामी आमरण अनशन बस्न बाध्य हुनेछौँ ।”
प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सक लामो समयदेखि आफ्नो बढुवा नभएको भन्दै पटक–पटक आन्दोलनमा उत्रिएका छन् ।
गत कात्तिकमा पनि करिब एक महिना आन्दोलनका कारण प्रतिष्ठानको स्वास्थ्य र शैक्षिक गतिविधि प्रभावित बनेपछि कात्तिक २० गते धरानका राजनीतिक दलको रोहबरमा प्रतिष्ठान प्रशासन र आन्दोलनकारीबीच वार्ता भएको थियो ।
वार्तामा लोकसेवा आयोगसँग परामर्श लिएर पुस २ गतेदेखि बढुवाका लागि प्रक्रिया अगाडि बढाउने सहमति भएपछि आन्दोलन अन्त्य भएको थियो ।
तर सहमतिअनुसार प्रक्रिया अघि नबढेको भन्दै शिक्षक, कर्मचारी तथा चिकित्सक पुनः आन्दोलनमा उत्रिएका कारण पठनपाठन र स्वास्थ्य सेवामा प्रभाव परिरहेको छ ।
लोकसेवा आयोगले कानुनबमोजिम प्रतिष्ठानको नियमावली संशोधन गरेर मात्र नियुक्ति तथा बढुवा प्रक्रिया अघि बढाउन पटक–पटक निर्देशन दिएको छ तर प्रतिष्ठानकै ढिलासुस्तीका कारण नियमावली संशोधन हुनसकेको छैन ।
उच्च अदालत विराटनगरले समेत लोकसेवा आयोगको उपस्थितिबिना बढुवा प्रक्रिया अघि नबढाउन आदेश दिएको छ ।
आन्दोलनमा उत्रिएका शिक्षक, कर्मचारी भने तुरुन्तै बढुवा प्रक्रिया अघि बढाउन माग गरिरहेका छन् ।
प्रधानमन्त्री दाहालले यसअघि नै प्रतिष्ठानको समस्या समाधान गर्न प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई निर्देशन दिनुभएको थियो ।
स्वास्थ्यमन्त्री बस्नेतले प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा प्रल्हाद कार्कीलाई सञ्चालक परिषद् ९सिनेट० बैठक राखेर समस्या समाधान गर्न आग्रह गरेका थिए ।
कामु उपकुलपति कार्कीले कार्यकारिणी समिति (कास) बैठक राख्ने प्रयास गरे पनि आन्दोलनकारीले सुरुमै बढुवा प्रक्रियाको ग्यारेन्टी माग्दै आन्दोलन जारी राखेपछि समस्या समाधान हुनसकेको छैन ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...