
इलाम । सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाईँलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि स्नातक तहको अध्ययन कसरी गर्ने भन्ने चिन्ता थियो । उनको समस्या नगरपालिकाले बुझिदियो र निःशुल्क पढाइयो ।
गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण भएकी सुजता ‘नगरको इच्छा छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शतप्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण भइन् । हाल उनी स्नातकोत्तर तहमा अध्ययनरत छिन्।
‘परिवारको सामान्य आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा धेरैलाई समस्या छ’, सुजताका बुवा प्रेम बजगाईँले भने, ‘हाम्रो नगरपालिकाले छोरी बुहारीलाई स्नातक पढाइरहेको छ, पैसाको अभावमा पढाइ छोड्नुपर्ने, पढाइ छाडेकै कारण कम उमेरमा विवाह हुने जस्ता समस्याबाट मुक्त बनाउन पालिकाको यो काम उदाहरणीय लाग्छ ।’
सूर्योदय नगरपालिकाले सो कार्यक्रमअन्तर्गत कर्फोक क्याम्पसमा शतप्रतिशत छात्रवृत्ति दिएर छोरी–बुहारीलाई पढाउन थालेको चार वर्ष भयो ।
उक्त छात्रवृत्ति कार्यक्रममार्फत अहिलेसम्म एक सय ५३ छोरी-बुहारीले स्नातक अध्ययन गरिसकेका छन् । तीमध्ये २३ जनाले उत्तीर्ण गरेको सो क्याम्पसका प्रमुख गोपाल कट्टेलले जानकारी दिए । यस वर्ष यहाँ छात्रवृत्तिमा अध्ययन गर्ने छोरी–बुहारीको सङ्ख्या करिब दुई सय छ ।
नगरपालिकाभित्रका छोरी र यहाँ विवाह भएर आएका बुहारीलाई पालिकाले छात्रवृत्तिमा स्नातक अध्ययन गराइरहेको नगरप्रमुख रणबहादुर राईले बताए। हामीले स्नातक गरिसकेका विद्यार्थीलाई रोजगारीपनि दिँदैछौं।
नगरप्रमुख राईले भने, ‘विद्यार्थीले पढेको सङ्काय, विषय र उनीहरूको योग्यताअनुसार विभिन्न काममा एक सय दिनको रोजगारी दिँदैछौं ।’ नगरपालिकाले नगरबाट छात्रवृत्तिमा अध्ययन गरेका ‘छोरी–बुहारी’ लाई एक सय दिनको रोजगारी दिने तयारी गरेको हो ।
छोटो समयका लागि भए पनि छात्रवृत्तिमा उत्तीर्ण भएका महिलालाई प्रोत्साहन स्वरुप रोजगारी दिन लागिएको राईले बताए। उनीहरूलाई थप सिकाइ र क्षमता प्रस्फुटनमा एक सय दिनको रोजगारी सहयोगी बन्ने उनको भनाइ छ ।
‘स्नातक गरेका छोरी-बुहारीलाई रोजगारीको कार्यक्रमले थप सिकाइ हुनेछ’, उनले भने, ‘उनीहरूको दक्षता र क्षमताबाट नगरपालिकाले पनि सहयोग लिन पाउने छ ।’
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...