माओबादीसँग कांग्रेसको असन्तुष्टि चुलियोः केन्द्रमा पद थपिने – Naya Bikalpa
May 24, 2024, Friday
आसन्न कांग्रेस महासमिति बैठकको तरङ्ग

माओबादीसँग कांग्रेसको असन्तुष्टि चुलियोः केन्द्रमा पद थपिने

 

काठमाडौं । सत्तारुढ नेपाली काग्रेसले पार्टीको नीति छनोट र कार्यदिशा अवलम्बन गर्नका लागि आगामी फागुन ७ देखि १० गतेसम्म राजधानीमा महासमिति बैठक आयोजना गर्र्दैछ ।

पटक पटक विविधि कारणले पर सर्दै आएको महासमिति बैठकको निर्धारित समय आउन एक साता मात्र वाँकी रहँदा व्यवस्थापन तथा तयारीको चाप र दबाब नेतृत्वलाई परेको छ ।

कांग्रेसको नीति अधिवेशनको रुपमा हेरिएको महासमिति बैठक गत वर्ष २०७९ सालमै हुनु पर्ने थियो । तर पार्टी नेतृत्वले बैशाखमा स्थानीय तहको निर्वाचन र मंसिरमा संघीय संसद तथा प्रदेश सभाको निर्वाचनको कारण देखाँदै बैठक २०८० मा गर्ने तय भएको थियो ।

भदौ, असोज, कात्तिक, मंसिर, पुस हुँदै पछिल्लो पटक फागुनमा महाधिवेशन गर्ने मिति र स्थान निर्धारण भएको हो ।

महाधिवेशन सम्पन्न भएको दुई वर्ष वितिसक्दा पनि सभापति देउवाले विधान अनुसा ६ महिनाभित्र पूर्णता दिइसक्नु पर्ने केन्द्रीय कार्यसमिति, विभाग र अन्य निकायलाई पूर्णता दिन नसक्दा पार्टीका मातहतका तहले पनि आफ्नो मातहतका संगठनात्मक संरचनालाई पूर्णता दिएका छैनन् ।

केन्द्रीय कार्यसमिति, विभाग र अन्य निकायलाई पूर्णता नदिँदा महासमिति बैठकमा आफूबिरुद्ध प्रश्न उठ्ने र दबाब दिन सक्ने भएकाले सभापति देउवा महासमिति बैठकअघि नै ति सबै कार्य गर्न चाहन्छन् ।

सभापति देउवाले केन्द्रीय कार्यसमितिलाई पूर्णता दिएका छैनन् भने अझै संसदीय वोर्ड गठन गर्न सकेका छ्रैनन् भने सूचना, सञ्चार तथा प्रचार विभागवाहेकका विभागले पूर्णता पाएका छैनन् ।

सबै विभाग गठन भएका छ्रैनन् । पार्टी संसदीय दलका नेता समेत रहेका पार्टी सभापति देउवाले संसदको दोश्रो कार्यकाल शुरुहुँदा समेत संसदीय दल कार्यसमिति गठन गरेका छ्रैनन् ।

पार्टीका कार्यकर्ता र नेता उत्पादन गर्ने प्रभावशाली भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी संघ, नेपाल, महिला संघ, नेपाल तरुण दल भ्रातृ संस्था तदर्थ समितिको भरमा चलेका छन् ।

पार्टीको महासमिति बैठकअघि नै ति सबै निकायलाई पूर्णता दिने मुडमा सभापति देउवा रहेका छन् । त्यसैले यसै साता भित्रै संसदीय कार्यसमितिको गठन गर्ने योजना देउवाले बनाएका छन् ।

संघीय संसदको प्रतिनिधिसभामा संसदीय दलका नेता रहेका सभापति देउवाले आफू दलको नेतामा निर्वाचित भएको एक वर्षवितिसक्दा पनि प्रमुख सचेतकमा रमेश लेखकलाई चयन गर्नुवाहेक कुनै संसदीय दलको सदस्यलाई जिम्मेवारी दिएका छैनन् ।

सभापति देउवा संसदीय दलको उपनेतामा पार्टीका पूर्वउपसभापति तथा अघिल्लो पार्टी महाधिवेशनमा सभापतिका प्रत्यासी भएका प्रकाशमान सिंहलाई मनोनित गर्ने योजनामा रहेका छन् ।

सम्भवत उपसभापति पूर्णबहादुर खड्का र देउवा निकटका प्रभावशाली नेताहरु ज्ञानेन्द्रबहादुर कार्की र प्रकाशशरण महतले सहमति दिएमा देउवाले सिंहलाई उपनेता बनाउने बचन दिएको वुढानिलकण्ठ स्रोतले बतायो ।

माओबादीसँगको सहकार्य तोड्न दबाबः

नेपाली कांग्रेसले माघको दोश्रो सातादेखि समुदायमा कांग्रेस भन्ने कार्यक्रम लिएर देशका सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पठायो ।

समुदायका गुनासा, असन्तुष्टि र सुझाव लिने उद्देश्यले आयोजना गरिएको त्यो कार्यक्रममा सबैजसो जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहका पार्टी कार्यकर्ता तथा शुभेच्छुकले माओबादीसँग सरकारका लागि गरिएको सहकार्य र गठबन्धनप्रति कडा आलोचना गरेका छन् ।

त्यसैले पनि कांग्रेसका नेताहरु माओबादीले सरकारको नेतृत्व गरेर कांग्रेसकै नेताहरुलाई बद्नामा गर्न थालेको भनी असन्तुष्टि जनाएका छन् ।

उनीहरुले भुटानी शरणार्थी काण्ड, वाँसबारी छलाजुत्ता कारखानामा कांग्रेसका नेता र सांसदलाई लक्षित गरी एक पक्षिय ढंगले बद्नाम गर्ने उद्देश्यले प्रहरी र प्रशासनको दुरुपयोग भइरहेको गुनासो गरेका छन् ।

यसअघि प्रहरीले विना आधार कांग्रेस सांसद सुनिल शर्मालाई गिरफ्तार गरी वद्नाम गर्ने र हतोत्साहित पार्ने गरेको कांग्रेसका नेताहरुले गुुनासो गर्दै आएका छन् ।

त्यसमा पनि माओबादीले कांग्रेसलाई धोखा दिने गरेको टिप्पणी विभिन्न कोणबाट हुने गरेको छ ।

त्यसको पछिल्लो उदाहरण राष्ट्रिय सभा सदय निर्वाचनमा माओबादी केन्द्रसँगको सहकार्यमा गठबन्धन गरेर देशब्यापी चुनावमा जाँदा माओबादीकी उम्मेदवार चम्पा कार्कीले कोशी प्रदेशाबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा पराजय भोग्नु पयो ।

कोशी प्रदेशको दुई सीटमा कांग्रेसले पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको थियो ।

निर्वाचनका बेला माओबादी उपमहासचिव वर्षामान पुनसहितका केन्द्रीय नेताहरुले गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्दा कांग्रेसका उम्मेदवार सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने भनी प्रचार गरेका थिए ।

कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्माले चुनाव अघि र पछि पनि सिटौलालाई राष्ट्रिय सभामा नेतृत्व गर्ने गरी पठाउन उम्मेदवार बनाइएको भनेका थिए ।

निर्वाचनको बेला नेता कोइराला, शर्मा र अर्का महामन्त्री गगनकुमार थापा समेत बिराटनगरमा गएर सिटौलाको पक्षमा भोट माग्दा राष्ट्रिय सभाको नेतृत्व लिने गरी सिटौलालाई उम्मेदवार बनाएको जनाएका थिए ।
कांग्रेसको सहयोग र सत्ता गठबन्धनको फेरो समाएर प्रधानमन्त्री भएका माओबादी केन्द्रका अध्यक्ष दाहालले यसैसातादेखि शुरु भएको माओबादी केन्द्रीय कमिटी बैठकमा भने गठबन्धन दलका शीर्ष नेतासँग गरेको भद्रसहमतिलाई लत्याउँदै राष्ट्रिय सभाको नेतृत्व माओबादीले लिने दाबी गरे ।

उनको यो अभिव्यक्तिबाट कांग्रेसका सांसद र नेताहरु तर्सिएका छन् ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय सभामा माओबादी १६ सिटसहित सबैभन्दा ठूलो दल भएको भन्दै एक वर्षपछि प्रधानमन्त्री पद छाड्दा संवैधानिक परिषद् सदस्यमा माओबादीको प्रतिनिधित्व नहुने भन्दै राष्ट्रिय सभाको अध्यक्ष दाबी गर्नु परेको बताएका थिए ।

प्रचन्ण्डको यस्तो प्रस्तावबाट कांग्रेसका नेताहरु माओबादीले विगतको सहमति कार्यान्वयनमा बेइमान गरेमा ठेगान लगाउन माओबादीसँगको गठबन्धन छाडेर एमालेसँगको सहकार्यमा सत्ता चलाउनु पर्ने दबाब दिन थालेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रकृयाका वाँकी कामलाई निष्कर्षमा पुर्याउन सिटैलाको नेतृत्वदायी भूमिका संसदमा आवश्यक रहेको भन्दै राष्ट्रिय सभामा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेका थिए ।

राष्ट्रिय सभाको निर्वाचनकै अघिल्लो दिन दाहालले सिटौलालाई रोक्न उनलाई गृहमन्त्रालयको जिम्मेवारी दिइने भन्दै मिडिया ट्रायल गरेका थिए । यो विषयमा सिटौलाले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

तर सिटौला निकटका केन्द्रीय सदस्यहरुले भने सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष नदिने वा नपाउने भन्ने कुरा गठबन्धन दलबाट प्रस्ताव आउने कुरा सोच्न पनि नसकिने बताउँछन् ।

उनी निकट एक नेताका अनुसार सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष दिन माओबादीले आनाकानी गरेमा कोशी प्रदेशको परिणाम संघीय संसद र अन्य प्रदेशमा दोहोरिने र सत्ता गठबन्धनको संरचना बदलिने चेतावनी दिए ।

पार्टीलेको फागुन ७ देखि बस्ने महासमिति बैठकले समेत सिटौलालाई संघीय संसदको माथिल्लो सदनको नेतृत्व दिने विषयमा संकल्प प्रस्ताव वा सहमति वा जानकारी गराए त्यस्तो औपचारिक फोरममा प्रवेश पाएको विषयलाई माओबादी अध्यक्ष दाहालले अश्विकार गरे एमालेसँग कांग्रेसले सहकार्य गर्नेसम्मका दबाबमूलक क्रियाकलापमा कांग्रेसका केन्द्रीय नेताहरु नै लागि सकेका छन् ।

पदाधिकारी र २० सदस्य थपिनेः

पार्टीको केन्द्रीय कार्यसमितिको सङ्ख्या हाल एक सय ६९ सदस्यीय रहेको छ ।

सभापति देउवाले पटक पटक गरेर केन्द्रीय सदस्यमा नियुक्ति गरे पनि अझै पूर्णता दिएका छैनन् ।

आकांक्षीहरु धेरै भएको तर नियुक्त गर्न पाउने सिट संङ्ख्या तीन मात्र वाकी रहेका कारण सभापति देउवाले सबै वर्ग, भूगोल र समुदायको प्रतिनिधित्वको लागि करिव २५ जना केन्द्रीय सदस्य थप्ने गरी महासमिति बैठकमा प्रस्ताव गर्ने योजनामा छन् ।

स्रोतअनुसार सभापति देउवाले पार्टी उपसभापति र महामन्त्रीमा एक÷एक महिलाको कोटा सुरक्षित गर्नका लागि ती पदमा मनोनित गर्न चाहन्छन् ।

उनले केन्द्रीय कार्यसमितिमा उपसभपति र महामन्त्री एक –एक जना थप्ने र प्रदेशमा पनि सोहीअनुसार महिलाको सिट सुरक्षीत गर्ने र जिल्ला, संघीय प्रदेश निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र पालिका र वडामा भने महिलालाई सिट सुरक्षीत गर्न सचिव राख्ने योजनामा रहेका छन् । ती विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पूर्ण सहमत हुन सकेका छैनन् ।

पदाधिकारीमा महिला थप्ने सभापतिको प्रस्तावबाट पार्टीको संस्थापनइत्तर पक्ष भने झस्किएको छ ।

असन्तुष्ट पक्षले नेतृ डा. आरजु राणा देउवालाई सो पदमा ल्याउन खोजेको चर्चा गल्दै आएको छ । महिला भनेर कोटा निर्धारण गर्न सम्भव नभए मनोनित उपसभापतिको प्रस्ताव गर्ने पक्षमा सभापति देउवा रहेका छन् ।    (साभार नयाँ विकल्प साप्ताहिक)

सम्बन्धित समाचार

सभामुख घिमिरेविरुद्ध महाअभियोग ल्याउने काँग्रेसको चेतावनी
सभामुख घिमिरेविरुद्ध महाअभियोग ल्याउने काँग्रेसको चेतावनी
  • २०८० माघ २९, १६: ०२

काठमाडौं। प्रमुख विपक्षी नेपाली काँग्रेसले सभामुख देवराज घिमिरेविरुद्ध महाअभियोग लगाउने चेतावनी दिएको छ। पार्टीभित्र र विपक्षी दलहरूको बैठकमा सभामुखलाई महाअभियोग...

सहकारी पीडितले सम्झौता कार्यान्वयन नभएको भन्दै शुरु गरे आन्दोलन
सहकारी पीडितले सम्झौता कार्यान्वयन नभएको भन्दै शुरु गरे आन्दोलन
  • २०८० माघ २९, १६: ०२

काठमाडौ। आफूहरुले जग्म्मा गरेको बचत फिर्ताका लागि नेपाल सरकारले गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले राजधानीमा आन्दोलन शुरु गरेका...

यो वर्ष सगरमाथा आरोहण गर्नेमध्ये पाँचको मृत्यु
यो वर्ष सगरमाथा आरोहण गर्नेमध्ये पाँचको मृत्यु
  • २०८० माघ २९, १६: ०२

काठमाडौं। यस वर्षको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ। पर्यटन विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार नेपाली...