चौरजहारीमा ३ दलितको हत्या र ३ बेपत्ताको घटना बर्बर नरसंहार– सांसद – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

चौरजहारीमा ३ दलितको हत्या र ३ बेपत्ताको घटना बर्बर नरसंहार– सांसद

काठमाडौं । पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं ८ की शुश्मा मल्ललाई विवाह गर्न भनी गएका जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विश्वकर्मा र उनका साथिहरुमाथि आक्रमण गरी हत्या हुनुलाई संघीय संसदका सदस्यहरुले बर्बर नरसंहारको संज्ञा दिएका छन् ।


सत्ता र विपक्षी दलका सांसदहरुले सो घटनामा चौरजहारी नगरपालिकोका ८ नम्वर वडाध्यक्ष डम्वर मल्लको नेतृत्वमा आएको गाउँलेको भिँडले चार किलोमिटर टाढासम्म गएर लखेटेर हत्या गरएको भन्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका हुन् ।

कांग्रेस सांसद मिन विश्वकर्माले कोरोना भाइरसको महामारीबाट विश्वका मनिस त्रासमा रहे पनि नेपालमा दलितहरु हत्या र आक्रमणबाट ज्यान गुमाइरहेको दाबी गरे । उनले कोरोना संक्रमणको ४ महिनामा ४ नेपालीको ज्यान गुमाए तर जेठ १० गते १ घण्टामा ६ दलितको हत्या भएको दाबी गरे ।
सांसद विश्वकर्माले गढीमाईमा राँगोको बलि दिएजस्तै गरी रुकुममा दलित समुदायमाथि बर्बर नरसंहार भएकोले दोषीमाथि कारबाही गर्न माग गरे ।
सांसद प्रकाश स्नेही रसाईलीले रुकुममा जाजरकोटका दलित तीन युवाको हत्या र तीनको बेपत्ता पार्ने घटनाका दोषी चौरजहारी ८ नम्वर वडाध्यक्ष डम्वर मल्लालाई प्रहरीले नियन्त्रणमा लिए पनि राजनीतिक दबाबमा छोडेको भन्दै आपत्ति जनाए ।

सांसद स्नेहीले सत्तारुढ नेकपाका रुकुम र जाजरकोटका दुई जनप्रतिनिधि तथा पूर्वगृहमन्त्रीको दबाबमा प्रहरीले घटनाको छानबिन समेत नगरेको दाबी गरे ।

डा.अमरेसकुमार सिंहले गृह मन्त्रालयबाट गरिने छानबिनबाट निष्पक्ष निष्कर्ष नआउने र दोषीले कारबाही नपाउने भन्दै संसदीय छानबिन समिति गठनको माग गरे ।

सत्तारुढ नेकपाकी सांसद पार्वतीकुमारी विसंखेले चौरजहारीका वडाध्यक्षको नेतृत्वमा आएको जत्थाले सुश्मा मल्ललाई विवाह गर्न भनी आएका जाजरकोटका नवराज विक र उनका साथिहरुमाथि आक्रमण गरी हत्या गरेको दाबी गरिन् ।

उनले दलित भएकै कारण काभ्रेका अजित मिजारको हत्या पछि शव अझै पनि शिक्षण अस्पतालको मुर्दा घरमा न्यायको पर्खाइमा रहेको, दलित भएकै कारण रुपन्देहीकी एक दलित महिलालाई झुण्ड्याइएको भन्दै ६० लाख दलितमाथिको दमन सहेर बस्न नसहिने बताइन ।

सांसदहरु रेणुका गुरुङ, लक्ष्मी परियार, विमला विक, निरादेवी जैरु, सुजाता परियार, विन्दा पाण्डे, उमाशंकर अडगरिया, प्रेम सुवाल, बालकृष्ण खाँड, महेशराज गहतराज, देवेन्द्र पौडेल, सरिता गिरी, दुर्गा पौडेल, डा. मिनेन्द्रप्रसाद रिजाल, तेजुलाल चौधरीले राजनीतिक पूर्वाग्रह नराखी दोषीमाथि छानविन र कारबाही गर्न माग गरे ।

युवती शुस्मा मल्लले आफूलाई अभिभावकले विवाह नगर्दिने भएकाले लिन आउन सल्लाह दिए बमोजिम जाजरकोटबाट १८ जना साथि लिएर गएका नवराज विकसहितको समूहलाई युवतिकी आमाले वडाध्यक्ष डम्वर मल्लसहितलाई बोलाएर कुटपिट गरेको गृहमन्त्री रामबहादुर थापा बादलले वताए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री थापाले नवराज विकसँग आएका युवालाई युवति पक्षका व्यक्तिहरुले आक्रमण गरेको, केही घाइते भएका र ज्यान जोगाउन भाग्नेक्रममा नवराज विक, टिकाराम नेपाली र गणेश बुढामगरको शव भेरी नदिमा भेटिएको बताए ।

युवति पक्षको आक्रणबाट नदिमा आमफालेका लोकेन्द्र सुनार, सञ्जिव विक र गोविन्द शाही वेपत्ता भएकाले गोताखोर परिचालन गरी खोजी भएको बताए । उनले युवति पक्षका करिव ६० जनाको समूहले आक्रमण गरेको वताए ।

आक्रमणमा संलग्न भएको अभियोगमा प्रहरीले युवतिका बुवा ४० वर्षका बीरबहादुर मल्ल, युवतिकी आमा प्रकाशसिंह मल्ल, युवति शुस्मा मल्ल, वडाध्यक्ष डम्वर मल्ल, घटनामा प्रत्यक्ष संलग्न सन्तोष मल्ल, रमेश मल्ल र मोहनकुमार वुढासहित १२ जनालाई नियन्त्रणमा लिएको गृहमन्त्री थापाले वताए ।

घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरिक्षक, राष्ट्यि अनुसन्धान विभाग, महान्यायाधिवक्ताको कार्यालयबाट अधिकृत प्रतिनिधि र गृहमन्त्रालयको एक जना उपसचिव रहेको समिति गठन गरी २ साता भित्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको गृहमन्त्री थापाले वताए ।

अभियुक्तको पक्षमा पूर्वगृहमन्त्री शर्मा बोलेपछि सदनमा हंगामा
पूर्वगृहमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको मंगलबारको बैठकमा सदनको अध्यक्षता गर्दै गरेको सभामुख अग्नीप्रसाद सापकोटालाई समेत थर्काएका छन् ।

जाजरकोटमा दलित समूदायमाथि उपल्लो जातका व्यक्तिहरुले आक्रमण गरी तीनको हत्या र तीनलाई वेपत्ता बनाएको घटनालाई दोहोरो झडप भएको र वडाध्यक्ष डम्वर मल्लले प्रहरीलाई खवर गरेको भन्दै अभियुक्तलाई बचाउ गरेपछि विपक्षी सांसदले आपत्ति जनाएका थिए ।

आफू रुकुमकै जनप्रतिनिधि भएकोले त्यहाँको वारेमा बोल्न पाउने कि नपाउने भन्दै सभामुखलाई हप्काएका थिए । शर्माको झ्वाँकलाई शान्त पार्दै सभामुख सापकोटाले ‘बोल्ने अधिकार छ, वोल्नुस माननीयज्यू, बोल्नुस’ भनेका थिए ।

गृहमन्त्री रामबहादुर थापा बादलले बोल्नुअघि नै पूर्वगृहमन्त्री समेत रहेका शर्माले घटनामा युवा र युवति पक्षका बीच जेठ १० गते साँझ साडे ६ बजे झडप भएको, वडाध्यक्ष डम्वर मल्लले नै प्रहरीलाई बोलाएको र प्रहरीकै उपस्थितिमा घटना भएको बताएका थिए ।

तर, गृहमन्त्री थापाले भने घटनामा प्रहरीको उपस्थिति नभएको जनाए । शर्माले मैले मेरो जिल्लाको वारेमा बोल्न पाउने कि नपाउने भन्दै प्रतिपक्षी कांग्रेसका सांसदले आपत्ति जनाउँदै आफूहरुले सांसदको जवाफ नभएर गृहमन्त्रीको जवाफ खोजेको बताएका थिए ।

पूर्वगृहमन्त्री समेत रहेका नेकपाका नेता शर्माको भनाईप्रति सत्तारुढ नेकपाका सांसदहरुले समेत असन्तुष्टी जनाएका थिए ।

सम्बन्धित समाचार

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
  • २०७७ जेष्ठ १३, १७: २४

काठमाडौं : बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् ।...

आज संसदीय समितिको सभापतिमा मनोनयन दर्ता
आज संसदीय समितिको सभापतिमा मनोनयन दर्ता
  • २०७७ जेष्ठ १३, १७: २४

काठमाडौँ : आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४...

संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
  • २०७७ जेष्ठ १३, १७: २४

काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...