
हुन त दलित शब्दले २१ औं शताव्दीको डिजिटल दुनियाँमा निकै निच र विभेदपूर्ण भावलाई प्रतिनिधित्व गर्छ । देशको संविधानले नेपालको त्यो कर्मशील र शिल्पी समुदायलाई यस्तै पहिचान दिएको छ । दुनियाँमा हुने सबै किसिमका मानवीय विभेदलाई अक्षम्य अपराध मानिन्छ ।
यस्तो विभेद सोंच र संस्कारमा मात्र होइन, रुकुममा अमानविय र बर्बर ढंगले हत्या गरिएको घटना आज देशको राजनीतिसँग जबर्जस्त जोडिएको छ । दलित शब्दले जति विभेदपूर्ण भावको प्रतिनिधित्व गर्छ, राजनीतिले त्यति नै उच्चस्तरको नीति, व्यवहार र संस्कारको भाव दर्साउँछ ।
हरेक नेपालीको खुसी अनि समृद्धिको लक्ष्य बोकेको झण्डै दुई तिहाई निकटको शक्तिशाली सरकारको नेतृत्व गर्ने दलको प्रभावशाली नेताको बोली र व्यवहार सुनियो र हेरियो भने त्यस्तै अभिषापपूर्ण नेपाली समाजको झल्को दिन्छ ।
विषय दलित र राजनीतिमा मात्र सिमित छैन । घटना दलित युवाहरु माथिको बर्बर आक्रमण, निर्मम हत्या अनि दोषी र पीडकलाई सत्तारुढ दलकै एक नेताको संरक्षण लक्षित र मनसायबाट सार्वभौम संसदमा कुर्लिएको र हुँक्कार देखाएको दृष्यलाई यहाँ प्रस्तुत गर्न खोजिएको हो ।
घटना आमनेपालीले धेर थोर सुनेकै हो । गैरदलित समुदायकी ठकुरीकी छोरी र दलित समुदाय भनिएका विश्वकर्माको छोराबीचको प्रेमको परिणाम विवाहमा परिणत हुन खोजेपछि राजनीतिक शक्तिको आडमा दलित युवा र उनका साथिलाई लखेटेर, यातना दिँदै जेठ १० गते भेरी नदिमा फालिएको सन्दर्भ निकै कहाली लाग्दो छ ।
रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर ८ निवासी शुस्मा मल्ल र जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं ४ का किशोर विश्वकर्माबीचको प्रेम सम्वन्ध विवाहमा परिणत गर्न खोज्दा कुटिएर केटा र उनका साथिहरु मारिनु परेको घटनाले देश भित्र मात्र होइन, विदेशमा समेत सनसनी मच्चाएको छ ।
लक डाउनको समयमा छिमेकी जिल्ला जाजरकोटबाट १८ जना युवासहित भेरी नदि तरेर रुकुम पश्चिमको चौरजहारी ८ सोतीसम्म आउँदा दुवै जिल्लाका प्रहरी सुरक्षाकर्मीले सूचना नपाउनु कमजोरी देखिन्छ । एउटा स्थानीय तहबाट अर्को स्थानीय तहसम्म एक्लै वा दोक्लै जान स्थानीयले ठुलै सकस भोग्नु परेको अवस्थामा अर्को जिल्लासम्म १८ जनाको लस्कर सुरक्षाकर्मीले के नदेखेकै हो त ?
जाजरकोट जिल्लाबाट रुकुम पश्चिम जिल्लाको त्यो पनि इलाका प्रहरी कार्यालय चौरजहारीको प्रहरीले थाहा नपाउनु वा थाहा पाएर चुप बस्नु शंकास्पद व्यवहार भन्न सहज सकिन्छ ।
युवतिको घर पुगेपछि उनकी आमाबाट तथानाम गालिगलौज सुनेर युवतिलाई नलिइ फर्किएका १८ युवालाई भेरी नदि नपुग्दै करिव दुई सयको समूहले घेरा हाली आक्रमण गर्नु नै अमानवियताको पराकाष्टा हो ।
त्यहीँमाथि चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल जस्तो जनप्रतिनिधिको नेतृत्वले घेरा हाली युवालाई आक्रमण गर्नु जघन्य अपराध सिवाय अरु मान्न सकिन्न ।
सत्तारुढ नेकपाबाट वडाध्यक्षमा निर्वाचित मल्लको संलग्नता देखिएपछि स्थानीय प्रहरीले उनी लगायतका १२ जनालाई तत्काल पक्राउ गरेको थियो । तर, उनलाई जोगाउने मनसायले रुकुम पश्चिमबाट प्रतिनिधिसभाका निर्वाचित सांसद जनार्दन शर्मा खुलेआम प्रस्तुत हुनुले गम्भिर षडयन्त्रको आभाष दिएको छ ।
शर्मा आफैमा सो घटनाका नायक वा खलनायक हुन भन्ने अवस्था छैन । तर, उनी यो घटनामा पीडकको संरक्षक बन्न खोज्नु वा पीडकलाई अभियोगबाट उन्मुक्ति दिलाउने भगिरत प्रयास गर्नु नेपाली समाज र राजनीतिको कुरुप चित्र हो ।
एक राजनीतिक पात्र शर्माको टिप्पणी वा आलोचना भन्दा पनि उनी यही समाजका एक औसत प्रतिनिधि पात्र हुन्, जसले सत्ता र पदमा पुगेपछि विगतमा शोषित पीडित र विभेदमा पारिएका समुदायको हक, अधिकार, समानता र न्यायको लागि लडिरहन्छु भनेको कसम विर्सिएर अपमान र पूर्वाग्रही संस्कारलाई समातिरहेका छन् ।
देशको राजनीतिको कुसंस्कार र सामाजिक कुरितीको भूमरीबाट शर्मा माथि उठ्न सकेको देखिएन । शर्माले प्रतिनिधिसभाका २ सय ७५ जना सांसदमध्येका एक सांसद मात्रको प्रतिनिधित्व गर्दैनन् । उनी गृहमन्त्री,शान्ति तथा पुनःनिर्माण मन्त्री र उर्जा मन्त्री भएर आर्थिक प्रलोभन वा विवादमा सार्वजनिक रुपमा नफसेका राजनीतिज्ञको प्रतिनिधि पात्र हुन् ।
शर्माले १० वर्षे शसस्त्र जनयुद्धमा लडाकु कमाण्डर भएर रुकुम, रोल्पा, जाजरकोटका गरिव, दुःखी, निमुखा, शोषित पीडित जनतामा जागरण र चेतनाको झिल्को झोसे पनि होलान ।
ज्यानको वाजी थापेर समाजमा भएका जातिय वा बर्गिय विभेद, अन्याय, अत्याचार, कुरिती र कुसंस्कारका बिरुद्ध शर्माले विगतमा गरेको क्रान्ति र त्यो योगदान जेठ १० गते जाजरकोटका दलित युवामाथि भएको नृशंह हत्यालाई ‘दुवै पक्षबीच झडपपछि नवराज विकसहितका युवाहरु भेरी नदीमा हाम फालेका होलान’ भन्ने वाणीले भेरी नदिमा रोदन, चिच्याहट र दर्दनाक आर्तनादसँगै जिउँदै हेल्याइएका युवासँगै बगेर गएको छ ।
मुलुकका झण्डै चालिस लाख दलित समुदायको मर्ममाथि सो घटनाले प्रहार गरेको त थियो नि तर तिनै शोषित, पीडित र अन्यायमा परेका जनताको पक्षमा आवाज उठाउँछु भन्दै आश्वासन दिएका उम्मेदवारलाई मत हालेका समुदाय यतिवेला पश्चाताप परेका छन् ।
संसदीय राजनीतिमा प्रवेशसँग शसस्त्र क्रान्तिमा समानता र न्यायका पक्षमा लडेका शर्माको कार्यशैली, जीवनशैली, सोँच र संस्कारमा परिवर्तन आएको प्रमाण उनले जेठ १३ गते प्रतिनिधि सभामा दिएको अभिव्यक्तिले पुष्टी गर्छ ।
जातको आधारमा दलित भनेर शोषित, उत्पीडित र अपहेलित भएका दूरदराजका करिव १६ प्रतिशत बढी दलित समुदायको मात्र होइन, मानवतावादी जुनसुकै मानिसले चौरजहारीको भेरी नदी किनारामा दलित युवा र उनको समुहलाई छेकेर कुटी कुटी नृशंस हत्या गर्ने कार्यलाई सामान्य झडप वा वादबिबाद भनेर पत्याउने ठाउँ छैन ।
जेठ १३ गते प्रतिनिधिसभाको बैठकमा शर्माको भाष्य शोषित जनताको पक्षमा पटक्कै थिएन । उनले चौरजहारीकी शुस्मा मल्ललाई विवाह गर्न भनी लिन आएका युवा लडकडाउनमा हुल वाँधेर आएपछि उनकी आमाले गाउँलेलाई हार गुहार गरेको जानकारी दिए ।
सांसद शर्माको भाषामा गाउँले र नवराज विश्वकर्मासँग आएका युवाबीच झडप भएपछि चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्वरबहादुर मल्लले नै प्रहरीलाई खवर गरेका हुन् । उनले प्रहरीलाई समेत सो घटना थाहा भएको दाबी गरेका छन् । आफू सो जिल्लाको जनप्रतिनिधि भएको भन्दै उनले झडपमा भाग्दै गएका युवाहरुले भेरीमा हामफालेको दाबी गरे ।
संसदमा सांसदले सभामुखलाई संवोधन गर्दै सरकारको जवाफ माग्ने गर्छन तर आफूलाई सांसदको भूमिकामा रहेको विर्सिएर शर्माले गृहमन्त्री झैं सांसदले उठाएको प्रश्नको जवाफ दिएका थिए ।
सांसद शर्माले जेठ १३ गते बोलेको भिडियो सुन्ने हो भने जो कोहीले पनि उनले वडाध्यक्ष मल्ललाई जोगाउन खोजेको प्रष्ट बुझ्दछ । वडाध्यक्ष मल्लले गाउँले र केटा पक्षबीच झडप हुँदा प्रहरीलाई खवर गरेका थिए भन्दै शर्माले संसदमा जनाएका थिए । त्यसो हो भने प्रहरीले सो घटनालाई किन नियन्त्रणमा लिन सकेन ?
सांसदको वाणीले अर्को गम्भिर प्रश्न उब्जाएको छ कि जनप्रतिनिधिलाई विश्वास गर्नै पर्ने दबाब दिएका छन् । मुलुकभर लक डाउन लागू भएको समयमा १८ जना युवालाई गौंडा र चारै तिरबाट बोटा छेकेर कुटी कुटी हत्या गर्दा प्रहरीले नियन्त्रण गर्न नसकेको हो ? वा प्रहरीले जानी जानी घटनालाई नियन्त्रण नगरेको हो ?
गृहमन्त्री रामबहादुर थापालाई थाहा नदिने स्थानीय प्रहरीले उनलाई घटना जेठ १० गते साँझ ६ बजे भएको र दुवै पक्षबीच झडप भएको, भाग्दै गर्दा भेरीमा हामफालेको घटना शर्मालाई कसरी थाहा भयो ? झडपमा जाजरकोटबाट आएका ४ जना मारिँदा र २ जना बेपत्ता हुने अवस्थामा चौरजहारीका एक जनालाई कहिँ कतै चोट पनि नलाग्ने गरी दुई पक्षबीच झडप हुन्छ ?चौरजहारीका गाउँलेहरु किन एक जना पनि घाइते भएनन ?
१८ जना युवामाथि आक्रमण गरी कुटेरै हत्या गर्नेसम्मको बल प्रयोग गर्न १२ जनाको समूहबाट मात्र सम्भव छैन । प्रहरीले ६० जना गाउँलेको समूहले करिव एक घण्टा टाढाको बाटो छेकेर आक्रमण गर्न जाँदै गरेको किन थाहा पाएन ?
पूर्वगृहमन्त्री शर्माको भनाईलाई विश्वास गर्ने हो भने प्रहरीले सो घटना थाहा पाएर पनि नियन्त्रण नगरेको देखिन्छ ? रुकुम पश्चिम जिल्लाका प्रहरी नायव उपरिक्षक ठग बहादुर केसी साँच्चै सकसमा परेका हुन सक्छन् । सत्तारुढ दलको सांसद भएको नाताले शर्माले पक्कै पनि आफ्नो विश्वास पात्रकै रुपमा जिल्ला प्रहरी प्रमुखमा लगेका होलान ।
यहाँ डीएसपी केसीको नियतमाथि भन्दा पनि राज्य संयन्त्रको नियतले घटना निम्त्याएको भन्दा फरक पर्दैन । संसदमा सभामुखलाई थर्काउने र गृहमन्त्रीलाई घटनाको विवरण सार्वजनिक गर्नुअघि सिकाउने उदेश्यले सांसदको जवाफ दिने शर्माले प्रहरी प्रमुख वा प्रमुख जिल्ला अधिकारीलाई कति दबाब दिएका होलान, सहजै अनुमान गर्न सकिन्छ ।
कर्णाली र मध्यपश्चिमको गरिवी, अन्याय, अत्याचार, राज्यको विभेद र समाजको जातिय विभेदको उत्पीडनमा परेका तिनै दलित, अभाव, रोग र भोकमा पिल्सएका सोझा मगर जाति वा अन्य समूदायको आक्रोसलाई विद्रोहको रुपमा संगठीत गर्ने कर्म विगतमा गरेका शर्मा सत्तामा गएपछि उनीहरुको पक्षमा नभएर विपक्षमा उभिएको पाइन्छ ।
शारीरिक चोट भन्दा भावनात्मक चोट कति कारुणीक र दर्दनाक हुन्छ भन्ने शायद उनले विर्सिएको हुनुपर्छ । त्यसैले पछिल्लो समय सत्तामा पुगेर सुविधाको भोग अनुभव गरेका शर्माले विगतको क्रान्तिका योगदानलाइ विर्सिएर सत्ताको भाषा्, शैली र व्यवहार देखाएको सहज अनुमान गर्न सकिन्छ ।
शर्माको भाष्य र भाव जनताको प्रतिनिधिभन्दा पनि स्थानीय शासक वा सामन्ती राज्यसत्ता र समाजमा हुने शोषण, अन्याय र अत्याचारको जानेर वा नजानेर पृष्ठपोषकको रुपमा देखिन्छ ।
गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । तर, यो समितिले के दबाबमुक्त भएर काम गर्न सक्ला र ? आज पनि चौरजहारी क्षेत्रमा खुलम खुल्ला किशोर विश्वकर्माले आक्रमण गर्न जाजरकोटबाट युवाहरु लिएर आएको जस्ता एकोहोरो आरोप लगाइएको छ ।
दुवै पक्षबीच झडप भएको भन्दै आमसंचारका माध्यम र सामाजिक सञ्जालमा भिडियो हाल्न थालिएको छ । यसबाट प्रष्ट हुन्छ कि अधिकारवादी वा दलित अधिकारकर्मीले राज्यलाई खबरदारी नगरेसम्म पीडितले न्याय पाउने सम्भावना छैन । राज्य वा राजनीतिक दलको स्वभाव र चरित्र शासककै जस्तो हुन्छ, जवसम्म दबाब समूहले खबरदारी गरिरहँदैनन ।
त्यसैले राज्य पक्षबाट गरिने अनुसन्धानमा भर पर्नुु भन्दा विश्वास मात्र गर्न सकिने अवस्था छ । जुन दिन विश्वस्नीय प्रतिवेदन आउँदैन तवसम्म शान्तिपूर्ण खवरदारीको जरुरी पर्छ ।
दलित समुदाय सहनशिल जाति भएकोले पनि उनीहरुको यो सहनशिलतालाई राज्यले कमजोरी ठानेमा त्यो अभिषाप नहोला भन्न सकिन्न । आज संघीय संसदमा रहेका सत्ता र विपक्षी दलका सबै दलित र अन्य समुदायको सांसदको आवाजले त्यही भनिरहेको छ । तर, राजनीतिक स्वार्थ, जिल्ला र निर्वाचन क्षेत्रीय स्वार्थलाई केन्द्रविन्दुमा राखेर पीडकलाई जोखाउने शैली अपनाएमा समस्या बुढी मरी भन्दा पनि काल पल्कियो भने झैं हुन्छ ।
एक शक्तिशाली राजनीतिज्ञको कृपा पात्र भएमा वा सम्वन्ध भएमा अपराधजन्य घटनालाई त जोडिन्छ भने अन्य घटनामा राजनीतिकरणको प्रभाव कति रहेछ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । अरुलाई खाने बाघले आफूलाई पनि खान सक्छ भनेरै होला संसदमा सत्ता र प्रतिपक्ष नभनी आएको अवाजले जाति उत्पीडन र विभेदबिरुद्ध दर्विलो एकता देखाएको छ ।
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...
१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...