टीआरसी विधेयक विषयमा प्रमुख दल सहमतिको नजिक – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

टीआरसी विधेयक विषयमा प्रमुख दल सहमतिको नजिक

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विवादित विषयमा प्रमुख दलहरु सहमतिको नजिक पुगेका छन् ।

शीर्ष तहमा छलफल भएलगतै संसदको कानुन समितिको बैठक अहिले बसिरहेको छ । चार चार वटा विवादित विषयमा सहमतिको प्रयास भइरहेको छ ।

मानवअधिकारको गम्भीर उल्लंघन भनेर स्वेच्छाचारी रुपमा क्रुरतापूर्वक (आर्बिटरी) गरिएको हत्या वा दोहोरो भिडन्त बाहेक गरिएको हत्या राख्ने भन्ने विवाद छ ।

कानुनमन्त्री धनराज गुरुङले सहमति जुट्न नसकेको विषयमा सहमतिको प्रस्ताव राखे । स्वच्छाचारी रुपमा गरिएको व्यक्ति हत्या (आर्बिटरी किलिङ) राख्न प्रस्ताव गरे ।

सत्तारुढ माओवादी केन्द्रका पूर्ण घर्ती मगरले स्वेच्छाचारी रुपमा नियतबस गरिएको व्यक्ति हत्या (आर्बिटरी किलिङ) राख्न अझ प्रष्ट रुपमा भन्न सकिने बताएका छन् ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले सरकारको प्रस्ताव अनुसार आर्बिटरी किलिङ राखेर जान सकिने बताए । उनको प्रस्ताव छ, ‘स्वेच्छाचारी रुपमा वा नियतबस रुपमा गरिएको व्यक्ति हत्या (आर्बिटरी किलिङ) लेखौं ।’ यसले पीडितलाई न्यायको दायराभन्दा बाहिर राखेको छैन भन्ने सन्देश दिने उनले बताए ।

मानवअधिकार उल्लंघनको घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति चाहिने व्यवस्था गर्न दलहरु सहमत छन् । तर स्वतन्त्र सहमति नभएमा के गर्ने भन्ने विवाद छ । माओवादी केन्द्रले स्वतन्त्र सहमति नभएमा के गर्ने भन्ने प्रष्ट पार्नुपर्ने बताएका छन् । ‘पीडितको स्वतन्त्र सहमति नभएमा केही पनि जान नपाउने प्रावधान नहोस्’ सांसद घर्ती मगरले भने ।

एमाले सांसद बर्तौलाले पनि पीडितको सहमति नभए के गर्ने भन्ने बोल्नुपर्ने बताए । उनले भने, ‘यदि स्वतन्त्र सहमति नदिएको अवस्थामा अभियोजनमा जानुपर्छ ।’

अभियोजनमा नजाने हो भने ‘पीडितले न्यायका लागि यही ऐन बमोजिम गठन हुने विशेष अदालतमा निवेदन लिएर जान सक्ने व्यवस्था राख्ने’ उनले प्रस्ताव गरे । बर्तौलाले अगाडि भने, ‘यसले प्रक्रियामा गाँठो पनि पर्दैन, पीडितमैत्री काननु पनि बन्छ ।’

दलहरुबीच सहमति जुट्न नसकेको अर्को विषय हो, कम सजाय सम्बन्धी व्यवस्था । संक्रमणकालीन न्यायको विषय भएकाले द्वन्द्वकालीन कुनै पनि घटनामा नियमित कानुन व्यवस्थाअनुसार सजाय गर्न हुन्न भन्नेमा सबै दल सहमत छन् ।

तर आधार कारण खुलाएर सजाय कम गर्न सक्ने व्यवस्था गर्ने कि प्रतिशत तोक्ने भन्ने विवाद छ ।

एमालेले ३३ र ६६ प्रतिशतसम्म तोकेर जाने प्रस्ताव गरेको छ । अहिलेको नियमित फौजदारी प्रक्रियामै पनि कसुर स्वीकार गरेर अनुसन्धानमा सहयोग गर्दा २५ प्रतिशत र कसुर गर्ने अरुको बारेमा अनुसन्धानमा सहयोग गरेमा ५० प्रतिशत घटी सजाय मागदाबी लिएर जान सकिने सुविधा रहेको भन्दै बर्तौलाले भने, ‘२५ प्रतिशत भनेको ठाउँमा एक तिहाई (३३ प्रतिशत) सम्म गरौं । ५० भनेको ठाउँमा ६६ प्रतिशत भनेर जाऊ ।’

यसले प्रचलित कानुनलाई आधार मानेको पनि हुने र संक्रमणकालीन न्यायमा कम सजाय मागदाबी गर्ने सिद्धान्तलाई पनि सम्बोधन गर्ने उनको तर्क छ ।

यसमा सहमति भए आजै विधेयकलाई टुंग्याउन सकिने भन्दै उनले भने, ‘कमजोर कानुन बनायो, पीडितको हितलाई ध्यान दिन सकेन भनेर मिसन चलाउने मानिसहरुलाई ठाउँ हुँदैन ।’

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन २०, १५: २५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन २०, १५: २५

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २०, १५: २५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...