
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वसहमहामन्त्री गोविन्द राज जोशी, पूर्व संचार राज्यमन्त्री पुष्करनाथ ओझा र डडेलधुरा पार्टी कार्यालयका सचिव रामबहादुर विष्टलाई पार्टीबाट निष्कासित गरेकोमा नेता डा. शेखर कोइरालाले आपत्ति जनाएका छन् ।
गत संसदीय निर्वाचनमा पार्टी नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँमा उम्मेदवारी दिएका पार्टीका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री जोशीलाई बाघी उम्मेदवारी दिएको आरोप थियो ।
पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक भिष्मराज आङदम्वेको अध्यक्षतामा शनिबार बसेको बैठकले जोशीलाई पार्टीको साधारण सदस्यबाट समेत नरहने गरी पाँच वर्षको लागि कारबाही गरेको हो । जोशीले पौडेल विरुद्ध उम्मेदवारी दिए पनि जोशीको उम्मेदवारी पौडेलकै निवेदनमा निर्वाचन आयोगले खारेज गरेको थियो ।
त्यस्तै, पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा कैलाली क्षेत्र नं ५ बाट संसदीय निर्वाचनमा उम्मेदवारी दिएर पराजित भएकी थिइन् । आफ्नी श्रीमतीले चुनाव हारेकोमा आक्रोसित भएका सभापति देउवाले ओझालाई दोष लगाउँदै आएका थिए ।
०७० सालको ससदीय निर्वाचनमा देउवाले जितेको कैलाली निर्वाचन क्षेत्र नं ५ बाट देउवाले छोडेपछि उपनिर्वाचनमा ओझाले जितेका थिए । त्यस्तै, सभापति देउवाको गृह जिल्ला डडेलधुराका पार्टी कार्यालयका सचिव रामबहादुर विष्टलाई पनि महिला संघका जिल्ला नेतामाथि अभद्र व्यवहार गरेको आरोप छ ।
जोशी र ओझालाई ५ वर्षको कारबाही गरिएको छ भने विष्टलाई तीन बर्षसम्म कारबाही गरिएको छ। तीन नेतालाई कारबाही गरिएकोमा कांग्रेस नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस पाेष्ट गर्दै आपत्ति जनाएका छन् ।
‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउदैछौं अर्को तिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका बरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं। यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ?’ नेता डा. काेइरालाले स्टाटसमा लेखेका छन्र ।
नेता कोइरालाले यसरी आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य भएको बताएका छन ।
कोइरालाले कारवाही गरिएका उनीहरुले पार्टी र लोकतन्त्रका पक्षमा बगाएको रगत र पसिनाको समेत अवमूल्यन गर्ने काम भएको बताएका छन् ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...