
हुम्ला । कहिले भोकमरी त कहिले समयमै चामल ढुवानी नहुँदा भोकमरीको चपेटामा परेका हुम्लीलाई अहिलेपनि खाद्य संकट परेको छ । समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाटसमेत वञ्चित भएका यहाँका नागरिक एकपछि अर्को समस्या झेलिरहेका छन् ।
प्रत्येक महिना पाउनुपर्ने चामल समयमै ढुवानी नहुँदा चामल पाउनबाट वञ्चित बनेको स्थानीयले बताएका छन् । हिमपात र भौगोलिक रूपमा विकट हुम्लामा सरोकारवालाले चामल ढुवानीमा बेवास्ता गरिदिँदा करिब ६० हजार सर्वसाधारण समस्यामा परेको तथ्य बाहिर आएको हो ।
कमिसनको खेलले तीन महिना बित्दासमेत चामल ढुवानी हुन नसकेको कतिपय स्थानीयले गुनासो गरे । झन्डै तीन महिनापछि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले अहिले खाद्यान्न वितरण सुरु गरेपछि पहुँचको बोलवाला चलेको र स्थानीयलाई सास्ती भोग्नु परेको एक स्थानीयले बताए ।
उनका अनुसार खाद्यान्न वितरणमा एक व्यक्तिले चार किलोग्राम मात्रै चामल पाउने व्यवस्था मिलाइएको छ । भोकमरीले सताउने चिन्तामा परेका हुम्लीलाई तीन महिनापछि बल्ल चामल वितरण गरेको बुझिएको छ । लिमिटेड हुम्ला शाखामा चामल मौज्दात न्यून भएका कारण एक महिनाको मात्रै चामल वितरण गर्न लागिएको बताइएको छ ।
चामल पाउँन सर्वसाधारणलाई नागरिकता अनिवार्य
बजारमा महँगो मूल्य तिरेर खाद्यान्न खरिद गर्नु परेपछि समस्या आएको शाखाले जनाएको छ । तीन महिनासम्म खाद्यान्न वितरण गर्न नसकेर बसेको लिमिटेड शाखा हुम्लाले चामल लिन सर्वसाधारणलाई नागरिकता फोटोकपी अनिवार्य गरेको छ । चामल वितरण शाखामा पुग्दा नागरिकले अनिवार्य आफ्नो परिचयपत्र खुल्ने नेपाली नागरिकता प्रमाणपत्र पेस गर्नुपर्ने शाखाले जनाएको छ ।
नागरिकता पेस गर्न नसकेका नागरिक भने चामल बिना घर फर्कनु परेको स्थानीयवासी करबीर बोहराले बताए । चामल लिन वडाको रासन कार्ड भए हुने हुम्लामा यसपटक नागरिकता अनिवार्य गरेपछि सर्वसाधरण थप समस्यामा परेको बोहराको भनाइ छ । एक केजी चामलका लागि लाइनमा बस्नु पर्ने झन्झट एकातीर छ भने अर्को तर्फ नागरिकताको फोटोकपी झन टाउको दुखाइको विषय बनेको हरि बोहराले बताए ।
अनुदानमा ढुवानी भएर आएको चामल लिनका लागि पनि नागरिकता बुझाउनु पर्ने कस्तो नियम भन्दै स्थानीयले आक्रोष पोखे । चामल लिन साढे दुई तीन घण्टाको पैदल हिडेर लिमिटेडको शाखा कार्यालय सिमकोट पुगेका गंगे कामी नागरिकता नभएपछि रित्तो हात घरफर्कनु पर्ने बाध्यतामा भेटिए । चार केजी चामलका लागि धरौटी राखे जस्तै भान भएको स्थानीयले गुनासो गरे ।
सिमकोट गाउँपालिका–१ का राजन तामाङले चामलका लागि सास्ती भोग्नु परेको सुनाए । नागरिकका गुनासा सम्बन्धी कुरा गर्दा चामल पाउने मानिस नदोहोरिऊन् र उनीहरुले सहजरुपमा चामल पाउँन भन्ने र तीनिहरुको विवरण राख्न सजिलो होस भन्नका लागि नागरिकता अनिवार्य गरेको यता प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताए । भोक लगभग सबै गाउँमा भएकाले सबै नागरिकले चामल पाउन भन्ने आफ्नो उदेश्य रहेको आचार्यको भनाइ छ । जति सहज भएपनि स्थानीयको आक्रोष भने थामिनसक्नुको छ ।
हुम्ला सदरमुकाम सिमकोटको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्य गोदाम नियम विपरीत खुल्ने गरेको स्थानीयले सुनाए । मनपरी खुल्ने गरेको र नियमनकारी निकायबाट अनुगमन समेत नभएको बताइएको छ । जन्म, मृत्यु र अतिआवश्यकका लागि हप्ताको एक शुक्रबार खोल्ने खाद्य व्यवस्था समितिको बैठकले निर्णय गरेको कल्पना बोहराले बताइन् ।
तर लिमिटेडले त्यसको विपरीत गोदाम खोलर आफ्नो अनुकूल चामल वितरण गरिरहेको उनको आरोप छ । यता एक महिनाको पूरा चामल पाउनुपर्ने भन्दै गोदामले आधा घटाएर वितरण गरेपछि सिमकोट गाउँपालिका स्थानीय आन्दोलित भएका छन् । चामल पूरा वितरण गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नागरिक आन्दोलनमा उत्रने भएपछि अहिले सर्वदलिय बैठक बसेर समस्या समाधान गर्ने तर्फ लागेको दलका प्रतिनिधिले बताएका छन् ।
हुम्लीको स्थायी समस्या राज्यसँग चामलको भिख
भौगोलिक विकटता, त्यसमा पनि आलु र उवा मात्रै उत्पादन हुने हुम्लाको नाम्खा गाउँपालिकामा पर्ने भोकमरी स्थायी समस्या हो । त्यो समस्यामा राज्यले दीर्घकालिन सोच नबनाएपनि स्थानीय बासिन्दा चामल खोज्दै वर्षौ काठमाडौं सिंहदरबार धाउँने गर्दछन् । पाँच हजार मिटर अग्लो न्यालुलेक पहाडमा तीन फिट जमेको हिउँमा जोखिमपूर्ण यात्रा गर्दै उनीहरू पाँच दिन हिँडेर दुई हप्ता अगाडि चामलका लागि सिमकोट पुगेका थिए ।
गाउँमा भोकमरीको सम्भावना देखेपछि राज्यसँग चामल माग्न नाम्खा गाउँपालिका– ६ लिमीका बासिन्दा काठमाडौं हानिएका थिए । आलु र उवाको भरमा वर्ष दिन काट्ने उनीहरु यसपटक पनि सिंहदरबारलाई गुहार्न काठमाडौं हानिएका थिए । तीन गाउँ तिल, जाङ र हल्जीमा गत वर्षदेखि चामल पुगेको छैन । कोरोना महामारीका कारण चीनसंगको नाका बन्द गरिएपछि चीनबाट हिल्सा नाका हुँदै मैदा ल्याएर जीवन धान्नु पर्ने बाध्यतामा विर्को लाग्यो ।
गाउँमा खाद्यान्न संकट भयो । संकट समाधानका लागि गाउँका बासिन्दा वडाध्यक्षको नेतृत्वमा राजधानी हानिएपनि समस्याको स्थायी समाधान निस्किएन । नेपालको दुर्गम जिल्ला हुम्लामा भोकमरी हुँदा सरकार बेखबर भएको हुदा सर्वसाधारणहरुले कोरोनाको खोप सुगममा मात्र रहेछ भन्ने आँकलन गर्न थालेका छन् ।
नयाँ विकल्प साप्ताहिकबाट..
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...
काठमाडौं : काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू सरकारको पछिल्लो व्यवहारविरुद्ध आन्दोलित भएका...