‘आगोमा घ्यू थप्ने’ सरकारको तयारी – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper
जनताको पसिनाको करबाट पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा ?

‘आगोमा घ्यू थप्ने’ सरकारको तयारी

काठमाडौं । विकास निर्माण र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन नसकेको भन्दै आम नागरिक निराश भइरहेका बेला सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई राज्यको ढुकुटीबाट आजीवन सुविधा दिने गरी कानुन बनाउने तयारी गरेको छ । सरकारको यस्तो तयारीले नागरिकहरुमा आक्रोशको सीमा नाघ्ने अवस्थामा पुगेको छ । यसले आक्रोशरुपी ‘आगोमा घ्यू थप्ने’ काम गरेको छ ।

पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयक तर्जुमाका लागि गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए । मन्त्रिपरिषद्ले सहमति दिएपछि पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्याधीश, पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षलाई आजीवन सुविधा दिने गरी विधेयकको मस्यौदा बनाउन गृह मन्त्रालय जुटेको बताइएको छ । उनीहरुलाई आजीवन मासिक भत्ता, घर भाडा÷घर मर्मत खर्च, सवारीसाधन, सचिवालयमा कर्मचारी र सहयोगी राख्नेसहितका आजीवन सुविधा दिने गरी कानुनको मस्यौदाको गृहकार्य भइरहेको छ । यसरी सुविधा पाउनेमा पूर्वउपराष्ट्रपतिद्वय परमानन्द झा र नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई पनि आजीवन सुविधा दिनुपर्नेछ । पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीशसमेत गर्दा आजीवन सुविधा पाउनेमा दर्जनभन्दा पनि बढी पर्नेछन् । कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने गरी विधेयक ल्याउने कुरा हल्लामात्र भएको दावी गरेका छन् । यो विषय मन्त्रिपरिषद्‍मा नआएको र मन्त्रिमण्डलमा थाहा नपाएको उनको भनाई छ ।

पूर्वपदाधिकारीको सुविधालाई व्यवस्थित बनाउनका लागि कानुन बनाउने प्रयास लामो समयदेखि हुँदै आएको छ । साउन २०६९ मा बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले निवृत्त राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र गृहमन्त्रीलाई आजीवन सवारी, आवास, इन्धन र सचिवालयसहितका सुविधा दिने गरी ल्याएको अध्यादेश तत्कालीन राष्ट्रपति रामवरण यादवले तत्कालै जारी गरेका थिए । त्यसविरुद्ध रिट परेपछि सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाएको थियो । सुशील कोइरालाको सरकारले विसं २०७२ मा पनि पूर्वपदाधिकारीको सुविधासम्बन्धी कानुन ल्याउने प्रयास गरेको भएता पनि चौतर्फी विरोधपछि रोकिएको थियो । कोइरालापछि एमाले अध्यक्ष केपी ओली सरकारले पनि पूर्वपदाधिकारीलाई आजीवन सुविधा समेटेर विधेयक अघि बढाउने प्रयास गरेको थियो । साउन २०७३ मा ओली सरकार विघटन भएसंगै त्यो रोकिएको थियो । त्यसपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुविधा पाउनेको सूचीमा पूर्वपदाधिकारीको संख्या घटाएर सुविधा भने थप हुने गरी फागुन २०७३ मा विधेयक संसदमा दर्ता गराएको थियो ।

बेइमानीपूर्ण निर्णय
कांग्रेस नेता शेखर कोइरालाले पूर्वविशिष्ट पदाधिकारीहरूलाई सरकारले आजीवन सुविधा दिने गरी कानुन बनाउन लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले पूर्वविशिष्टलाई अहिले दिइएको सुविधा नै बढी भएको टिप्पणी गरे । सामाजिक सञ्जालमार्फत् धारणा राख्दै नेता कोइरालाले यस्ता कामले व्यवस्था र दलहरूको हित नगर्ने बताए । उनले सरकारको यस्तो कदमलाई ’विनास काले विपरित बुद्धि’ भनेका छन् । ’सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोस, सत्तारुढ पार्टी भित्र नै सरकारको कामको तिव्र विरोध र गलत तत्वहरुले सडक तताइरहेको संवेदनशील अबस्थामा अर्को दुस्कर्मको प्रयासः पूर्व विशिष्टलाई आजिवन सुविधा, यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन ।

सरकार, यस्ता काम अघि नबढाऊ, बरु अहिले दिइएको सुविधा पनि घटाऊ,’ कोइरालाले भनेका छन् । पूर्ब प्रशासकहरु पनि यसबाट आश्चर्यचकित भएका छन् । पूर्वगृहसचिव खेमराज रेग्मीले सरकारले जनताको अपमान हुनेगरी पूर्वविशिष्टलाई राज्यको ढुकुटीबाट सुविधा दिने गरी कानुन ल्याउन खोजेकोमा आपत्ति जनाएका छन् । उनी भन्छन्, ’पूर्वपदाधिकारीलाई आजीवन राज्यको ढुकुटीबाट सुविधा दिने गरी सरकारले कानुन ल्याउन खोज्नु नागरिकप्रतिको अपमान हो । यो त नागरिकलाई हेपेको नै हो । सरकारले नागरिकको धैर्य र सशनशीलताको किन यसरी बारम्बार परीक्षा लिइरहेको छ ?’

सरकारले २०४६ सालपछि राज्यको उच्च पदस्थ जिम्मेवारीमा रहेका सबैले ढुकुटीबाट कति सुविधा लिए भनेर यकिन विवरण सार्वजनिक गर्नुपर्ने पनि उनले बताए । पूर्वपदाधिकारीका लागि सुरक्षाकर्मीबाहेक राज्यले आर्थिक दायित्व पर्ने सबै सुविधा खोस्नुपर्छ । यो नै राष्ट्रको हितमा हुन्छ,’ उनले भने । नेताहरूले प्रशासकहरूलाई दबाब दिएर अनुचित विषयमा समेत निर्णय गराउने रेग्मीको भनाइ छ । उनले अगाडि थपे, ’नेताहरूले विभिन्न नाजायज विषय निर्णय गराउन दबाब दिन्छन् ।

कानुनविपरीतका काम गर्न बाध्य पार्न खोज्छन्, यसलाई इमान्दार र असल प्रशासकहरूले अस्वीकार गर्न सक्नुपर्छ ।’ अहिले पनि देशको अहित हुनेगरी ल्याउन खोजिएको विवादस्पद विषयको प्रशासकहरूले विरोध गर्नुपर्ने पूर्वसचिव रेग्मीको भनाइ छ ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी पूर्वपदाधिकारीलाई आजीवन होइन, अहिले दिइँदै आएको सुविधा पनि कटौती गर्नुपर्ने बताउँछन् । उनको भनाईमा सुरक्षाबाहेक आर्थिक दायित्व पर्ने सबै सुविधा रोक्नुपर्दछ । पूर्वन्यायाधीश केसी पूर्वपदाधिकारीका लागि राज्यको ढुकुटीबाट आजीवन पालनपोषण गर्ने गरी कानुन बनाउनु ‘देश, जनता र संविधानमाथिको बेइमानी’ हुने बताउँछन् । उनी मुलुकका लागि योभन्दा दुर्भाग्य अरू के हुन्छ र भन्ने प्रश्न गर्छन् ।

पटक पटक सरकारी उच्च पदमा बसेका पूर्वपदाधिकारीले राज्यबाट सुविधा लिनका लागि यतिधेरै आशक्ति देखाउनुले उनीहरुले सरकारी ढुकुटीमा कसरी दोहन गर्न पल्केका रहेछन् भन्ने प्रष्ट हुन्छ । त्यसो त राज्यको विशिष्ट तहमा बसेर काम गरेपछि उनीहरूलाई सुरक्षा चुनौती भएमा त्यसका आधारमा सुरक्षाकर्मी र सवारी एस्कर्टिङ प्रबन्ध गर्नु सरकारको दायित्व पनि हुन्छ । तर एक पटक एउटा जिम्मेवारीमा बसेकै आधारमा आजीवन सवारीसाधन, सरकारी सुविधामा कर्मचारीसहित सचिवालय, मासिक तलब, इन्धन, घर भाडा÷घर मर्मत खर्चसहित सुविधा दिनु भनेको राज्यकोषको दोहन नै हो ।

नेपाली कांग्रेस र एमाले जस्ता आफूलाई जिम्मेवार ठान्ने प्रमुख दुई दलको सरकारले पूर्व बिशिष्ट अधिकारीका लागि राज्यको ढुकुटीबाट आजीवन सुविधा दिने गरी जसरी कानुनी गृहकार्य अघि बढाएको छ त्यो अघि बढाएर कार्यान्वयनमा ल्याएका सरकार थप अलोकप्रिय हुनेछ । जनता आक्रोशित हुनेछन् । बिभिन्न प्रकरणमा देखिएका जनआक्रोश थेग्रिएर कुनै दिन बिष्फोट हुन सक्छ । त्यसको संपूर्ण जिम्मेवारी कांग्रेस एमालेका नेताहरुले नै लिनुपर्छ । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
  • २०८१ चैत्र ५, १३: १८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०८१ चैत्र ५, १३: १८

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
  • २०८१ चैत्र ५, १३: १८

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका...