वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper
देउवा पक्षको समानान्तर गतिविधिका कारण कांग्रेसको ऐतिहासिक साखमा धक्का

वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन

काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो । तत्कालीन कार्यबहाक सभापति पूर्णबहादुर खड्काले ४८ दिनसम्म केन्द्रीय समितिको बैठक गरेर निकास दिन नसक्दा निम्तिएको विशेष महाधिवेशनको गगन–विश्व नेतृत्वले यतिखेर सानेपाको बागडोर समालिरहेको छ । गएको पुस अन्तिम साता राजधानीको भृकुटीमण्डपमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि देउवा पक्ष खड्का समूहले सुरु गरेका समानान्तर गतिविधिले कांग्रेसको अहिलेसम्मकै साखको धज्जी उडाएको छ । विशेष महाधिवेशनबाट गगन–विश्वको नेतृत्वमा नयाँ कार्यसमिति चयन भई त्यसलाई निर्वाचन आयोगले समेत आधिकारिकता दिएपछि पूर्वसभापति शेरबहादुर देउवा पक्षका खड्का समूहले सुरु गरेका समानान्तर गतिविधि र अदालतसम्मको कानुनी लडाइँले पार्टीको संगठनमात्र कमजोर भएको छैन, मुलुकको भावी राजनीतिमा पनि गम्भीर असर पार्ने संकेत देखिएको छ । सवोच्च अदालतले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिक कांग्रेसको मान्यता दिएपछि देउवा पक्षले फेरि पुनरावलोकनका लागि सम्मानीत सर्वाेच्च अदालतमा निवेदन दिएका छन् ।

विशेष महाधिवेशनको वैधानिकतालाई लिएर देउवा पक्ष सर्वोच्च अदालत पुगेपछि गगन–विश्वले नेतृत्व गरेको आधिकारिक कांग्रेसको खड्का समूहको चुनदेवी कांग्रेससँग सम्बन्ध निकै चिसिन पुगेको छ । चुनदेवी कांग्रेसले दिनप्रति दिन गगन–विश्वलाई गालीगलौज अपमान गर्दै जाँदा अन्ततः पार्टी औपचारिक रूपमै विभाजित हुने जोखिम बढेको छ । विशेष महाधिवशेनपछि कांग्रेसको असन्तुष्ट समूहले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि गर्दै आएका छन् ।

यसको प्रष्ट सन्देश के हो भने देउवा समूह पार्टी बिभाजन गरेर अघि बढ्न चाहन्छ । त्यसैक्रममा सो समूहले पहिलो पटक औपचारिक रुपमा प्रज्ञा भवनमा साउन ६ गते वीपी स्मृति दिवस मनाउँदै अधिकांश समय सभापति गगन थापा बिरुद्ध बिष वमन गर्नमै खर्च गरे । कार्यक्रमको सभापतित्व गरेका प्रकाशमान सिंहदेखि मोहन बस्नेतसम्म, कृष्णप्रसाद सिटौलादेखि कुन्दन काफ्लेसम्म, नेता शेखर कोइरालादेखि जितजंग बस्नेतसम्म, विमलेन्द्र निधिदेखि गुरु बरालसम्म, विजय गच्छदार, डा. शशांक कोइरालालगायतले अधिकांश समय गगन विश्वलाई तथानाम गालिगलौज गर्दै वीपी स्मृति दिवसको समापन गरेका थिए । प्रदेशका भेला हुन् या अन्य कार्यक्रममा संस्थापन इतर पक्षले यसरी सभापति थापाका बिरुद्ध बिष बमन गर्दै आइरहदा पनि संस्थापन पक्षका कुनै पनि नेताले आजका दिनसम्म इतर पक्षका नेताहरुलाई अपमान गर्ने वा गाली गलौज गर्ने काम गरेका देखिँदैनन् ।

अर्थात् संस्थापन पक्षीय नेताहरु आरोप प्रत्यारोप गरेर एकताको वातवरण बिथोल्नु हुदैन भन्नेमा प्रष्ट देखिन्छन् । कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा संस्थापन र इतर समूहले आयोजना गरेका समानान्तर र गालीगलौज प्रतियोगिताले तल्लो तहका नेता तथा कार्यकर्ताहरूमा चिन्ता, अन्योल र निराशाको सन्देश प्रवाह भइरहेको छ । जबकि बीपी कोइराला आफैँमा पार्टी एकता, मेलमिलाप र वैचारिक धरातलका प्रतीक मानिन्छन् । तर उनकै स्मृति दिवसजस्तो साझा र ऐतिहासिक अवसरमा समेत एउटै मञ्चमा भेला हुन नसक्नुले पार्टीभित्रको गुटबन्दी र आन्तरिक वैमनस्यता गहिरिँदै गएको स्पष्ट भएको छ । जसले गर्दा कार्यकर्तामा पार्टीमा सिद्धान्तभन्दा नेताहरूको व्यक्तिगत टकराव ठूलो भयो भन्ने छाप पारेको छ ।

संस्थापन पक्षले युएन पार्कदेखि जलवायु चेतनाका लागि ग्रीन रन कार्यक्रम जावलाखेलको खुला मैदानमा गरेकै दिन इतर पक्षले एकता र सहमतिका लागि भन्दै कार्यक्रम गरेको थियो । यसरी एउटै पार्टीका फरक कार्यक्रमका कारण आम कार्यकर्ताहरूमा अन्योल देखिएता पनि हजारौंको संख्यामा ग्रीन रन र जलवायु चेतनाको कार्यक्रमका लागि जवलाखेलको खुला मैदानमा पुगेर जलवायू परिवर्तन सम्बन्धी कार्यक्रममा भाग लिएका थिए ।

यसैबीच संस्थापन इतर पक्षले साउन २९ का लागि राष्ट्रिय भेला बोलाइसकेको छ । यसअघि सो समूहले सात वटै प्रदेशमा भेला गरेर आफ्नो समूहका नेता कार्यकर्तालाई एक ठाउँमा राख्ने प्रयास गरेको थियो । साउन २९ गतेसम्म गगन–विश्वले एकताको पहल नगरेमा सोही भेलाबाट नयाँ पार्टीको घोषणा गर्ने अभिव्यक्ति इतर पक्षीय नेताहरुले निकटजनहरुसंग बताउँदै आएका छन् । यसरी एकातर्फ पार्टीको विधान बमोजिम नयाँ सदस्यता अद्यावधिक अभियानको समापन समेत भइसकेको छ भने अर्कातिर पुरानो नेतृत्वले राष्ट्रिय भेलाको आह्वानले सिंगो पार्टी कमजोर बनाउने खेलमा चुनदेवी कांग्रेस लागेको राजनीतिक वृत्तमा चर्चा छ ।

तसर्थ, साउन २९ का लागि इतर पक्षले बोलाएको राष्ट्रिय भेला र सम्मानीत अदालतमा पुनः निवेदन दर्ता गराएको विषयलाई सानेपा कांग्रेसले गम्भीर रुपमा हेरिरहेको बताएको छ । यसै हप्ता बस्ने केन्द्रीय समितिले पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने र विधान अनुसार सहमतिको ढोका खोल्ने जनाएको छ । पटक पटक सहमतिको प्रयासलाई चुनदेवी कांग्रेसले विफल बनाउँदै १४औं महाधिवेशनका १११ जना केन्द्रीय सदस्यहरु विनासर्त विशेष महाधिवेशनको नेतृत्वसँग मिलाउनुपर्ने भन्दै पाँच बुँदे माग अघि सारेर विशेष महाधिवेशनबाट पारित भएको विधानलाई निष्क्रिय बनाउने रणनीति गगन–विश्वको नेतृत्वले बुझेको हुँदा उक्त पाँच बुँदे प्रस्तावलाई गगन विश्वले सहमति नजनाएको बुझिएको छ । चुनदेवी कांग्रेसको रणनीतिअनुसार १११ जना १४औं महाधिवेशनका केन्द्रीय सदस्य र पदाधिकारीहरु पुनः मनोनित भएमा सानेपा कब्जा गर्न सकिने त्यति नभए ४० प्रतिशत पु¥याएर पार्टी टुक्र्याउने चुनदेवी कांग्रेसको रणनीति विफल बनाएर पार्टीलाई विखण्डनबाट बचाउन पाँच बुँदे प्रस्ताव विषेश महाधिवेशनको नेतृत्व स्वीकार नगरेको सानेपा स्रोतको दावी छ । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
  • २०८३ श्रावण ११, १५: ०५

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ श्रावण ११, १५: ०५

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०८३ श्रावण ११, १५: ०५

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...