
१. श्रावण १०पछि देखिएको अभूतपूर्व राष्ट्रिय एकता
सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा सामान्य वादविवादपछि जुन प्रकारले परिस्थिति हिन्दु मुस्लिम बिचको साम्प्रदायिक भिडन्तको रुप लियो, त्यसले मुलुक सामान्य अवस्थामा पनि जातीय तथा धार्मिक विवादले कुन रुप लिन्छ भन्ने नमिठो उदाहरण प्रस्तुत गरेको छ । विस्तृत विवरण त छानविनका लागि गठित समितिको प्रतिवेदन आएपछि थाहा होला, यदि त्यो प्रतिवेदन सार्वजनिक भयो भने ।
सुन्दा के सुनियो भने श्रावण महिना शिवजीको आराधना गर्ने महिनाको रुपमा लिइने, शिवजीलाई खुसी पार्न बोलबम भन्दै श्रावणको दोस्रो सोमवारका दिन सम्पकोशीतर्फ स्नान विधि पूरा गर्न बोलबम समूह जान लागेको रहेछ जसमा उनीहरुले शिवजीको नाममा गाना बजाना गर्दै रमाइलो गर्दै सप्तकोशीतर्फ जान लागेको हुनुपर्छ । विहान स्नान गर्नसमेत पुग्ने गरी राती त्यस गन्तव्यतर्फ प्रस्थान गर्नका लागि बाजागाजाको रुपमा डिजेको प्रयोग गरेको हुनुपर्छ जसलाई मुस्लिम समुदायका तर्फबाट हल्ला भएको भनिएको हुनुपर्छ ।
अनि मोहर्रमका समयमा बिजुलीको खम्बा या अन्य ठाउँमा इस्लामिक धर्म बुझाउने ध्वजापताका राखेकोमा अब हामी पनि साउनभर बोलबम मनाउनैसम्म आफ्नो झन्डा पनि राख्ने सहमति पनि त्यसअधि आपसमा भएको रहेछ भन्ने बुझिन्छ ।
बोलबम पक्षधरलाई त्यसरी बाजागाजा बजाउँदै या भक्तिगाना बजाउनै नपाइने कुनै त्यस्तो आभास पनि परेको रहेनछ भन्ने के कुराले बुझियो भने बोलबम यात्रामा कुनै अवरोध आउला जस्तो लागेको रहेनछ । त्यसो त इस्लाम धर्मावलम्बीहरुको महान चाड एकमहिने ब्रत रमजान र त्यसको समापनमा मनाइने चाड ईदका बेलामा र मोहर्रमजस्ता कुनै पनि पर्व या चाड या धार्मिक कार्यमा हिन्दुले अवरोध गरेका थिएनन् ।
सदियौँदेखि त्यो क्षेत्रमा भाइचाराको सम्बन्धमा हिन्दु मुसलमान मिलेर बसेका र प्रत्येक दिन मस्जिदबाट टाढाटाढासम्म सुनिने गरी अल्लाह हु अकबर र कुरानका पवित्र मन्त्रहरु पाठ गरिने हुँदा पनि त्यसक्षेत्रका अन्य धर्मका बासिन्दाले समेत कुने विरोध गरेका थिएनन् , त्यसैले बाजा बजाउँदै सप्तकोशीतर्फ जाने , भोलेबाबा शिव खुसी पार्ने गाना सहितको मन्त्रोच्चारणमा वाधा अवरोध आउला या कसैले विरोध गर्ला भन्ने एकरत्ति पनि शङ्का बोलबम आयोजकहरुलाई परेको देखिँदैन । तर अप्रत्याशितरुपमा साउन १० गते राती डिजेको आवाजको निहुँमा भिडन्त भयो, भिडन्त पनि हिंसात्मक तरिकामा परिणत भएको देखियो । दुई पक्षको भिडन्तमा विवाद मिलाउन आएको प्रहरीले हस्तक्षेप गर्नुपरेको देखियो र जनहितको लागि भनेर प्रहरीले अप्रिय काम गर्नुप¥यो, हवाई फायर भयो र गोली नै चल्यो ।
सोहीक्रममा एकजना बोलबम पक्षधर युवा ओमप्रकाश मेहताको गोली लागेर उपचारको क्रममा मृत्यु भयो, अर्का युवाजयप्रकाश मेहताको पनि उपचारका क्रममा मृत्यु भयो । अरु ७जनालाई गोली लागेर सख्त घाइतेको रुपमा उपचाररत छन् भने जनपद प्रहरी र सशस्त्र प्रहरीका २० भन्दा बढी सुरक्षाकर्मीहरु पनि घाइते भएर उपचाररत छन् भनिएको छ । त्यो घटनापछि यसले धार्मिक साम्प्रदायिक भिडन्तको रुप लियो र कोशी प्रदेशको सुनसरी, मोरङ् , मधेस प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सामा यसले उग्ररुप लियो । कतिपय ठाउँमा कफ्र्यु लगाएर शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन बाध्य भयो भने गोलबजारमा एकजना किशोर गणेश यादवको प्रदर्शनको क्रममा गोली लागेर मृत्यु नै भयो ।
१०साउनको रातीदेखि नै गरिनु पर्ने केन्दीय सरकारको तदारुकताले बेलामा सक्रियता नदेखाउँदा भिडन्तले प्रसार हुने मौका पायो तर रास्वपाका केन्द्रीय सभापति रवि लामिछानेको सक्रियतामा सर्वदलीय बैठक बसेर स्थिति सामान्यीकरणका लागि वक्तव्य जारी गरिएको देखिन्छ । तर स्थिति त्यतिबेरमात्र सामान्यीकरण हुन थालेको देखियो जब केन्द्र सरकारले मृतकका परिवार , घाइतेका परिवार र विभिन्न धार्मिक समुदायहरुसँग वार्ता गरेर विभिन्न सहमति गरेको देखियो ।
जसलाई गाली गरेर रास्वपा थाक्दैन र आजको यो अवस्थामा पु¥याउने दलहरु भनेर सीमानामा धकेल्ने काम गरिरहेको थियो, तिनै दलहरु सबै असहमति बिर्सेर राष्ट्रिय एकताका लागि कम्मर कसेर लागेपछि अहिलेको मत्थर अवस्था देखिन थालेको हो । नेपालीहरुको स्वभाव नै मिलेर बस्ने हो । सदियौँदेखि धार्मिक, सामाजिक, साँस्कृतिक तथा भाषिक विभिन्नताका बिच पनि एकता कायम गरेर बसेको नेपाली समाजमा यो अवस्था कसरी आयो ? यहाँ कताबाट के कमजोरी भयो , पत्ता लगाउने काम गरौँला तर फेरि फेरि त्यो अवस्था नदोहोरियोस् भन्नेमा सजग हुनै पर्ने अवस्थाचाहिँ देखियो । शङ्का उपशङ्का धेरै छन्, संघीय सरकारको ढिलो सक्रियतामाथि पनि प्रश्न उठाउँला, सुरक्षा प्रवन्धको पनि कमी केलाउँला तर यसरी मिलेर बसेको हाम्रो समाजमा कसरी अचानक बिग्रह आउने अवस्था सृजना भयो भन्ने कुरामा सरोकारवालाहरु सबै सजग र सतर्क भने हुनैपर्छ ।
२. नेपाली कांग्रेसको इतर समूह भनिनेबाट तयार गरिएको नयाँ राष्ट्रिय भेला
नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्कने दिन भनेर अनौपचारिकरुपमा प्रचारित साउन २९गतेबाट नै पूर्व सभापति पक्षधर मानिने समूहबाट राष्ट्रिय भेला आयोजना गरिने भएको छ । यो भेला एकताको सूत्र खोज्ने भनिएता पनि नयाँ विधानसमेतको व्यवस्था गर्नेगरी संयोजक पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइराला रहने गरी गठन गरिएको देखिन्छ र महाधिवेशनको झल्को दिने गरी साउन २९, ३० र ३१गते तीनदिने राष्ट्रिय भेला आयोजना गरिएको छ ।
अर्थात् अनुमान गर्न सकिन्छ विशेष महाधिवेशनले छानेको निर्वाचनसम्मका लागि गठित नयाँ कार्यसमिति र राष्ट्रिय भेला आयोजक समितिका बिचमा कुनै नयाँ सहमति र समझदारी नभए इतिहासमा दुईवटा पार्टी मिलेर एउटै भएको नेपाली कांग्रेस फेरि फुट्ने अवश्यंभावी देखिन्छ । जुनकुरो नेपालको संवेदनशील बहुसंकटको बेलामा झन मुलुकलाई अप्रजातान्त्रिक दिशामा धकेल्ने खालको हुने अनुमान गर्न सकिन्छ । को झुक्ने भन्ने अहम प्रश्न किन र कसले उठायो ? जवकि नेपाली कांग्रेसको वैधानिकता परीक्षण गर्ने ठाउँ नेपाली जनताका माझमा हो ।
फागुन २१गतेले एउटा झलक दिएकै छ भने झन आपसमा फुटेमा के हुने भन्ने अझ फेरि अर्को परिणाम स्थानीय निर्वाचनले देखाउने छ । हड्डीभित्र पनि प्रजातन्त्रको चुरो रहेको भनिएको नेपाली कांग्रेसले त जनमतको पदचाप बुझेर आपसमा मेलमिलाप गर्न सक्दैन भने टुप्पोमा पलाउने दलहरुले राष्ट्रिय एकता कायम गरेर मुलुक जोगाउने छन् भन्ने कसरी विश्वास गर्ने हो ?यदि समयको पदचाप र जनमतको लक्षण नबुझीकन दललाई भुमरीमा जाक्नेहरुलाई सबैले चिनेका छन् र पार्टी कब्जा गर्न कसकसले केके गरे भन्ने पनि जनताका मस्तिष्कको राडारमा सञ्चित कसकसले केके गरे भन्ने पनि जनताका मस्तिष्कको राडारमा सञ्चित छ । त्यसैले यी १२दिन नेपाली कांग्रेसको दीर्घ जीवनका लागि निर्णायक छन् , अन्यथा त्यो दल पनि इतिहासको पानामा रहने कुरामा शङ्का नगर्दा हुन्छ ।
जजसले नेपाली कांग्रेसलाई उत्तेजनाका ल्याउने कोसिस गरिरहेका छन्, ती सबैले नयाँ बाटो खोज्दै गरेको कुरा कतै लुकेको छैन । तर पनि ती राजनीतिको जिम्मा लिएर दल सञ्चालन गर्नेहरुले त्यति पनि किन बुझेका छैनन्,उदेक लाग्दो छ । समयको पदचाप एकातिर अनि आफ्नो गन्तव्य अर्कोतिर गराउने बानीमा सुधार आवश्यक परेको छ दुवैपक्षलाई भन्ने कुरो यही हो ।
३. हिमालबाटै उदाएको एउटा नाम निर्मल पुर्जा निम्स हिमालमा नै हराए
हार्दिक श्रद्धाञ्जलि नेपाली मूलका बेलायती नागरिक निर्मल पुर्जाप्रति । म्याग्दीमा जन्मी बेलायती सेनामा काम गरी निवृत्त समयमा पनि संसारका आठहजार मिटरभन्दा अग्ला हिमालहरु चढेर विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जा केटु हिमालमा अस्ताएका छन् । उनीसहित १०जनाको हिमाल आरोही टिम श्रावण १५गते हिम पहिरोमा परी पुरिएका थिए र श्रावण १६ गतेमात्र निम्सको एलिट एक्सपिडिसन संस्थाले संसारलाई जानकारी गरायो कि अब निर्मल पुर्जा रहनु भएन ।
नेपाली जहिले पनि नेपाली हुन्छ र उनको हिमालप्रतिको लगाव पनि नेपाली हिमालले नै बढाएको हो । चाहना र नामको जोखिमपूर्ण यात्राले कुसमयमा नै निम्सलाई हामीबाट चुँडेर लग्यो । त्यसको लागि हामीले ती अमर सपूतलाई सदैव स्मृतिमा राखेर श्रद्धा सुमन दिने हो र उनीसँग दिवंगत भएका अन्य नेपाली आरोहीहरु र विदेशी आरोहीहरुप्रति श्रद्धासुमन व्यक्त गर्ने हो । हार्दिक श्रद्धाञ्जलि हिमसन्ततिहरुमा जसले आफ्नो कर्मथलो हिमाललाई बनाए र त्यहीँ अस्ताए ।
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...
ललितपुर : बागमती प्रदेशमा विकसित राजनीतिक अन्योल समाधान गर्न मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दलहरूलाई स्पष्ट दुई विकल्प अघि सारेका छन्। सोमबार...
काठमाडौं : परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार दिउँसो पक्राउ...