
काठमाडौं । नेपालको राष्टिय राजनीतिमा नेपाली कांग्रेसको पहिचान एउटा राजनीतिक दलका रूपमा मात्र सीमित नभएर मुलुकको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र राजनीतिक परिवर्तनको मुख्य संवाहक नै कांग्रेस हो । दुर्भाग्य त्यहि पार्टी नेपाली कांग्रेस वर्तमान समयमा आन्तरिक मतभेदका कारण अलमलमा परेको देखिन्छ । तर पनि नेपालको लोकतान्त्रिक आन्दोलनको संवाहक नेपाली कांग्रेस यतिबेला १५औं महाधिवेशनको संघारमा छ । गत माघ १ गते सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको बैठकलेआगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औं महाधिवेशन गर्ने गरी निर्वाचन कार्यतालिका ल्याएको छ ।
पार्टीमा क्रियाशील सदस्यताको टुंगो लागिसकेको छ ।विशेष महाधिवेशनको वैधानिकतालाई लिएर पार्टीभित्र उत्पन्न असन्तुष्टिका कारण गत फागुन २१ गतेको आम निर्वाचनमा भोग्नु परेको पराजयका कारण कांग्रेस पार्टी संसदमा इतिहासमै कमजोर हुन पुगेको छ । तसर्थ, केन्द्रीय कार्य समितिको यो निर्णयलाई केवल एउटा प्राविधिक वा औपचारिक प्रक्रिया मात्र नभएर पार्टीभित्र लोकतान्त्रिक पुनर्जागरण, नीतिगत स्पष्टता र सांगठनिक सुदृढीकरणका लागि एउटा महत्ववपूर्ण अवसरका रुपमा लिनुपर्छ । विगतमा जसरी अनेक बहानामा महाधिवेशन धकेल्ने काम भएको थियो त्यसले पार्टीको वैधानिकतामाथि त प्रश्न उठाएको थियो नै साथै, तल्लो तहका कार्यकर्ताको भरोसामा ठूलो चोट पु¥याएको थियो ।
नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐनमाा प्रत्येक राजनीतिक दलले आवधिक रूपमा आन्तरिक निर्वाचन वा महाधिवेशन गर्नुपर्ने स्पष्ट व्यवस्था गरिएको छ । पार्टी विधानले चार वर्षको कार्यकाल तोकेको छ भने विशेष परिस्थितिमा एक वर्ष थप गर्न सकिने प्रावधान छ । तर, विगतका अभ्यासहरू हेर्दा म्याद थप्दै अन्तिम समयमा विशेष परिस्थिति सिर्जना गर्ने प्रवृत्ति कांग्रेसभित्र रोगजस्तै भएको छ । त्यसैका नाममा थप छ महिना महाधिवेशन पर सार्ने काम हुँदै आएको थियो हिजोका दिनमा । तसर्थ, तोकिएको कार्यतालिका अनुसार असोजमा १५औं महाधिवेशन गराउनु भनेको सिंगो कार्य समितिले कानुन र विधानप्रति आफ्नो निष्ठा देखाउनु पनि हो । यदि पुनः म्याद थप्ने वा प्राविधिक बहाना बनाएर महाधिवेशन सार्ने काम भयो भने त्यसले पार्टीको लोकतान्त्रिक साखमा गम्भीर प्रश्नचिह्न खडा गर्नेछ । किनकि कांग्रेसलाई देशभित्र र बाहिरका दुबै शक्तिले लोकतन्त्रको पर्यायका रुपमा चिन्ने गर्दछन् । र कांग्रेस स्वयंले आपूmलाई त्यो दावी पनि गर्छ । अनि लोकतन्त्रको पहरेदार दाबी गर्ने दल आफैंभित्र आन्तरिक लोकतन्त्र कायम गर्न सक्दैन भने त्यसले उसको समग्र छवीमा दाग लगाउने काम गर्दछ ।
कांग्रेसमा सांगठनिक गतिविधि कमजोर भएको छ भने वैचारिक पुनर्जागरणको आवश्यकता देखिएको छ । हुन पनि १४ औं महाधिवेशनपछि कांग्रेस सांगठनिक हिसावले अपेक्षित सक्रिय हुन सकेको छैन । केन्द्रदेखि तल्ला तहसम्मका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको नेतृत्व वर्षौदेखि तदर्थबादबाट चलेको छ ।
अनि माउ पार्टीमा क्रियाशील सदस्यता वितरणमा भएको अद्यावधि डिजिटल सदस्यताका कारण असमझदारी र नीतिगत अस्पष्टताले गर्दा कार्यकर्ता पंक्तिमा उत्साह छाएको छ । त्यसकारण तोकिएको समयमा महाधिवेशन हुनु जरुरी देखिन्छ । किनकि महाधिवेशन भनेको केवल नेतृत्व चयन गर्ने थलो मात्र होइन; यो नीति, विचार र आगामी कार्यदिशा तय गर्ने एउटा सशक्त मञ्च पनि हो । तसर्थ, देशभरका नेता कार्यकर्ताको उपस्थितिमा हुने असोजको महाधिवेशनले पार्टीलाई नयाँ वैचारिक स्पष्टता दिन सक्नुपर्छ । बदलिंदो सामाजिक–आर्थिक परिवेश, राजनीतिप्रति युवा पुस्ताको बढ्दो असन्तुष्टि अनि डिजिटल युगका चुनौतीहरू सम्बोधन गर्न कांग्रेसले महाधिवेशनबाट आफ्ना कतिपय विचार र कार्यक्रमलाई परिमार्जन गर्नु अनिवार्य हुन्छ । जसले गर्दा तल्लो तहदेखि माथिल्लो तहसम्मका कार्यकर्तामा नयाँ ऊर्जा र उत्साहको रक्तसञ्चार हुनेछ ।
यतिवेला पार्टीमा नेतृत्व हस्तान्तरण र रूपान्तरणको बहस पनि राम्रोसंग चलेको छ । हुन पनि युवापुस्ताको मागलाई सम्बोधन गर्नका लागि पार्टीमा नेतृत्व हस्तान्तरण हुनु पर्दछ । किनकि कांग्रेस नेतृत्वमा हिजोका दिनमा पुरानो पुस्ताको बाहुल्यता र त्यसले परम्परागत शैलीमा पार्टी संचालन गर्दै आएको थियो । अब कांग्रेस हिजोको त्यो परम्परागत शैलीबाट अघि बढ्न सक्दैन । त्यसका लागि असोजमा हुने महाधिवेशनले नयाँ नेतृत्व, नवीन विचार र गतिशील सोच भएका युवाहरूलाई पार्टीको निर्णायक तहमा पुग्ने वातावरण तय गर्नु पर्दछ । समयमै महाधिवेशन गराएर लोकतान्त्रिक विधि अनुसार नेतृत्व चयन गर्न सकिएन भने प्रतिभाशाली र क्षमतावान् युवा पंक्ति निराश भई राजनीतिबाट विमुख हुने वा अन्य विकल्प खोज्ने खतरा रहन्छ । त्यसैले पार्टीलाई समयसापेक्ष बनाउन र युवा पुस्ताको विश्वास जित्नका लागि पनि तोकिएकै समयमा महाधिवेशन गराउनु पर्दछ । कुनै पनि बहानामा महाधिवेशन रोक्ने काम गर्नु हुदैन ।
यदि महाधिवेशनलाईफेरी पनि धकेल्ने काम भयो भने त्यसले पार्टीभित्र गुटबन्दी बढाउने र आन्तरिक किचलो झांगिने निश्चित छ । असोजमा महाधिवेशन गरेमा आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनेछ । त्यसबाट आएको नेतृत्वको ध्यान आगामी निर्वाचनका केन्द्रित हुनेछ । त्यसका लागि पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरु जनताको घरदैलोमा कुनै न कुनै कार्यक्रम लिएर जाने छन् । यसो हुँदा आन्तरिक रूपमा सुदृढ र एकताबद्ध कांग्रेसले मात्र अन्य राजनीतिक दलहरूसँग प्रतिस्पर्धा गर्न सक्छ। दलहरूको मुख्य लक्ष्य भनेकै आम निर्वाचनमार्फत जनताको जनादेश प्राप्त गर्नु हो । र त्यसपछि सरकार बनाउने अवस्थामा पुगेपछि मुलुकमा सुशासन कायम गर्नु हो ।
तसर्थ, कांग्रेसका लागि १५ औं महाधिवेशन तोकिएको असोज महिनामै गराउनु कुनै विकल्प छैन । फेरी पनि प्राविधिक, व्यावहारिक वा राजनीतिक बहाना बनाएर महाधिवेशन पछाडि धकेल्ने छुट अब पार्टी नेतृत्वलाई छैन । असोजको महाधिवेशनले मात्रै कांग्रेसलाई नयाँ जीवन, नयाँ गति र नयाँ विश्वास दिलाउन सक्छ ।असोजमा महाधिवेशन सम्पन्न हुनु नेपाली कांग्रेस र समग्र राष्ट्रिय राजनीतिकै हितमा अनिवार्य छ।लोकतन्त्रको सुदृढीकरण र मुलुकको समृद्धिका लागि सबल, गतिशील र लोकतान्त्रिक कांग्रेस आजको आवश्यकता हो । (नयाँ विकल्प साप्ताहिकबाट)
काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...
काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...