कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ? – Naya Bikalpa
September 19, 2026, Saturday      Epaper

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?

 

 


१ पन्ध्रौँ महाधिवेशनको चटारो
अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णसमशेर राणाले स्थापना गरेको नेपाली कांग्रेस त एउटै छ भन्ने जबाफ आउँछ तर अहिले नेपाली कांग्रेसका नाममा दुईवटा महाधिवेशनका कार्यतालिका देखिएका छन् —एउटा असोजमा र अर्को मंसिरमा । विशेष महाधिवेशनले दिएको आदेशबमोजिम महाधिवेशन गर्नेहरु असोजको तयारीमा छन् र ती नेपाली कांग्रेसको आधिकारिक कार्यालय , बीपी नगर, सानेपाबाट सूचना प्रसारित गरिरहेका छन् ।

अर्को राष्ट्रिय भेला आयोजक समितिका नाममा चुनदेवीबाट सूचना प्रसारित गरेर मंसिरमा महाधिवेशन गर्ने भनेर वडा, क्षेत्र, जिल्ला,प्रदेशको निर्वाचनका लागि प्रतिनिधि खटाएको देखिन्छ । विशेष महाधिवेशनवालाको धारणा छ, हामी नै आधिकारिक नेपाली कांग्रेस हौँ किनभने नेकांको विधान अनुसारको विशेष महाधिवेशन गरेर महाधिवेशन गर्ने आदेश ५४प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले दिएका छन् । उता १४आँै महाधिवेशनबाट निर्वाचित वहुमत सदस्यहरुको धारणा छ, महाधिवेशन गर्ने जिम्मा त केन्द्रीय समितिको हो जो निर्वाचित भएको थियो, त्यसैले १५आँै महाधिवेशन गर्ने अपनत्व त विशेष महाधिवेशनबाट चुनिएको समितिको नभएर पुरानो समितिको हो जसमा शेरबहादुर देउबा सभापति हुनुहुन्थ्यो जवकि विशेष महाधिवेशनले गगनकुमार थापालाई सभापतिको रुपमा निर्वाचित गरेर कार्यभार दिएको थियो, सो समितिलाई निर्वाचन आयोगले मान्यता दिएर प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारको मनोनयन पत्रसमेतमा हस्ताक्षर गर्ने अधिकार दिएको थियो र थापाको हस्ताक्षरमा उठेका कतिपय उम्मेदवार अहिले प्रतिनिधि सभामा सांसद छन् जवकि तत्कालीन सभापति शेरबहादुर देउवाको हस्ताक्षरबाट मनोनयनमा परेका समानुपातिक सदस्यहरु पनि प्रतिनिधि सभामा सदस्य छन् ।

यसरी एउटा समयको अन्तरालमा दुईवटा सभापतिको हस्ताक्षरमार्फत् मनोनयन दाखिला गरेका सदस्यहरु प्रतिनिधि सभामा छन् । पुसको पहिलो हप्ताको समय र माघको पहिलो हप्ताको समय नेपाली कांग्रेसका लागि संक्रमणकालीन समयको रुपमा देखियो । निर्वाचन आयोगलाई धन्यवाद दिनैपर्छ कांग्रेसी जनले किनकि उनीहरुको दल प्रतिनिधि सभामा शून्य हुनबाट जोगिएको थियो । यदि निर्वाचन आयोगले विशेष महाधिवेशनको समितिलाई मान्यता नदिएर मुद्दा लम्ब्याएको भए कोही पनि प्रत्यक्ष निर्वाचनमा उठ्न पाउने थिएनन् र नेपालको संविधानले भन्छ, एकजना पनि प्रत्यक्ष निर्वाचनमा नजितेको दलको समानुपातिक मत काम लाग्दैन, अर्कैमा सर्छ एकल संक्रमणीय नीतिअनुसार । अनि त्यो निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि गगनकुमार थापाको नेतृत्वको कांग्रेस आधिकारिक हुन पुगेको हो ।
२. निस्सा पाउँदैमा कांग्रेसको निरन्तरतामा के फरक प¥यो र ?
२०८३साल वैशाख ४ गते सर्वोच्च अदालतले गगनकुमार थापाको नेतृत्वलाई दिएको आधिकारिकतामा चित्त नबुझेर सम्पूर्ण न्यायिक प्रक्रिया दोहो¥याउन गरिएको निवेदनमा सर्वोच्च अदालतमा छलफल हुँदा पहिलो दृष्टिमा नै अन्तरकालीन आदेश दिनु नपर्ने भनी थापा नेतृत्वलाई महाधिवेशन गर्न बाटो खोलेको हो । अझै तत्कालीन सभापति देउवालाई लागेको छ, अन्तिम फैसला हुँदा १४आँै महाधिवेशनको नेतृत्वलाई आधिकारिक संस्था मान्ने छ । यदि मान्यो रे भने पनि कांग्रेस त यही नै होला जसलाई गगन र देउवाले नेतृत्व गरिरहेका छन् ।

समग्र कांग्रेसको चाहना देखिन्छ एउटै कांग्रेसको महाधिवेशन होस् । निस्सा पाएजस्तै गरी आधिकारिकता पनि पाउने भन्ने देखिँदैन किनभने यो दलको आन्तरिक समस्या हो । विशेष महाधिवेशन ठिक थियो कि थिएन भन्ने कुराको सत्यापन गर्ने भनेको महाधिवेशनले हो । त्यो महाधिवेशन असोजमा होस् कि मंसिरमा होस् , त्यसले खासै फरक पार्दैन तर यदि दुईवटा कांग्रेस भयो भने त्यसले प्रजातान्त्रिक आन्दोलनमा नकारात्मक असर पु¥याउने छ ।

यो संक्रमणकालीन समय हो चाहे त्यो राजनीतिक अवस्थाका कारणले होस्, चाहे विपद्को घडीको रुपमा होस् या आर्थिक विषमताको कारणले होस् , यो समय भनेको दण्डहीनताले गाँजेको समय हो । यस्तो बेलामा मुलुकका प्रजातान्त्रिक शक्तिहरु एक भएर समस्याको समाधान गर्ने र मुलुकलाई पुरानै अवस्थामा ल्याई लयमा फर्काउने बेलामा प्रजातन्त्रको मियोको रुपमा रहेको संस्था नेपाली कांग्रेस नै विभाजन भएर दुई टुक्रा भयो भने पक्कै नै नेपाली प्रजातान्त्रिक अभियानमा धक्का लाग्नेछ ।

यसलाई कांग्रेसी जनले हेक्का राखेका छन् तर शीर्ष नेता हौँ भनेर भन्नेहरुको अहंकारले मुलुक झनझन दलदलमा फसिरहेको देखिन्छ । त्यसैले सर्वोच्च अदालतको निस्साको आधारमा हुने फैसला कुर्ने हो भने संभवतः ८४सालसम्म पनि त्यो मुद्दाको छिनोफानो हुने छैन जवकि मुलुकमा भएको बेथितिलाई समधान गर्न एकाकार कांगे्रसको कडा परिश्रमको आवश्यकता परेको छ ।
३. किन निर्वाचन वहिष्कार गरेको हो देउवाजीले ?
विद्यार्थीकालदेखि नेपाली कांग्रेस भएको , पाँचपाँचपटक त्यही पार्टीबाट प्रधानमन्त्री भएको र पार्टीको सभापति भइसकेको व्यक्तिले आम निर्वाचन स्वीकार गरेर समानुपातिक तर्फको मनोनयनमा हस्ताक्षर गरिसकेको व्यक्ति देउवाजीले फागुन २१को निर्वाचनलाई किन वहिष्कार गर्नु भएको थियो ? इतिहासले यो प्रश्न उहाँलाई सोधिरहने छ कि २१ फागुनमा निर्वाचनको पूर्व सन्ध्या फागुन १३गते सिंगापुर उड्दा या सिंगापुरबाटै किन नेपाली कांग्रेसलाई मत माग्नु भएन ?

उहाँले मनोनयन पत्र दाखिला गर्न पाउनु भएन आन्तरिक कारणले होला, उहाँले चाहनु भएन या गगनसँग मनोनयनको पत्र लिन मन लागेन होला या तत्कालीन अवस्थामा गगनले पनि उठ्नका लागि अनुरोध गरेनन् होला, त्यो त दलको आन्तरिक समस्या हो । कम्तीमा पनि उहाँले मनोनयन गरेका ती समानुपातिक सांसदहरुका लागि पनि त मत आवश्यक थियो होला नि ? जे भन्नुहोस्, जसो भन्नुहोस् तर मुलुकको प्रजातन्त्रको नेतृत्व गरिरहेको हुँ भन्ने व्यक्तिले स्वीकार गरिसकेको निर्वाचनप्रति बेवास्ता गरेर नेपाली कांग्रेसलाई गगनको कांग्रेस बनाउने काम त उहाँले नै गर्नुभएको थियो । नियमित अधिवेशन गर्नका लागि गरिएको ढिलाइ र छलकपटको प्रतिफल हो विशेष अधिवेशन भन्ने कुरा जगजाहेर भएको छ । अहिले आएर नेतृत्वको अपेक्षा गर्नुभन्दा नेपाली कांग्रेसको अभिभावक हुने आकांक्षाले बढी महत्व पाए हुन्थ्यो भन्ने आम कांग्रेसीको चाहना छ ।

उता नेता डाक्टर शेखर कोइरालाको समस्या हो, उहाँले भनेको विशेष महाधिवेशन त भयो तर उहाँ किन बाहिर ? निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएपछि पनि उहाँ कता ? निर्वाचन लड्न जाँदा सभापति गगन हुने तर अहिले किन उसलाई मान्न तयार नहुने ?सधैँ मध्यस्थकर्ता हुँदा बाटो अलमलिन गयो जस्तो छ । शेरबहादुरजीले शशांकजीलाई मान्यता दिँदा र सुजाताजी गगनतिर जाँदा अवस्था कहाँ छ भन्ने बेला आएको छ । आाम कांग्रेसले चाहेको नेतृत्व शेखरजीकै हो तर परिस्थितिले गगनको जिम्मामा पुगेको छ ।

अब महाधिवेशनमा प्रतिस्पर्धा गर्ने हो, निस्साको पछि लागेर महाधिवेशन हुँदैन, दलको संगठनलाई मजबुत बनाउनु पर्छ भन्ने ज्ञान अब कहिले आउने हो देउवाजीलाई र शेखरजीलाई ? एकतामा बल हुन्छ, दल स्थायी हुन्छ, नीति स्थायी हुन्छ, सिद्धान्तमा स्पष्ट हुनुपर्छ, आफ्नो नीति र दृष्टिमा स्पष्ट हुनुपर्छ ।
४. र अन्त्यमा हिमाली सुनामीको अन्तिम परिणाम कहिलेसम्म ?
प्रकृतिसँग कसैको केही लाग्दैन, बचाउने पनि उसैले हो, विनास गर्ने पनि उसैले रहेछ । भदौ १०गतेको महाविपत्तिको परिणाम जे भए पनि हामीले भोगेका नै हौँ । तर कति सुरुङ्मा फसेका छन् कति जीवित छन् कति दिवंगत भए, बाढीले कति बगायो, कति पु¥यो र कति शव भेटिए भन्ने अझै अन्यौल छ । कतिले कुशको शव बनाएर काजक्रिया गरे, बाँचेकाहरुको हबिगत छ कसरी उनीहरुलाई पुनस्र्थापित गर्ने आम जीवनमा भन्ने ठुलो समस्या छ । सहयोगको पनि बाढी आएको छ, तिनको सहयोग ठिक ठाउ्रँमा प्रयोग जरुरी छ । बाटोका हालत छ । बजार बेहाल छ । महङ्गीले सगरमाथा छोएको छ । ग्याँसको कारणले मन्त्री गौरीकुमारी यादवले राजीनामा त दिइन् तर ग्याँसको उपलब्धता हुन सकेको छैन । यी सबै परिणामको कारणले मारमा परेका त नेपाली जनता हुन् । सरकारलाई भन्नैपर्ने हुन्छ, सकेसम्म राम्रो गर, नसके कम्तीमा जनताविरोधी काम त नगर ।(नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : देशभर वडा अधिवेशन सुरु
कांग्रेसको १५औं महाधिवेशन : देशभर वडा अधिवेशन सुरु
  • २०८३ भाद्र २९, १७: ५७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय निर्वाचन समितिले जारी गरेको कार्यतालिकाअनुसार...

भोटेकोशी बाढीलाई छुट्टै नाम दिन वैज्ञानिक अध्ययन गरिँदै
भोटेकोशी बाढीलाई छुट्टै नाम दिन वैज्ञानिक अध्ययन गरिँदै
  • २०८३ भाद्र २९, १७: ५७

काठमाडौं : सरकारले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीलाई सामान्य प्राकृतिक बाढीभन्दा फरक घटनाका रूपमा परिभाषित गर्दै...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ भाद्र २९, १७: ५७

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...