मेरा हातहरू सफा छन्, गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौं : सभापति थापा – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

मेरा हातहरू सफा छन्, गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौं : सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक लेनदेन नभएको दाबी गरेका छन् । उनले आफ्नो नैतिकता र इमानदारीमाथि प्रश्न उठाउनेभन्दा पनि सम्बन्धित विषयमा सही ठाउँमा प्रश्न गर्न आग्रह गरेका छन् ।

बिहीबार अपराह्न सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै सभापति थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको स्पष्ट पारेका हुन् ।

‘ढुक्क हुनुहोस्, मेरा हातहरू सफा छन् । गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौं,’ उनले भनेका छन् ।

प्रहरी हिरासतमा रहेका इनम सापकोटाको नाम जोडेर सार्वजनिक भएको अडियोबारे प्रतिक्रिया दिँदै थापाले त्यसको सत्यतथ्य आफूलाई जानकारी नभएको बताए । उक्त अडियो कहाँ, कसले, कहिले र किन बोलेको हो भन्ने स्पष्ट नभएको उल्लेख गर्दै उनले बोलेको हो वा बोलाइएको हो भन्नेसमेत यकिन नभएको बताए ।

सापकोटाले भनेको विषयकै आधारमा आफूले जवाफ दिइरहन आवश्यक नरहेको उनको भनाइ छ । यद्यपि, सार्वजनिक रूपमा उठेका प्रश्नबारे केही कुरा स्पष्ट पार्नुपर्ने भएकाले भिडियो सन्देश जारी गरेको उनले बताए ।

थापाले पार्टीको आधिकारिकताका लागि भइरहेको राजनीतिक तथा कानुनी प्रक्रियामा कुनै पनि प्रकारको आर्थिक लेनदेन नभएको दाबीसमेत गरे । ‘हाम्रो पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन भएको छैन,’ उनले भने ।

उनले विशेष महाधिवेशनलाई पार्टीका तल्लो तहका कार्यकर्ताले गरेको विद्रोहका रूपमा व्याख्या गरेका छन् । कार्यकर्ताले परिवर्तनको उद्देश्यसहित विद्रोह गरेको उल्लेख गर्दै त्यसबाट आउन सक्ने परिणामको चिन्ता लिएर आन्दोलन नगरिने उनको तर्क छ ।

विशेष महाधिवेशन र त्यसपछि विकसित राजनीतिक तथा कानुनी विवादको विषयमा राम्रोसँग अनुसन्धान हुनुपर्नेमा जोड दिँदै थापाले अनुसन्धानबाट वास्तविकता बाहिर आउने विश्वास व्यक्त गरे ।

‘हामीले चाहेको राम्रो अनुसन्धान होस् भन्ने हो । अनुसन्धानले दूधको दूध, पानीको पानी छुट्याउँछ । हामी त्यसकै प्रतीक्षामा छौँ,’ उनले भनेका छन् ।

सम्बन्धित समाचार

सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
  • २०८३ कार्तिक २०, १६: ११

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०८३ कार्तिक २०, १६: ११

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
  • २०८३ कार्तिक २०, १६: ११

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका...