
काठमाडौं : दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँदै गरेको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन् ।
आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन् । सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ ।
पर्वको तयारीका लागि स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन् । विशेषगरी युवा छठघाट निर्माण तथा सजावटमा सक्रिय देखिएका छन् । बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरेर सजाउने काम पनि भइरहेको छ । सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन् । धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन् ।
छठको तयारीसँगै स्थानीयवासीको दैनिकी पनि पर्वकेन्द्रित बनेको छ । भेटघाट र कुराकानीदेखि घरायसी कामकाजसम्म छठकै तयारीमा केन्द्रित हुन थालेको बर्दिबास– १३, बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताए ।
मिथिला क्षेत्रका बजारमा छठ पूजाका सामग्री किन्नेको भिड लागेको छ । केराका घरीसहित पर्वमा आवश्यक सामग्रीको बिक्री बढेको छ । स्थानीय किसानले छठ पूजामा प्रयोग हुने उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका सामग्री बजारमा ल्याउने तयारी गरिरहेका छन् । यस्ता सामग्रीको बिक्री शनिबार मुख्य रूपमा हुने जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष शिवचन्द्र चौधरीले बताए ।
यसैगरी, छठ पूजाका सामग्री राख्न तथा अन्य प्रयोजनका लागि बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री पनि साप्ताहिक हाटबजारमा बढेको छ । बत्ती बाल्न प्रयोग हुने दियो, दही जमाउने छ्याँची, पूजासम्बन्धी सामग्री राख्ने टौला, पानी राख्ने अङ्खरा र गाग्रीलगायत माटाका भाँडाको बजार पनि बढेको छ । छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण बाँसका सामग्री र माटाका भाँडाको माग बढेको हो ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...
भक्तपुर । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको एक रेस्टुरेन्टमा शनिबार बिहान आगलागी भएको छ। शनिबार बिहान करिब ७...