
काठमाडौं । निकै चर्चामा अमेरिकी सहयोग सम्झौता ‘एमसिसी’ पारित गर्ने बारे संस्थागत निर्णय गर्न नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) अन्ततः सहमतीमा आए । सम्झौता पारित नगरे गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चेतावनीपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णयमा पुगेका हुन् ।

माओवादी केन्द्रको बैठक अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेर एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो । त्यस्तै एकीकृत समाजवादीले सचिवालय बैठकबाट एमसीसीबारे निर्णय लिएको थियो । एमसीसी सम्झौताबारे विवादमा आएका बूँदाहरुलाई कानुन व्यवसायीहरुले ब्याख्यासहितको टिप्पणी तयार पारी र सोही ब्याख्यामा टेकेर सम्झौता पारित गर्ने गरी बैठकमा सहमति भएको हो । तर, यी दुवै पार्टीभित्र नेताहरुबीच चर्को विरोध रहेकोले नेतृत्वलाई संस्थागत निर्णय गराउँन भने निकै कठिन परेको थियो ।

उता पर्ख र हेरको नीति लिएको एमाले पनि लगभग यस विषयमा सहमती नजिक पुगेको थियो । जनताको अगाडि एमाले सहि छ भन्ने वातावरण बनाउँन लागेको एमाले, प्रधानमन्त्री देउवासंगको भेटपछि एमसीसी पारित गराउँन सहमती नजिक पुगेको हो । त्यसैले त एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्दै आएका छन्, ‘हामीले एमसीसी पारित गर्न कहाँ रोकेका छौं ? एमालेले जस लिन्छ भनेर त एमसीसी पारित गर्ने बेलामा सरकारनै ढालिदिए ।

हामीले त पारित नै गर्नका लागि संसदमा लगेका हौं ।’ एमसीसीको सन्दर्भमा सत्तापक्षले राय नदिएकोले अहिलेसम्म हामी नबोलिरहेका भन्ने प्रतिक्रिया एमाले महासचिव शंकर पोखरेलले दिए । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्रीसहित कांग्रेसका शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै महासचिव पोखरेलले एमालेले राखेका माग सम्बोधन हुने बताए ।
सभामुखलाई नहटाए सम्म संसदको अवरोधन नहटाउने अडान भने कायमै राखेको पनि उनले बताए । मुलुकको लोकतान्त्रिक भविष्य र राष्ट्रिय हितका सम्बन्धमा छलफललाई निरन्तर कायम राख्ने सहमति भएको उनले सञ्चारकर्मीहरुलाई बताए । अमेरिकाले एमसीसीको बारे निर्णय दिन सोमबारसम्मको समयसीमा दिएको अवस्थामा नेपाली कांग्रेसले यसलाई अनुमोदन गर्नका लागि संवादलाई तीव्रता दिएको थियो । राजनैतिक भेटलाई तीब्रता दिदैं आएका प्रधानमन्त्री देउवा र नेपाली कांग्रेसका नेताहरुले बालकोट वार्ता सकारात्मक भएको बताएका थिए ।

बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेताबीचको छलफल सकारात्मक भएको नेताहरुले बताए । दुई दलका शीर्ष नेताहरूको छलफलमा आ–आफ्नै अडान भएपनि एमसीसीका विषयमा सहमत भएको एक नेताले प्रतिक्रिया दिए । सरकारका अनुसार एमालेले सभामुख हटाउनुपर्ने, आफ्नो पार्टीले कारबाही गरेको १४ सांसदहरुलाई पदमुक्त गर्नुपर्ने अडान भने कायम राखेको बताए पनि एमसीसीमा एमाले सकारात्मक देखिएको प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

छलफलमा सञ्चारमन्त्री कार्कीसहित प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी भएका थिए । नेताहरु एमसीसी संसदमा पेस भएसँगै सत्ता गठबन्धन संकटमा परेको भन्दै सत्ता गठबन्धन जोगाउने र एमसीसी पारित गर्ने निर्णयमा पुगेका हुन् । केही दिन अगाडीसम्म माओवादी र एकीकृत समाजवादी एमसीसीको विपक्षमा मतदान गर्ने अडान राखेका थिए ।

एमसीसी सम्झौता टेबल भएपछि मात्र तीनपटक प्रधानमन्त्री देउवाले ओली निवास बालकोटमै पुगेर वार्ता गरेका थिए । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले निरन्तर प्रतिपक्षसँग संवाद अगाडि बढाएपछि विपक्षमा मतदान गर्ने अडान लिँदै आएका माओवादी र एकीकृत समाजवादी एमसीसी पारित गर्ने र सत्ता गठबन्धन जोगाउने निष्कर्षमा पुगेका हुन् । सत्ता गठबन्धन जोगाउन ‘प्रचण्ड’ ले एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।
पार्टीभित्र आन्तरिक गृहकार्य गरेर प्रचण्डले अन्ततः गठबन्धन जोगाउने र एमसीसी पास गर्ने निष्कर्षमा पुगेको बताइन्छ । माओवादी नेता हरिबोल गजुरेलले एमसीसीको विषयमा आफ्नो पार्टीले राख्दै आएको संशोधनको विषयलाई स्पष्ट पारेर एमसीसी पारित गर्न छलफल भएको बताए ।

उनले भने, ‘सत्ता गठबन्धनको लक्ष्य पूरा भएको छैन, आगामी निर्वाचनसम्म गठबन्धन निर्माण गरेका हौं, संशोधनको विषय समावेश गरेर एमसीसी पारित गर्नुपर्ने मत पार्टीभित्र निर्माण भएको हो ।’ शान्ति प्रक्रियाको कतिपय काम अझै बाँकी रहेकाले सत्ता गठबन्धनलाई जोगाउने प्रयत्न भइरहेको गजुरेलले बिकल्पलाई बताए ।
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरुले गरेको गृहकार्यमा शीर्ष नेतृत्वलाई सहमत बनाउन लागि परेका थिए । नेकपा एकीकृत समाजवादीका नेतृ एवम् शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर अगाडि बढ्ने विषयमा मोटामोटी सहमति भएको बताएकि थिइन् ।

एमसीसीकै कारण गठबन्धन टुट्ने र कांग्रेसले एमालेसँग सहमति गर्ने सम्भावना बढेपछि माओवादी र एकीकृत समाजवादीका नेताहरु गठबन्धन जोगाउने र सत्तामा रहिरहने विकल्पमा पुगेका हुन् ।
एमसीसी पारित गर्याैंः प्रचण्ड

सत्ता राजनीतिमा दोहोरो चरित्र देखाउदै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सडक, सरकार र सदनमा द्धैद चरित्र प्रदर्शन त गरिरहेकै अवस्थामा अन्ततः एमसीसी पारित गर्ने निर्णयमा पुग्न ब्याध्य भएका हुन् ।
सधै सत्तामा बसेर आफुलाई केन्द्रविन्दु बनाउँदै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन पनि नटुट्ने एमसीसी पनि पास हुने दावी गरेका छन् । एमसीसी राष्ट्रघाती भन्दै कार्यकर्तालाई सडकमा उतार्ने र पछिल्लो समयमा आएर उनी संसद्बाटै पास गराउने पक्षमा उभिएका हुन् ।
प्रधानमन्त्री देउवा एमसीसी पारित गर्न सहमत नहुने भए सत्ता छाड्न र गठबन्धन टुट्ने भनेर एमालेसंग छलफलमा व्यस्त भएपछि उनले सञ्चारकर्मीसंग सहमतिकै बाटोबाट अघि बढ्ने प्रतिक्रिया दिए । उनले भने, ‘हामी छलफल गरिराखेका छौं, समस्याको समाधान हुन्छ, गठबन्धन टुट्दैन, सहमतिको बाटोबाट एमसीसी पनि पास हुन्छ ।’
सत्ताबाट पछि नहट्ने बरु एमसीसी नै पास गर्ने दाउमा अहिले प्रचण्ड उत्रिएका हुन् । उनको यो दोहोरो चरित्रको कार्यकर्ताले सामाजिक सञ्जालमा व्यापक आलोचनासमेत गरिहेका छन् । यसैबीच कानूनविद् एवम् माओवादी केन्द्रका नेता तथा सांसद रामनारायण बिडारीले एमसीसी पारित गर्नेगरि सहमति भएको बताए ।
नेता बिडारीले एमसीसी परिमार्जनसहित संसदबाट अनुमोदन हुने बताए । उनले भने, ‘एमसीसी संशोधनसहित पारित हुन्छ । भविष्यमा अमेरिकाले बनाउने र लिने नीति मान्छु भन्ने कुरा राख्नुहुँदैन । यसमा व्याख्यात्मक टिप्पणी हुनुपर्छ । यो व्याख्या नेपाली संसदले गर्नुपर्छ । हामी सबै कार्य गर्नको निम्ति, अध्ययन गरेरमात्रै टुंगो लगाउँछौं ।
सम्झौतामा लेखिएका भाषा र शब्द मिलाउने कुरा छ, यसमै सहमति हुन्छ ।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रष्ट रुपमा वर्तमान गठबन्धन कायम राख्ने भनेर धारणा राखिसकेकोले गठबन्धन नटुट्ने दाबी गरे ।
नयाँ विकल्प साप्ताहिकबाट…
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...
काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिस्टले गत साता पद हस्तान्तरण तथा...
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...