
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रतिनिधि सभाको रिक्त सभामुख पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयको निष्कर्ष समयमै दिन नसक्दा सिंगो संघीय संसद अन्यौलको भूमरीमा रुमलिन पुगेको छ । यसै सन्दर्भमा विभिन्न राजनीतिक दल लगायत बौद्धिक समाजले समेत नेकपाको सरकारले प्रतिनिधि सभालाई सरकारको लाचार छायाको संज्ञा दिन थालेका छन् ।
पार्टीको साधारण सदस्यता त्यागेको प्रतिनिधि सभाको उपसभामुख जस्तो गरिमामय र सवैधानिक पद धारण गरेको व्यक्तिलाई समेत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले पदबाट राजिनामा दिन निर्देशन दिएर संसदीय मर्यादा र परम्पराको खिल्ली समेत उडाएको छ । पार्टीले आफूलाई राजिनामा माग्ने कुनै बैधानिक बाटो नभएको भन्दै उपसभामुख डा. शिवमायाँ तुम्वाहाम्फेले पनि राजिनाम नदिने अडान लिएकी छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गते संघीय संसदको पाँचौं अधिवेशनको आव्हान गरेकी थिइन् । राष्ट्रिय सभाको बैठक पुस ४ गतेदेखि नियमित बसीरहेको छ तर प्रतिनिधिसभाको बैठक भने पुस ४ गते औपचारिक बैठक गरी एजेण्डामा प्रवेश नगरी स्थगित हुँदै आएको थियो । प्रतिनिधि सभाको बैठक पुस ११ र १६ गते बस्ने भन्दै सूचना टाँस्दै स्थगित गर्दै आएकी उपसभामुख डा. तुम्वाहाम्फेले आइतबार पुस २७ गते बोलाइएको बैठक समेत स्थगित गरेकी छन् ।
शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालसँग भेट गरी प्रतिनिधिसभाको बैठक सभामुख चयन हुन नसक्दा अनिर्णित भएको गुनासो गरेकी थिइन् । अध्यक्षद्वयको भेटमा तुम्वाहाम्फेले एक महिना हुन लाग्दा समेत सभामुखको उम्मेदवार चयन गर्न नसक्दा सरकारले अघि सारेका धेरै प्रस्तावहरु अड्किएको गुनासो गरेकी थिइन् । अध्यक्षद्वय ओली र दाहालले आइतबार १० बजेसम्ममा प्रतिनिधिसभाको सभामुखको उम्मेदवार नेकपाले टुंगो लगाउने भन्दै पदबाट राजिनामा दिन भनेका थिए ।
तर उनले सभामुख पाउने निर्णय पार्टीले नगरेको भन्दै राजिनामा दिन तयार छैनन् । आइतबार ११ बजे प्रतिनिधिसभाको बैठक संचालन गर्नको लागि तयारी गर्दै उपसभामुखको निवासबाट सिंहदरबार हिँडेकी तुम्वाहाम्फे अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि प्रधानमन्त्री निवास फर्किएकी थिइन् । उनलाई ओलीसँगै रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेलसँग छलफल गरेकी थिइन् । आफू महाभियोगको सामना गर्न तयार छु तर उपसभामुखबाट राजिनामा दिन्न भन्ने आडान राखेकी थिइन् ।
तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीच एकीकरण हुनुअघि नेकपा एमालेसँग आवद्ध भएकी तुम्वाहाम्फेले आफूलाई पार्टीले राजिनामा गर भनेकै भरमा पद त्याग नगर्ने अडान लिएकी छन् । तुम्वाहाम्फेलाई नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपसभामुखबाट राजिनामा गरेमा उपयुक्त अवसर दिने भन्दै आश्वासन दिएका थिए । उनले समयमै उपसभामुखबाट राजिनामा नदिँदा सभामुख तोक्न पार्टीलाई अप्ठ्यारो भएको भन्दै केही दिन नेकपाका सचिवालय सदस्यहरुको बैठकमा आफ्नो आलोचना गरेको घटनाबाट समेत उपसभामुख तुम्वाहाम्फे आक्रोसित बनेकी थिइन् ।
सचिवालय सदस्य बामदेव गौतमको निवासमा बुधबार भेला भएका पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख तुम्वाहाम्फेले पदबाट राजिनामा नदिएको भन्दै उनी सभामुखमा योग्य नभएको विषयमा छलफल गरेका थिए । सो घटनाबाट चिढिएकी तुम्वाहाम्फेले शुक्रबार अध्यक्षद्धय ओली र दाहाललाई भेटेर आफू सभामुख हुन किन अयोग्य ? भन्दै प्रश्न गरेकी थिइन् ।
उनको राजनीतिक योगदानको विषयमा खासै अध्ययन नगरेका र थाहा पनि नपाएका अध्यक्ष दाहाललाई तुम्वाहाम्फेले आफू २०३६सालको जनमत संग्रहदेखि नै अनेरास्ववीयूमा लागेको जनाएकी थिएन् । उनले त्यसपछि आफूसँग तपशिल बमोजिमको योग्यता रहेको भन्दै लिखित विवरण नै पेश गर्नु पर्ने हो भन्दै कड्किएकी थिइन् । यसअघि पनि उनलाई राजिनामा दिन अध्यक्ष ओली र दाहालले दुई पटकसम्म उनलाई आग्ह गरेका थिए । तर, उनले सभामुखको उम्मेदवार टुंगो लागेपछि आफूले राजिनामा दिने बताउँदै आएकी थिइन् ।
पार्टीले समेत सभामुखको उम्मेदवार चयन नगर्दा एक महिनाअघि आव्हान भएको संघीय संसद अन्तरगतको प्रतिनिधिसभा अनिर्णयको बन्दी हुँदै आएको छ । प्रतिनिसभामा करिव दुई तिहाई बहुमतको नजिकको सख्याका सदस्य नेकपाका छन् ।
नेकपाले समर्थन गरेका वाहेकका सदस्य सभामुख हुने सम्भावना नहुँदा उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले सदनको बैठक दुई पटक सूचना टाँसेर स्थगित गरेकी थिइन् । सभामुखको उम्मेदवार चयन गर्ने विषयमा नेकपा भित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति जुट्न नसक्दा व्यवस्थापिका नै अनिर्णयको बन्दी हुँदै आएको छ ।
प्रधानमन्त्री ओलीले सभामुखमा संविधानसभाका पूर्वअध्यक्ष सुभाषचन्द्र नेम्वाङलाई बनाउने चाहना राखेका छन् भने अर्का अध्यक्ष दाहालले पूर्वमाओवादीको कोटामा परेको सभामुख पदमा आफ्ना विश्वास पात्र अग्नीप्रसाद सापकोटालाई राख्न चाहन्छन् । आफूमा सभामुख हुने योग्यता समेत पुगेको दाबी गर्दै उपसभामुख डा. तुम्वाहाम्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले समेत साथ दिएको बताइन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक महिनाअघि अध्यक्षद्धयसँगको भेटमा समेत संविधानको मर्म र भावनाअनुसार महिलालाई सभामुख बनाउन सुझाव दिएकी थिइन् ।
उनले आफू संविधानको संरक्षक र परिपालक भएकाले संविधान बमोजिम सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्छ भन्ने भावनालाई बेवास्था गर्दै महिलालाई उपसभामुख मात्र बनाइएको भन्दे असन्तुष्टी जनाएकी छन् । उनले संविधान बमोजिम महिलालाई नै सभामुख बनाउनु पर्ने भन्दै उपसभामुख डा. तुम्वाहाम्फेको पक्षका बोलेकी थिइन् ।
संविधानअनुसार संसदको सभामुख र उपसभामुख फरक फरक दलको सदस्य हुनु पर्ने प्रावधान भएकाले नेकपाले सभामुखमा उम्मेदवारी दिन चाहेकोले उपसभामुख भएकी नेकपाकी सांसद तुम्वाहाम्फेले उपसभामुखबाट राजिनामा दिनु पर्ने अवस्था आएको हो । उपसभामुख डा. तुम्वाहाम्फेले आइतबार विहानसम्म राजिनामा दिन नेकपाले दबाब दिएको थियो ।
तुम्वाहाम्फेले राजिनामा नदिएर सदनको कारबाही अघि बढाएमा सभामुख पद नेकपाबाट फुत्कने देखिन्छ । यदी तुम्वाहाम्फेले राजिनामा दिएमा प्रतिनिधिसभाका जेष्ठ सदस्य राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संसदीय दलका नेता महन्थ ठाकुरले सदनको कारबाही चलाउने छन् । संसद सचिवालयको रेकर्ड अनुसार राजपा नेपालकै महिन्द्र राय यादव सबैभन्दा जेष्ठ सदस्य भए पनि उनले प्रतिनिधिसभाको पहिलो अधिवेसनको पहिलो बैठकको अनुपस्थित हुँदा ठाकुरले सदनको बैठकको अध्यक्षता गरेका थिए ।
आफू महिला भएकै आधारमा सभामुख बन्न नदिएको जिकिर गर्दै आएकी तुम्वाहाम्फेले आफूले पार्टी सदस्यताबाट राजिनामा दिएकाले पार्टीको निर्देशन वा ह्वीप लागू नहुने बताउँदै आउकी छन् । अध्यक्षद्धयले उनलाइ तत्काल मन्त्रिपरिषदमा लैजाने आश्वासन दिए पनि उनले सो आश्वासन स्वीकार गरेकी छैनन् । उनले उपसभामुख पद त्याग्नासाथ मन्त्री पद खाना जाँदा पदलोलुपको आरोप लाग्ने बताउँदै आएकी छन् ।
उनले आफूलाई जबर्जजस्ती पार्टीले कुनै काम गर्न नसक्ने भन्दै आफ्नो योग्यताको परिक्षण गर्न चुनौति दिएकी छन् । तुम्वाहाम्फेले आफूलाई सभामुखमा उम्मेदवार बनाउने निर्णय नगरीएमा उपसभामुखबाट राजिनामा नदिने भन्दै आफूलाई हटाउन महाभियोगको अस्त्र मात्र सम्भव हुने चुनौति दिएकी छन् । उनले हिम्मत हुने भए महाभियोग प्रस्ताव ल्याएर आफूलाई हटाउने चेतावनी दिएकी छन् । महाभियोग लगाउने पहिले उनको योग्ता, आचरण वा क्रियाकलापमाथि खोट लगाउनु पर्ने हुन्छ ।
अनेरास्वबीयू, प्ररायु संघ, नेपाल महिला संघमा नेतृत्व तहमा बसेर अनुभव गरेकी तुम्वाहाम्फेले आफू प्राध्यापन क्षेत्रमा लागेका, अनुसन्धान क्षेत्रमा लागेको र कानूनको अभ्यास समेत गरेको भन्दै आफनो योग्यता पुगेकोले नै सभामुख बनाउन आग्रह गर्दै आएकी छन् । उपसभामुख तुम्वाहाम्फेले महिला भएकै कारण पार्टी नेतृत्वले आफूलाई पदबाट हटाउन खोजेको सन्देश जान थालेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अग्नी सापकोटाको बिकल्पममा पम्फा भूषालको नाम पनि अघि सारेका छन् । यता तुम्वाहाम्फेको पक्षमा भने पूर्वमाओवादीका महिला सांसदहरुले नैतिक समर्थन गरेका छन् भने पूर्वएमालेकी सांसद बिन्दा पाण्डेले साथ दिइकी छन् ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...