प्रभावकारी बन्यो ‘प्रसूति प्रतिक्षा घर’ – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

प्रभावकारी बन्यो ‘प्रसूति प्रतिक्षा घर’

बागलुङ । केही वर्षअघिसम्म घरमै सुत्केरी हुने बागलुङका गर्भवती अहिले समयअगावै स्वास्थ्य संस्था पुग्छन् । गर्भवतीको बढी चाप हुने बागलुङ जिल्लाका स्वास्थ्य चौकीमा प्रसूति प्रतिक्षालयको व्यवस्था मिलाइएपछि यहाँका गर्भवतीको खर्च र समय दुवैको बचत भएको छ ।

स्थानीय पालिका र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको साझेदारीमा बागलुङ जिल्लाका २२ बर्थिङ सेन्टर रहेका स्वास्थ्य संस्थामा प्रसूति प्रतिक्षाको व्यवस्था मिलाइएको छ । सुत्केरी हुनुअगावै स्वास्थ्य संस्थामा कुरुवासहित पकाएर खाने र बस्ने व्यवस्था मिलइएको ठाउँलाई प्रसूति प्रतिक्षालय भनिदै आइएको छ ।

जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेका २२ वर्षीया यामुना नेपालीले दुई महिना पहिला शिशुलाई जन्म दिन छिमेकी वडाको सर्कुवा स्वास्थ्य चौकी पुगिन् । जैमिनी नगरपालिका–४ सकुवा स्वास्थ्यच ौकीमै सुत्केरी हुनलाई यामुनालाई प्रेरित गरेको थियो प्रसूति प्रतिक्षा घरले । सुत्केरी हुने समय आएपछि गर्भवती एक–दुई दिन पहिले नै स्वास्थ्य चौकी पुग्न थालेपछि सम्भावित खतराबाट समेत बच्न सफल भएका छन् ।

‘बेथा लागेर हिँड्दा समस्या नआउला भन्न सकिँदैन, अहिले त स्वास्थ्य स्वयंसेविकाले घरमै गएर सुत्केरी हुने मितिको विषयमा जानकारी गराएर स्वास्थ्य संस्था बोलाउनु हुन्छ, दुई दिनअगावै सकुवा स्वास्थ चौकीमा आएर कुरुवासहित बसेँ, स्वास्थ्यमा सुधार आएपछि मात्रै घर फर्के’, यामुनाले भनिन्, ‘स्वास्थ्यकर्मीको निगरानीमा नवजात शिशुको उचित स्याहार भयो, हामी जस्ता व्यक्ति होटलमा बसेर सुत्केरी हुन समस्या हुन्थ्यो, अहिले त पकाउने खाद्यान्न लिएर स्वास्थ्यचौकी आए हुँदोरहेछ, पकाउने भाँडाकँुडा, ग्यास चुलो र कुरुवा सुत्ने बेडसहितको सेवा स्वास्थ्य संस्थामै हुँदा खुसी लाग्यो ।’

यामुना मात्र होइन, अधिकांश गर्भवतीलाई सुत्केरीको भन्दा खाने बस्ने र कुरुवाको समस्याले सताउने गरेको पाइन्छ । पछिल्लो समय बागलुङमा पकाएर खाने र बस्ने सुविधासहितको प्रसूति प्रतिक्षाघरले गर्भवतीलाई सहज मात्रै बनाएको छैन, खर्च र समय दुवैको बचत गराएको छ । प्रसूति प्रतिक्षा घर नहुँदा यहाँका गर्भवती सुत्केरी हुनकै लागि कुश्मिसेरा तथा बागलुङ बजार पुग्दै आएका थिए । बागलुङ जिल्लामै सबैभन्दा बढी सुत्केरी हुने स्वास्थ्य संस्थाका रूपमा परिचय कमाएको निसीखोला गाउँपालिका–३ स्थित बोहोरागाउँ स्वास्थ्य संस्थामा निसीखोला गाउँपालिका र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको सहयोगमा प्रसूति प्रतिक्षा घर नै निर्माण गरिएको छ ।

भान्साघर र सुत्ने ठाउँसहितको प्रसूति प्रतिक्षाघरले गर्भवतीलाई खर्च र जोखिम दुवै कम गराएको स्वास्थ्यचौकी प्रमुख कसिन्द्र शाहीले जानकारी दिए । बोहोरागाउँ स्वास्थ्य चौकीमा गत वर्ष मात्रै एक सय ४० गर्भवती सुरक्षित सुत्केरी भएको शाहीले बताए । चालु वर्षमा मात्रै ५४ जना गर्भवती सुरक्षित सुत्केरी भइसकेका छन् । वि.सं २०७७ अघि सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने गर्भवती होटलमा कुरुवासहित बस्नुपर्ने बाध्यता प्रसूति प्रतिक्षाघर निर्माणपछि हटेको शाहीको भनाइ छ ।

विसं २०७७ मा निसीखोला गाउँपालिकाको रु तीन लाख र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको रु दुई लाख ५० हजार गरी रु पाँच लाख ५० हजार लागतमा सुविधासम्पन्न प्रसूति प्रतिक्षाघर निर्माण गरिएको थियो । ‘दुई गर्भवती र दुई कुरुवालाई पकाएर खाने तयारी भान्साघरसहितको सुत्ने कोठा निर्माण भएको छ, पकाउने खाद्य सामग्री घरबाटै लिएर आउन सकियो, स्वास्थ्य संस्थामै बस्दा गर्भवती र सुत्केरी अवस्थामा आउन सक्ने आकस्मिक जोखिम घट्ने र स्वास्थ्यकर्मीको निगरानीमा बस्न पाउँदा सहज हुनेभयो’, शाहीले भने ।

ग्रामीण स्वास्थ्य सुधार परियोजना विवाइसी बागलुङ र स्थानीय पालिकाको साझेदारीमा २२ बर्थिङ सेन्टरमा बस्ने र पकाएर खाने सुविधासहितको प्रसूति प्रतिक्षाघर निर्माण गरिएको परियोजना विज्ञ गणेश बरुवालले जानकारी दिए । बरुवालका अनुसार सरकारको प्रसूति प्रतिक्षाघर बनाउने नीति र कार्यक्रममा परियोजना साझेदार बनेको बताउँदै गर्भवती र सुत्केरीलाई समय, खर्च बचतसँगै जोखिम समेत घटेको पाइएको छ ।

बोहोरागाउँमा नयाँ प्रसूति प्रतिक्षाघर निर्माण गरिएको छ भने केही स्थानमा भवन मर्मत सम्भार गरेर प्रसूति प्रतिक्षाघर बनाइएको छ । धेरै स्थानमा स्वास्थ्य संस्थाभित्रै प्रतिक्षाघर बनाइएको छ । जिल्लामा ६८ वटा बर्थिङ सेन्टर भए पनि आवश्यकता र प्राथमिकताका आधारमा स्थानीय सरकारले प्रसूति प्रतिक्षाघर बनाउँदै आएका छन् । सबै बर्थिङ सेन्टरमा प्रसूति प्रतिक्षाघर आवश्यकता भए पनि तत्काललाई कम्तीमा एउटा पालिकामा चारदेखि पाँच स्थानमा प्रतिक्षाघर बनाउन आवश्यकता देखिएको छ । पालिकाभित्रका अतिविपन्न समुदायलाई प्रसूति प्रतिक्षाघरले ठूलो राहत मिलेको निसीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीमगरले बताइन् ।

 

सम्बन्धित समाचार

ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
  • २०८० माघ २, १०: ५५

काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न...

एनपिएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
एनपिएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
  • २०८० माघ २, १०: ५५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । व्यापक परिवर्तनसहित एनपीएलको नयाँ संस्करण आजदेखि...

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०८० माघ २, १०: ५५

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...