कांग्रेसले ढुंगानाको निधनको शोकमा दुई दिन पार्टीको झण्डा आधा झुकाउने – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

कांग्रेसले ढुंगानाको निधनको शोकमा दुई दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार भएको निधनले कांग्रेस मर्माहत र स्तब्ध भएको निर्णयमा उल्लेख गरिएको छ । नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका ढुंगाना विसं २०४८ को आमनिर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट विजयी भई २०५१ सम्म प्रतिनिधिसभाको सभामुख थिए ।

यसैगरी उनी विसं २०५१ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट कांग्रेसको उम्मेदवार थिए । नेपाली कांग्रेसका विभिन्न पदमा रहेर उनले पार्टीको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रूपमा समेत उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । मानव अधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि ढुंगाना ले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने बैठकपछि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको वक्तव्यमा उल्लेख छ । उनको निधनबाट सिंगो देशले वरिष्ठ कानुनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान एवम् अनुभवी राजनीतिज्ञ गुमाएको छ  ।

पूर्वसभामुख ढुंगाना को निधनप्रति केन्द्रीय कार्यसमिति बैठकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

स्वर्गीय ढुंगाना प्रति सम्मान प्रकट गर्दै कांग्रेसले आज र भोलि दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने भएको छ । मङ्सिर ४ गते मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय पनि गरिएको छ ।

सम्बन्धित समाचार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०८१ मंसिर ३, १५: ०६

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०८१ मंसिर ३, १५: ०६

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०८१ मंसिर ३, १५: ०६

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...