मिक्वाखोला गाउँपालिकामा बैंक नहुँदा वासिन्दालाई सास्ती – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

मिक्वाखोला गाउँपालिकामा बैंक नहुँदा वासिन्दालाई सास्ती

फुङलिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा समयमै सेञ्चुरी बैंकले शाखा स्थापना नगरेपछि स्थानीयवासीले आर्थिक कारोवार गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता खेप्दै आएका छन् ।

सङ्घीय संरचनामा गएसँगै वि.सं २०७४ को असार मसान्तसम्ममा सबै पालिका केन्द्रमा आर्थिक कारोवार गर्न बैंकले आफ्नो शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेको थियो ।

त्यसैअनुसार तोकिएको बैंकले स्थानीय तहमा शाखा स्थापना गरेर आर्थिक कारोवार गर्दै आएको छ । सेञ्चुरी बैंकलाई मिक्वाखोला गाउँपालिकामा शाखा स्थापना गरेर आर्थिक कारोवार गर्न चार वर्ष अगाडि नै परिपत्र गरिएको थियो तर अहिलेसम्म बैंकले शाखा स्थापना गरेको छैन ।

गाउँपालिकामा बैंक नहुँदा गाउँपालिकाको आर्थिक कारोवार गर्न ताप्लेजुङ सदरमुकाम जान बाध्य हुँदै आएको गाउँपालिकाका लेखा अधिकत प्रशान्त भट्टराईले बताए । “गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोवार गर्न कठिनाइ भएको छ । हामै्र तलब निकासा गर्न सदरमुकाम चेक बोकेर पुग्नुपर्दछ ।”

सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत समस्या परेको छ । स्थानीय तहको निर्वाचन भई केन्द्रको सबै अधिकार गाउँ आउँदासमेत कारोवारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता, पेन्सनलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने निर्देशन दिएको छ तर मिक्वाखोलामा बैंक नहुँदा बैंकमार्फत सामाजिक सुरक्षा भत्तालगायतका आर्थिक कारोवारमा समस्या हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताउदै, “हामीले धेरै पटक सेञ्चुरी बैंकलाई गाउँपालिकामा शाखा विस्तार गर्न अनुरोध गर्यौँ तर विभिन्न बहाना गर्दै शाखा स्थापना गरेको छैन ।”

बैंक शाखा स्थापना नगरेपछि एउटा योजनाका लागि सम्झौता गर्न गाउँदेखि पालिकाको कार्यालयसम्म धाउनुपर्ने हुन्छ । गाउँपालिकाको कार्यालयमा योजना सम्झौता गरेर खाता खोल्न सदरमुकाम जानुपर्ने हुन्छ ।

सदमुकाममा खाता खोलेर योजनाको पेस्की रकमको चेक लिन फेरि फर्केर गाउँपालिकाको कार्यालयमा पुग्नुपर्दछ । सदरमुकामा योजनाको पेस्की चेक साटेर गाउँ फर्कनुपर्ने बाध्यता नागरिकले खेप्दै आएको प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए । यसरी योजना सम्पन्न हुँदा कम्तीमा पाँच पटक सदरमुकाम पुग्नुपर्दछ ।

मिक्वाखोला गाउँपालिकादेखि सदरमुकाम पुग्न रु ५०० गाडी भाडा लाग्छ । पाँच पटक सदरमुकाम आउनु र गाउँपालिका र्फकन गरी पाँच हजार गाडी भाडामात्र तिर्नुपर्दछ । बैंक नभएकाले आर्थिक कारोवार गर्न निकै कठिनाइ भएको मिक्वाखोला–२ का वडाध्यक्ष सुरेन्द्र थापाले बताए ।


बैंकका लागि आवश्यक उपकरण गाउँपालिका केन्द्रमा पुर्याइसकेको तर इन्टरनेट लाइन जोड्न मात्र बाँकी रहेको सेञ्चुरी बैंक प्रमुख कार्यालय काठमाडौँका सामान्य सेवा विभाग प्रमुख राजेन्द्र अधिकारीले बताए । “नेपाल राष्ट्र बैंकले परिपत्र गरेको निकै अगाडि नै हो तर विभिन्न कारणले समयमै आफ्नो शाखा स्थापना गर्न नसक्नु हाम्रो कमजोरी हो ।”

बैंक स्थापना गर्नको लागि गाउँपालिकामा घर भाडामा लिएर सुरक्षाकर्मीसमेत राखिसकेको सामान्य सेवा विभाग प्रमुख अधिकारीले बताए । बंैक सञ्चालन गर्नका लागि भरपर्दो इन्टरनेट जोडिएपछि आर्थिक कारोवार सञ्चालन हुने बताए ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७७ फाल्गुन १०, १२: ५७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
  • २०७७ फाल्गुन १०, १२: ५७

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७७ फाल्गुन १०, १२: ५७

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...