अष्ट्रेलियाको अरुभन्दा फरक शहरः पर्थ- सुस्मीता दवाडी – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

अष्ट्रेलियाको अरुभन्दा फरक शहरः पर्थ- सुस्मीता दवाडी

यात्रा स्मरण
पर्थ–अष्ट्रेलियाको पश्चिमी भूभागमा पर्ने पर्थ शहर घुम्ने मौका मिल्यो गत महिना । १५ दिनको पर्थ बसाईमा थुप्रै नयाँ कुरा र नयाँ मानिस भेट्ने अवसर मिल्यो । हुन त अष्ट्रेलिया भ्रमण यो पहिलो पटक थिएन । तर पर्थ शहर भने पक्कै पनि पहिलो पटक नै पुगेको थिएँ । व्यक्तिगत भ्रमण भएता पनि पर्थको व्यवसायिकताबारे परिचित हुने मौका मिल्यो ।
अष्ट्रेलियाको चौथो ठूलो शहर पर्थको जम्मा क्षेत्रफल ६,४१८ स्क्वायर किलोमिटर छ भने त्यहाँको जनसंख्या २.१४ मिलियन मात्र छ । अष्टे«लियाको अन्य शहर जस्तै विकसित शहर बन्दै गएको छ – पर्थ । विगत पाँच वर्षमै पर्थमा महँगाइ ह्वात्तै बढेको छ । त्यहाँको घर भाडा पाँच वर्षको अवधिमा ८०% ले वृद्धि भएको बताउँछन् त्यहाँका स्थानीय ।  त्यस्तै, पर्थ शहरलाई अहिले अमेरिकाको न्यूयोर्क र बेलायतको लण्डन जत्तिकै महँगो शहरको रुपमा मानिन थालिएको छ । जसले गर्दा निम्न वर्ग र ‘वर्किङ क्लास’ का जनसंख्या मर्कामा पर्न थालेका छन् । धनी र गरिब बीचको ‘ग्याप’ पनि बढ्ने क्रममा रहेको त्यहाँका बासिन्दा बताउँछन् ।  संसारभरका युवा वर्गको आकर्षणको केन्द्र अष्ट्रेलियाको पर्थ सिटी हाल अफ्रिका, युरोप, भारत, मलेसिया, इन्डोनेसिया, चाइना, नेपाल लगायतका देशका नागरिकहरुको लागि प्रख्यात गन्तव्य बनेको छ । समुद्री किनारामा विकास गरिएको पर्थ शहरले विकासको गति लिँदै गरेको अवस्था छ ।
शान्त शहर
अष्ट्रेलियाका अन्य शहरहरु जस्तै सिड्नी, मेलवर्न, ब्रिजेवेन भन्दा शान्त, सफा र निकै मिलनसार र मिजासिला मानिसहरुको बसोवास रहेको पर्थ होहल्ला, तड्क भड्क भन्दा टाढा बस्न रुचाएको जस्तो देखिन्छ । विस्तारै विकासतिर लम्किरहेको पर्थलाई ‘हाईफाई’ र ‘शो अफ’ गर्ने कुनै सौख नरहेको देखिन्छ । बिहान छिटै उठ्ने पर्थ साँझ पनि छिटै सुत्ने गर्दछ । साँझ पाँच बज्दा बन्द हुने बजारका केही भागहरु मात्र अबेरसम्म खुल्छन् । एशियालाई समुद्री सिमाना बनाएको पर्थ कताकता एसियन कल्चरतिर ढल्किएको जस्तो भान हुन्छ । छिटो उठ्ने, छिटो सुत्ने परिवारसँग समय बिताउन खोज्ने वर्तमानसँगसँगै भविष्यको पनि सोँच्ने जस्ता विचारहरुले कताकता एसियामै छु भन्ने बेला बेलामा अनुभूति हुने रहेछ ।
रमणिय स्थलहरु
पर्थको सबैभन्दा प्यारो भनेको ‘सनसेट’ रहेछ । पर्थ पुगेर त्यहाँको सनसेट नहेर्ने हो भने पर्थ पुग्नुको औचित्य नहुने त्यहाँका बासिन्दाको भनाइ रहेछ । थुप्रै ‘बिच’ हरुको शहर पर्थमा समुद्रको सनसेट देख्ने अवसर भने मैले नपाएँ पनि त्यहाँको प्रसिद्ध स्वान रिभरको सनसेट हेर्ने मौका भने मैले पाएँ ।
स्वान रिभर
७२ किमी लम्बाइ तथा ४ किमी चौडाइ भएको स्वान रिभरमा कालो हाँस पनि देख्न सकिन्छ । पर्थको प्राकृतिक रुप झल्काउने स्वान रिभरले वरपरका वस्तीहरुमा अनौठा सुन्दरता प्रदान गरेको छ । गर्मीमा मानिसहरु बोटिङ्ग गर्ने उक्त रिभरको किनारामा बनाइएको पार्क स्वच्छ हावा खाने, खेल्ने, घुम्ने, व्यायाम गर्ने स्थान बनेको छ ।

किंग्स पार्क
४.०६ स्व. किमि क्षेत्रफल रहेको किंग्स् पार्क पर्थको पश्चिमी भागमा पर्दछ । विश्वमा भएका विभिन्न युद्ध र द्धन्द्धमा मारिएका अष्ट्रेलियाली सैनिकहरुको नामहरु किंग्स् पार्कमा राखिएको छ भने पार्कभित्र पस्दा पस्दैमा सँधै बलिरहने ‘इटर्नल फेल्म’ देख्न सकिन्छ, जसको ठिक पछाडी पट्टी ‘बार मेमोरियल’ स्तम्भ छ । किंग्स् पार्कबाट पर्थको पश्चिमित भागको दृश्य निकै मनमोहक देखिन्छ । उक्त पार्कलाई बोटानिकल गार्डेन पनि भनिन्छ किनभने ३२४ भन्दा बढी स्थानीय विरुवाहरु, २१५ खालका फंगाई ८० भन्दा बढी प्रकारका चराचुरुङ्गी लगायतका थुप्रै लोपोन्मुख बोटविरुवाहरु त्यहाँ देख्न पाइन्छ । त्यस्तै सिसाको पुल किंग्स् पार्कको अर्को आकर्षण हो । बिहान साँझ मानिसहरुको व्यायाम गर्ने स्थलको रुपमा पनि किंग्स् पार्क प्रख्यात छ ।
फ्रिम्यान्टल जेल
युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको पर्थको फ्रिम्यान्टल जेल पर्थको अर्को प्रसिद्ध स्थल हो । ६ हेक्टर जमिनमा फैलिएको उक्त जेलमा ८० को दशकमा बेलायतबाट कैदीहरु ल्याएर राखिन्थ्यो । पछि सन् १८८६ तिर कोलोनियल सरकारले स्थानीय कैदीहरु राख्न प्रयोग गरेको थियो । उक्त जेलमा जर्मनी, न्यूजील्यान्ड, हङकङ र बेलायतबाट ठूलो अपराधमा दोषी पाइएकाहरुलाई ल्याइने गरिन्थ्यो । जेलको कडा नियम र जेलभित्रै संचालन हुने कडा मजदूरीले गर्दा पनि त्यस्ता अपराधीहरुलाई त्यहाँ ल्याइने गरेको बताइन्छ । सन् १९९१ मा बन्द भएको फ्रिम्यान्टल जेल यूनेस्कोको विश्व सम्पदा सूचीमा परेपछि संरक्षण गरि पर्यटकीय स्थलको रुपमा विकास गरिएको छ । जेलेको संचालनमा कुनै परिवर्तन नगरी राखिएको जेलभित्र टिकट काटेर विभिन्न किसिमका टुर लिन पाइन्छ । खिया लागेका झ्यालहरु, कैदी सुत्ने कोठा, इनार, बाथरुम लगायतका स्थानहरु हेर्न पाइन्छ भने कतिपय कैदीहरुको कथा समेत टुर गाइड मार्फत सुन्न पाइन्छ ।
ब्लु बोट हाउस
स्वान रिभरको बीचमा रहेको ब्लुबोट हाउस अगाडी रम्ने स्थानीय तथा विदेशी पर्यटक पनि थुप्रै भेटिन्छन् । स्वान रिभरको बीचमा रहेको सानो घरलाई नै ब्लु बोट हाउस भनिन्छ । हामीले फेसबुकमा ‘ट्राभलिङ्ग टु पर्थ’ भन्दा फेसबुकले देखाउने फोटो पनि यही ब्लु बोट हाउस नै हो ।
एलिजावेथ क्वे
हाम्रो रत्नपार्क काठमाडौंमा जति प्रख्यात छ पर्थमा एलिजावेथ क्वे त्यति नै प्रसिद्ध छ । अझ कतिपय नेपालीहरुले त यसलाई रत्नपार्क नै भनेर नामाकरण समेत गरिदिएका रहेछन् । शहर नजिकको एलिजावेथ क्वेको बस स्टपमा हाम्रा बसहरु बसपार्क नपसी अन्त नगए जस्तो सो बस स्टप नगई कतै नजाने रहेनछन् । एलिजावेथ क्वेलाई पर्थको बिजनेस ‘हब’ भनेर पनि चिनिदो रहेछ । अग्ला भवन, बजार, पसलहरु दिनमा जति रमणिय देखिन्छ त्इहाँको चमक राती झनै मनमोहक देखिने रहेछ ।
हिलारी बोट हार्बर
समुद्रको तटमा अवस्थित पर्थ शहरमा बिच र हार्वबर (पोर्ट) हरु पनि त्यतिकै मनमोहक छन् । हिलारी बिच र बोट हार्बर आकर्षणको अर्को केन्द्रबिन्दु हो । त्यहाँ अष्ट्रेलियाको सबैभन्दा ठूला ब्त्रगबचष्गm पनि छ । जहाँ झण्डै ४०० प्रजातिहरु देख्न पाइन्छ । त्यस्तै, हिलारी हार्बर वरपरका पसल र पार्कका कारण पनि त्यस स्थानमा भीड बाक्लै देख्न सकिन्छ । बार्बिक्यू गर्ने, पिकनिक गर्ने ठाउँ, केटाकेटीहरुलाई बालुवामा खेल्ने छुट्टै ठाउँ भएकोले छुट्टीको दिन त्यहाँ झनै भिड हुने रहेछ ।
त्यसैगरी रोटनेष्ट आइल्याण्ड, कोटेस्लोबिच, पेन्गुइन आइल्याण्ड, लगायतका बिचहरु पर्थका प्रख्यात आइल्याण्डहरु हुन् । तर समय अभावका कारण म ती रमणीय स्थानहरुमा भने पुग्न सकिन । तर, अष्ट्रेलियाको राष्ट्रिय जनावर कंगारु भने देख्ने मौका पाएँ हिलारी बोट हार्बर पुगेर फर्किने क्रममा जोन्डलुपमा कंगारु पार्कमा केही समय बिताएको थिए । मान्छेले जस्तै आफ्नो बच्चालाई खोपिल्टोमा बोकेर हिड्ने कंगारुलाई प्रत्यक्ष पहिलो पटक देख्न पाउँदा म निकै खुसी थिएँ । यद्यपी घाम ढल्किसकेको हुनालेमैले धेरै समय त्यहाँ बिताउन पाइन ।
युनिभसिटी अफ वेष्टर्न अष्ट्रेलिया (यूडब्लूए)
विश्वकै टप मध्येको एक युनिभसिटी अफ वेष्टर्न अष्ट्रेलियामा छाज्ञवृत्तिमा पढ्न मौका पाएर केही महिना अघि त्यहाँ पुग्नुभएका मेरा श्रीमान्ले मलाई म पर्थ पुगेको चार दिनसम्म त विश्वविद्यालय मात्र घुमाउनु भयो । सन् १९११ मा स्थापना गरिएको सो विश्वविद्यालयमा तीन हजार बढी कर्मचारीहरु कार्यरत छन् भने संसारका विभिन्न स्थानबाट त्यहाँ पढ्न पुगेका विद्यार्थीको संख्या झण्डै २५००० छ । विशाल क्षेत्रफल, २५ भन्दा बढी संकाय पढाई हुने युडब्लुएमा रिसर्च स्टुडेन्टको रुपमा अध्ययन गरि राखेका थुप्रै विद्यार्थीहरु रहेछन् । शान्त वातावरण, अध्ययन गर्ने माहोल देख्दा विद्यालय भन्दा पनि विद्र्धान्हरुको छलफल स्थान जस्तो महसुस हुने यूडब्लुएको भ्रमण गर्न पाउँदा मन निकै हर्षित थियो ।

निकै राम्रो र व्यवस्थित शहरको रुपमा विकसित हुँदै गरेको पर्थ शहरमा छोटो समय पनि स्मरणीय क्षणहरु बने । निकै ठाउँ घुम्न बाँकी रहेता पनि आगामी भ्रमणमा पुग्ने आशसँगै मेरो पर्थको १५ दिनको बसाईलाई विदा गर्दै आफ्नो मातृभूमि नेपाल फर्किएँ ।

सम्बन्धित समाचार

लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
  • २०७५ जेष्ठ २८, ०५: ४३

काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत स्थापना भएको लायन्स अफ नेपाल जर्नालिष्ट क्लबले स्थापना कालदेखि विभिन्न...

तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
  • २०७५ जेष्ठ २८, ०५: ४३

काठमाडौं । असार महिना धान रोपेर किसानहरु रमाउने महिना, किनकी मानो रोपेर मुरी फलाउने कृषि प्रधान देश नेपाल यतिबेला, पहाडमा...

कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
  • २०७५ जेष्ठ २८, ०५: ४३

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टीको विधानका बारेमा छलफल सुरु गरेका छौं भन्दै १५औं महाधिवेशनले छोपी सकेको...