
काठमाडौं । प्रजातन्त्र स्थापना तथा विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । राजनीति त्याग र साहस प्रायबनेका निष्ठाको केन्द्र गणेशमान उच्च नेता बन्न सफल भएका थिए ।
ऐतिहासिक जनआन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह गर्दापनि सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको नमूना प्रस्तुत गरेका थिए । विसं १९७२ कात्तिक २४ गते क्षेत्रपाटीमा जन्मेका गणेशमानको २०५४ असोज २ गते निधन भएको थियो ।
विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानका सक्रिय नेता समेत थिए। राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हालेको थियो । २००७ अघि नै भद्रगोल जेल फोडेर भाग्न सफल भएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय थिए ।
बिपी कोइरालासँग राजनीतिक सम्बन्ध, विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व, प्रजातन्त्र स्थापनाका लागि २००७ को क्रान्तिका एक अगुवाका रूपमा गणेशमानले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए । सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा परिचित थिए ।
विसं २०१५ मा पहिलो निर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले विसं २०१७ मा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए । विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्न सफल भए ।
राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहे । पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाए । गणेशमानले विसं २०३६ को विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा नेतृत्वदायी भूमिका निर्वाह गरे ।
बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले विसं २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गरे । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान विसं २०४६ मा रह्यो ।
जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बन्न पुगे। विसं २०१७ पुस १ गतेको ‘कू’पछि विसं २०२५ सम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो ।
२०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा जानुभएका नेताहरुलाई २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनियो । गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाले विभिन्न कार्यक्रम आयोजना देशैभर मनाउने नेपाली काँग्रेसले जनाएको छ ।

लौहपुरुषको उपमा र हीराकाजी
गणेशमान सिंहलाई सर्वोच्च नेता तथा लौहपुरुषको उपनामले पुकारिन्छ । त्यतिमात्र होइन, बिपी कोइरालाको पारिवारिक नाम सान्दाजु भएजस्तै सिंहको पारिवारिक नाम हीराकाजी थियो । जेठा दाजु मातृकाप्रसाद कोइरालालाई ठुल्दाजु भनिएकाले भाइ बिपीलाई सान्दाजु भनिएको हो ।
त्यसैगरी जेठा बाजे रत्नमानसिंह बडाकाजी भएकाले जेठा नातिलाई बडाकाजी परिवारको अत्यन्त महत्वपूर्ण निधि मानेर हीरा भन्ने गरिएको र बडाकाजी परिवारमा जन्मेकाले काजी भन्ने गर्दा गणेशमानलाई हीराकाजी भन्ने गरिन्थ्यो । गणेशमान वि.सं. १९७२ कात्तिक २४ गते भाइटीकाको भोलिपल्ट जन्मिएका थिए । गणेशमानमा अडान लिने खुबी थियो ।
उक्त खुबीले गर्दा भारतको वनारसमा जन्मेको नेपाली कांग्रेस पार्टीले २००७ सालमा नेपालबाट एकतन्त्रीय राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सफल भयो । २०१५ सालको प्रथम आमनिर्वाचनमा दुई तिहाई मतसमेत ल्याउन सफल भयो । २०४८ सालको दोस्रो आमनिवार्चनमा पनि नेपाली कांग्रेसले नै बहुमत ल्याएको थियो ।
गणेशमान ८ वर्षको हुनेबेला उनका पिता ज्ञानमान सिंहको २८ वर्षको उमेरमा मृत्यु भएको थियो । काठमाडौंको रानीपोखरीस्थित दरवार स्कुल राणाहरुका छोराछोरीलाई मात्र पढ्न भनेर बनाइएको भए पनि गणेशमान काजी रत्नमानको नाति सुब्बा ज्ञानमानको छोरा भएका कारण पढ्ने मौका पाएका थिए ।
तर ६ कक्षामा पढ्दै गरेको समयमा आफ्नै कक्षामा पढ्ने राणाको छोरालाई तँतँ भन्दै झगडा गरेका कारण उनलाई निष्कासित गरियोको थियो । त्यसपछि राणाप्रति गणेशमान नकारात्मक बन्न पुुगे। पिताको मृत्युपछि टुहुरो भएका गणेशमान स्कुलबाट पनि निष्कासित भएकाले बरालिए ।
त्यसपछि बाजे काजी रत्नमानले भनसुन गरेर कमान्डर–इन–चिफ रुद्रशमशेर राणाको दरवारमा रहेको मुलुकी अड्डामा बहिदारको नोकरी लगाइदिए । बरालिएर हिँड्न नपाइने, काम पनि सिकिने तथा राणाहरुसँग सम्बन्ध राम्रो हुने सोचाइ रत्नमानको थियो । एकदिन गणेशमान घन्टी र बत्ती दुवै नभएको साइकल चढेर अफिस गए । यो देखेपछि अफिसको ढोकामा बसेका सुरक्षाकर्मीले रोके ।

यस क्रममा दुवैबीच भनाभनमात्र हैन, कुटाकुटै भयो । यो कुराको उजुरी दरवारमा पुग्यो र महाराजा पद्मशमशेरले गणेशमानको साइकल उनैलाई फिर्ता गरिदिने र सुरक्षाकर्मीलाई हातपात गरेवापत चार पटक कान समातेर उठबस गर्ने सजाय सुनाए । यही विषयलाई निहुँ बनाएर गणेशमानले नोकरी छोडिदिए । यो घटनापछि गणेशमान झनै राणाप्रति नकारात्मक बन्न थाले ।
यसपछि राणा विरोधी काममा संलग्न भए । राणाहरुको एकतन्त्रीय शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने चाहनाले १९९३ सालको जेठ २० गते अत्यन्त गोप्यरूपले काठमाडौंको ओमबहाल टोलका धर्मभक्त माथेमाको घरमा प्रजापरिषद् स्थापना गरिएको थियो । यसका संस्थापक सदस्यमा धर्मभक्त माथेमा, टङ्कप्रसाद आचार्य, दशरथ चन्द, जीवराज शर्मा र रामहरि शर्मा थिए । १९९७ सालको भाद्र १८ गतेदेखि यस सङ्गठनका अध्यक्ष टङ्कप्रसाद आचार्य भएका थिए ।

नेपाल प्रजापरिषद्को सदस्य भएको १ महिनाभित्रै गणेशमानको मङ्गलादेवीसँग विवाह भयो । त्यसको ३–४ महिनापछि १९९७ सालमा राणा विरोधी गतिविधिमा सक्रिय भएका कारण उनलाई सर्वश्वसहित आजीवन कारावासको सजाय तोकियो । जेल परेका गणेशमानले ४ वर्ष त्यहीँ बिताए । अनि वि.सं. २००१ सालको असार ७ गते १२ फिट अग्लो भद्रगोलको पर्खाल नाघेर भाग्न सफल भए ।
यस कार्यबाट गणेशमानले ‘वीर’ को प्रख्याति पाएका थिए । गणेशमान सिंहसँगै जेल सजाय पाएका प्रजापरिषद्का सदस्य गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमालाई गोली हानेर र रुखमा झुण्ड्याएर मृत्युदण्डको सजाय दिइयो तर टङ्कप्रसाद आचार्य र रामहरि शर्मा भने ब्राह्मण भएकाले र गणेशमानचाहिँ काजी रत्नमानका सन्तान भएकाले मृत्युदण्डबाट जोगिए ।

नेपालमा प्रजातन्त्र स्थापना गर्नुपर्छ भन्ने अभिप्रायले भारतको वनारसबाट बिपीको सत्प्रयासले नेपाली कांग्रेस पार्टीको जन्म भयो । नेपाल प्रजापरिष्दका सदस्य पनि यही दलमा आबद्ध भई क्रान्ति गर्न थाले । यसरी क्रान्ति गर्ने सिलसिलामा तराईका विभिन्न भागमा मोर्चाबन्दीमा लागेका गणेशमानलाई २००६–२००७ तिर तराईकै ठोरीको जङ्गलबाट पक्रेर ल्याई राणा सरकारले केरकार गर्न लाग्दा न्यायाधीश हरिशमशेर राणालाई महाराजा भनेर सम्बोधन गर्नुको सट्टा तँ भन्ने शब्द प्रयोग गरेकाले १ हजार पटक वेतको लठ्ठीले हिर्काउने सजाय दिए ।
६ सय पटकसम्म हिर्काउँदा गणेशमानले सहे । त्यसपछि भने मुर्छा परे । त्यसैबेलादेखि हो– गणेशमान सिंहलाई लौहपुरुष उपनामले सम्बोधन गर्न थालिएको हो ।
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा पूर्वसभापति शेर वहादुर देउवाले दायर मुद्धामा सर्वोच्च अदालतले पुनरवलोकन गर्ने निर्णय गरेसंगै कांग्रेसको राजनीति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नदीजन्य पदार्थ गिटी, बालुवा र ढुंगा उत्खनन तथा क्रसर उद्योग...