आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिका अमर साधक तथा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध साहित्यिक, सांस्कृतिक तथा रचनात्मक कार्यक्रम आयोजना गरी मनाइँदैछ।

नेपाली साहित्यका प्रथम कविका रूपमा सम्मानित भानुभक्त आचार्यले संस्कृत भाषामा रचित भगवान् रामको जीवनमा आधारित महाकाव्य **‘रामायण’**लाई सरल र सहज नेपाली भाषामा भावानुवाद गरी नेपाली समाजलाई अमूल्य साहित्यिक सम्पदा प्रदान गरेका थिए। उहाँद्वारा अनुवाद गरिएको रामायण आज पनि नेपाली समाजमा उत्तिकै लोकप्रिय छ। धार्मिक तथा सांस्कृतिक अवसरमा घरघरमा सस्वर पाठ गर्ने परम्परा अझै जीवित रहेको छ।

वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मनुभएका भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा ऐतिहासिक योगदान पुर्‍याउनुभएको मानिन्छ। उहाँका कृतिले नेपाली भाषालाई साहित्यिक अभिव्यक्तिको सशक्त माध्यमका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।

साहित्यकारहरूका अनुसार, नेपालको भौगोलिक एकीकरण पृथ्वीनारायण शाहले गरे पनि भाषा, साहित्य र संस्कृतिका माध्यमबाट नेपाली समाजलाई भावनात्मक रूपमा एकताबद्ध गर्ने कार्य आदिकवि भानुभक्तले गर्नुभएको हो। उहाँका सिर्जनाले नेपाली समाजमा एकता, नैतिकता, संस्कार र सांस्कृतिक चेतनाको विकासमा उल्लेखनीय योगदान दिएका छन्।

भानुभक्तलाई नेपाली भाषामा रामायण लेख्न प्रेरणा दिने ‘घाँसी’ प्रसंग नेपाली साहित्यमा विशेष चर्चित छ। सामान्य घाँसीले “जन्म लिएपछि समाजका लागि सम्झनलायक काम गर्नुपर्छ” भन्ने प्रेरणादायी सन्देश दिएपछि उहाँले समाजका लागि अमर साहित्य सिर्जना गर्ने संकल्प गरेको जनविश्वास रहेको छ।

रामायणका अतिरिक्त भानुभक्तले ‘बधूशिक्षा’, ‘प्रश्नोत्तर’ लगायतका महत्वपूर्ण कृतिहरू पनि रचना गर्नुभएको छ। ती कृतिहरूले तत्कालीन नेपाली समाज, संस्कृति र जीवनशैलीलाई जीवन्त रूपमा चित्रण गरेका छन्।

आदिकवि भानुभक्त आचार्यको अतुलनीय योगदानको सम्मानस्वरूप प्रत्येक वर्ष असार २९ गते भानुजयन्ती मनाइन्छ। यस अवसरमा साहित्यिक गोष्ठी, कविता वाचन, सांस्कृतिक कार्यक्रम तथा विभिन्न सिर्जनात्मक गतिविधिमार्फत उहाँको योगदानको स्मरण गरिन्छ।

सम्बन्धित समाचार

पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
  • २०८३ असार २९, ०८: १५

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ असार २९, ०८: १५

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०८३ असार २९, ०८: १५

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...