बरहथवाको अवस्था सामान्यः मृतकका परिवारले शव बुझे – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

बरहथवाको अवस्था सामान्यः मृतकका परिवारले शव बुझे

सर्लाही । अस्पतालको बिवादका विषयमा प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकर साहको परिवारले शव बुझेका छन्। पोष्टमार्टपछि शव सोमबार परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । परिवारले शव बरहथवा नगर परिक्रममापछि बरहथवा नगरपालिकास्थित बागमती नदी किनार खर्साल घाटमा अन्तिम संस्कार गर्ने तयारी रहेको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको अध्यक्षतामा बसेको छलफलबाट ११ बुँदे सहमती भएपछि गएराती ९ बजेको समयमा प्रहरीले मृतकको शव पोष्टमाटमका लागि प्रदेशिक अस्पताल मलंगवा पुर्‍याएको थियो । शव परिक्षणपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलय मलंगवा प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
निरन्तरको प्रयासपछि जिल्ला प्रशासन कार्यलय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी धमलाको नेतृत्वमा पीडित पक्ष, मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिङ, अर्थ मन्त्री संजय यादव, प्रदेश सभा सदस्य कौशलकिशोर राय, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, मधेश प्रदेशका प्रहरी प्रमुख (डीआइजी) जनक भट्टराई, मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुख (डीआइजी) दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धान मधेश प्रदेशका प्रमुख (अनुसन्धान निर्देशक) सन्जयकुमार यादव साँझ अबेरसम्म छलफलमा जुटेका थिए ।
छलफलमा गृह मन्त्रालयद्धारा गठित छानविन समितिलाई सबै पक्षले आ–आफ्नो तर्फबाट घटना सम्बन्धमा स्वतन्त्र निष्पक्ष छानविन गर्न सहयोग गर्ने, पीडितको आश्रित परिवारको एक जना सदस्यलाई बरहथवा नगरपालिकामा रोजगारी उपलब्ध गराउने, प्राथमिक स्वास्थ्य संस्थाको स्तरउन्नती पश्चात कानुनी प्रकृया पुरा गरी नगर अस्पताल मधेश प्रदेशलाई हस्तान्तरण गर्ने । अस्पताल संचालन सम्बन्धमा बरहथवा नगर प्रमुख र मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सहकार्य एवं छलफलबाट टुंग्याउने सहमति भएको थियो ।
यस्तै अस्पताल परिसर र स्थानीयले चाहेको स्थानमा मृतक जयशंकर साहको शालिक स्थापना गर्ने, त्यसैगरी, उद्योग वाणिज्य संघ बरहथवासहित पाँच दलीय गठवन्धन ९कांग्रेस, जसपा, लोसपा, जनमत र बहुजन एकता पार्टी० ले सबै विरोधका कार्यक्रम स्थगित गर्ने र विगतलाई बिर्सी आगामी दिनमा नगरपालिकालाई शान्तिपूर्वक संचालनका लागि सबै पक्षले आ–आफ्नो तह र तप्काबाट सहयोग गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सरकारले गएको शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिको विवादमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको मृत्युको सम्वन्धमा छानविन गर्न गृहमन्त्रालयका सहसचिव तथा सर्लाहीका पूर्व प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ भने मृतकको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय समेत गरिसकेको छ ।

सहमतिसँगै बरहथवा शान्त

पीडित पक्षसँग सहमति भएसँगै बरहथवा क्षेत्र आइतवार साँझबाट शान्त बन्दै गएको छ । सहमतिसँगै पीडित पक्षले प्रहरीलाई शव उठाउन दिएका थिए । तीन दिनदेखीको तनावका कारण अस्तब्यस्त बनेको बरहथवा बजार क्षेत्रमा बिहानै देखी चहलपहल सुरु भएको स्थानीयको भनाइ छ । उद्योग वाणिज्य संघ बरहथवा लगायत पाँच दलले समेत आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता गरेका छन् । आन्दोलन उग्र बनेपछि आइतवार दिनभरी बरहथवा बजार क्षेत्र रणभुमीमा परिण भएको थियो ।
सोही क्रममा प्रदर्शनकारीले इलाका प्रहरी कार्यलय परिसरमा रहेको फुसको छानो भएको प्रतिक्षालयमा आगजनी गर्नुका साथै कार्यलयमा ढुंगामुढा गरेका थिए । घटनामा दर्जनौ अश्रुग्यास तथा हवाई फाएर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २३, ११: २१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २३, ११: २१

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २३, ११: २१

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...