
कैलाली । नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीले पेट्रोलियम व्यवसायीसँग विभिन्न बहानामा एक लाख रुपैयाँसम्म नियमित अवैध असुली गरेको आरोप लागेको छ । उपनिर्देशक मोहनकुमार साह करिब एक वर्षअघि धनगढी डिपो प्रमुखमा नियुक्त भएदेखि असुली तीव्र भएकाले दुःख पाउन थालेको व्यवसायीले गुनासो गरेका छन् । उनले व्यवसायीको सूची नै बनाएर रकम असुल्ने गरेको र मागेजति नपाए पम्प व्यवसायीलाई पनि माग गरेजति तेल नदिने गरेको व्यवसायीको भनाइ छ ।
साहले बजार मागअनुसार तेल दिन आनाकानी गरेकै कारण धनगढीमा पटक–पटक इन्धनको अभाव भएपछि जिल्ला प्रशासन कार्यालय, कैलालीले गत ६ मंसिरमा उनलाई लिखित स्पष्टीकरणत सोधेको जिप्रका कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । ‘बारम्बार इन्धन अभाव भएपछि हामीले लिखित स्पष्टीकरण सोधेका थियौँ । त्यसपछि अहिले भने आपूर्तिमा समस्या छैन,’ उनले भने ।
छठयता सुदूरपश्चिममा इन्धन सहज रूपमा वितरण भइरहे पनि साहको घुस असुली रोकिएको छैन । डिपोबाट दैनिक रूपमा पेट्रोलपम्पसम्म इन्धन ओसार्ने ‘निजी ट्यांकर’धनीबाट उनले मासिक एक लाख रुपैयाँसम्म असुलेर दुःख दिइरहेको एक व्यवसायीले गुनासो गरे । ‘कुन पम्पले कति तेल बिक्री गर्छन् भन्ने कुरा निगमलाई थाहा भइहाल्छ ।
तुलनात्मक रूपमा अलि धेरै तेलको कारोबार गर्ने पम्पले माग गरेअनुसारको तेल लैजान डिपो प्रमुख साहलाई एक लाख रुपैयाँसम्म घुस दिनुपर्छ,’ एक व्यवसायीले भने, ‘यति ठूलो रकम महिनैपिच्छे बुझाउनुपर्दा हामी पीडित छौँ ।’ धनगढी डिपोबाट सुदूरपश्चिमका एक सय चारवटा पेट्रोलपम्पमा इन्धन वितरण हुँदै आएको छ ।
बलियो नियामक निकाय नभएकाले पेट्रोलपम्पको अनुगमन र सुपरिवेक्षणसमेत निगमकै डिपोहरूले गर्दै आएका छन् । समय–समयमा धनगढी क्षेत्रका पम्पको अनुगमनमा साह आफैँ निस्कने र साथमा करार सेवामा कार्यरत डिलबहादुर ऐरीलाई लिएर जाने गरेका छन् । दुवैजना अनुगमनका लागि पम्पमा झुल्किएपछि ‘चिया खर्च’ पाँच हजारसम्म प्रत्येकपटक दिने गरेको एक पम्प व्यवसायीले बताए । ‘ऐरी सरले चिया खर्चबापतको रकम बुझ्ने र अरू चाँजोपाँजो मिलाउनुहुन्छ,’ ती व्यवसायीले भने ।
१५ वर्षभन्दा बढी समयदेखि कहिले करार र कहिले ज्यालादरी कर्मचारीका रूपमा धनगढी डिपोमा ऐरी कार्यरत छन् । करार र ज्यालादारीका कर्मचारीलाई सामान्य गुजारा चलाउन सक्ने सेवा–सुविधा निगमले दिने भए पनि ऐरीले निगमको सेवा प्रवेशपछि कञ्चनपुरमा घर र जग्गा जोडिसकेका छन् । तर, ऐरीले कार्यालय प्रमुख साहसँग पम्प अनुगमनमा जाने गरेको, तर कसैसँग अतिरिक्त रकम नलिएको दाबी गरे । ऐरी यसअघिको कार्यालय प्रमुख चित्तरञ्जन दासका पालामा पनि हर्ताकर्ता थिए ।
धनगढी डिपो प्रमुख साहले आइओसीबाट तेल लिएर आउने ट्यांकरलाई समयमै डिपोभित्र प्रवेश गरी तेल खन्याउनसमेत १०–१५ हजार रुपैयाँ घुस लिने गरेको ट्यांकरधनीको गुनासो छ । पेट्रोलपम्पसम्म इन्धन ओसार्ने निजी ट्यांकर राख्नसमेत घुस खुवाउनुपर्ने बाध्यता रहेको व्यवसायी बताउँछन् । ‘धनगढी डिपोमा निजी ट्यांकर राख्न निवेदन दियो भने कार्यालय प्रमुख साहलाई केन्द्रीय कार्यालयमा सिफारिस गरिदिएबापत ८० हजार रुपैयाँसम्म दिनुपर्छ,’ एक व्यवसायीले भने, ‘नत्र कार्यालय प्रमुख साहले सिफारिस नै गरिदिँदैनन् ।’
धनगढी डिपो प्रमुख साहले पम्प व्यवसायीलाई दुःख दिने गरेको विषय केन्द्रीय कार्यालयसम्म आएपछि उनलाई तत्कालीन वितरण विभाग प्रमुख दीपक बराल र नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले काठमाडौं बोलाएरै झपारेका थिए । धनगढी डिपोका कर्मचारीले पनि साहका कारण बदनामी कमाउन थालेको भन्दै केन्द्रीय कार्यालयमा गुनासो टिपाएका थिए । त्यसपछि साहले आपूर्ति प्रणाली सुधार्ने र कसैलाई दुःख नदिने भन्दै धनगढी फर्किएका थिए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...