राष्ट्रिय एकता , आपसमा सहिष्णुता र संयमताले मात्र राष्ट्रको पुनरुत्थान सम्भव छ – Naya Bikalpa
September 25, 2025, Thursday      Epaper

राष्ट्रिय एकता , आपसमा सहिष्णुता र संयमताले मात्र राष्ट्रको पुनरुत्थान सम्भव छ

१.अन्तरिम सरकारको कर्तव्य
संविधान क्षत विक्षत गराइयो र प्रतिनिधि सभा प्रतिशोधात्मक तरिकाले विघटन गरियो भन्ने र संविधानलााई न्यूनतमरुपमा क्षति पु¥याएर भए पनि बलिरहेको नेपाललाई शान्त पारियो र भोलिका लागि सुरक्षित नेपालको कल्पनाका साथ ६महिनाभित्र नै प्रतिनिधि सभाको निर्वाचन गराई निर्वाचित सरकारलाई सत्ता सुम्पने काम हुन लागेको भन्ने छ । स्थितिको विकासक्रम जति तीब्रताका साथ चमत्कारी स्वरुपको देखिन्छ , त्यति नै अनुमानहरुको बाढीले नेपाल गलत सूचनाको भरमा नयाँ समस्याहरुको भुमरीमा फस्ने डर छ । नयाँ पुस्ता असंगठितरुपमा नै आन्दोलनमा उत्रिएको थियो कि तयारीका साथ उत्रिएको थियो, त्यसैमा धेरै तर्कहरु र अनुमानहरु आएका छन् । नयाँ पुस्ताको नेतृत्वका नाममा त्यति धेरै नवयुवाहरु र नेपाली जनताको रगत बगेपछि भने , आन्दोलनपश्चात्को समयमा धेरैले आफ्नो नेतृत्वको वकालत गरिरहेका छन् र अन्ततः सरकारमा जेन्जीको प्रतिनिधित्वको आधार देखाउँदै छन् । स्वाभाविकै हो, जसका सहादतका कारणले नयाँ अवस्थाको सृजना भएको हो, पक्कै पनि तिनीहरुको नेतृत्व र प्रत्यक्ष सहभागितामा सरकारको गठन अपरिहार्य मानिन्छ । तर आन्दोलनको श्रेय लिने, परिवर्तनका क्रममा भएका सहादत र सक्रिय भागलिनेहरुको अपनत्व लिने समूह या नेताहरुले तोडफोड , आगजनी र व्यक्तिगत सम्पत्तिमाथिको लुटपाट र आगजनीमा उनीहरुको धारणा, आग्रह र छानबिनप्रतिको धारणा अझै स्पष्ट भएको छैन । मुलुकमा अचिन्त्य घटना घटेकै हो, सामाजिक सञ्जालका कारणले मात्र त्यो आन्दोलनको तयारी थिएन होला ।

कारकतत्वचाहिँ सुशासनको कमी नै थियो, भ्रष्टाचारविरुद्धको महाअभियान नै थियो । सरकारले त्यसमा संवेदनशीलता नदेखाएकै थियो र नयाँ पुस्ताको आन्दोलनलाई ख्याल ख्याल सम्झेकै देखिन्थ्यो । अनि धेरै नवयुवाहरुका समूहहरुले भनेको सुनियो, हामी त तोडफोडको विरुद्धमा थियौँ अनि कसरी संसद भवन जल्यो, सिंहदरबार जल्यो, सर्वोच्च अदालतसहित विभिन्न अदालत जल्यो, एकैसमयमा मुलुकमा कसरी योजनाबद्धजस्तै गरी छानी छानी आगजनी, तोडफोड र लुटपाट भयो ? यसको जबाफ न त त्यो विघटित सरकारसँग थियो, न त आन्दोलनका युवाहरुमाथि दमन गर्ने सुरक्षा संयन्त्रसँग रहेछ । सुरक्षा संयन्त्र निरीह देखियो, सरकारविहीन मुलुक चल्यो र मुलुक जलिरह्यो । न त त्यसको जिम्मा कसैले लियो, न त अहिले आएको अन्तरिम सरकारले त्यसमा तदारुकता देखाएर छानबिनमा अगाडि बढेको देखियो । यो अन्तरिम सरकारको पहिलो कर्तव्य नै हो जनतामा शान्ति सुरक्षाको प्रत्याभूति गर्ने, जेन्जी आन्दोलनमाथि दमन गर्नेलाई कार्बाहीको सुरुवात र सँगसँगै निर्वाचनको तयारी पनि गर्ने । जहाँसम्म संविधान संशोधनको कुरा आउँछ, यसका केही औपचारिक मान्यता छन् र केही अनौपचारिक आवश्यकता देखिन्छन् । त्यसमा संसदीय संविधानवादी र नयाँ परिवर्तनवादी दुवै सरोकारवालाहरु सक्रिय छन् ।

परिवर्तनवादीहरुका विभिन्न समूहहरुमध्ये केहीले संविधानमा तत्काल आवश्यकताको सिद्धान्तअनुसार परिवर्तन गरिनु पर्ने भनेको पाइन्छ भने केहीले संविधानलाई चलायो भने यो प्यान्डोराको बाकस हुने र अनेक जटिल समस्याहरु आउने भएकाले यही संविधानका धारा उपधाराअनुसार नै निर्वाचन गराई आउने नयाँ संसदले सुधार गरोस् भन्ने देखिन्छ । केही परिवर्तनका दाबी गर्नेहरुले भने भन्ने गरेको पाइयो, यही संविधानले हुन्थ्यो भने परिवर्तनका लागि युवाहरुले सहादत दिने अवस्था नै आउने थिएन, त्यसैले निश्चित एजेन्डा पूरा गर्न पनि संविधान संशोधन गरिनु पर्छ । तर समस्या संशोधन कसले गर्ने र कसले त्यसको दायित्व लिने, घोषणा गर्ने र कार्यान्वयन गर्ने ? झट्टहेर्दा झिना मसिना कुरा देखिए पनि मुलुकको शान्तिलाई चुनौती दिने यी समस्याहरुले भोलि नयाँ क्रान्तिको रुप लिने त होइनन् ? अशान्तिको आगो झोसिने त होइन ? भन्ने कुरालाई अन्तरिम सरकारले ध्यान दिनैपर्छ । अन्तरिम सरकारका प्रमुख आफैँ प्रधानन्यायाधीश भइसकेको व्यक्ति हुनु भएकाले यसमा ध्यान दिनैपर्छ ।

नत्र संविधान पक्षधरहरु र सकारात्मकरुपमा रहेका संविधानवादीहरुले यो आमनिर्वाचनमा भाग नलिने सम्भावना देखिन्छ । अर्थात् अन्तरिम सरकारले निर्वाचन गराउनै सक्दैन यदि राजनीतिक दलहरुले भाग लिएनन् र निर्वाचनको प्रक्रियालाई नक्कली प्रजातन्त्रका रुपमा बुझ्न थाले भने । त्यसैले अन्तरिम सरकारको काम अलमलिने जस्तो देखिएको छ । समाजमा आन्दोलनका पक्ष र विपक्षमा आवाजहरु मुखरित हुनु थाल्नुले राम्रो संकेत दिएको छैन । अन्तरिम सरकारका बारेमा पनि भोलि प्रश्न उठ्न सक्छ र उसले गराउने निर्वाचनमा प्रश्न उठ्न थाल्यो भने कसले मुलुकको जिम्मा लिने ? फेरि अन्यौल र अनिश्चय बढ्न सक्छ । दलहरुमा पनि आन्तरिक प्रजातन्त्रको कुरा जोडतोडले उठ्न थालेको देखिन्छ तर दलहरु फेरि संयमताका साथ एकीकृत हुनेछन् र भावी राजनीतिको खाकामा एकमत पनि हुनेछन् । अन्तरिम सरकारको काम समन्वय र समझदारी बृद्धि गर्ने हो, विवादको सुरुवात गर्ने र गराउने होइन ।

२. दलहरुमा आत्मालोचना र संयमताको खाँचो
अहिले मूलधारका दलहरुमा आन्तरिक खिचातानी देखिएको छ आन्तरिक लोकतन्त्रलाई ब्युँझाउनका लागि । नेपाली कांग्रेसमा युवाजमातले पार्टीमा आफ्नो पकड जमाउनका लागि औपचारिक बाटो तय गर्ने सोच बनाएको छ भने एमालेमा पनि युवाहरुले नयाँ पुस्ताप्रति पुराना पुस्ताको विश्वास आर्जन गर्ने विचारमा सकारात्मक आन्दोलनको तयारी गर्न थालेको आभास पाइन्छ । माओबादी केन्द्र अलमलमा देखिन्छ किनभने जेन्जीसँग मिलेर जाने कि आफ्ना तितर बितर भएका दलहरुसँग एकता गरेर निर्वाचनमा जाने ? अन्यौल देखिन्छ । नेता प्रचण्डका केही बोलीहरु शंकास्पद पनि छन् जसले आफ्नै नेताहरुलाई धम्क्याउने भाषाको पनि मिश्रण पाइन्छ । अन्य दलहरुप्रति असहिष्णुता देखाउँदै आफ्ना सुषुप्त आकांक्षाको पूर्ति गर्ने बेला यही हो जस्तो देखाउँदै हुनुहुन्छ ।

अचानक आएको नयाँ परिस्थिथितिको कसरी समाधान गर्ने भन्ने बारेमा एकमत गर्न उहाँले चाहनु भएको छैन । एकातिर संविधान जोगाएँ भन्नुहुन्छ अर्कोतिर यो संविधानलाई आफूले रणनीतिक र बाध्यताले मानेको भन्दै सुधारका लागि आवाज उठाउने थाल्नु भएको देखिन्छ । अझै ठुला दलका नेताहरुमा आत्मालोचना देखिएको छैन र संयमता बाध्यताले देखिएको छ । सबै दलहरु स्पष्ट हुुनुपर्छ र नयाँ परिस्थितिमा कसरी जाने भन्ने एकीकृत भावना आवश्यक छ जसमा संविधानवादभित्र परिवर्तनको पनि गुन्जायस रहोस् र जनताका आधारभूत आवश्यकता पूरा गर्न सुशासनको प्रत्याभूति पनि होस् । भ्रष्टाचार मुक्त शासन प्रणाली सबैको माग थियो, छ र रहनेछ । हिजो किन भएन भन्नेभन्दा पनि अब त्यसका लागि सबैको सक्रियता आवश्यक परेको हो । सत्तामा बारम्बार गएका दलहरुले आत्मालोचना गरी संयमताका साथ फुकी फुकी बाटो हिँड्नु परेको छ ।

३.र अन्त्यमा, दसैँको शुभकामना
जस्तोसुकै आपत परेपनि , जस्तो सुकै दुर्घटनाबाट समाज क्षत विक्षत भएको भए पनि , मुलुक अहिले बडा दसैँको पर्वभित्र होमिएको छ । कति परिवारमा दुःख बज्रेको छ र पनि मुलुकको धेरैजसो जनसँख्या दसैँको चाड मान्न सुरु गरेका छन् । दुःखको घडीमा पनि दुर्गामाताले हामी नेपालीहरुलाई , संसारमा जहाँ भए पनि रक्षा गरुन् । सबैमा दसैँको शुभकामना । भड्किलो रुपमा भन्दा साँस्कृतिक रुपमा चाडलाई सम्पन्न गरौँ र विजया भवानी दाहिने हून् र मुलुकको पुनर्निर्माणमा सबै सक्रिय हुन सकौँ । यही शुभकामना ।

सम्बन्धित समाचार

दुवै महामन्त्रीसँग देउवा आक्रोसित
दुवै महामन्त्रीसँग देउवा आक्रोसित
  • २०८२ आश्विन ७, ११: ३३

काठमाडौं । भ्रष्टाचारको अन्त्य र सुशासनको मुख्य माग राखेर आन्दोलनमा उत्रिएको जेन–जी ले भदौ २३ र २४ गते राजधानीलगायत विभिन्न...

कक्षा १२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु हुँदै ।
कक्षा १२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु हुँदै ।
  • २०८२ आश्विन ७, ११: ३३

काठमाण्डौं – भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलनका कारण सरेको कक्षा १२ को मौका (पूरक)...

सुशासनयुक्त र भ्रष्टाचार मुक्त नेपाल—नेपालीको चाहना पूरा हुन सकोस्
सुशासनयुक्त र भ्रष्टाचार मुक्त नेपाल—नेपालीको चाहना पूरा हुन सकोस्
  • २०८२ आश्विन ७, ११: ३३

१. अन्तरिम प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति नेपालको इतिहासमा २०८२ साल भाद्र २३ र २४गतेले नयाँ इतिहास बनायो ।...