आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई – Naya Bikalpa
October 12, 2026, Monday      Epaper

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई

 


१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष गणनाले देखाए बमोजिम असोज २५गतेबाट सुरु भएको छ र कात्तिक ४गते बडा दसैँको टीकाको साइत जुरेको भनिएको छ । नेपाल विविधताले भरिएको देश भएकाले यही दसैँ पनि विभिन्न तरिकाले मनाइन्छ । खासमा नवदुर्गाको पूजा आराधना गर्ने र विजया भवानीको प्रसाद ग्रहण गर्ने परम्परा छ । यसको विशेषता के हो भने अरु पूजा पाठपछि लगाउने प्रसादमा प्रकृतिमा फुलेको फूलपाती लगाइन्छ भने दसैँमा जमरा लगाएर विजया भवानीको प्रसाद ग्रहण गरिन्छ । त्यसो त दसैँको सप्तमीलाई फूलपाती नै भनिन्छ र त्यो दिन दसैँघरमा फूलपाती भित्र्याइन्छ पनि ।

खासमा जमरा लगाउनु नै दसैँको टीकाको विशेषता हो । आयुर्वेदिक औषधिको रुपमा स्वस्थ रहनका लागि जमरा या विभिन्न अन्नका टुसा खाने र त्यसको रससेवन गर्ने चलन छ । यसको वैज्ञानिक परीक्षण गर्नेभन्दा परम्परागतरुपमा मानिँदै आएकोले खासगरी घटस्थापनाको दिनको शुभ साइतमा बालुवामा जौ छरेर उमारिन्छ र टीकाका दिनमा फूलपातीको सट्टा टाउकामा लगाएर, मालाको रुपमा पहिरेर पनि जमराको सदुपयोग गरिन्छ । यसमा नौदिनसम्म विभिन्न देवीहरुको नाममा पूजा अर्चना गरी सप्तशती चण्डी पाठ गरिन्छ जुन चण्डी भनिने मूल पाठ हो , मार्कण्डेय पुराणबाट लिइएको हो । त्यसो त यो नवरात्रिमा देवी भागवतको पाठ गरेर नवाह लगाउने चलन पनि छ । आफ्ना आफ्ना परम्पराअनुसार दसैँ मनाइन्छ । अझ दसैँको महत्व देवीको आराधनासँगै सम्पूर्ण परिवार भेट्ने , मिठो खाने, नयाँ राम्रो लुगा लगाउने पनि हो । बडाबाट आशीर्वाद लिने र त्यस निहुँमा वर्षदिनदेखि भेट नभएका र विभिन्न कारणले र कामले टाढा टाढा पुगेका परिवारजनहरुको परिवार भेटघाट र खानपिन पनि यस चाडको अर्को विशेषता हो ।

संक्षिप्तमा भन्नुपर्दा दसैँ रमाइलो गर्नुपर्ने चाड हो, खानपिन गर्ने चाड हो, राम्रो नाना लगाएर मनाउने चाड हो जसको पृष्ठभूमिमा देवीको पूजा नै हो । यो वहुतायत हिन्दु र बौद्ध धर्मावलम्बी भएको देश हो , त्यसैले यो चाडलाई राष्ट्रिय चाडको रुपमा मनाउने चलन छ र कतै आश्विन शुक्ल प्रतिपदादेखि त कतै फूलपातीदेखि पूर्णिमासम्म विदा दिने चलन पनि छ । त्यतिमात्र होइन, राष्ट्र सेवक या सो सरह सरकारी कोषबाट तलब भत्ता खानेहरुलाई दसैँ खर्च भनेर एक महिनाको तलब बराबरको चाडपर्व खर्च पनि बेहोर्ने चलन छ ।
दसैँको महत्व पूजामा मात्र सीमित नरहने र खानपिन तथा विभिन्न डिजाइनका लुगा लगाउने कुरामा पनि जोडिएकोले आम बुझाइ के छ भने वर्षका एकपटक आउने दसैँमा खानपिन र लुगामा खर्च गर्नुपर्छ , नत्र केका लागि कमाउनु र ? अनि आम्दानी त सबैको एकनासको हुँदैन, हुनेका देखासिकी गरेर कम आय हुनेले पनि अरुको जस्तै खर्च गर्न खोज्दा ऋणको भारी बोक्नुपर्ने हुन्छ ।

फेरि खानपिन र लगाउने लुगा अपरिहार्य हो र पनि कम खर्चमा गर्न सकिने कुरालाई बढी खर्च गर्ने चलन देखिन थालेको छ । दसैँको आगमन त यसैपनि समयको कारणले समेत रमाइलो बेला हो । न गर्मी, न जाडो, न हिलोमैलो । बिग्रेका बाटाघाटा पनि मरम्मत गरेर मानिस, गाडी, घोडा हिँड्ने गरी बनाइएको हुन्छ । सबै परिवारका मानिसहरु भेटिन्छन् र विजया भवानीको प्रसाद लगाएर खानपिन गरिन्छ । आफ्नो गच्छेअनुसारको खर्च गर्नुपर्छ तर गरिँदैन । सायद त्यसैले होला यो उखान तयार गरिएको, आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई ।
यो दसैँ नेपालीहरुका लागि त्यति खुसी र उमङ्गको रहेन । भदौ १०गतेको हिमाली सुनामीका कारणले हजारौँ मानिसहरुको निधन, हजारौँ मानिसहरु हराएका, खर्बौँको सम्पत्ति नास भएको र रसुवा, नुवाकोट धादिङ्मा विकासका पूर्वाधारहरुको नै नष्ट भएको अवस्था छ । ती घरबार तथा परिवारजनहरुको पीडाले आहत भएका नेपाली पीडितहरुको अवस्था सम्झँदा यो दसैँको रौनक खासै देखिएन । चीनसँगको नाकाहरु तातोपानी, रसुवाकेरुङ् बाढी र पहिरोका कारणले अस्तव्यस्त रहेका अनि कोरोला नाकाको बाटोमा पनि पहिरो तथा काली गण्डकीको बाढीले तहसनहस गराएकोले मुलुक महङ्गीको मारमा परेको देखिन्छ । यो वर्षको अप्रत्याशित वर्षा र हिमाली सुनामीका कारणले आएको बाढी र पहिरोले मुलुकका राजमार्गहरु अस्तव्यस्त छन्, खासगरी राजधानी काठमाडौँ बाढीपहिरोको कारणले बाटो विहीन भएर सामानहरुको कमी, ग्याँसको कमीले नाकाबन्दीजस्तै देखिएको बेलामा मुलुकभर महङ्गीले नेपाली जनताको ढाड सेकेको अवस्था छ ।

महङ्गी घटाउने र सामान आपूर्तिका लागि सरकारको खासै प्रयत्न देखिँदैन अनि यो अवस्थामा कालो बजारी र मूल्य कृत्रिमरुपमा बढाउने कुरामा पनि व्यापारीहरुले उल्टै निर्ममता देखाएको गुनासो उपभोक्ताहरुको छ ।
र पनि दसैँ महान चाड हो । जस्तै दुःखमा पनि परिवारहरुसँग बसेर आशीर्वाद आदानप्रदान गरिन्छ , जमरा लगाइन्छ र भेटघाटमा आइन्छ, गइन्छ । श्री दुर्गामाताले नेपालमा अब प्राकृतिक तथा मानवीय प्रकोप नहोस् भन्नका लागि हामी नेपालीलाई आशीर्वाद दिनुहोस्, मुलुकको विकासमा सबै नेपालीहरुले काँधमा काँध जोडेर काम गर्ने वातावरण बनोस्, प्रजातन्त्रप्रति कतैबाट पनि कुदृष्टि नपरोस् भन्ने आशीर्वाद प्राप्त होस् भन्ने कामना गरौँ । सबै नेपालीहरुलाई विश्वमा जहाँ रहेका भए पनि बडा दसैँको शुभकामना ।
२. र अन्त्यमा, नेपाली कांग्रेसको महाधिवेशनकै कुरा
विशेष अधिवेशनबाट प्राप्त कार्यादेशअनुसार गगन नेतृत्वको नेपाली कांग्रेसले १५औँ महाधिवेशन सम्पन्न गरेको छ । को जिते को हारे त्यो कुरा किन पनि गौण हो भने संस्थाको निरन्तरताको कुरा महत्वपूर्ण हो, नेपाली कांग्रेसको गतिशीलताको कुरा महत्वपूर्ण हो । गगनकुमार थापा अत्यधिक मतले सभापतिमा विजयी भएपछि अब झन उनीमाथि पार्टीको संगठन, एकता र सिद्धान्तको परिमार्जन गर्ने र नेपालीहरुको आस्था र विश्वासको पार्टी बनाउने ठुलो अभिभारा आएको छ । अबको पारदर्शी सम्वादमार्फत् जो जो छुटेका छन् र मंसिरमा अधिवेशन गर्नका लागि तयारी गरिरहेका छन्, ती पनि कांग्रेस नै हुन्, चिनिएका कांग्रेस हुन् । तिनीहरुसँग स्पष्ट कुरा गरेर एकताको सूत्रमा नेपाली कांग्रेसलाई जोड्ने काम अब गगनको जिम्मामा रहेको छ ।

शेरबहादुर देउवा यसैपनि नेपाली कांग्रेसको विधानअनुसार फेरि सभापति बन्ने छैनन् र अरु सबैलाई चाहिने मान दिएर भएपनि या एकताको संक्षिप्त अधिवेशन आवश्यक भए गरेर भए पनि एकताको कुरामा अगाडि बढौँ भन्ने कुरामा दुवै पक्ष उत्तिकै सजग र सहयोगी हुनु जरुरी छ । गगनको हातबाट मनोनयन पत्रका लागि पत्रमा हस्ताक्षर पाउन लालायित साथीहरु नै अहिले मंसिरमा महाधिवेशन गर्ने तयारी गरिरहेको देखिन्छ । यसले कमजार नेपाली कांग्रेसको अवस्थामा झन भँगालो देखिने छ र शक्ति कमजोर भएको अनुमान गरिनेछ । अब अर्को महाधिवेशन गरेर नेपाली कांग्रेस बलियो हुँदैन, तर आपसमा बसेर एकताबद्ध भएमा भने पार्टी बलियो हुनेछ र प्रतिस्पर्धाका अन्य दलहरुसँग मुकाबिला गर्नका लागि सक्षम हुनेछ । त्यसो त नियतिले के हुने भनेको छ, त्यो त भएर नै छोड्ला तर आम कार्यकर्ताहरुलाई एउटा द्विविधा भने स्थानीय निर्वाचनमा पर्नेछ जुन सायद यही फागुनमा हुनसक्छ । नेपाली कांग्रेसले यसमा चिन्ता लिने हो, भावी दिनमा के हुनसक्छ भनेर अनुमान गर्नेसम्म हो ।

 

 

सम्बन्धित समाचार

प्रस्तावित राजदूत थापाविरुद्ध संसदीय समितिमा उजुरी
प्रस्तावित राजदूत थापाविरुद्ध संसदीय समितिमा उजुरी
  • २०८३ आश्विन २६, १२: ५५

काठमाडौं : जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दर्ता गरिएको छ । जापानमै बसोवास गर्दै...

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह
पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह
  • २०८३ आश्विन २६, १२: ५५

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताएका छन् ।...

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला
  • २०८३ आश्विन २६, १२: ५५

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा....