संगठनलाई गुटभन्दा माथि उठाएर समुदायसँग जोड्न कांग्रेस केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यको प्रस्ताव – Naya Bikalpa
November 26, 2026, Thursday      Epaper

संगठनलाई गुटभन्दा माथि उठाएर समुदायसँग जोड्न कांग्रेस केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यको प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यले पार्टी संगठनलाई पदमुखीभन्दा काममुखी बनाउनुपर्नेमा जोड दिएकी छन् । आन्तरिक प्रतिस्पर्धा र गुटगत राजनीतिभन्दा माथि उठेर समुदायसँग प्रत्यक्ष जोडिने कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको प्रस्ताव छ ।

संगठनलाई थप बलियो, सक्रिय र समुदायसँग जोड्ने विषयमा आफ्नो धारणा प्रस्तुत गर्दै उनले उपत्यकाको जातीय, भाषिक तथा सांस्कृतिक विविधतालाई सम्बोधन गर्ने गरी स्थानीय समुदायको अपनत्व हुने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी हुन् ।

उनले उपत्यकाको जनसंख्या अनुपात तथा राजनीतिक र सामाजिक महत्त्वका आधारमा केन्द्रीय समितिमा प्रतिनिधित्वको विषय पुनर्विचार गर्नुपर्ने धारणा राखेकी छन् । साथै, मूलवासी समुदायको प्रतिनिधित्व र कोटाको विषयलाई पनि न्यायोचित रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

नेवा: समुदायसँग पार्टीको सम्बन्ध र अपनत्व बढाउन भाषा, संस्कृति, सम्पदा तथा पहिचानका मुद्दामा निरन्तर साथ दिनुपर्ने उनले बताएकी छन् । नेवा: समुदायका ४० थरलाई दलित सूचीमा समावेश गरिएको विषयले समुदायमा गम्भीर असन्तुष्टि पैदा गरेको उल्लेख गर्दै उनले यस विषयको संवेदनशीलतालाई गहिराइपूर्वक बुझ्नुपर्ने बताएकी छन् ।

यस्तै, वडा सभापतिहरूलाई संगठनात्मक र सामाजिक दुवै क्षेत्रमा जिम्मेवारीसहित सक्रिय बनाउनुपर्ने उनको प्रस्ताव छ । पदमा मात्र सीमित नभई संगठनका गतिविधिमा सक्रिय सहभागिता जनाउने संस्कार विकास गर्नुपर्ने उनले औँल्याएकी छन् ।

प्रधानले आन्तरिक प्रतिस्पर्धालाई संगठन कमजोर बनाउने माध्यम बनाउन नहुनेमा पनि जोड दिएकी छन् । महाधिवेशनको प्रतिस्पर्धालाई स्थानीय निर्वाचनसम्म लैजाँदा पार्टीलाई क्षति पुग्ने भन्दै प्राथमिक निर्वाचनदेखि नै एकअर्कालाई कमजोर बनाउने नभई सहयोग गर्ने संस्कार विकास गर्नुपर्ने उनको भनाइ छ ।

उनले भोटेकोशी बाढीबाट प्रभावित युवालाई लक्षित गरी सीपमूलक तथा व्यावसायिक तालिम र रोजगारीसँग जोडिएका कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्तावसमेत गरेकी छन् । राहत वितरणसँगै प्रभावित युवालाई आत्मनिर्भर बनाउने दीर्घकालीन योजना आवश्यक रहेको उनको धारणा छ ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना कार्यकर्तालाई सार्वजनिक पद तथा सरकारी निकायमा दिइरहेको अवसरबारे तथ्य र प्रमाणसहित सार्वजनिक बहस गर्नुपर्ने उनले बताएकी छन् । सार्वजनिक जिम्मेवारीमा कसले, कुन योग्यता र प्रक्रियाबाट अवसर पायो भन्ने विषय जनताले थाहा पाउनुपर्ने उनको भनाइ छ ।

समुदायसँगको सम्बन्ध विस्तारका लागि उनले युवा, ज्येष्ठ नागरिक, सम्पदा र सञ्चारलाई चार प्रमुख आधारका रूपमा अघि सारेकी छन् । युवाका लागि मानसिक स्वास्थ्य र नेतृत्व विकास, ज्येष्ठ नागरिकका लागि सम्मान, स्वास्थ्य तथा सामाजिक सुरक्षा, सम्पदाका लागि भाषा, संस्कृति र पहिचान संरक्षण तथा सञ्चारमार्फत समुदायसँग निरन्तर संवाद गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ ।

यसका लागि केन्द्रीय समितिले रणनीति तयार गर्ने र नगर तथा वडा समितिले कार्यान्वयन गर्ने व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ । उनले यसको मूल अवधारणाका रूपमा ‘एक वडा, एक कार्यक्रम’ अघि सारेकी छन् ।

उपत्यकाको विकास गर्दा भौतिक पूर्वाधारलाई मात्र प्राथमिकता नदिई यसको सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने प्रधानको भनाइ छ । साथै, पार्टी सभापतिले बैठक तथा सार्वजनिक कार्यक्रममा राख्ने विचारलाई छोटा भिडियोमार्फत सामाजिक सञ्जालमा प्रचार गर्नुपर्ने प्रस्ताव पनि उनले गरेकी छन् ।

‘हामी पदमुखी होइन, काममुखी बनौँ; गुटमुखी होइन, संगठनमुखी बनौँ,’ उनको प्रस्तावमा भनिएको छ । परिवर्तनको कुरा गर्ने पार्टीका नेता तथा कार्यकर्ता स्वयं पनि परिवर्तन हुन तयार हुनुपर्नेमा उनले जोड दिएकी छन् ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद्को मर्यादाक्रममा फेरबदल
मन्त्रिपरिषद्को मर्यादाक्रममा फेरबदल
  • २०८३ मंसिर ११, १६: ३५

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा १७ सदस्यीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् । नयाँ मर्यादाक्रमअनुसार प्रधानमन्त्री...

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
  • २०८३ मंसिर ११, १६: ३५

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
  • २०८३ मंसिर ११, १६: ३५

काठमाडौं : पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । अर्याललाई प्रहरीले भारतबाट पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।...