विभाग गठन नगर्दा पनि काम नगरेको आरोप देउवालाई लाग्ने थियाे – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

विभाग गठन नगर्दा पनि काम नगरेको आरोप देउवालाई लाग्ने थियाे

नयाँ विकल्प,


मुलुकमा कोरोना कहर बिचमा काँग्रेसमा १४औं महाअधिवेशन नजिकिदै गर्दा आ–आफ्ना पक्ष विपक्षमा नेताहरुले अभिव्यक्ति दिन थालेका छन् ।

यतिखेर काँग्रेसको १४औं महाअधिवेशन समयमा हुन्छ, कि हुँदैन भन्ने चासो बढ्दै गएको छ भने अर्कोतर्फ सक्रिय सदस्य नविकरण गर्ने म्याद समेत सकिदै गएको छ, त्यसबारे काँग्रेस बोलेको छैन ।

नविकरणको फारामहरु जिल्ला जिल्लामै नपुगेकोले गाउँगाउँसम्म कहिले पुग्ने हो, एकिन भएको छैन । कोरोना कहरबिच केही नेता तथा कार्यकर्ताहरु नविकरण फाराम लिएर गाउँगाउँ दौडे पनि युवाहरुमा जोश, उत्साहजनक देखिदैन ।

काँग्रेसको नेतृत्वमा बुढाखाडा मात्र जाने हो, अरु तलतिरै बस्ने हो भन्ने मान्यता यतिखेर पनि निकै चर्चामा रहेको छ । नविकरणको फाराम नपाईरहेका कार्यकर्ता नयाँ फारामको पर्खाईमा बसीरहेका छन् ।

यिनै समसामयिक विषय र विशेषगरी नेपाली काँग्रेसको १४औं महाअधिवेशनमा केन्द्रित काँग्रेस भएर हाम्रा संवाददाताले काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेसँग गरेका कुराकानीको सम्पादीत अंशः

नेपाली कांग्रेसभित्र नेताहरू बीच विवादैविवाद छ नि किन ?

यसपालि हाम्रो महाधिवेशन गर्ने वर्ष हो । पार्टीमा आन्तरिक झगडाहरु पहिला पनि हुन्थ्यो । एउटा चलायमान जीवित पार्टीमा विवाद, बहस, छलफल हुन्छन् । त्यो अहिले पनि छ, अरू बेलामा पनि भइरहन्थ्यो ।

अरू बेलामा भन्दा यो यसपालि अलि बढी झगडा भएको हो । यसलाई सबै मिलेर कसरी गर्ने भन्ने कुरा पार्टीमा छलफल गर्नुपर्छ । अहिले परिस्थिति पनि त्यति अनुकुल छैन । समयले साथ दिइरहेको छैन । तर, यो साथ नमिलेको समयमा पनि हामीले कसरी मिलाएर अघि बढ्ने भन्नेतिर सबैजनाले सोच्नुपर्छ ।

अहिले कोरोना भाइरसको कारणले सक्रिय सदस्यता बाँड्ने कुराहरू त्यसपछि गर्ने काम जुन छ, त्यसमा अड्किरहेको अवस्था छ । यही चुनावको बेलामा कहाँ कमी कमजोरी छ, कतै धाँधली हुन्छ कि भनेर त्यसमा सचेत गराउने, यी कुराहरू स्वभाविक नै हुन् ।

सदस्यता वितरण गर्न पनि धाँधली गर्नुपर्छ, त्यसो नगरी चुनाव जितिँदैन ?

धाँधली गर्नुपर्छ भनेको होइन । फरक मत राख्ने साथीहरु त्यो लाग्न सक्छ भनेको । तर, त्यो आशंकामा मात्रै हो । त्यस्तो धाँधली हाम्रो पार्टी सदस्य वितरणमा कहिल्यै हुँदैन । फरदर्शी र स्पष्ट रुपमा इच्छुक साथीहरुलाई नयाँ सदस्यता र पुरा क्रियाशील साथीहरुको नविकरणको काम हुन्छ ।

त्यसमा धाँधली हुने कुरै आउँदैन । अहिले पार्टीको १४ औं महाधिवेशनको तयारीमा कोरोनाको कहरबीच पनि विभिन्न ठाउँमा साथीहरु लागिरहनुभएको छ । सक्रिय सदस्य नविकरण गर्ने नयाँ इच्छुक साथीहरुलाई सदस्यता वितरणको कामहरु भइरहेको छ । सक्रिय सदस्य नविकरणको काममा हामीहरु दत्तचित्त भएर लागेका छौं ।

सबै नेताहरु चुनावको तयारीमा लागिरहनु भएको छ । त्यसैले पार्टीभित्र केही बहस, छलफल र विवाद हुन्छन् । त्यसलाई ठूलो रुपमा लिनुपर्दैन । फेरि नेपाली कांग्रेस जस्तो डेमोक्रेट पार्टीमा बहस, छलफल र विवाद, आलोचनाहरु हुनु स्वाभाविक हो ।
पार्टी सभापति शेरबहादुर देउवाले विभागहरू गठन गर्नुभयो, गलत काम गर्नुभयो भन्ने पौडेल पक्षको आरोप छ । विभागहरू खारेज गर्नुपर्ने हो ? कहाँ पुग्यो पौडेल पक्षको माग र निष्कर्ष ?

विभागको लागि हेर्नुस्, पहिलाको विधानमा दुई महिनामा गर्नुपर्छ भनिएको थियो । अहिलेको संशोधित विधानमा ६ महिनासम्म विभाग गठन गरिसक्नुपर्छ भनिएको छ । धेरै समय त्यसलाई गर्ने प्रयास नभएको होइन ।

तर, प्रयास गर्दैगर्दै पनि कहिले कसले नाम नदिने कहिले कसले गर्दागर्दै ढिला भयो । अब ढिला भयो भन्दैमा कामै नगर्ने कुरा पनि आएन । विभागै गठन नगर्दा पनि अक्षमताको आरोप सभापतिले खेप्नुपर्ने हुन्छ । त्यसबाट बँच्न पनि विभाग गठन गर्न सभापतिज्यू वाध्य हुनुभएको हो ।

विभाग गठन नगर्दा पनि काम नगरेको आरोपहरु लागिरहेका हुन् । त्यसैले ढिलै भएपनि विभाग गरेर अगाडि बढ्ने भनेर सभापति लाग्नुभएको हो । यसमा केही साथीहरुलाई नराम्रो लागेको हुनुपर्छ । अहिलेको परिस्थितिले गर्दा त्यस्तो हुन गएको हो ।

ढिलै भएपनि विभाग गरेर केही साथीहरुले जिम्मेवारी पाउनुभएको छ । त्यसले पार्टीलाई केही भएपनि संगठनमा सहयोग गर्दछ । पार्टीको लामो समय लाग्नुभएका साथीहरुलाई केही जिम्मेवारी दिँदा राम्रै हुन्छ भनेर सभापतिज्यूले विभाग गर्नुभएको हो ।

पार्टी सभापतिले विगतमा गरेका कमीकमजोरी ढाक्न यसो गर्नु भएको भनने छ नि ?

सहमतिबाट गर्ने भनेर अड्किँदाखेरि यतिसम्म आएको कुरा हो । मलाई सोध्नुहुन्छ भने यसलाई तिललाई पहाड बनाउनुपर्ने आवश्यकता छैन । यसलाई अनावश्यक रूपमा हल्ला गर्न खोजिएको हो भने त्यो पनि गलत हो ।

यसरी हुँदैनभएको कुरालाई तिललाई पहाड भएर हल्लै फैलाउँदा सबैलाई नराम्रो हुन्छ । त्यसको साथै पार्टीलाई नराम्रो गर्छ । अहिलेको समय एकोहोरो विरोध गरेर मात्रै हुँदैन । समय, परिस्थिति हेरेर काम गर्नुपर्ने हुन्छ ।

हुँदैनभएको, गर्दैनगरेको कुरा बाहिर ल्याएर कसैलाई फाइदा गर्दैन । त्यस्तो कामले सबैलाई नाक्सान गर्छ । हामीले जुनसुकै काम गर्दै पनि यथार्थलाई राम्रो बुझेर मात्रै गर्नुपर्ने हुन्छ । अहिले आएर विगतमा भए÷गरेका कामको सम्झना गरेर केही फाइदा छैन । अब कसरी पार्टीलाई चुस्त, दुरुस्त ढंगले अगाडि बढाउने भनेर सोच्ने बेला भएको छ ।

त्यसोभए पार्टी सभापतिले विधानलाई मिचेर यस्तो गर्नुभएको भन्ने देखिन्छ होइन त ?

वास्तवमा भन्नुपर्दा उहाँलाई के लाग्यो भने यदि विभागहरू गठन गरिएन भने विभाग पनि गठन गर्न सकेन, यो गर्न सकेन, त्यो गर्न सकेन भनेर असक्षमताको आरोप लाग्छ । त्यसैले उहाँले तपाईंले भनेजस्तै बेमौसमको बाजा नै बजाउनुभएको हो ।

ढिला भयो भनेर विभाग गठन नगर्दा पनि कामै गर्न सकेन भनेर रोप लागिहाल्छ । बरु विभाग गठन गर्ने साथीहरुले पार्टीमा भूमिका पनि पाउँछन् भनेर उहाँले यसपालि बेमौसमको बाजा बजाउनुभएको हो ।

यो गर्न वाध्यता पनि थियो । किन भने सभापति भएर एउटा विभाग गर्ने काम पनि गर्न नसकेको भनेर आरोप लाग्ने डरले पनि अहिले विभाग गठन गर्न बाध्य हुनुभएको हो । त्यसैले सभापतिले अक्षमताको आरोपबाट जोगिनको लागि विभाग गठन गरेर बेमौसमको बाजा बजाउनुभएको हो ।

पार्टी कब्जा गर्न शेरबहादुर देउवाले रणनीति बनाइरहनुभएको छ, उहाँलाई सभापति बन्न हामी दिँदैनौँ भनेर रामचन्द्र पौडेल समुहले भनिरहनुभएको छ नि त ?

त्यसको लागि चुनाव नै गर्नुपर्छ । मलाई पनि बन्न मन छ, सभापति, मैले जित्छु ? मलाई महामन्त्री बन्न मन छ, मैले जित्छु ? जित्दिँन नि । किनभने पहिलो कुरा त कुनै पनि कार्यकर्ताले मलाई पत्याउनुहुन्न सभापति ।

त्यसकारण त्यो इच्छा गरेर मात्रै हुँदैन । त्यसको लागि अब चुनाव आउँदैछ । चुनावमा कार्यकर्ताहरूलाई कन्भिन्स गर्नुपर्छ । शेरबहादुर देउवा नै सधैँभरि सभापति, प्रधानमन्त्री भईरहनुपर्छ भन्ने छ र ? छैन नि ।

जसलाई आमजनता, कार्यकर्ताहरूले पत्याउँछ, त्यसैले पार्टी चलाउँछ । एउटा कुरा के ध्यानमा राख्नुपर्छ भन्दाखेरि निर्वाचन सकिएको भोलिपल्टदेखि अर्को महाधिवेशनसम्म जसले जिते पनि एउटै सभापति हुनुपर्छ ।

बकाइदा चुनाव लडेर जितेको मान्छेलाई काम गर्न नदिने, कर्नरमा पारेर अप्ठ्यारो गराउने काम कसैले पनि गर्नुहुँदैन । त्यसैले चुनाव जितेर आएको मान्छेलाई समयसम्म काम गर्न नदिएर बीचमा खुट्टा तान्ने काम गर्नुहुँदैन ।

त्यसले पार्टीभित्र गुट सिर्जना गर्दछन् । हाम्रो डेमोक्रेटिक पार्टी भएकाले यहाँ सधैं चुनाव हुन्छ । साथीहरुले पत्याएर जितेको मान्छेले पार्टी चलाउने हो । अब आउने महाधिवेशनमा पनि हामी सभापति दिन्नौं, दिन्छौं भन्ने भन्दा पनि चुनाव जित्न सक्नुपर्छ ।

चुनाव जितेर आउन बाटो खुल्ला छ । सधैं एउटै व्यक्ति हुनुपर्छ भन्ने छैन । परिवर्तन भएको राम्रो हो । त्यसको लागि नेता, कार्यकर्ताले विश्वास गरेको हुनुपर्छ । त्यो विश्वस जितेर आउनेलाई स्वागत गर्नुपर्छ । अहिलेको अवस्थामा महाधिवेशनको जुन किसिमको चर्चा र बहस सुरु भएको छ ।

१४औँ महाधिवेशनमा पनि शेरबहादुर देउवाले उम्मेद्वारी दिनुहुन्छ त ?

आजसम्मको कुरा हेर्दाखेरि उहाँले दिनुहुन्छ । अब आउने दिनमा कस्तो निर्णय गर्नुहुन्छ, त्यो हेर्न बाँकी छ । अहिलेसम्म उहाँको तयारी, लगाव हेर्दा उहाँले फेरि पार्टी सभापतिमा उम्मेदवारी दिनुहुन्छ ।

विभिन्न जिल्लाबाट आउने प्रतिनिधि साथीहरुसँग पनि परामर्श, सुझाव लिनु होला । उहाँहरुले कस्तो सल्लाह दिनुहुृन्छ, त्यसको पनि सुनुवाइ हुन्छ । चुनावमा भोट गर्ने महाधिवेशन प्रतिनिधिहरुले हो । उहाँहरुको सल्लाह, सुझाव र परामर्शबाट के निष्कर्ष निस्कन्छ त्यसअनुसार अगाडि बढ्नुहुन्छ । तर, अहिलेसम्म उहाँको तयारी र काम गराइ हेर्दा उहाँ १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हो ।

१४औं महाअधिवेशनका लागि काँग्रेसभित्र निकै नेतहरुके तयारी देखिन्छ नी ?

अब त्यो त कोही व्यक्ति उम्मेदवारीमा आउन नपाउने भन्ने कुरा भएन । यो चुनौतीलाई सामना गर्छु, गर्दिनँ, मैले छोड्छु, छोड्दिँन भन्ने व्यक्तिको कुरा भयो । पार्टीको सदस्य भएको जुनसुकै व्यक्तिले उम्मेदवारी दिन पाउँछ । मैले बुझेसम्म आजका मितिसम्म उहाँले चुनावमा प्रतिस्पर्धा गरेर उम्मेदवारी दिनुहुन्छ । अहिलेसम्मको परिस्थितिलाई हेर्दा उहाँले सभापतिमा उम्मेदवारी दिने पक्का छ ।

त्यसोभए चुनावी मैदानमा जो आएपनि शेरबहादुरले छोड्नुहुन्न ?

चुनाव लड्ने मान्छेले प्रतिस्पर्धी को आउँछ भनेर आफ्नो लाइन छोड्ने कुरा हुँदैन । चुनावमा जाने आफ्नो विचार अधिकारको कुरा हो । त्यो उहाँले पनि प्रयोग गर्नुहुन्छ जस्तो लाग्छ । पद भनेको कसैले पनि दिएर लिने होइन ।

लडेरै दिनुपर्छ, त्यो अघिल्ला महाधिवशेनमा पनि भएको कुरा हो । अहिले पनि त्यस्ता प्रतिस्पर्धीहरु आउनुहुन्छ । चुनाव लड्ने मान्छेले त्यस्तो कुराको सामना गर्न तयार हुनुपर्छ । उहाँ त्यो कुरामा कटिबद्ध हुनुहुन्छ । चुनाव जित्ने आफ्नौ प्रयाससँग कार्यकर्ताको बल चाहिन्छ ।

ती कार्यकर्ता मन जित्न पनि सक्नुपर्छ । उनीहरुले पनि विश्वास गरेको मान्छे हुनुपर्छ । त्यसैले साथ साहयोग नगर्न सक्छन् । अहिलेसम्म शेरबहादुर देउवाजीलाई सबैले विश्वास गरेका छन् । त्यो आडमा पनि उहाँ अहिलेसम्म आफै उम्मेदवारी दिने मनस्थितिमा भएको देखिन्छ ।

अब पछि समयले कतातिर मोड्छ त्यो समयले बताउँछ । आजका मितिसम्म उहाँ १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने मनस्थितिमा रहेको मैले पाएको छु । त्यसको तयारी पनि भइरहेको पाएको छु ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र २९, १५: ३५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ भाद्र २९, १५: ३५

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र २९, १५: ३५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...