
जनकपुरधाम। करिब ६२ वर्षअघि सञ्चालनमा आएको देशकै एकमात्र चुरोट उद्योग जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सञ्चालनको पर्खाइमा रहेको छ। राजनीतिक हस्तक्षेप र व्यवस्थापन कमजोरीका कारण बन्द हुन पुगेको यो कारखाना एक समय देशकै सबैभन्दा आम्दानी गर्ने उद्योगमध्ये एक मानिन्थ्यो।
कारखानाले प्रत्यक्ष रूपमा ७ सयभन्दा बढी कर्मचारीलाई रोजगारी दिएको थियो भने अप्रत्यक्ष रूपमा करिब ३ हजारभन्दा बढी व्यक्तिको जीविकोपार्जनमा योगदान पुर्याएको थियो।
२०४६ सालमा प्रजातन्त्र स्थापना भएपछि राजनीतिक नियुक्तिको क्रम बढ्दै गयो। त्यसपछि कारखानामा पनि नेतृत्व तहमा राजनीतिक आधारमा नियुक्ति हुन थाले, जसले व्यवस्थापनमा कमजोरी ल्याउँदै उद्योगलाई घाटामा पुर्यायो। पूर्वकर्मचारीहरूका अनुसार स्थानीय नेताहरूको स्वार्थ र आसेपासे नियुक्तिका कारण कारखाना अन्ततः बन्द हुन पुग्यो।
कारखानासँग जनकपुरधाममा मात्रै ३३ विघा ६ कठ्ठा जग्गा रहेको छ भने देशका अन्य २२ स्थानमा समेत यसको सम्पत्ति फैलिएको छ। परिसरभित्र चुरोट उत्पादनसँगै प्रिन्टिङ प्रेस, वर्कसप र विद्युत उत्पादन गर्ने पावर हाउससमेत सञ्चालनमा थिए।
पूर्वकर्मचारी ७२ वर्षीय सेठ साहुका अनुसार कारखानामा रहेका अधिकांश मेसिनहरू अझै प्रयोगयोग्य अवस्थामा छन्। उनका अनुसार बन्द हुने बेलासम्म कुनै पनि मुख्य मेसिन बिग्रिएको थिएन र केही मेसिन त ६ महिनासमेत प्रयोग नभएका थिए। सामान्य मर्मत र सर्भिसिङ गरेमा न्यून लगानीमै पुनः सञ्चालन सम्भव रहेको उनको भनाइ छ।
कारखानामा रहेको प्रिन्टिङ प्रेसबाट पत्रपत्रिका लगायत विभिन्न प्रकारका छपाइ कार्य गर्न सकिन्छ भने वर्कसपमा फलामसम्बन्धी काम र सवारी साधनका पार्टपुर्जा उत्पादन गर्न सकिने उपकरणहरू उपलब्ध छन्। त्यस्तै, पावर हाउसमा रहेका महँगा उपकरण प्रयोगमा ल्याउन सके विद्युत उत्पादनसमेत गर्न सकिने सम्भावना रहेको बताइन्छ।
हाल कारखानामा सुरक्षा प्रयोजनका लागि मात्र सात जना कर्मचारी कार्यरत छन्। केही संरचनामा क्षति पुगे पनि मुख्य मेसिनहरू भने सुरक्षित रहेको बताइएको छ। यद्यपि साना पार्टपुर्जाहरू चोरी भएको जानकारी दिइएको छ।
कारखानाका सुरक्षा इन्चार्ज तुला खड्काका अनुसार समयमै ध्यान नदिइएमा यस्ता बहुमूल्य मेसिनहरू भविष्यमा कबाडमा परिणत हुन सक्छन्। निजी–सार्वजनिक साझेदारीमा सञ्चालन गर्न सके रोजगारी सिर्जना हुनुका साथै राज्यको राजस्वमा समेत वृद्धि हुने उनको विश्वास छ।
हालको सरकारले देशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको सन्दर्भमा धनुषावासीहरू जनकपुर चुरोट कारखाना पुनः सञ्चालन हुने आशामा छन्।
काठमाडौं : सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने तत्कालीन...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...
काठमाडौं : गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...