
झापा – ‘कसैलाई खातै खात, कसैलाई भने पुर्पुरोमा हात’ भने झैं कोरोना संकट तथा सिन्धुपाल्चोक र बागलुङसहितका जिल्लामा पहिरो जोखिमयुक्त बस्ति सुरक्षीत स्तान्तरण नहुँदा सयौंको मृत्यु भइरहँदा झापा ५ मा भने जस्तापाता (टिन) को छाना हाल्न र घर बनाउन मात्रै करिव डेड अर्ब बढी बजेट छुट्याइएको छ ।
कोरोना भाइरसको महामारीले निम्त्याएको आर्थिक र सामाजिक संकटले विपन्न नागरिकलाई हात मुख जोर्न र उपचार पाउन समेत कठिन भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भने एक अर्ब ३७ करोड बढीको बजेट छुट्याइएको छ ।
ओली प्रधानमन्त्री भएपछि झापा ५ मा चिनियाँ सहयोगमा निर्माण हुने चार खर्ब ४६ अर्ब बजेटको ग्रिन इन्डष्ट्रिज पार्क र २ अर्ब बढी बजेटको विजनेस टावरको चर्चा चलिरहँदा सो क्षेत्रका चार स्थानीय तहमा सुरक्षीत नागरिक आवास कार्यक्रम अन्तरगत यति धेरै बजेट कार्यान्वयनमा आएको हो ।
झापाको निर्वाचन क्षेत्र नं ५ मा दमक नगरपालिका, कमल गाउँपालिकाको साविकको लखनपुर मात्र (१,२,३ र ४ नम्वर वडावाहेक), गौरादह नगरपालिकाको वडा नं ९ वाहेक र गौरीगंज गाउँपालिकाको वडा नं १ र २ वाहेक पर्दछ ।
ओलीको निर्वाचन क्षेत्र ‘रामराज्य’को नमुना !
झापाको पश्चिमी भेगको निर्वाचन क्षेत्र ५ मा पर्ने दमक र गौरादह नगरपालिका तथा कमल र गौरिगंज गाउँपालिकाको लागि यति धेरै बजेट परेपछि प्रदेश सरकार, सांसद र स्थानीय तहका जनप्रतिनिधिसहित मतदाता बजेट निकासा भएसँगै बम्पर उपहार परेको ठान्दै रामराज्यको अनुभव गर्न थालेका छन् ।
ओलीको निर्वाचन क्षेत्रमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत दमक र गौरादह नगरपालिकामा ६१६-६१६ घर, गौरीगंज गाउँपालिकामा ८३० घर र कमल गाउँपालिकामा ६२७ घरको फुसको छानो परिवर्तन गरी जस्तापाता लगाइँदैछ ।
प्रत्येक घरको खरको छाना परिवर्तन गरी जस्तापाता लगाउन प्रति परिवार ५० हजार रुपैयाँ छुट्याइएको र यो वर्षसम्म दुई हजार सात सय ३० परिवारका लागि छानो परिवर्तन गरेर जस्तापाता लगाइने प्रधानमन्त्रीको निजी सचिवालयका होमबहादुर थापा बताउँछन् ।
गौरादह नगरपालिकामा मात्र तीन सय घरको खरको छानामा जस्तापाता हालिसकिएको र वाँकी तीन सय ३६ घरको छाना परिवर्तनको क्रममा रहेको गौरादह नगरपालिका मेयर रोहित साहले नयाँ विकल्प डट कमलाई बताए ।
झापा निर्वाचन क्षेत्र ५ मा विपन्न आवास कार्यक्रम अन्तरगत दमक र गौरादह नगरपालिकामा ३२-३२ घर, गौरीगंज र कमल गाउँपालिकामा २८-२८ घर विपन्न परिवारलाई यसैवर्ष निर्माण गरी हस्तान्तरण गरिने भएको छ ।
संघीय सरकारले उपलब्ध गराएको सो बजेटले सबै विपन्न नागरिकको घर निर्माण गर्न प्रदेश सरकारमार्फत स्थानीय तहले कार्यान्वयन गरिरहेको प्रधानमन्त्री सचिवालयका थापाले बताए ।
प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा जनता आवास कार्यक्रममार्फत एक सय २० घर यसै वर्ष निर्माण भइसक्ने छन् । त्यसका लागि प्रति घर तीन लाख ५० हजार उपलब्ध गराइने र नपुग रकम स्थानीय तहबाट बेहोरिने भएको छ । यो कार्यक्रममा ४२ करोड खर्च हुने बताइएको छ ।
गौरादहका मेयर साहले जनता आवास कार्यक्रमको बजेट नगरको कहाँ कहाँ खर्च भइरहेको छ भन्ने नगरपालिकालाई थाहै नभएको बताउँछन् । संघीय सरकारले भने जनता आवास कार्यक्रम झापाका चार वटै स्थानीय तहमा कार्यान्वयन गर्न बजेट निकासा गरेको देखिन्छ ।
सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत दमकमा १५ र गौरीगञ्जमा १३ वटा नमूना घर निर्माण हुने भएका छन् । यो कार्यक्रमको बजेट प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह नगरपालिका र कमल गाउँपालिकाका बाटो निर्माणमा खर्च भएका छन् ।
चालु आर्थिक वर्षमै यो कार्यक्रम अन्तर्गत दमक नगरमा त्यसका लागि एक करोड ४० लाख निकासा भइसकेको छ भने गौरीगंजमा ३५ लाख निकासा भइसकेको छ ।
आवास योजनाअन्तरगत नै झापा निर्वाचन क्षेत्र ५ मा तराई मधेश समृद्ध कार्यक्रम कार्यान्वयनमा आएको छ । यो कार्यक्रम अन्तर्गत गौरीगञ्ज र गौरादह नगरपालिकामा विपन्न नागरिकका लागि घर निर्माण गरिने भएको छ ।
सन्थाल (सतार), मुसहर र आर्थिक रुपमा विपन्न परिवारलाई घर बनाउन यो कार्यक्रमको बजेट खर्च भएको छ । यो कार्यक्रम अन्तरगत गौरादह नगरपालिकामा विपन्न समुदायका ३० घर निर्माण गर्न ठेक्का लागेको र ३२ घरको ठेक्का लगाउन प्रक्रिया शुरु भएको छ ।
गौरादहमा मात्रै ३९ वटा घर निर्माण प्रक्रियामा रहेको र ३२ घर निर्माण गर्न पहिचाान भइसकेकाले ठेक्का प्रक्रियामा रहेको मेयर साहले जनाए । गौरादहको वडा नं ६ को कोहबरा क्षेत्रमा २७ वटा थप घर निर्माणको प्रक्रियामा छन् ।
गौरादह र गौरीगंजमा गत आर्थिक वर्ष ९० लाख र चालु आर्थिक वर्षको लागि ९० निकासा भइसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भनिएको झापा ५ महान्याधिवक्ता अग्नीप्रसाद खरेल र प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्ति पाएका निवर्तमान अर्थमन्त्री डा. यूवराज खतिवडाको पनि क्षेत्र हो ।
काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको आगामी चैाथो कन्भेनसन र लायन वर्ष २०२६ /०२७ को नेतृत्व चयनका लागि लायन्स...
काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका...
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता गगन थापाको नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्चले शेरबहादुर देउवा र...