एसियन गेम्स छनोट : चीनमाथि नेपालको फराकिलो जित – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

एसियन गेम्स छनोट : चीनमाथि नेपालको फराकिलो जित

काठमाडौं : ओपनर कुशल भुर्तेलको विस्फोटक शतक तथा कुशल मल्ल र रोहित पौडेलको आक्रामक ब्याटिङको मद्दतमा नेपालले एसियन गेम्स क्रिकेट छनोट प्रतियोगितामा चीनलाई २२१ रनले पराजित गर्दै सेमिफाइनल यात्रा लगभग सुनिश्चित गरेको छ ।

समूह ‘ए’ अन्तर्गत आइतबार सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमा अलआउट भयो । जितसँगै नेपालले प्रतियोगिताको अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब नेपालले समूह चरणको अर्को खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

चीनका लागि झेङ सेनिजानले सर्वाधिक ३१ रन बनाए । उनले १५ बलमा एक चौका र चार छक्का प्रहार गरे। जिआनहो दुले १७ तथा तियान सेंकुनले १२ रन जोडे पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि कुशल मल्लले तीन विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई-दुई विकेट हात पार्दा नन्दन यादवले एक विकेट लिए ।

त्यसअघि सिंगापुर नेसनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै ३१३ रनको विशाल योगफल बनाएको थियो । यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको दोस्रो उच्च स्कोर हो । यसअघि नेपालले १९औं एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो ।

नेपालको इनिङ्समा कुशल भुर्तेलले ४३ बलमा पाँच चौका र १६ छक्काको मद्दतमा १२९ रनको विस्फोटक शतकीय पारी खेले । उनले खेलको नवौं ओभरमा लगातार छ छक्का प्रहार गर्दै नयाँ कीर्तिमानसमेत बनाए। उक्त उपलब्धि हासिल गर्ने उनी नेपालका दोस्रो तथा विश्व क्रिकेटका छैटौँ खेलाडी बने ।

यस्तै, कुशल मल्लले ४७ बलमा आठ चौका र पाँच छक्कासहित अविजित ८५ रन बनाए भने कप्तान रोहित पौडेलले २१ बलमा पाँच चौका र सात छक्काको सहयोगमा अविजित ६९ रन जोडे । अर्का ओपनर आसिफ शेख ११ रनमा आउट भए ।

चीनका मा कुइनचेन र डेंग जिंकीले समान एक–एक विकेट लिए ।

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने
प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने
  • २०८३ जेष्ठ १७, ११: ५६

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा आर्थिक वर्ष २०८३/०८४ को...

बढ्यो अमेरिकी डलरको भाउ
बढ्यो अमेरिकी डलरको भाउ
  • २०८३ जेष्ठ १७, ११: ५६

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८३ जेष्ठ १७, ११: ५६

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसम प्रणालीमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखाको...