
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् ।
तुर्किएमा आयोजित सम्मेलनका क्रममा अर्थमन्त्री वाग्ले करिब एक दर्जन विभिन्न कार्यक्रममा सहभागी भएका थिए । उनले ४४ वटा अतिकम विकसित राष्ट्र (एलडीसी) का तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए ।
त्यसैगरी, सात वर्षअघि स्थापना भएको ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’ मा नेपाललाई १०५औँ सदस्यका रूपमा सहभागी गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ सम्बन्धी नीतिगत अवधारणा छलफलका लागि प्रस्तुत गरेका थिए ।
विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान सञ्चालन गर्दै आएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली तथा जी–२० को अध्यक्षता गर्न लागेका बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
कोप–३१ मा नेपालले उठाएका जलवायु सम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले अर्थमन्त्री वाग्लेले पाँच जना प्रभावशाली जलवायु दूतसँग पनि छलफल गरेका थिए । उनले बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमैकाका डेल वेबर र संयुक्त राष्ट्रसंघका महासचिवका दूत सेल्विन हार्टसँग भेटवार्ता गरेका थिए ।
यसैक्रममा अर्थमन्त्रीले हरित जलवायु कोषको उच्च नेतृत्वसँग नेपालको भावी कार्यक्रम तथा सहकार्यका विषयमा छलफल गरेका थिए । जेनेभास्थित विश्व मौसम विज्ञान संगठनको जलवायु मापन कोषसम्बन्धी कार्यक्रममा पनि उनले विशेष सम्बोधन गरेका थिए ।
जलवायु तथा अर्थशास्त्रका क्षेत्रमा ख्यातिप्राप्त प्राध्यापक योहान रक्स्त्रम र निकोलस स्टर्नसँग समेत अर्थमन्त्री वाग्लेले भेटघाट गरेका थिए ।
उनले अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्स लाई अन्तर्वार्ता दिनुका साथै सन् २०२६ का लागि टाइम पत्रिकाले छनोट गरेका जलवायु क्षेत्रका विश्वका १०० प्रभावशाली व्यक्तित्वको सम्मानमा आयोजित कार्यक्रममा पनि सहभागिता जनाएका थिए ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार (कात्तिक २९) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले...