महानगर यातायातले थप्यो १६ नयाँ विद्युतीय बस, चक्रपथमा सेवा सुरु – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

महानगर यातायातले थप्यो १६ नयाँ विद्युतीय बस, चक्रपथमा सेवा सुरु

काठमाडौं ।  महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार ३३ सिट क्षमताका नयाँ बसहरू उभिएर यात्रा गर्ने यात्रुका लागि समेत सहज हुने गरी डिजाइन गरिएको छ। एक पटकमा करिब ७० जना यात्रुले यात्रा गर्न सक्ने क्षमता भएका बसहरूमा आरामदायी सिट, आधुनिक सुरक्षा प्रणाली तथा यात्रुमैत्री सुविधा समावेश गरिएको छ।

शशिला मोटर्स प्रा.लि.द्वारा चीनबाट आयात गरिएका यी बसहरूमा १४४ किलोवाट क्षमताको सीएटीएल (CATL) ब्याट्री जडान गरिएको छ। पूर्ण चार्जपछि बसहरूले करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता राख्छन्। कम्पनीका अनुसार प्रत्येक बसको मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको छ।

सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायातका सचिव केशव नेपालले विद्युतीय सवारी साधनको प्रयोग समयको आवश्यकता बनेको उल्लेख गर्दै कम्पनीले आगामी दिनमा पनि विद्युतीय सवारी विस्तारलाई प्राथमिकता दिने बताए। उनले प्रारम्भिक लगानी बढी भए पनि विद्युतीय बस दीर्घकालीन रूपमा व्यवसायिक र आर्थिक दृष्टिले लाभदायक सावित भएको दाबी गरे।

नेपालले हाल विद्युत् खपतमा लगाइएको करका कारण विद्युतीय सवारी सञ्चालन प्रभावित भएको उल्लेख गर्दै सरकारले यस क्षेत्रमा थप सहुलियत दिनुपर्ने मागसमेत गरे।

कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य  धर्मराज रिमालले यसअघि सञ्चालनमा रहेका १२ वटा विद्युतीय बसले सकारात्मक परिणाम दिएको भन्दै थप १६ बस सेवा विस्तारका लागि सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार विद्युतीय बसको सञ्चालन खर्च कम भएकाले डिजेल बसको तुलनामा आम्दानी पनि उल्लेखनीय रूपमा बढी भइरहेको छ।

चाबी हस्तान्तरण कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक  सन्तोष खतिवडाले ठूलो क्षमताका विद्युतीय बसको प्रवर्द्धन नेपालको दिगो यातायात विकासका लागि आवश्यक रहेको बताए। उनले कम्पनीले व्यावसायिक विद्युतीय सवारी साधनको विस्तारसँगै बिक्रीपछिको सेवा प्रणालीलाई पनि प्राथमिकतामा राखेको जानकारी दिए।

हाल महानगर यातायातले काठमाडौं उपत्यका तथा बाहिरी क्षेत्रमा १४० भन्दा बढी सवारीमार्फत सेवा प्रदान गरिरहेको छ। कम्पनीका अनुसार २८ वटा सिटी बस र २४ वटा माइक्रोबससहित कुल ५२ वटा विद्युतीय सवारी सञ्चालनमा रहेका छन्।

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने
प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने
  • २०८३ जेष्ठ २०, १५: १६

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा आर्थिक वर्ष २०८३/०८४ को...

बढ्यो अमेरिकी डलरको भाउ
बढ्यो अमेरिकी डलरको भाउ
  • २०८३ जेष्ठ २०, १५: १६

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८३ जेष्ठ २०, १५: १६

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसम प्रणालीमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखाको...