
काठमाडौँ : कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा सानदार सुरुवात गरेको छ ।
अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
कान्सास सिटीमा भर्खरै सम्पन्न खेलमा ३८ वर्षीय मेसीले विश्वकपमा कीर्तिमानी छैटौँ सहभागिता जनाए । खेलको आठौँ मिनेटमा उनले गोल गरे पनि अफसाइडका कारण त्यो प्रयास मान्य भएन ।
तर मेसीलाई गोलका लागि धेरै कुर्नु परेन। केही मिनेटपछि उनले आफ्नो परिचित शैलीमा विपक्षी खेलाडीलाई छल्दै पेनाल्टी क्षेत्रको किनाराबाट प्रहार गरे ।
शक्तिशाली प्रहारलाई अल्जेरियाका गोलकिपर लुका जिदानले रोक्न सकेनन् र अर्जेन्टिनाले अग्रता लियो । दोस्रो हाफको ६०औँ मिनेटमा अलेक्सिस म्याक एलिस्टरको प्रहार गोलकिपरबाट रिबाउन्ड भएपछि मेसीले सहज ट्याप–इन गोल गर्दै आफ्नो व्यक्तिगत दोस्रो गोल पूरा गरे ।
७६औँ मिनेटमा मेसीले फेरि एकपटक जादुमय क्षण सिर्जना गरे । पेनाल्टी क्षेत्रबाहिरबाट गरेको सटिक प्रहारले जाली चुमेपछि उनले विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गरे ।
यो गोलसँगै मेसी विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजेसँग बराबरीमा पुगे । दुवैको नाममा अब १६–१६ विश्वकप गोल रहेको छ ।
ह्याट्रिक पूरा गरेको तीन मिनेटपछि मेसीलाई मैदानबाट बाहिर निकालिँदा दर्शकले उभिएर सम्मान प्रकट गरेका थिए । प्रशिक्षकले उनलाई आराम दिनका लागि परिवर्तन गरेका भए पनि मेसी स्वयं भने मैदान छाड्दा केही निराश देखिएका थिए ।
सन् २०१९ को अफ्रिका कप अफ नेसन्स विजेता अल्जेरियाले खेलमा खास प्रभाव छोड्न सकेन । नवौँ मिनेटमा फारेस चाइबीले गरेको गोल पनि अफसाइडका कारण रद्द भएको थियो ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...