
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य नबनाउन सार्वजनिक अपिल गरेको छ। उपसमितिले बालबालिकाको बालापन, शिक्षा र खेल्ने अधिकार सुरक्षित गर्न सबै राजनीतिक दललाई कानुनको पालना गर्न आग्रह गरेको हो।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ग्रिन टेबल संवादको नवौं शृंखलामा उपसमितिका संयोजक उमंग लोहनीले ‘बालापन नखोसौं, पढ्न दिउँ/खेल्न दिउँ, बालबालिकालाई पार्टी सदस्य नबनाऔं’ भन्ने नारासहित अपिल सार्वजनिक गरेका हुन्।

उपसमितिले नेपाली कांग्रेसले डिजिटल प्रणालीमार्फत नयाँ क्रियाशील सदस्यता वितरण गरिरहेको उल्लेख गर्दै १८ वर्ष पूरा गरेका नेपाली नागरिकले मात्रै सदस्य बन्न पाउने व्यवस्था रहेको स्पष्ट पारेको छ। कांग्रेसको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध नागरिकलाई मात्रै कानुनी मापदण्ड पूरा गरेपछि सदस्यता दिने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ।
उपसमितिका अनुसार नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले राजनीतिक दलको सदस्य बन्न न्यूनतम १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरेका छन्। साथै नेपाल पक्षराष्ट्र रहेको संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धि (यूएनसीआरसी) ले पनि बालबालिकालाई राजनीतिक स्वार्थ र दलीय प्रयोगबाट टाढा राख्नुपर्ने व्यवस्था गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा यी कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताको पालना सत्ता र प्रतिपक्ष सबैको साझा दायित्व भएको उल्लेख गर्दै त्यसको उल्लंघन हुँदा सम्बन्धित दलसँगै नेपालको अन्तर्राष्ट्रिय छविमा समेत नकारात्मक असर पर्ने चेतावनी दिइएको छ।
उपसमितिले प्रधानमन्त्री आबद्ध दलको सदस्यता विवरणमा संविधान, कानुन र बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत बालबालिकाको नाम समावेश भएको दाबी गर्दै त्यसबारे प्रधानमन्त्रीबाट सार्वजनिक जवाफ र कानुन कार्यान्वयनमा सक्रियता देखाउन आग्रह गरेको छ।

साथै, सदस्य संख्या बढाउने प्रतिस्पर्धाका नाममा बालबालिकाको अधिकार हनन हुने कुनै पनि गतिविधि नगर्न कांग्रेसका सबै तहका समिति, नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई आह्वान गरिएको छ। बालमैत्री वातावरण निर्माण र बाल अधिकार संरक्षण सबैको साझा जिम्मेवारी भएको उपसमितिले जनाएको छ।

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...
काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...